शनिबार कैलालीको गोदावरी नगरपालिका–४ बासपानीकी ४४ वर्षीया धनादेवी धामीको टेम्पो वन कार्यालयका कर्मचारीहरुले भीरबाट धकेलेर खसालेको घटनाको भिडियो भाइरल बनेको छ । उक्त टेम्पोमा धनादेवीले सामान राखेर बिक्री गर्दै आएकी थिइन् ।
What you should know
काठमाडौँ — वन कार्यालय कैलालीका कर्मचारीले गोदावरीमा एउटा टेम्पो धकेलेर भीरबाट खसालेको दृश्य सामाजिक सञ्जालमा भाइरल छ । घटना शनिबारको हो । भिडियो नै सार्वजनिक भएपछि सर्वसाधारणदेखि सांसदहरुसम्मले घटनामा वन कर्मचारीहरुको व्यवहारको आलोचना गरिरहेका छन् ।
गोदावरी नगरपालिका–४ बासपानीकी ४४ वर्षीया धनादेवी धामीको टेम्पो वन कार्यालयका कर्मचारीहरुले भीरबाट धकेलेर खसालिदिएका थिए । अनेकौ हारगुहार गर्दा पनि आफ्नो टेम्पो उनीहरुले भीरबाट खसालिदिएको धामीले बताइन् । धामीले घर नजिकै भीमदत्त राजमार्गको गाइमारे डाँडास्थित सडक छेउमा टेम्पोमा सामान लिएर बेच्ने गर्थिन् ।
डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरुले उनीमाथि पनि वन अतिक्रमण गर्ने गरेको दाबी गर्दै टेम्पो भीरबाट खसालिदिएका हुन् ।
टेम्पो भीरबाट खसाल्नुअघि वनका कर्मचारीहरुले टेम्पोबाट सामान झारेका थिए । ‘बरु टेम्पो घर लैजान्छु, अबदेखि यहाँ समान बेच्न आउँदिन भनेर हारगुहार गर्दा पनि कसैले सुन्न चाहेनन्, कर्मचारीहरुले धकेलेर टेम्पो भीरबाट खसाले’, धामीले भनिन् ‘वरिपरि झुम्मिएकाहरु भिडियो खिच्दै रमाए, कसैले पनि त्यो नगर्न भनेनन् ।’
यता वन कार्यालयले भने वन अतिक्रमण हटाउने अभियानका क्रममा टेम्पो हटाइएको जनाएको छ । सब–डिभिजन वन कार्यालय अत्तरियाका प्रमुख कृष्ण बोहराले उक्त टेम्पो एक महिनाअघि पनि हटाइएको बताए । उनले भने, ‘सवारी बोक्ने चालु अवस्थाको टेम्पो होइन, कवाड भइसकेको टेम्पोलाई छाप्रोका रुपमा प्रयोग गरेर पसल चलाउँदै आएकी थिइन् ।’
एक वर्षअघि छोराले टेम्पो किनिदिएको धामीले बताइन् । ‘अहिले मेरा तीनै छोरा भारतको बैंग्लोरमा मजदुरी गर्न गएका छन् । घरमा म, जेठी बुहारी र मेरा श्रीमान् मात्र छौं । चिया, अण्डा, चाउचाउ, पानी लगायतका सामानहरु बेच्थेँ,’ उनले भनिन्, ‘दिनको चार–पाँच हजारको बिक्रीबाट हुने आम्दानीले घर गुजारा चलाउने गरेको थिएँ ।’
धामीले उक्त टेम्पोलाई सवारी यातायात सञ्चालनमा भने प्रयोग गर्ने नगरेको बुझिएको छ । धामी स्वम्ले पनि आफूलाई टेम्पो चलाउन नआउने बताइन् । ‘मलाई र मेरा श्रीमान्लाई टेम्पो चलाउन आउँदैन । कुनै दिन टेम्पो त्यही ठाउँमा छाडेर घर आउथेँ, कुनै दिन छिमेकीलाई चलाइ मागेर टेम्पो घरै लिएर आउँथे,’ उनले भनिन् । 'टेम्पो एक वर्षअघि छोराले किनिदिएको हो, कति पैसा परेको हो भन्ने मलाई था'छैन, छोरा अहिले बेंग्लोर छ,' धामीले भनिन् ।
वन क्षेत्र अतिक्रमण हटाउने अभियानअन्तर्गत हालसम्म ४७ वटा संरचना हटाइएको सब–डिभिजन वन कार्यालय अत्तरियाले जनाएको छ । तर उक्त टेम्पो भीरबाट खसाल्नुभन्दा कैफियत देखिएको भए वनका कार्यालयका कर्मचारीहरुले नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको भए हुन्थ्यो भन्ने प्रतिक्रियाहरु आइरहेका छन् ।
डिभिजन वन कार्यालय कैलाली भने घटनाको अतिरञ्जित गरिएको भन्दै आफ्नो बचाउमा उत्रिएको छ । आइतबार पत्रकार सम्मेलनमार्फत जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, 'मिति २०८३/०२/२९ गते पुन: अतिक्रमण हटाउने अभियान चलिरहेको अवस्थामा वन टोलीले गुडाउन नमिल्ने टेम्पोलाई बल प्रयोग गरी पन्छाउन खोजेको थियो । सोही क्रममा भिरालो भौगोलिक सतह र असन्तुलनका कारण सो कवाडी टेम्पोको अस्थिपञ्जर अनियन्त्रित भई दुर्घटनावश भीरबाट खस्न पुगेको यथार्थ जानकारी गराउन चाहन्छौँ ।'