सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीका अनुसार अर्थ मन्त्रालयसँगको समन्वयमा ती गाडी फिर्ता गरिएको हो ।
काठमाडौँ — सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको ७७४ वटा विद्युतीय सवारीसाधन (ईभी) सम्बन्धित पक्षलाई जिम्मा लगाएर पठाइएको छ।
सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीका अनुसार शनिबार ती सवारीसाधन सम्बन्धित पक्षलाई बुझाएर पठाइएको हो । उनका अनुसार, अर्थ मन्त्रालयसँग समन्वयमा ती गाडी फिर्ता गरिएको हो ।
सशस्त्र प्रहरीले कास्कीदेखि मुस्ताङसम्मका सडकमा जाँच अभियान सञ्चालन गरी नेपाल–चीन सीमा नाका कोरला हुँदै भित्रिएका ७७४ वटा ईभी नियन्त्रणमा लिएको थियो । अर्थ मन्त्रालयको अनुरोधमा थप छानबिनका लागि ती सवारीसाधन नियन्त्रणमा लिइएको प्रवक्ता कार्कीको भनाइ छ ।
'पर्वतको कुश्मा र हेम्जामा रोकिएका गाडी सम्बन्धित धनीले लगिसकेका छन् । भन्सार जाँचपास भएर कोरला नाकामै रोकिएका पनि लाने क्रम सुरु भएको छ,' मुस्ताङ भन्सार कार्यालय कोरलाका प्रमुख भन्सार अधिकृत विदुर चुडालले भने, 'प्रक्रिया पूरा गरेरै भित्र्याइएका कारण सम्बन्धित धनीलाई लैजान अनुमति दिइएको हो ।'
सवारीसाधन नियन्त्रणमा लिएपछि अर्थ मन्त्रालयले उपसचिव भुपालराज शाक्यको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रतिनिधि समेत रहेको समितिलाई ती सवारीसाधन कानुनसम्मत रूपमा आयात गरिएका हुन् वा होइनन् भन्ने विषयमा छानबिन गरी प्रतिवेदन पेस गर्न जिम्मेवारी दिइएको थियो ।
