पशुपन्छीप्रति मान्छेको क्रुरता यतिसम्म बढेको छ कि कतै कुकुरलाई भीरबाट झुन्ड्याएर मारिन्छ, कतै बाँदरलाई खोरमा थुनेर कुकुर लगाएर टोकाइन्छ । सामाजिक सञ्जालमा ‘भ्यु’ र मनोरञ्जनका नाममा जनावरमाथि हुने हिंसा बढ्दै जाँदा दया र संवेदनशीलतामाथि नै प्रश्न उठ्न थालेको छ ।
What you should know
काठमाडौँ — आइतबार सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भयो । एक बालकले कुकुरलाई भीरमा झुन्ड्याएर ढुंगाले हानेका थिए । विवेक सुनार ७९० नामको टिकटक आइडीबाट पोस्ट भएको भिडियोमा कुकुरलाई तड्पाइतड्पाई मारिएको छ ।
सामाजिक सञ्जाल प्रयोगकर्ताले नेपाल प्रहरी र पशु संरक्षणकर्मीलाई ‘मेन्सन’ गरेपछि अहिले भने भिडियो हटाइएको छ । उक्त टिकटक अकाउन्टबाट कुकुरको अनुहार नदेखिने गरी ‘मेरो आमालाई भन्दे मेरो समना पूरा नहुने बेलासम्म बूढी नहुनू भनेर ल’ उक्त आवाजमा राखिएको भिडियो भने अहिले पनि त्यही आइडीमा देखिन्छ । कुकुरको मृत्यु भइसकेपछि राखिएको भिडियो भनी धेरैले कमेन्टमा आक्रोश व्यक्त गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक जंगबहादुर सिंह मंगलबार कुकुरको हत्या गर्नेलाई निरन्त्रणमा लिएको साथै अनुसन्धान गरिरहेको जनाएका छन् । ‘हामीले अनुसन्धानपश्चात कुकुरलाई यातना दिएर मार्ने सिमकोट माथिल्लो गाउँ घर भएका ६ जनालाई समातेका छौँ । कुकुरको हत्या गर्ने नाबालक रहेछन्,’ उनले भने,‘बाँकी अनुसन्धानको प्रक्रियामा छ ।’
***
केही समयअघि गोरुलाई त्यस्तै निर्दयी व्यवहार गरेको भिडियो पनि भाइरल भएको थियो । एक पुरुषले गोरुलाई यातना दिइरहेका थिए । खेतमा जोतिरहेका बेला नहिँडेपछि गोरुको नाक र मुख माटोमा गाडेर जालिराम थापा भिडियो बनाएर पोस्ट गरेका थिए ।
जालिरामले गोरुको नाक, मुख माटोमा गाडी, कुटी, हिर्काइ भिडियो बनाई फेसबुक र टिकटकमा पोस्ट गरेका थिए । प्रहरीले जालिरामलाई पक्राउ गरी मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २७ को दफा २९० बमोजिम पशुपन्छीप्रति निर्दयी व्यवहार गर्न नहुने कुसरमा मुद्दा दर्ता गरेको थियो ।
***
त्यस्तै बाँदरले किसानलाई दु:ख दिएको भन्दै पछिल्लो समय सामाजिक सञ्जालमा बहस चर्किएको छ । कतिपय सांसदले बाँदर मार्नुपर्नेसम्मका विवादास्पद अभिव्यक्ति दिएका छन् । यसैबीच एउटा भिडियो भाइरल भयो । एकजनाले बाँदरलाई खोरमा थुने । अनि कुकुरलाई पनि खोरभित्र पठाएर टोकाए । भिडियोमा बाँदरलाई मारेर लस्करै सुताएको देखिन्थ्यो ।
तर उक्त भिडियो केही अघिको रहेछ । ‘बाँदरलाई अमानवीय व्यवहार गर्ने मानिस पक्राउ’ भन्दै २०८२ फागुन २६ गते जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले प्रेस विज्ञप्ति जारी गरेको थियो । प्रतिनिधिसभा चुनावअघि खेतको बाली छेक्न बनाइएको पासोमा परेको बाँदरलाई आक्रमण गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले पाँचथर स्थायी घर भएका २१ वर्षीय युवकलाई डिभिजन वन कार्यालयलाई बुझाएको थियो ।
बाँदर कसले मारेको हो भन्ने पुष्टि नभएकाले घटना अनुसन्धानकै क्रममा रहेको डिभिजन वन कार्यालय ताप्लेजुङका प्रमुख ललित यादवले बताए ।
‘जुन फेसबुक आइडीबाट भिडियो राखिएको थियो । त्यो व्यक्ति र बाँदर मार्ने व्यक्ति एउटै हो कि होइन भनेर प्रमाणित गर्न लागिरहेका छौँ । यो घटना अनुसन्धानकै प्रक्रियामा छ,’ उनले भने । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि सुरुमा फेसबुकमा भिडियो राख्ने व्यक्तिले ‘डिलिट’ गरेको जनाइएको छ ।
***
गत वर्ष मंसिरमा आफ्नै घरमा पालेको कुकुरलाई झुन्ड्याएर मारेको आरोपमा एक व्यक्ति पक्राउ परेका थिए । उक्त घटनामा हलेसी तुवाचुङ नगरपालिका-२ घर भएका ४४ वर्षीय बाबुराम मगर पक्राउ परेका थिए । उनले बयान दिएअनुसार स्थानीय कुकुरले एक मानिसलाई टोकेको थियो । त्यसैले आफ्नो कुकुरले पनि अरुलाई टोक्छ कि भन्ने डरले आफ्नै घरमा पालेको कुकुर मारेको बताएका थिए ।
***
त्यस्तै सांसद ध्रुवराज राईले आफू पालिका अध्यक्ष हुँदा झन्डै ६ सय बाँदर मारेको अभिव्यक्ति दिए । उनको अभिव्यक्तिको सामाजिक सञ्जालदेखि सदनसम्म आलोचना भयो ।
पछिल्लो समय पशुपन्छी र जनावरप्रति सद्भाव र स्नेह त राख्ने मान्छे नभएकैचाहिँ होइनन् । यसैबीच आइतबार स्नेहा केयरले फेसबुकमा एउटा पोस्ट गर्यो । लामो समयदेखि पशुपन्छीको संरक्षण र पशु अधिकारको वकालतमा लागेकी स्नेहा श्रेष्ठले आफूले आश्रय दिएको सुँगुरको मृत्यु भएपछि विधिपूर्वक अन्त्येष्टि नै गरिदिइन् ।
स्नेहाको पोस्टमा भनिएको छ, 'अलबिदा, हाम्री प्यारी कार्लोट । सात वर्षअघि तिमी हाम्रो आश्रयस्थलमा आएकी थियौ । त्यस दिनदेखि तिमी केवल उद्धार गरिएको एउटा जनावर रहिनौ, तिमी हाम्रो परिवारको अभिन्न सदस्य बन्यौ । यी सात वर्षमा तिमीले हामीसँग अनगिन्ती सम्झनाहरू बाँड्यौ । हामीमध्ये हरेकको मनमा तिमीले आफ्नो छुट्टै ठाउँ बनाएकी थियौ ।'
स्नेहाले कार्लोटलाई सन् २०१९ मा एउटा फार्मबाट बचाएर ल्याएकी थिइन् । उनले फेसबुकमा लेखेकी छिन्, 'मलाई आज पनि त्यो दिन हिजोजस्तै ताजै सम्झना छ- सन् २०१९ मा तिमीलाई पिग फार्मबाट बचाएर ल्याएको दिन । त्यो मेरो जीवनकै सबैभन्दा खुसीका दिनहरूमध्ये एक थियो । त्यस दिन मैले एउटा सुँगुर बचाएकी थिइनँ, मैले मेरी छोरी पाएकी थिएँ। धेरैका लागि तिमी केवल पोर्क थियौ। कसैको थालमा पुग्ने मासु मात्र। तर मेरो लागि तिमी मेरो बच्चा थियौ- मेरो कार्लोट।'
पशुपन्छीप्रति स्नेह गर्ने स्नेहाजस्ता व्यक्ति थुप्रै छन्, तर केही व्यक्ति यस्ता पनि छन् जो जनावरप्रति क्रुर व्यवहार गर्दा रमाउँछन् । जनचेतनाका बाबजुद पनि जनावरलाई यातना दिने काम भइरहेको पशु अधिकारकर्मी बताउँछन् ।
नेपाल प्रहरीको तथ्यांक हेर्ने हो भने चालु आर्थिक वर्षको वैशाखसम्म पशुपन्छीसम्बन्धी कसुरमा नेपाली र विदेशी गरी १२८ जना पक्राउ परेका छन् । तीमध्ये ७१ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । २०७८ देखि ०८२ सम्म ७ सय ४ जना पक्राउ परेकोमा ३ सय ६५ विरुद्ध मुद्दा दर्ता भएको छ । २०७८ देखि ८२ सम्मको तथ्यांक हेर्ने हो भने, ७ सय ४ जना पक्राउ परेका थिए । पशुपंक्षी सम्बन्धी कसूरमा ३ सय ६५ मुद्दा दर्ता समेत भएका थिए ।
अहिले पनि जनावरलाई यातना दिने प्रवृत्ति नहटेको पशु संरक्षक तुलाराम राजवंशी बताउँछन् । ‘पृथ्वी सबै प्राणीको साझा घर भनेर जति भने पनि, पढाए पनि मानिसले पशुपन्छीलाई गर्ने क्रुर व्यवहार अझै हटेको छैन,’ उनले भने,‘हरेक दिन कुकुर,बिरालोदेखि धेरै जनावरलाई मारेको, यातना दिएको खबर अहिले पनि देखिन्छन् ।’
मान्छेले आफ्नो आवश्यकताका लागि मात्र जनावर पाल्ने गरेको तुलारामको भनाइ छ । ‘दूध दिने बेलासम्म गाई पाल्ने, पछि बाटोमा छोड्ने कत्ति देखिन्छ । त्यसरी नै कुकुर सानो हुँदासम्म माया गर्ने ठूलो भएपछि बाटोमा छोड्ने गरेका कति घटना छन्,’ उनले भने,‘त्यसैले मानिस आफ्नो खुसी र स्वार्थमा मात्र अडिएका छन् ।’
यस्ता घटना न्यूनीकरण गर्न सरकारले कानुनको कडा रूपमा पालना गराउनुपर्ने उनको भनाइ छ । ‘बाटोमा हिँडेको कुकुरलाई तातो पानी छ्याप्ने, पिट्ने,रंग लाइदिने जस्ता क्रियाकलाप त अहिले पनि भइरहेका छन्, हामीले धेरै पटक उद्धार नै गरेका छौँ,’ उनले भने ।
पशुपन्छीलाई यातना दिनेलाई के कारबाही हुन्छ ?
नेपालको मुलुकी फौजदारी संहिता २०७४ ले पशुपन्छीप्रति गरिने व्यवहारका सम्बन्धमा स्पष्ट कानुनी व्यवस्था गरेको वरिष्ठ अधिवक्ता पदम श्रेष्ठ बताउँछन् । ‘कुनै पनि पशुपन्छीलाई मार्न, वा निर्दयी व्यवहार गर्न पाइँदैन । विशेष गरी दफा २९० मा गाई र गोरुलाई मार्न वा कुट्न नहुने स्पष्ट व्यवस्था छ,’ उनले भने,‘गोरु जोत्न सिकाउने बहानामा नाक थुनेर माटोमा पुर्ने, तातो पानी खन्याउने वा तातो फलामको छडले डाम्ने जस्ता कार्यहरू कानुनत: क्रुर व्यवहार र कसुर मानिन्छन् ।’
कुकुरलाई यातना दिएको खण्डमा कानुनले घरपालुवा कुकुर र सामुदायिक कुकुरबीच कुनै भिन्नता नराखेको श्रेष्ठ बताउछन् । ‘बाटोमा हिँड्ने सामुदायिक कुकुरलाई कुटपिट गर्ने, अङ्गभङ्ग बनाउने वा मार्ने कार्य फौजदारी संहिताको दफा २९० अनुसार अपराध हो । यदि कुनै कुकुरले कसैलाई टोक्यो भने पनि बदलाको रूपमा त्यसलाई मार्न पाइँदैन, त्यसो गरेमा कानुनअनुसार कारबाही हुन्छ,’ उनले भने,‘यस्तो कसुर गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद, ५ हजार रुपैयाँसम्म जरिवाना,वा दुवै सजाय हुन सक्छ ।’
वन्यजन्तुको हकमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९,आकर्षित हुने गरेको श्रेष्ठ बताउँछन् । बाँदरलाई अन्य वन्यजन्तु संरक्षित सूचीमा नभएको श्रेणीमा राखिए पनि ऐनको दफा २६ (५को घ) अनुसार बाँदर जस्ता वन्यजन्तु मार्ने वा यातना दिनेलाई संरक्षित वन्यजन्तु जस्तै (गैंडा, बाघ) लाई हुने सजायको आधा सजाय हुने व्यवस्था गरिएको श्रेष्ठ बताउँछन् ।
‘अपराध स्वीकार गरी यदि कसैले सामाजिक सञ्जाल वा अन्तर्वार्तामा मैले यति जनावर माँरे भनी सार्वजनिक रूपमा स्वीकार गर्छ भने, त्यसलाई कानुनी रूपमा अपराध स्वीकार गरेको मानिन्छ,’ उनले भने,‘अनुसन्धानको आधारमा भौतिक प्रमाण नभए पनि सार्वजनिक रूपमा व्यक्त गरिएको यस्तो स्वीकारोक्ति प्रहरीले अनुसन्धान र सोधपुछ सुरु गर्नका लागि पर्याप्त आधार हुन्छ ।’
नेपालमा पशु अधिकारसम्बन्धी कानुन भए पनि तिनको कार्यान्वयनको स्तर निकै कम रहेको श्रेष्ठ बताउँछन् । ‘वन्यजन्तुले किसानको खेतीपाती नष्ट गरेमा त्यसको क्षतिपूर्ति राज्यले बेहोर्नुपर्ने सर्वोच्च अदालतको फैसला र कानुनी मान्यता छ,’ उनले भने,‘जनावर मारेर हुँदैन । नीतिगत आवश्यकता मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्न सरकारले ठोस नीति र नियन्त्रणका उपायहरू ल्याउनुपर्ने आवश्यकता देखिन्छ ।’
