२०८१ साउनमा गठबन्धनको सरकार बनेपछि रास्वपा र आफूमाथि राजनीतिक प्रतिशोध सुरू गरिएको उनले आरोप छ ।
काठमाडौँ — रास्वपा सभापति रवि लामिछानेले एमाले र कांग्रेसको गठबन्धनमा सरकार बनेसँगै रास्वपामाथि षड्यन्त्र गरिएको आरोप लगाएका छन् । २०८१ साउनमा गठबन्धनको सरकार बनेपछि रास्वपा र आफूमाथि राजनीतिक प्रतिशोध सुरू गरिएको उनले आरोप छ ।
भरतपुरमा जारी महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा उनले संसदीय छानबिन विशेष समितिको निष्कर्षविपरीत सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणजस्ता अनुचित आरोपहरू आफूमाथि लगाइएको उल्लेख गरेका छन् । ‘एमाले र कांग्रेसको सरकार बनेसँगै ममाथि नांगो राजनीतिक प्रतिशोध सुरू भयो र त्यसका लागि संस्थागत संयन्त्रहरु प्रयोग भए,’ उनले भनेका छन्, ‘एकपछि अर्को गरी नयाँ मुद्दाहरू थपेर अभियोजन गरियो । रातारात जेल हस्तानान्तरण गरियो, अन्तिम इच्छा सोधियो । हामीविरूद्ध राज्यका तीनै अंगको दुरूपयोग गरियो ।’
उनले संसदीय छानबिन समितिको निर्णयलाई राजनीतिक उपकरण बनाइएको भनेका छन् । ‘कार्यपालिका त अत्याचारको कारखाना नै भयो, न्यायपालिका समेतको दुरूपयोग भयो । चयनात्मक न्याय भयो,’ उनले प्रतिवेदनमा भनेका छन्, ‘हाम्रो पार्टी र नेतृत्वलाई यति कुटिल र जटिल कानुनी, राजनीतिक र संस्थागत चक्रब्युहमा फसाइएको थियो कि षड्यन्त्रकारीहरु रास्वपा सकियो भन्ने निष्कर्षमा थिए ।’
