वन कार्यालयका कर्मचारीहरूले आपसमा रकम संकलन गरेर पीडित परिवारलाई ५ लाख रुपैयाँ उपलब्ध गराएका हुन् ।
What you should know
कैलाली — कैलालीको चुरे क्षेत्रमा वन कर्मचारीले टेम्पो भीरबाट खसालेको घटना ५ लाख रुपैयाँ क्षतिपूर्तिसहित सुल्झिएको छ । वन अतिक्रमण हटाउने क्रममा कर्मचारीले आवेगमा आएर टेम्पो खसालेपछि उत्पन्न विवाद दुवै पक्षबीचको वार्तापछि मिलेको हो ।
वन कार्यालयका कर्मचारीहरूले आपसमा रकम संकलन गरेर पीडित परिवारलाई ५ लाख रुपैयाँ उपलब्ध गराएका हुन् । अत्तरियास्थित मालाखेती प्रहरी चौकीमा भएको छलफलपछि आफूले क्षतिपूर्ति रकम बुझेको पीडित धनादेवी धामिका श्रीमान् घनश्याम धामीले कान्तिपुरलाई जानकारी दिए ।
क्षतिपूर्ति पाएपछि पीडित पक्षले वन कर्मचारीविरुद्ध दिएको जाहेरी फिर्ता लिने सहमति भएको छ । रकम बुझेपछि पीडितका श्रीमान् घनश्याम धामीले आफूखुसी भएको बताए । उनले भने, 'क्षतिपूर्तिबापत ५ लाख रुपैयाँ पायौँ, मागअनुसारको त पाएनौँ । तैपनि खुसी छु।'
यससँगै प्रहरी हिरासतमा रहेका वनका कर्मचारीहरू पनि छुट्ने सम्भावना रहेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीले उपलब्ध गराएको जानकारीअनुसार हिरासतमा रहेका कर्मचारीको मुद्दा सरकारी वकिल कार्यालयमा पुगेको छ । छुट्ने वा कहिले छुट्ने भन्ने जानकारी फैसला आएपछि मात्रै थाहा हुने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाले बताए ।
यसअघि वन क्षेत्रमा राखेर व्यापार गरिरहेको भन्दै वन टोलीले टेम्पो भीरबाट खसालेको भिडियो सार्वजनिक भएपछि यो घटनाले राष्ट्रिय रूपमै चर्चा पाएको थियो । सडक किनारमा व्यापार गरेको आरोपमा गत जेठ २९ गते वनका कर्मचारीले धनादेवी धामीको टेम्पो धकेलेर भीरबाट खसालिदिएका थिए ।
जेठ ३० गते अनुसन्धान गर्न १२ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको थियो । १० जनालाई छोडेर टेम्पो खसाल्ने कार्यमा बढी दोषी देखिएका दुई जनालाई प्रहरी हिरासतमा राखेर मुद्दा चलाइएको थियो ।
