भारतको अवरोधपछि ८३ चिया उद्योग बन्द गर्ने घोषणा

भारतीय चिया बोर्डले १ मेदेखि लागू गरेको मापदण्डमा प्रत्येक खेपको चियाको गुणस्तर अनिवार्य परीक्षण गर्नुपर्ने व्यवस्था अव्यावहारिक रहेको उद्योगीको गुनासो

असार १, २०८३

पर्वत पोर्तेल

Announcement to close 83 tea factories after India's obstruction

What you should know

विराटनगर — नेपाली चिया निर्यातमा भारतीय चिया बोर्डले लागू गरेको नयाँ मापदण्डका कारण नेपाली चिया उद्योग संकटमा परेका छन् । निर्यात ठप्प भएपछि सोमबारदेखि इलामका ५३ उद्योग बन्द गरिँदै छ । झापाका ३० चिया उद्योग ४ असारदेखि बन्द गर्ने घोषणा गरिएको छ ।

निर्यात ठप्प भएपछि सूर्योदय नगरपालिकाका ५३ चिया उद्योगले सोमबारदेखि उत्पादन बन्द गर्ने घोषणा गरेका हुन् । सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसनका अनुसार भारतीय बजारमा पुगिसकेको तीन लाख किलोभन्दा बढी नेपाली चिया गुणस्तर परीक्षणका नाममा रोकिएको छ । उद्योगहरूमा थप सात लाख किलोभन्दा बढी तयारी चिया मौज्दात छ ।

पहिले पनि विभिन्न बहानामा अवरोध हुने गरेको थियो तर अहिले बजारमा पुगिसकेको चियासमेत बिक्री गर्न नपाउने अवस्था बनाइएको छ ।– गोपाल कट्टेल, महासचिव, सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसनचिया प्रशोधन बन्दले उद्योगमा कार्यरत श्रमिक मात्र प्रभावित हुँदैनन्, चियापत्ती टिप्ने श्रमिकको रोजगारीमा समेत असर पर्नेछ । उद्योग बन्द लम्बिए हरियो चियापत्ती बोटमै हुर्किंदा किसान पनि सोझै मर्कामा पर्नेछन् । निर्यात रोकिएका कारण किसानलाई यसअघिकै हरियो चियापत्तीको मूल्य भुक्तानी गर्न कठिन भइरहेको उद्योगीहरूले बताएका छन् ।

एसोसिएसनका अध्यक्ष डिल्ली श्रेष्ठले उत्पादन भएको चिया बिक्री हुन नसक्दा उद्योग सञ्चालन असम्भव बन्दै गएको बताए । ‘किसानबाट खरिद गरिएको हरियो पत्ती प्रशोधन गरेर तयार पारिएको चिया बिक्री हुन सकेको छैन । गोदाम भरिएका छन् । किसानलाई भुक्तानी दिनुपर्ने भएकाले उद्योग सञ्चालन गर्न नसक्ने अवस्था आएको छ,’ उनले भने ।

भारतीय चिया बोर्डले १ मेदेखि लागू गरेको ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर’ (एसओपी) मा नेपालबाट निर्यात हुने प्रत्येक खेपको चियाको गुणस्तर अनिवार्य परीक्षण गर्नुपर्ने व्यवस्था गरिएको छ । तर परीक्षण प्रतिवेदन आउन दुई साताभन्दा बढी समय लाग्ने, प्रतिवेदन नआउञ्जेल बिक्री गर्न नपाइने तथा नमुना असफल भए चिया नष्ट गर्नुपर्ने वा फिर्ता ल्याउनुपर्ने हुनाले यसले व्यापारिक जोखिम अत्यधिक बढाएको उद्योगीहरूको भनाइ छ ।

एसोसिएसनका महासचिव गोपाल कट्टेलले यस पटकको समस्या विगतका अवरोधभन्दा गम्भीर भएको बताए । ‘पहिले पनि विभिन्न बहानामा अवरोध हुने गरेको थियो । तर, अहिले बजारमा पुगिसकेको चियासमेत बिक्री गर्न नपाउने अवस्था बनाइएको छ,’ उनले भने ।

उद्योगी पुनम राईले भारतीय पक्षको व्यवहार नेपाली चियालाई समस्यामा पार्ने खालको रहेको बताए । ‘गुणस्तरमै समस्या हो भने भन्सारमै परीक्षण हुनुपर्थ्यो । बजारमा पुगिसकेपछि बिक्री रोक्नु कुनै पनि हिसाबले न्यायोचित छैन,’ उनले भने ।

उद्योगले उत्पादन बन्द गर्नासाथ किसानले हरियो चियापत्ती टिपाइ रोक्नुपर्छ । सूर्योदय नगरपालिकामा मात्रै २ हजार ९ सय ९५ किसान चिया खेतीमा संलग्न छन् । नगरपालिकाको ३३ हजार ६ सय ५५ रोपनी क्षेत्रफलमा वार्षिक करिब २ करोड किलो हरियो चियापत्ती उत्पादन हुने गर्छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कृषि अधिकृत इन्द्र अधिकारीका अनुसार नेपालबाट वार्षिक ७० लाख किलोभन्दा बढी अर्थोडक्स चिया निर्यात हुने गरेको छ, जसको ९० प्रतिशतभन्दा बढी हिस्सा भारतीय बजारमा निर्भर छ । इलामलगायतका पहाडी जिल्लामा अर्थोडक्स (पत्तीवाला) चिया तयार गरिन्छ । झापामा मुख्यतया सीटीसी (दानादार) चिया तयार गरिन्छ ।

नेपालले वार्षिक करिब सवा ४ अर्ब रुपैयाँ बराबरको तयारी चिया निर्यात गर्दै आएको छ । नेपाली चिया उद्योगमा श्रमिक र किसान गरी ५० हजार जना प्रत्यक्ष संलग्न छन् ।

नेपाल चिया उत्पादक संघले आइतबार बैठक गरेर ४ असारदेखि झापाका साना–ठूला गरी ३० चिया उद्योग तथा दर्जनभन्दा बढी चिया बगान बन्द गर्ने निर्णय गरेको छ । संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताका अनुसार भारतीय पक्षले नेपाली चियाको निर्यातमा लगाएको अवरोध नहटाएसम्म उद्योग र बगान बन्द गरिने बताए । ‘भारतले अवरोध नखोलेसम्म बन्द जारी राख्ने निर्णय गरेका छौं,’ गुप्ताले भने ।

भारतीय चिया बोर्डले लागू गरेको नयाँ गुणस्तर परीक्षण प्रक्रियाका कारण नेपाली चिया बोकेका गाडीहरू भारतमा रोकिँदा निर्यात प्रभावित भएको उद्योगीहरूको गुनासो छ । झापामा १० हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा चिया खेती हुँदै आएको छ । यहाँ २० हजारभन्दा बढी किसान तथा श्रमिक प्रत्यक्ष रूपमा चिया क्षेत्रमा आबद्ध छन् ।

सूर्योदय नगरपालिकाले भारतीय कदमलाई गैरभन्सार अवरोधको संज्ञा दिँदै तत्काल समाधानका लागि कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गरेको छ । उद्योगी, किसान र जनप्रतिनिधिले चिया संकटलाई इलामको मात्र नभई राष्ट्रिय उत्पादन, निर्यात, रोजगारी र विदेशी मुद्रा आर्जनसँग जोडिएको गम्भीर आर्थिक मुद्दाका रूपमा लिनुपर्ने बताएका छन् ।

चिया व्यवसायीहरूले समस्या समाधानका लागि नेपाल सरकारमार्फत भारतसँग तत्काल कूटनीतिक पहल गरी निर्यातमा देखिएको अवरोध हटाउन माग गर्दै आएका छन् ।

चिया उद्योगको संकटबारे इलामका सांसद सुहाङ नेम्वाङले पनि सरकारको ध्यानाकर्षण गराएका छन् । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र मन्त्रालय, उद्योग–वाणिज्य मन्त्रालय, कृषि मन्त्रालय तथा नयाँदिल्लीस्थित नेपाली दूतावासमार्फत उच्चस्तरीय कूटनीतिक पहल गरी चियाको बिक्री तथा निकासी खुलाउन माग गरेका छन् ।

परीक्षण प्रक्रिया पारदर्शी, पूर्वानुमानयोग्य र समयबद्ध हुनुपर्ने उनले बताएका छन् । ‘चियाको पातले प्रशासनिक प्रक्रिया र कूटनीतिक पत्राचार पर्खंदैन । आजको ढिलाइले किसानको वर्षभरिको श्रम, उद्योगको लगानी र हजारौं श्रमिकको रोजगारी जोखिममा पर्छ,’ नेम्वाङले सामाजिक सञ्जालमार्फत भनेका छन् । उनले चियाको शीघ्र परीक्षण, नेपालका प्रयोगशालाको प्रमाणपत्रलाई भारतले मान्यता दिने व्यवस्था तथा प्रभावित उद्योगलाई सहुलियतपूर्ण चालु पुँजी उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन् ।

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully