आफू अनुसन्धानमा पूर्ण सहयोग गर्न तयार रहेको उल्लेख गर्दै आरजु राणाले उपचारका कारण तत्काल नेपाल फर्किन नसक्ने व्यहोरा इमेलमार्फत पठाएको अख्तियारका एक अधिकारीले जानकारी दिए ।
What you should know
काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी खरिद ठेक्का प्रकरणमा बयानका लागि तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवालाई बोलाएको छ । आयोगले बुधबार बूढानीलकण्ठस्थित देउवा निवासमै पुगेर तीन दिनभित्र उपस्थित हुनुपर्ने भन्दै म्याद तामेल गरेको थियो ।
राहदानी छपाइसम्बन्धी कार्यमा भ्रष्टाचारजन्य कसुर गरेको भन्ने उजुरीबारे बयान लिनुपर्ने भएको भन्दै अख्तियारको टोलीले बुधबार बुढानीलकण्ठस्थित देउवा निवासमा सूचना टाँसेको हो ।
तर, आरजु राणाले इमेलमार्फत आफू उपचारका लागि विदेशमा रहेकाले तोकिएको तीन दिनभित्र उपस्थित हुन नसक्ने जानकारी आयोगलाई गराएकी छन् ।
आफू अनुसन्धानमा पूर्ण सहयोग गर्न तयार रहेको उल्लेख गर्दै उनले उपचारका कारण तत्काल नेपाल फर्किन नसक्ने व्यहोरा इमेलमार्फत पठाएको अख्तियारका एक अधिकारीले जानकारी दिए ।
राहदानी खरिद ठेक्का प्रकरणमा अख्तियारले हालसम्म राहदानी विभागका तत्कालीन महानिर्देशक तीर्थराज अर्याल, निर्देशक सुनीलकुमार केसी, जर्मन कम्पनी मुह्रबाउरका नेपाली एजेन्ट मनिन्द्रराज मल्ल र विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्यलाई पक्राउ गरिसकेको छ । विशेष अदालतले उनीहरूलाई अनुसन्धानका लागि थुनामा राख्न अनुमति दिएको छ ।
राहदानी खरिदमा भएको भनिएको अनियमिततामा ३५ जनाभन्दा बढीमाथि विस्तृत छानबिन भइरहेको आयोगका अधिकारीहरूको भनाइ छ । अख्तियारका अनुसार ठेक्का प्रक्रियासँग सम्बन्धित सरकारी अधिकारी तथा कम्पनीका प्रतिनिधिसहित २० जनाभन्दा बढीको बयान लिइसकिएको छ भने अनुसन्धानकै क्रममा थप व्यक्तिहरूमाथि सोधपुछ जारी छ । प्रारम्भिक अनुसन्धानले राहदानी खरिद प्रक्रियामा करिब ८ अर्ब रुपैयाँ बराबरको अनियमितता भएको देखिएको अख्तियारको दाबी छ ।
स्रोतका अनुसार राहदानी खरिदसम्बन्धी उजुरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अख्तियारमा परेपछि सरकारले पनि यस विषयमा चासो दिएको थियो। त्यसक्रममा प्रधानमन्त्री कार्यालयले राहदानी विभागमा टोली पठाएर ठेक्का प्रक्रिया तथा मौज्दात राहदानीको अवस्था अध्ययन गरेको थियो ।
यस्तो छ घरमा टाँसेको सूचना
