पाँच वर्षमा १ हजार ३ सय ७५ आत्महत्याका घटनामध्ये ३ सय ७२ घरेलु हिंसासँग सम्बन्धित देखिन्छ । कर्णालीका महिलामा बढदाे मानसिक स्वास्थ्य समस्यासँग पनि यसको सोझो सम्बन्ध छ ।
What you should know
वीरेन्द्रनगर — दैलेख आठबीस नगरपालिका-३ निमायलकी सुकी बडुवाल श्रीमान्को यातना सहन नसकेर चार छोरीसहित कर्णालीमा हाम फालेको घटना सेलाउन नपाउँदै, सुर्खेतकै गुर्भाकोट नगरपालिका-१२ पिप्लेकी ३८ वर्षीया माया कठायत पनि दुई सन्तानसहित भेरी नदीमा हाम फालेकी छन्।
सुर्खेतको पञ्चपुरी नगरपालिका-३ का ३८ वर्षीय अमरबहादुर आले मगरले श्रीमती मीना को हत्या गरी प्रहरी कार्यालय पुगे । वीरेन्द्रनगर-१० का दानसिंह ठाडाले श्रीमती रविना थापालाई सुतेको बेला चिर्पट प्रहार गरेर हत्या गरे । सुकी र मायाले श्रीमान्को यातना सहन नसकेर भेरी र कर्णालीमा हाम फालेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
२०७७ साल फागुन २३ गते दैलेखकी सुकी बडुवालले मदिरा र लागूऔषध सेवन गर्ने श्रीमानको दैनिक कुटपिट, मानसिक तथा शारीरिक हिंसाका कारण चार सन्तानसहित कर्णाली नदीमा हाम फालेकी थिइन्। त्यस्तै आइतबार सुर्खेतको गुर्भाकोट नगरपालिका-१२ पिप्लेकी ३८ वर्षीया माया कठायत दुई छोराछोरीसहित भेरी नदीमा हाम फालिन्। मायाले भेरीमा हाम फाल्नुको कारण थियो- श्रीमान्को कुटपिट र विभिन्न प्रकारका यातना। भुपेन्द्र लामो समय रोजगारीका क्रममा भारतमा थिए । तर पछिल्लो ६ महिनायता भने घरमै थिए।
घर बस्ने भएपछि भुपेन्द्रले अटो किनेर चलाउन थाले। अटो किन्नुभन्दा पहिले भुपेन्द्र र मायाको सम्बन्ध राम्रै थियो। मायाका दाजु प्रेम गिरीले भन्छन्, ‘ज्वाइँ अटो चालक भएपछि बहिनी र ज्वाइँबीच सम्बन्ध बिग्रँदै गएको हामीले पछि थाहा पायौं।’ प्रेमका अनुसार माया र भुपेन्द्रको सम्बन्ध दसैंसम्म ठीकठाक थियो । 'दसैंपछि सम्बन्धमा खटपट भएको थाहा पायौं। राति आउने, कुटपिट गर्ने, बाहिर परस्त्रीसँग कुरा गर्ने भइरहेको रहेछ। बहिनीले यो कुरा आमालाई मात्र सुनाउने रहिछन्। तर आमाले हामीलाई भन्नुभएको थिएन। आमाले पनि श्रीमान्-श्रीमतीको कुरामा नलागौं, घरबार बिग्रेला भन्ने सोच्नुभएको रहेछ। अब त मेरो बहिनीको कुनै वंश नै बाँकी रहेन,’ प्रेमले भने।
भुपेन्द्रले मायाका काका अमरदेव गिरीकै घरमा गएर मायामाथि कुटपिट गरेका थिए । 'भतिजी, नातिनी र नातिलाई ज्वाइँ रोकिएको ठाउँसम्म पुर्याइदिन्छु भन्दा भतिजीले ‘आफैं जान्छु’ भनिन्, तर ज्वाइँ भएको ठाउँमा गएका रहेनछन्। फेरि ज्वाइँले ‘किन आएनन् उनीहरू?’ भनेर मलाई फोन गर्नुभयो। मैले ‘अघि नै आइसकेका हुन्’ भनेर जानकारी गराएँ। म पनि फेरि कता गए भनेर खोज्न गएँ, ज्वाइँ पनि आउनुभयो। ज्वाइँ भएको ठाउँमा नगएर झाडीमा लुकेका रहेछन्,' अमरदेवले भने । अमरदेवले किन घर नगएको भनेर मायालाई सोधे । मायाको जवाफ थियो, 'मलाई पिट्छन्, घरमा खुकुरी देखाउँछन् ।' भुपेन्द्रले अमरदेवकै अगाडि मायालाई कुटपिट गरे ।
अमरले त्यस दिन ‘भतिजी, आज नजाऊ, भोलि लिन आउनुहोस्, छलफल गरेर लैजानुहोस्’ भनेर फर्काएको बताए। भोलिपल्ट ३० गते शनिबार राति ८ बजेतिर फेरि भुपेन्द्र आएर मायालाई कुट्न खोजे । अमरदेवले भने, ‘मैले ज्वाइँलाई सम्झाएपछि राति अबेरसम्म भतिजी र ज्वाइँ कोठामा बसेर कुरा गरिरहेका थिए तर मध्यराति उनीहरूलाई यतै छोडेर घर जानुभयो।’ आइतबार बिहानै ६ बजे नै ‘छोरीको परीक्षा छ, गइहाल्छौं’ भनेर माया घरतर्फ लागिन् ।
दिउँसो १२ बजे भुपेन्द्र आएर ‘मेरो श्रीमती र छोराछोरी कहाँ छन्?’ भनेर सोधे । अमरदेवले ‘बिहानै गइहाले’ भने । 'कतै अन्यत्रै गइन् कि भनेर मैले र ज्वाइँले खोज्यौं। अबेरसम्म भेटिएनन्। पछि भेरी नदीको किनारमा भतिजीको मोबाइल, झोला र नातीनातिनाका चप्पल भेटिएको खबर आयो,' उनले भने ।
इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक प्रकाश केसीले मायाका बुवा बालुदेव गिरीले आत्महत्या दुरुत्साहनविरुद्ध मुद्दा दर्ता गराएको बताए । उनले भने, ‘पोस्टमार्टम रिपोर्ट नआएसम्म केही भन्न सकिने अवस्था छैन, भुपेन्द्रको मोबाइल लिएका छौं, थप अनुसन्धान गर्दैछौं।’
यी त प्रतिनिधि घटना मात्र हुन् । कर्णालीमा घरेलु हिंसामा परेका महिलाहरू मानसिक समस्याबाट गुज्रिरहेको तथ्यांकले देखाएको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार २०७८ सालदेखि २०८२/८३ सम्म कर्णाली प्रदेशमा १ हजार ३ सय ७५ आत्महत्याका घटनामध्ये ३ सय ७२ वटा घटना पारिवारिक कलह र श्रीमान्–श्रीमतीबीचको कारण भएको देखिन्छ।
कर्णालीमा २०७८ यता ८ सय ५२ जना बलात्कार र ८ जनाको हत्या भएको छ। आठबीस नगरपालिकाकी तत्कालीन उपप्रमुख तथा महिला क्षेत्रमा काम गर्दै आएकी दिपा बोहोराले हिंसालाई घरभित्रको निजी कुरा ठान्ने सामाजिक मानसिकता परिवर्तन नगरेसम्म कर्णालीमा यस्ता घटनाले बढावा पाइरहने बताउँछिन्। ‘कर्णालीका नदीहरू केवल पानी बगाउने मात्र होइनन्, हामी दिदीबहिनीका पीडाले थिचिएका शरीरको अन्तिम साक्षी बन्दै जानेछन्,’ उनले भनिन्, ‘महिलाहरू आफ्नै घरभित्र असुरक्षित छन्, समाज र राज्य दुवै असफलताको प्रतिविम्ब देखिन्छ।’
कर्णाली प्रदेश प्रहरी प्रवक्ता एसएसपी रामप्रकाश शाहले कर्णालीमा पछिल्लो समय मदिरा, लागुऔषध र घरेलु हिंसाका घटना अत्यधिक रूपमा बढेको बताए। कर्णालीमा २०७८ यता ८ सय ५२ जना बलात्कार र ८ जनाको हत्या भएको छ। एसएसपी शाहका अनुसार ३ सय ७२ वटा पारिवारिक कलह र श्रीमान्-श्रीमतीबीचको मनमुटावका कारण घटना घटेका छन्।
मध्यपश्चिम विश्वविद्यालय, समाजशास्त्र विषयकी उपप्राध्यापक कमला तिवारी महिलाहरूले हिंसा सहन नसकेर मृत्यु रोज्न बाध्य हुनुमा परिवार मात्र नभई समाज पनि उत्तिकै दोषी रहेको बताउँछिन् ।
'महिला र बालबालिकाले आफूले अपेक्षा गरेको व्यवहार घरपरिवारमा नपाउँदा उनीहरू मानसिक रूपमा विचलित हुने र सही निर्णय लिन नसक्ने अवस्थामा पुग्छन्। मानसिक अस्थिरताले सही निर्णय लिन दिँदैन, जसका कारण आत्महत्याजस्तो कठोर बाटो रोज्ने अवस्था आउँछ,' उनी भन्छिन् ।
आमाको पीडा नजिकबाट देखेका बालबालिकामा समेत त्यसको गहिरो प्रभाव पर्ने र उनीहरूले पनि मृत्युलाई सहज रूपमा स्वीकार्ने मनोविज्ञान विकास हुने खतरा रहने तिवारीको भनाइ छ ।
समाज र प्रविधिसँग समायोजन तथा तनाव व्यवस्थापनमा सरकारले प्रभावकारी कदम चाल्नुपर्ने उपप्राध्यापक तिवारीको सुझाव छ ।
आत्महत्या रोकथामका लागि हेल्पलाइनहरू:
-पाटन अस्पताल: ९८१३४७६१२३
-त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल: ९८४००२१६००
-नेपाल मानसिक अस्पताल: ११६६
-ट्रान्सकल्चरल साइकोसोसल अर्गनाइजेसन नेपाल: १६६००१०१००५ (निःशुल्क)
