पशुपन्छीप्रति क्रुर बन्दै मान्छे, ६ वर्षमा कति पक्राउ परे ?

वैशाख २६, २०८२

आरती पौडेल

People becoming cruel to animals, how many were arrested in 6 years?

काठमाडौँ — काठमाडौंमा एक जना व्यक्तिले कुकुरलाई कुटीकुटी मारेको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो । टोखा नगरपालिका–७ बानियाटारमा वैशाख १५ गते  कुकुरलाई लठ्ठीले कुटीकुटी मार्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

कुकुरले आफूलाई टोक्न खोजेको भन्दै सडकमा पिटिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो । स्थानीयले प्रहरीलाई खबर गरेपछि बानियाटार बस्ने अंकित भुजेललाई प्रहरीले पक्राउ गर्‍यो । 

त्यस्तै कुकुरलाई रुखमा झुन्ड्याएर कुटपिट गर्दै विभिन्न किसिमका यातना दिएर कुकुरको हत्या गरेको भिडियो सामाजिक सञ्जालमा निकै नै भाइरल भयो । घटनामा संलग्न रहेका तीन जना युवकलाई प्रहरीले पशुपन्छीसम्बधी कसुरमा पक्राउ गर्‍यो । यस्ता घटना नेपालमा दिनहुँ बढ्दै गएका छन् । नेपालमा  पछिल्ला ५ वर्षमा ४ सय ७ पशुपन्छीसम्बन्धी कसुरमा मुद्दा दर्ता भएका छन् ।

प्रहरीको तथ्यांकअनुसार आर्थिक २०७६/७७ सालमा काठमाडौं उपत्यका प्रहरी कार्यालयमा ११ वटा मुद्दा दर्ता भएको छ । त्यस्तै कोशीमा १३,मधेशमा ३,गण्डकीमा १८,लुम्बिनीमा ११,कर्णालीमा १ र सुदूरपश्चिममा ५ गरी ६२ मुद्दा दर्ता भएका छन् । 

आर्थिक वर्ष २०७७/७८मा बागमती प्रदेशमा ११,कोशीमा २०, मधेशमा २ ,गण्डकीमा ३१,लुम्बिनीमा १५, कर्णालीमा ५ र सुदूरपश्चिममा ८ गरी जम्मा ९२ मुद्दा दर्ता भएका छन् । त्यस्तै २०७८/७९मा बागमतीमा १०,कोशीमा १०, मधेशमा शून्य रहेको छ भने गण्डकीमा २१ , लुम्बिनीमा ७, कर्णालीमा ५, सुदूरपश्चिममा १ गरी जम्मा ५४ मुद्दा दर्ता भएका थिए । आर्थिक वर्ष २०७९/८० मा बागमती प्रदेशमा १७, कोशीमा ३,मधेशमा ३,गण्डकीमा २७,लुम्बिनीमा २५,कर्णालीमा ६ र सुदूरपश्चिममा २ गरी जम्मा ८३ मुद्दा दर्ता भएका थिए । 

आर्थिक वर्ष २०८०/२०८१ बागमतीमा ७, कोशीमा १३, मधेशमा २,गण्डकीमा २१,लुम्बिनीमा १२,कर्णालीमा १,सुदूपश्चिममा ४ गरी जम्मा ६० मुद्दा दर्ता भएका छन् । त्यस्तै आर्थिक वर्ष २०८१/८२ को चैतसम्ममा बागमती प्रदेशमा ९,कोशीमा ८, मधेशमा १,गण्डकीमा ६, लुम्बिनीमा २५,कर्णालीमा २, सुदूरपश्चिममा १ गरी जम्मा ५२ मुद्दा दर्ता भएका छन् । पशुपन्छीसम्बन्धी कसुरमा विदेशी नागरिकसमेत पक्राउ परेका छन् । 

मुलुकी अपराध संहिता-२०७४ को दफा २९० पशुपन्छीसम्बन्धी कसुरको व्यवस्था छ । उक्त दफामा  पशुलाई क्रूर व्यवहार गर्ने, यातना दिने वा अनावश्यक पीडा दिने कार्यमा कोही पनि व्यक्ति संलग्न भएमा सो  व्यक्तिलाई ३ महिनासम्म कैद वा ५,००० रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने उल्लेख गरिएको छ ।

People becoming cruel to animals, how many were arrested in 6 years?

आरती पौडेल

Link copied successfully