घरभित्रसमेत असुरक्षित छन् महिला

चालु आर्थिक वर्षमा ६८ र पछिल्ला ६ वर्षमा ५२८ महिलाको हत्या आफ्नै श्रीमान्‌ले गरेका छन् भने कोशी, लुम्बिनी र मधेशमा घटनाहरू उच्च देखिन्छन्।

असार २, २०८३

आरती पौडेल

Women are unsafe even at home.

What you should know

काठमाडौँ — काठमाडौंको तारकेश्वर नगरपालिका–६ लोलाङ पैंयुटारमा गत जेठ २२ गते घरायसी विवादका क्रममा ४२ वर्षीय कुमार थापा ‘नेपाली ब्रो’ले श्रीमती ईश्वरी भुजेललाई रड प्रहार गरे । ईश्वरी गम्भीर घाइते भइन् । उनलाई अस्पताल पुर्‍याइए पनि उपचारका क्रममा डाक्टरले मृत घोषणा गरे ।

ईश्वरीका आफन्तका अनुसार केही समयदेखि दम्पतीबीच खटपट चलिरहेको थियो । कुमारले पटक–पटक ईश्वरीलाई ज्यान मार्ने धम्की दिएका थिए । ईश्वरीले प्रहरी चौकीमा उजुरीसमेत दिएकी थिइन् । तर चौकीले ‘सामान्य घरझगडा’ भन्दै आफैं मिल्न सुझाव दिएको थियो । घटना हुनुअघिसम्म ईश्वरी र कुमार सम्बन्धविच्छेदको प्रक्रियामा रहेको परिवारले जनाएको छ । ईश्वरी नेपाली सेनाकी सुबेदार पदमा कार्यरत थिइन् । 

***

गत वर्ष साउनमा पोखरा–२७, रिठ्ठेपानीस्थित सुकुमवासी बस्तीमा बस्दै आएका ५८ वर्षीय जंगे सार्की श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परे । छिमेकीले जंगे र उनकी श्रीमती जमुना नेपालीको घरबाट दुर्गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले ढोका खोलेर हेर्दा ५३ वर्षीय जमुना मृत अवस्थामा भेटिएकी थिइन् । साउन ८ गते प्रहरीले जमुनाको शव सडेगलेको अवस्थामा फेला पारेको थियो । 

प्रहरीका अनुसार, श्रीमान्-श्रीमतीको जग्गा बेच्ने विषयमा  साउन ६ गते झगडा परेको थियो । झगडा हुँदा जंगेले २ मुक्का प्रहार गरी भित्तामा ठोक्काएर हत्या गरेको अनुसन्धानपश्चात खुलेको थियो । कास्की जिल्ला अदालतको २०८२ भदौ २ गतेको आदेशअनुसार जंगेलाई पुर्पक्षका लागि कारागार चलान गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले जनाएको छ । 

*** 

गत वर्ष वैशाख २८ गते झापाको कनकाई नगरपालिका-२ सुकेडाँगीमा ३५ वर्षीय कविराज हेमरमले खुकुरी प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका थिए । 

***

चालु आर्थिक वर्ष २०८२/८३ को तथ्यांक हेर्दा ६८ जना महिलाको श्रीमान्‌बाटै हत्या भएको देखिन्छ । आर्थिक वर्ष २०७७/७८ देखि चालु आर्थिक वर्ष २०८२/८३ सम्म ५ सय २८ महिलाले आफ्नै श्रीमान्‌को हातबाट ज्यान गुमाएका छन् । कोशी प्रदेशमा श्रीमतीको हत्या गरेको घटना उच्च देखिन्छ । त्यसपछि लुम्बिनी र मधेश प्रदेशमा श्रीमान्‌ले श्रीमती हत्या गरेका धेरै घटना देखिन्छन् ।  

त्यसो त पछिल्लो समय श्रीमतीले श्रीमान्‌को हत्या गरेका घटना पनि सार्वजनिक भएका छन् । चालु आर्थिक वर्षमा ७ पुरुषको हत्या श्रीमतीले नै गरेका छन् । पछिल्लो ६ वर्षमा सय जना पुरुषले श्रीमतीकै कारण ज्यान गुमाएका छन् ।

***

सम्बन्धमा उतारचढाव, शंका-उपशंका र विवाहेत्तर सम्बन्धले पनि घरझगडा हत्यासम्म पुग्ने गरेको पूर्वएआईजी दुर्गा सिंह चन्द बताउँछिन् । ‘अहिलेको समयमा विवाहेत्तर सम्बन्ध, शंका–उपशंका, र सम्बन्धमा पारदर्शिताको कमी प्रमुख चुनौतीका रूपमा देखिएका छन्,’ उनले भनिन् । ‘महिला हुन् वा पुरुष धेरै सम्बन्धहरूमा विवाहेत्तर सम्बन्ध पनि धेरै देखिन्छन् ।’

हत्याहिंसाका पछिल्ला घटनाहरूलाई योजनाबद्ध अपराध मात्र भनेर बुझ्न नहुने सिंह बताउँछिन् । ‘परिवारमा हुने हत्याका घटना एकैदिनका निर्णय होइनन्, यसमा लामो समयसम्मका विभिन्न मानसिक तनावको कारण हो,’ उनले भनिन्,‘म मार्छु’ भनेर सुरूदेखि योजना बनाएको हुँदैन । तर निरन्तर तनाव, अविश्वास, अपमान, आर्थिक समस्या, वा सम्बन्धभित्रको टकरावले गर्दा उसमा मानसिक दबाब बढ्दै जान्छ र अन्ततः त्यो दबाब हत्यासम्मको कदम चाल्ने निर्णयमा पुग्छ ।’

बदलिँदो पारिवारिक जीवनयापन साथै सामाजिक शैलीका कारण पनि घटना बढेको सिंहको भनाइ छ । ‘पहिले संयुक्त परिवार हुन्थ्यो ।  छिमेकी र समुदायको सक्रिय निगरानी हुन्थ्यो । साथै, नैतिक नियन्त्रणले व्यक्तिको व्यवहारलाई सन्तुलित राख्ने भएकाले त्यस्ता घटना कम देखिन्थे भने अहिले त्यसविपरीत छ । त्यसैले पनि यस्ता घटना बढेका देखिन्छन्,’ उनले भनिन् । 

***

पछिल्लो समय मानिसहरू आत्मकेन्द्रित हुदा हिंसा बढ्न थालेको वरिष्ठ मनोविद् प्रा.डा. गंगा पाठक बताउँछिन् । ‘अहिले समाजमा मानवीय भावना, माया, सहानुभूति कमजोर बन्दै गएको छ । त्यसको ठाउँ रिस, आक्रोशले लिँदै गएको छ ।  रिस नियन्त्रण गर्न नसक्दा हिंसात्मक व्यवहार बढेको देखिन्छ,’ उनले भनिन्,‘मान्छे सेल्फसेन्टर्ड हुँदै गएका छन् । तत्काल आफ्नो इच्छा पूरा गर्न खोज्ने प्रवृत्तिले पनि पीडा र भावनाप्रतिको संवेदनशीलता घटाएको छ ।’ 

हत्यासम्म कुनै मानिस पुग्नु भनेको अचानक लिएको निर्णय भने नभएको पाठक बताउँछिन् । ‘कसैको हत्या गर्छु भनेर अचानक लिएको निर्णयभन्दा पनि यस्ता घटना पछाडि मानसिक स्वास्थ्य समस्या, व्यक्तित्वसम्बन्धी विकार, गलत हुर्काइ र पारिवारिक वातावरण,  सम्बन्धहरूमा तनाव, समाजबाट सिकेको व्यवहारजस्ता कारण जोडिएका हुन्छन्,’ उनले भनिन्,‘कुनै पनि व्यक्ति जन्मजात अपराधी हुदैन । पारिवारिक वातावरण, समाजबाट सिकेको व्यवहार नै उसले व्यक्तित्व निर्माण गर्छ । त्यसैले बाल्यकालदेखि नै देखिने व्यवहारगत समस्यालाई बेवास्ता गर्नु हुँदैन ।’

हिंसात्मक स्वभाव भएका व्यक्तिमा माया, सहानुभूति कम हुने गरेको मनोविद् पाठक बताउँछिन् । ‘हिंसात्मक स्वभाव भएका व्यक्तिमा प्राय: पर्सनालिटी डिसर्डर देखिने गर्छ । जसको लक्षण १४/१५ वर्षकै उमेरदेखि देखिन थाल्छ,’ उनले भनिन्,‘यसको संकेत उनीहरूले अरूलाई बिनाकारण शंका गर्ने, रिस नियन्त्रण गर्न नसक्ने, सामान्य विषयमा पनि अत्याधिक आक्रोश देखाउने जस्ता लक्षण देखाउँछन् । त्यसरी नै उमेर बढेपछि अरूमाथि हिंसा गर्नेसम्मको गतिविधिमा संलग्न हुन पुग्छन् ।’  

त्यसरी नै यस्ता व्यक्तिको मस्तिष्कमा माया, सहानुभूति र खुसीसँग सम्बन्धित ‘अक्सिटोसिन’ जस्ता हर्मोनको मात्रा कम हुनसक्ने र नकारात्मक सोच, बदला र आक्रामक व्यवहारलाई बढावा दिने तत्व बढी सक्रिय हुन जाने पाठक बताउँछिन् ।  ‘समयमै परामर्श, काउन्सिलिङ र मानसिक स्वास्थ्य सेवामा पहुँच बढाउन सकियो भने हिंसात्मक प्रवृत्ति नियन्त्रण गर्न र भविष्यमा हुने अपराधका घटना रोक्न सकिन्छ,’ उनले भनिन् । 

व्यक्तिगत हिंसा, पारिवारिक कलह र सामाजिक विकृतिलाई व्यक्तिगत सोच र व्यवाहरको  उपजभन्दा पनि सामाजिक उत्पादन, अर्थ राजनीति र पारस्परिक सम्वन्धको आधारमा व्याख्या गर्दा सत्यताको नजिक पुग्न सकिने त्रिभुवन विश्वविद्यालय समाजशास्त्रका उपप्रध्यापक लक्ष्मणप्रसाद शर्मा बताउँछन् । ‘हरेक घटना सामाजिक संरचना, सम्बन्ध र अन्तरक्रियाको उपज सिर्जना हुने गर्दछन् । पछिल्लो समय विश्वव्यापी रूपमा मौलाएको पुँजीवादी अर्थतन्त्रले नेपाली समाजको संरचना, सम्बन्ध र अन्तरक्रियामा व्यापक बदलाव ल्याएको सजिलै देख्न सकिन्छ,’ उनले भने,‘जसको परिणाम नै यस्ता प्रकृतिका घटना घट्ने गर्दछन् ।’

परिवार, नाता-सम्बन्ध, विवाह, राजनीति र अर्थतन्त्रजस्ता सामाजिक संरचनामै पछिल्लो पटक परिवर्तन देखिएको उपप्राध्यापक शर्मा बताउँछन् । ‘समाजमा देखावटी, औपचारिकता र अविश्वासको वातावरण बलियो बन्दै गएको छ,’ उनले भने । 

कस्तो छ कानुनी व्यवस्था ? 

नेपालको मुलुकी अपराध संहिताले ज्यानसम्बन्धी कसुरलाई त्यसको प्रकृति र मनसायका आधारमा विभिन्न वर्गमा विभाजन गरिएको र हत्याको प्रकृति हेरेर सजाय व्यवस्था गरिएको अधिवक्ता प्रकाश निरौला बताउँछन् । ‘कसैलाई मार्ने नियत राखेर गरिएको हत्या मनसायगत हत्यामा पर्छ । यसमा मुलुकी अपराध संहिताको दफा १७७ र १७८ आकर्षित हुन्छ  । यस्तो कसूर गर्नेलाई जन्मकैदको सजाय हुने व्यवस्था छ,’ उनले भने,‘आवेशप्रेरित हत्या यस्तो अवस्थामा पीडकलाई १० देखि १५ वर्ष कैद सजाय र १ लाख रुपैयाँदेखि १ लाख ५० हजारसम्म जरिवानाको व्यवस्था गरिएको छ ।’

श्रीमान् र श्रीमतीबीच हुने झगडा र हत्याका घटना विभिन्न्न कारणले देखिने गरेको र हत्याको प्रकृति हेरेर सजाय दिलाउने कानुनी व्यवस्था रहेको उनी बताउँछन् । 

‘विभिन्न किसिमका विवादपछि हत्या भएका घटना देखिन्छन् । सम्पत्ति र आर्थिक विवाद दाइजो वा सम्पत्तिको विषयलाई लिएर विवाद भई हत्यासम्म पुगेका घटना धेरै देखिन्छन्,’ अधिवक्ता निरौलाले भने,‘वैदेशिक रोजगारका कारण सिर्जित पारिवारिक दूरी र शंका, परस्त्री वा परपुरुषसँगको सम्बन्ध शंका र सम्बधका कारण हुने विवाद, मादकपदार्थ सेवन गरी हुने घरायसी साना झगडा मृत्युसम्म पुग्ने घटना बढी देखिन्छन् ।’

मुलुकी अपराध संहिताको दफा ४१ अनुसार ६ प्रकारका अपराध गरी कुनै व्यक्तिले हत्या गरेको खण्डमा आजीवन कैद (जिवित रहेसम्म्म सजाय) हुने व्यवस्था रहेको निरौला बताउँछन् । यातना दिएर वा निर्ममतापूर्वक (ब्रुटल हत्या) टुक्रा टुक्रा पारी हत्या गरेमा, हवाईजहाज अपहरण वा बम विष्फोट गरी गरेको हत्या, अपहरण वा शरीर बन्धक बनाई गरेको हत्या, सार्वजनिक रुपमा उपभोग हुने पेय पदार्थ वा खाद्यवस्तुमा विष हाली हत्या गरेमा, जाति हत्या गर्ने उद्देश्यले कुनै सम्प्रदायको विनाश गरेमा, जबर्जस्ती करणी गरी हत्या गरेमा आजीवन कैद गर्ने व्यवस्था रहेको निरौलाको भनाइ छ । 

कानुनको उद्देश्य केवल सजाय दिनु मात्र नभएर अपराधीलाई सुधार्नु रहे पनि नेपालको कारागारमा कैदीहरूलाई काममा लगाउने स्पष्ट कानुनको अभाव रहेको निरौला सुनाउँछन् ।

पितृसत्तात्मक सोच र संरचनाले गर्दा अझै पनि महिला परिवारभित्रै असुरक्षित हुनु परेको महिला अधिकारकर्मी रीता साह बताउँछिन् । ‘पछिल्लो समयमा महिलाहरूको शिक्षाको स्तर, गतिशीलता आर्थिक रूपमा सशक्त हुने प्रक्रिया बढेको छ । त्यसरी नै प्रविधि र सूचनामा पहुँच बढेसँगै महिलाहरू आफ्ना अधिकार, स्वतन्त्रता र शरीरमाथिको अधिकारका बारेमा सचेत भएका छन्,’ उनले भनिन्,‘यद्यपि, महिलाहरू यसरी सशक्त हुँदै जाँदा समाज र परिवारले यसलाई स्वीकार गर्न सकेको छैन, जसले गर्दा सम्बन्धहरू विशाक्त र जटिल बन्दै गएका छन् । 

महिलाले आफ्नो हुनुपर्ने अधिकार दाबी गर्दा, त्यस्ता कुरालाई अझै समाजले पचाउन नसक्ने गरेको साहको भनाइ छ ।  ‘महिला सशक्त हुनुपर्छ सबैले चाहन्छन् । तर सशक्त महिलालाई अपनाउन कसैले चाहँदैनन्,’ उनले भनिन्,‘महिलाले आफ्नो हक, हितको लागि,  अधिकार दाबी गरेको वा आवाज उठाएको अझै पनि समाजले पचाउन सक्दैन । पितृसत्तात्मक सोच अझै तराईमा बढी देखिन्छ ।’

महिलालाई निकै क्रुर तरिकाले हत्या गर्ने प्रविधि बढेको साहको भनाइ छ । ‘अहिले हिंसाको प्रकृति र प्रवृत्ति फेरिएको छ । अहिले अत्यन्तै क्रुर खालका हिंसाहरू हुने गरेका छन्, जस्तै आफ्नै श्रीमतीको हत्या गरी टाउको प्रहरी चौकी पुर्‍याउने वा अंगभंग गर्ने,’ उनले भनिन् ।  साइबर अपराधपछि नेपालमा सबैभन्दा बढी घरेलु हिंसा हुने गरेको उनी बताउँछिन् । 

पीडितलाई नै समाजले दोषी देखाउने प्रवृत्ति भएको कारण पीडकको मनोबल बढ्ने गरेको उनी सुनाउँछिन् । 

‘हाम्रो समाजमा भिक्टिम ब्लेमिङ प्रवृत्ति बढी नै छ । महिलाले हिंसा सहन नसकेर आवाज उठाउँदा वा मुद्दा हाल्दा उनलाई माइती र घर दुवैबाट असहयोग हुने स्थिति सिर्जना हुन्छ,’ उनले भनिन्,‘यसले गर्दा पीडकको मनोबल झन् बढ्छ । उसले हत्यासम्मको विचार राख्छ ।’ 

नेपालमा घरेलु र यौन हिंसाविरुद्ध पर्याप्त कानुन र संरचना हुँदाहुँदै पनि तिनीहरूको कार्यान्वयन पक्ष एकदमै झन्झटिलो, र प्रक्रिया लामो भएकाले महिला अझ पीडामा पर्नु परेको साह बताउँछिन् ।

‘हाम्रो समाजमा छोरा र छोरीलाई हुर्काउने तरिका नै फरक छ । छोरीलाई लजाउन र घरभित्र बस्न सिकाइन्छ भने छोरालाई केटी साथीसँग कसरी आदरपूर्वक व्यवहार गर्ने भन्ने सिकाइँदैन,’ उनले भनिन्,‘छोराहरूले घरमा आफ्नो बुबाले गरेको व्यवहार नै सिकिरहेका हुन्छन् । ठूलो भएपछि त्यही कुरा व्यवहारमा उतार्छन् ।’ 

आरती पौडेल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सामाजिक तथा समसामयिक विषयमा कलम चलाउँछिन् ।

Link copied successfully