सातादेखि चिया उद्योग र बगान ठप्प, ६० हजार श्रमिकको चुलाे प्रभावित

भारतको अवरोधपछि इलाम र झापाका ८० भन्दा बढी चिया उद्योग बन्द हुँदा पूर्वी नेपालका ६० हजार बढी श्रमिक परिवार बेरोजगारीको संकटमा परेका छन् ।

असार ८, २०८३

पर्वत पोर्तेल

Tea industry and plantations have been shut down for a week, affecting the livelihoods of 60,000 workers

What you should know

झापा — चिया टिप्नेयाम सुरु भएसँगै झापाको गिरीबन्धु चिया बगानमा बिहानैदेखि श्रमिकको चहलपहल हुन्थ्यो । चियाका कलिला मुना टिप्दै श्रमिकका गीत बगानभरि गुञ्जिन्थे । तर, अहिले दृश्य फेरिएको छ । बगानमा न श्रमिकको चहलपहल छ, न कामको रौनक । बरु चारैतिर सन्नाटा छ ।

भारतले नेपाली चिया निर्यातमा अवरोध खडा गरेको विरोधमा इलामका ५० भन्दा बढी र झापाका ३० भन्दा बढी चिया उद्योग तथा बगान बन्द भएपछि पूर्वका करिब ६० हजार श्रमिक तथा कर्मचारी प्रत्यक्ष प्रभावित भएका छन् । उद्योग र बगान बन्द हुँदा यसको सबैभन्दा ठूलो मार दैनिक ज्यालादारीमा आश्रित श्रमिक परिवारमा परेको छ ।

बगान बन्द भएपछि गिरीबन्धु चिया बगानका ५८ वर्षीय अम्बरबहादुर तामाङको सिंगो परिवार समस्यामा परेको छ। तामाङ परिवार मात्र होइन, बगानमा कार्यरत सयौं श्रमिक अहिले रोजीरोटीको संकटसँग जुधिरहेका छन् । ‘चिया बगान बन्द भएपछि घर चलाउनै समस्या भएको छ,’ तामाङ भन्छन्, ‘आम्दानीको एउटै बाटो थियो, त्यो पनि बन्द भयो ।’ 

उनका अनुसार दैनिक ज्यालामजदुरी गरेर जीवन धान्ने श्रमिकका लागि केही दिनको बेरोजगारी पनि ठूलो संकट हो । ‘दिनभर काम गरेपछि साँझ चुलो बल्थ्यो,’ गिरीबन्धुकी अर्की श्रमिक खिनामाया बास्तोला भन्छिन्, ‘अहिले काम छैन, चुल्हो कसरी बाल्ने भन्ने चिन्ता भइरहेको छ ।’

झापाको टोकला चिया बगानका श्रमिक हरिबहादुर दर्जी पनि बगान बन्द भएसँगै आर्थिक संकटमा परेको बताउँछन् । ‘भारतको अवरोध र त्यसपछि उद्योग बन्द हुँदा सबैभन्दा ठूलो पीडा श्रमिकले भोगिरहेका छन्,’ दर्जी भन्छन्, ‘उद्योगी, व्यापारी वा सरकारसँग समस्या समाधानका हल हुन सक्छन्, तर श्रमिकसँग रोजगारीबाहेक अर्को आधार छैन ।’

उनका अनुसार धेरै श्रमिक परिवार अहिले ऋण गरेर दैनिकी चलाउन बाध्य छन् । कतिपय परिवारले स्थानीय पसलबाट उधारोमा खाद्यान्न ल्याइरहेका छन् भने कतिपय युवा रोजगारीको खोजीमा भारत वा सहरतिर जाने तयारीमा छन् ।

मेचीनगर–१५ स्थित कालिका चिया बगानमा कार्यरत ५८ वर्षीय परमान मुर्मुका अनुसार बगान बन्द भएसँगै परिवारको आम्दानीको स्रोत नै बन्द भएको छ । ‘साताभरि काम गर्दा केही पैसा हात पथ्र्यो, त्यसैले परिवारको गर्जो टथ्र्यो,’ मुर्मु भन्छन्, ‘अहिले त पैसा आउने बाटो नै बन्द भएको छ ।’ उनकी श्रीमती पनि सोही बगानमा कार्यरत छिन् । दुवै जनाको ज्यालाले घरखर्च चल्दै आएको थियो । तर, अहिले दुवैको काम बन्द भएपछि परिवारको रोजीरोटी नै संकटमा परेको छ ।

श्रमिकहरूका अनुसार चिया क्षेत्रको संकट उद्योगको मात्र समस्या होइन, हजारौं परिवारको जीवनसँग जोडिएको मानवीय संकट हो । चिया उद्योग बन्द हुँदा पत्ती टिप्ने श्रमिक, ढुवानी मजदुर, साना व्यवसायी, होटल सञ्चालकदेखि स्थानीय अर्थतन्त्रसम्म प्रभावित भएको छ । कालिका चिया बगानका श्रमिक हरिबहादुर लिम्बू भन्छन्, ‘संकटको बेला बगानले नसके पनि राज्यले श्रमिकलाई सहयोग गर्नुपर्छ ।’

श्रमिकहरूले तत्काल समस्या समाधान गरी बगान र उद्योग पुन: सञ्चालनमा ल्याउन माग गरेका छन् । भारतसँग कूटनीतिक पहल गरी नेपाली चियाको निर्यात सहज बनाउनुपर्ने उनीहरूको भनाइ छ । साथै, उद्योग सञ्चालनमा नआउँदासम्म श्रमिक परिवारका लागि राहत तथा सामाजिक सुरक्षाको व्यवस्था गर्न उनीहरूले सरकारसँग आग्रह गरेका छन् । मेचीनगर–१५ कै वैभव चिया बगानकी श्रमिक शान्तिवती राजवंशी भन्छिन्, ‘बगानले बस्ने टहरो त दिएको छ, तर पेट पाल्न के खाने भन्ने समस्या अहिले सबैभन्दा ठूलो भएको छ ।’

यतिबेला चियाको पहिलो टिपाइको मुख्य समय हो । बगानका हरिया मुना लहलहाइरहेका छन् । तर, टिप्ने श्रमिक नहुँदा ती मुना बिस्तारै ओइलाउन थालेका छन् । चियाका मुनासँगै श्रमिकको आशा र भविष्य पनि ओइलाउने चिन्ता बढेको छ ।

भारतीय अवरोध र त्यसको विरोधमा उद्योग तथा बगान बन्द हुँदा पूर्वका ६० हजारभन्दा बढी श्रमिक परिवार बेरोजगारी र अनिश्चितताको चक्रमा फसेका छन् । 

भारतीय पक्षले नेपाली चियाको निर्यातमा नयाँ अवरोध खडा गरेपछि असार १ देखि इलामका र गत बिहीबारदेखि झापाका चिया उद्योग र बगान ठप्प भएका छन् ।

नेपाल चिया उत्पादक संघले जारी गरेको विज्ञप्तिअनुसार भारतीय सीमा नाकामा नेपाली तयारी चियाको गुणस्तर परीक्षणका नाममा रोक लगाइएपछि उद्योग सञ्चालन असम्भव बनेको हो । संघका अनुसार भारतको इन्डियन टी बोर्डले हालै लागू गरेको नयाँ स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्योर (एसओपी) का कारण नेपाली चिया निर्यात प्रभावित भएको छ । यसअघि वर्षौंदेखि निर्यात हुँदै आएको चियालाई सीमामै रोकेर परीक्षण प्रक्रिया थप जटिल बनाइएपछि उद्योगीहरू समस्यामा परेका छन्।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अनुसार नेपालमा करिब १० हजार हेक्टर क्षेत्रफलमा वार्षिक २ करोड ७४ लाख केजी चिया उत्पादन हुने गरेको छ भने भारतमा मात्रै वार्षिक २ करोड ५६ लाख केजी चिया निर्यात हुने गरेको छ। चिया उद्योगमा प्रत्यक्ष रूपमा ६० हजारभन्दा बढी व्यक्तिले रोजगारी पाइरहेका छन्।

भारतीय अवरोधका कारण ठूलो परिमाणमा तयारी चिया सीमामा रोकिँदा उद्योगहरूमा मौज्दात बढेको, नगद प्रवाहमा समस्या आएको तथा हजारौं किसान, श्रमिक र उद्यमी प्रत्यक्ष मारमा परेको महासंघले जनाएको छ। उद्योगहरू पछिल्ला केही दिनदेखि अनिश्चितकालीन बन्द हुन बाध्य भएको र यसले समग्र क्षेत्रीय अर्थतन्त्रमा नकारात्मक असर पार्ने चेतावनी दिइएको छ।

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully