११ जिल्लामा फैलियो बर्डफ्लु, झन्डै ६ लाख पन्छी नष्ट

विभिन्न ठाउँमा देखा परेको बर्डफ्लुको भाइरसको सिक्वेन्सिङ गरी गुण परिवर्तन भए/नभएको यकिन गरिँदै

असार ९, २०८३

कान्तिपुर संवाददाता

Bird flu spreads to 11 districts, nearly 600,000 birds destroyed

What you should know

काठमाडौँ — पन्छीमा लाग्ने बर्ड फ्लु (एच फाइभ एन वान) ११ वटा जिल्लामा फैलिएको छ । पशु सेवा विभागको तथ्यांकअनुसार पछिल्लो पटक काभ्रेमा पनि बर्डफ्लु पुष्टि भएको छ । काभ्रेको साँगा र पनौतीमा रहेका २ वटा फार्मका कुखुरा र हाँसमा बर्डफ्लु पुष्टि भएको हो । 

विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार अहिलेसम्म झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रे गरी ११ जिल्लाका कुल ८२ स्थानमा बर्डफ्लु पुष्टि भएको छ । अहिले काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेमा मात्र सक्रिय केस रहेको विभागले जनाएको छ । 

अहिलेसम्म बर्ड फ्लुबाट प्रभावित ५ लाख ६९ हजार ८ सय ५८ वटा पन्छी नष्ट गरिएको छ । त्यस्तै ९ लाख ८९ हजार ३ सय १३ वटा अण्डा र १ लाख ९५ हजार ४ सय ८५ के.जी. दानासमेत नष्ट गरिएको छ ।

केही दिनअघि जावलाखेलस्थित सदर चिडियाखानामा रहेका पन्छी र जनावरमा समेत बर्डफ्लु पुष्टि भएको छ । पन्छी र केही जनावरसमेत मरेपछि अनिश्चितकालका लागि चिडियाखाना बन्द गरिएको छ । पशु सेवा विभागका अनुसार चैत ४ गते मोरङको सुन्दरहरैचा-४ र उर्लाबारी-८ बाट फैलिएको बर्डफ्लु ११ जिल्लाका ८२ स्थानमा  देखिएको छ । 

रोग नियन्त्रणका लागि पशु सेवा विभागका उपमहानिर्देशकको नेतृत्वमा रहने गरी बर्डफ्लु रोग नियन्त्रण कक्ष स्थापना गरी रोग देखा परेको क्षेत्रमा सङ्घ, प्रदेश तथा स्थानीय तहको समन्वय र सहकार्यमा आवश्यक जनशक्ति परिचालन गरी नियन्त्रणको प्रयास भइरहेको महानिर्देशक दाहालले जानकारी दिए ।  

गृह मन्त्रालयसँगको समन्वयमा कोशी प्रदेशमा एक महिनासम्म रोग नियन्त्रणका लागि पन्छीको ओसारपसारमा रोक लगाइएको थियो । हाल रोग नियन्त्रणमा आएपश्चात भने खुकुलो बनाइएको विभागले जनाएको छ । 

कोशी प्रदेशमा देखिएको रोग हाल पूर्ण नियन्त्रणमा आइसकेको विभागको भनाइ छ । रोगको प्रकोप हाल काठमाडौं उपत्यकाका विभिन्न स्थानमा पालिएका पन्छीमा देखापर्ने क्रम भने बढेको महानिर्देशक दाहालको भनाइ छ । विभिन्न ठाउँमा देखा परेको बर्डफ्लुको भाइरसको सिक्वेन्सिङ गरी गुण परिवर्तन भए/नभएको यकिन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको समन्वयमा आवश्यक कदम चालिएको उनले बताए । 

विभागले फार्म परिसरमा जैविक सुरक्षाका विधि अवलम्बन गर्न आग्रह गरेको छ । अण्डा राख्ने कागजको पुरानो क्रेट पुनः प्रयोगमा नल्याउन तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनपर्ने भएमा पूर्ण नि:संक्रमण गरेर मात्र भित्र्याउन पनि विभागको आग्रह छ । त्यस्तै कागलगायतका जंगली पन्छीसँग घरपालुवा पन्छी तथा पन्छीको दाना लसपस हुन नदिने गरी थुनेर पन्छीपालन गर्न पनि विभागको अनुरोध छ । 

कान्तिपुर

Link copied successfully