‘विशेष सहजीकरण’मार्फत भिक्षु पन्नाकरा र ‘पिस डग’ अलोका दिल्ली उडे

कुकुरको स्वास्थ्यसम्बन्धी कागजात भए पनि 'यात्रुलाई सर्भिस डग आवश्यक रहेको' प्रमाणपत्र नभएको भन्दै पहिलो उडानमा रोकिएको थियो ।

असार २, २०८३

सुरज कुँवर

Monk Pannakara and 'Peace Dog' Aloka flew to Delhi through 'special facilitation'

काठमाडौँ — आवश्यक कागजातको विषयमा विवाद भएपछि मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएका बौद्ध भिक्षु भन्ते पन्नाकरा र ‘पिस डग’ अलोका एयर इन्डियाको दोस्रो उडानमार्फत दिल्ली प्रस्थान गरेका छन् । 

एयर इन्डियाको काठमाडौं विमानस्थल प्रबन्धक अनिल कुमारका अनुसार बिहानको उडानमा बोर्डिङ रोकिए पनि कम्पनीले ‘विशेष सहजीकरण’ गर्दै उनीहरूलाई बिहान १० बजे दोस्रो उडानमार्फत दिल्ली पठाएको हो । 

‘भिक्षु र कुकुर अलोकालाई हामीले १० बजेको उडानमा पठाइसकेका छौं । उहाँले खरिद गर्नुभएको टिकटअनुसारकै श्रेणीमा यात्रा गर्नुभएको छ,’ कुमारले भने, ‘कुकुरलाई सहज होस् भनेर उहासँगै छेउको एउटा सिट पनि खाली राखेर व्यवस्था मिलाइएको छ ।’ 

यसअघि एयर इन्डियाले अलोकालाई ‘सर्भिस डग’ का रूपमा जहाजको क्याबिनमा लैजान आवश्यक कागजात नपुगेको भन्दै बोर्डिङ अनुमति दिएको थिएन । कम्पनीका अनुसार 'यात्रुमा कुनै शारीरिक समस्या भएकाले त्यस्तो कुकुरको सहयोग आवश्यक परेको' भन्ने खालको चिकित्सकीय प्रमाणपत्र अनिवार्य हुन्छ । 

‘सर्भिस डग भनेको दृष्टिविहीन, श्रवण समस्या भएका वा अन्य स्वास्थ्य चुनौती भएका व्यक्तिलाई सहयोग गर्न विशेष रूपमा तालिम दिइएको कुकुर हो,’ कुमारले भने, ‘यात्रुले त्यस्तो सहयोग आवश्यक भएको चिकित्सकको प्रमाणपत्र पेस गर्नुपर्छ । उहाँहरूसँग कुकुरको स्वास्थ्यसम्बन्धी कागजात थियो, तर यात्रुलाई सर्भिस डग आवश्यक रहेको प्रमाणपत्र थिएन ।’ 

उनका अनुसार यही कारणले पहिलो उडानमा यात्रा अनुमति दिन नसकिएको हो । तर भिक्षु पन्नाकरा धार्मिक व्यक्तित्व भएको र विषय विशेष प्रकृतिको भएकाले कम्पनीले उच्च तहमा छलफल गरी विशेष व्यवस्था मिलाएको उनले बताए ।  ‘यो विशेष अवस्था भएकाले हामीले सहजीकरण गर्ने निर्णय गर्यौं,’ उनले कान्तिपुरसँग भने, ‘उहँहरूलाई अन्ततः दिल्ली पठाइएको छ ।’

भिक्षु पन्नाकरा र अलोका १८ सदस्यीय टोली मंगलबार बिहान दिल्ली फर्किंदै थिए । अलोकालाई लैजान नसकिएपछि मुख्य भिक्षु काठमाडौंमै रोकिएका थिए भने बाँकी १७ जना पहिलो उडानमा दिल्ली उडेका थिए । 

यो टोली भोलि दिल्लीबाट अमेरिका फर्किंदै छ । सन् २०२२ मा सडकमा भेटिएको कुकुरबाट विश्वशान्तिको प्रतीक बनेको ‘पिस डग’ अलोका पछिल्ला वर्षहरूमा भिक्षुहरुसँग विभिन्न देशमा शान्ति, करुणा र सहअस्तित्वको सन्देश फैलाउने यात्रामा सहभागी हुँदै आएको छ ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully