सपनाको 'जेल ब्रेक' प्रकरणमा प्रेमीसहित उनका बुबाविरुद्ध पनि मुद्दा

जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानका आधारमा अदालतमा दायर कैदी भागे, भगाएको कसूरमा तामाङसहित ३ जनालाई प्रतिवादी बनाइएको हो ।

जेष्ठ ३१, २०८३

गौरव पोखरेल

Case filed against Sapna's father, lover in 'jail break' case

What you should know

काठमाडौं — बालिका अपहरणपछि हत्यामा संलग्न अभियोगमा जन्मकैद सजाय पाएकी सपना तामाङ कारागारबाट फरार भएको प्रकरणमा प्रेमी सुवास श्रेष्ठसहित उनका बुबा मिनकुमारविरुद्ध समेत मुद्दा दर्ता भएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानका आधारमा अदालतमा दायर कैदी भागे, भगाएको कसूरमा तामाङसहित ३ जनालाई प्रतिवादी बनाइएको हो ।

केन्द्रीय कारागार, सुन्धारामा कैद सजाय भुक्तान गरिरहेकी तामाङ १ जेठ राति करिब १:२० बजे भागेकी थिइन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले गरेको अनुसन्धानमा उनी महिला बन्दी गृहको ४ नम्बर भवन पछाडि रहेको पर्खालमा तरकारी राख्ने क्रेट र पानी राख्ने ड्रमको भर्‍याङ बनाएर हाम फालेको पाइएको थियो ।

तामाङसहितका प्रतिवादीलाई पक्राउ गरेर प्रहरीले जिल्ला प्रहरी परिसर, काठमाडौं बुझाएको थियो । त्यसका आधारमा अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सपना, समिर र मिनकुमारविरुद्ध कारागार ऐन, २०७९ अन्तर्गत अभियोगपत्र दायर गरेको हो ।

सरकारी वकिलको रोहवरमा प्रहरीले लिएको बयानमा सपनाले कारागारबाट भाग्ने सोच धेरै समयदेखि मनमा रहेको खुलाएकी छन् । त्यही उद्देश्यअनुसार कारागारको पर्खाल नजिक ५/६ दिनदेखि तरकारी राख्ने प्लास्टिकका क्रेटहरू जम्मा गरेर राखेको उनको बयान छ ।

उनका अनुसार ३ जेठको राति करिब १:२० बजे सबै बन्दी सुतेपछि उनले ती क्रेटलाई भर्‍याङ बनाएर पर्खाल चढिन् । ड्युटीमा रहेका प्रहरी ‘राउन्ड’ मा गएको मौका छोपी तारबार र पर्खाल नाघेर बाहिर निस्किइन् । त्यसपछि उनले ठमेल पुगेर अपरिचित व्यक्तिको मोबाइलबाट समिर र उनका बुबा मिनकुमारलाई फोन गरेको बताएकी छन् ।

‘मलाई तपाईंको छोरा भएको ठाउँमा पुर्‍याइदिनुस्,’ भनेर मिनकुमारलाई भनेको उनले स्वीकारेकी छन् । उनका छोरा समिर केन्द्रीय कारागारमा आउजाउ गरिरहन्थे ।

उनकी आमा सीमा थापा श्रेष्ठ कारागारको उद्योगमा सपनासँगै काम गर्थिन् । प्रहरीका अनुसार, समिरकी आमा ९ जेठ २०६६ मा काठमाडौंको धोबीघाटमा तीन भारतीय नागरिकको मृत्यु र अरू १३ जना घाइते हुने गरी चर्चमा भएको प्रेसरकुकर बम विस्फोटकी नाइके थिइन् । त्यस्तोमा उनै आमालाई भेट्न जाँदा समिर र सपनाबीच चिनजान भएको थियो ।

जेन-जी आन्दोलनका बेला पनि सपना जेलबाट निस्किएर समिरलाई भेट्न गएकी थिइन् । त्यसबेलै उनीहरूबीचको प्रेम झांगिएको थियो । दोस्रो पटक कारागारबाट भागेपछि मिनकुमारले उनलाई छोरा समिर बस्ने काठमाडौंको बाँगेमुढास्थित डेरामा पुर्‍याइदिएको बयान छ । तर, उनले चाहिँ धरौटीमा छुटे भनेकाले सहयोग गरेको दाबी गरेका छन् ।

समिरले पनि राति कोठामा पुगेकी सपनाले आफू धरौटीमा छुटेको बताएको दाबी गरेका छन् । त्यसपछि आफूहरूले २ दिन काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा काम खोज्दै हिँडेको उनको बयान छ । ‘यसरी कारागारबाट भागेको कैदीलाई साथमा लिएर आफूसँगै राख्नु गल्ती भयो, कानुनबमोजिम सजाय भोग्न तयार छु,’ समिरले भनेका छन् ।  अनुसन्धानबाट उनीहरू सातदोबाटो, खुमलटारलगायत क्षेत्रमा काम खोज्दै हिँडेको खुलेको छ ।

प्रहरीले चाहिँ सपना, समिर र मिनकुमारबीच पटक पटक फोन सम्पर्क भएको, समिर कारागारमै भेट्न जाने गरेको तथा फरार भएपछि उनीहरूले सपनालाई आफ्नै डेरामा लुकाएर राखेको, भाग्न सहयोग गरेको भन्दै बाबुछोरालाई पनि प्रतिवादी बनाएको छ ।  

अभियोगपत्रमा सपना तामाङले कारागार ऐन, २०७९ को दफा ४९(१)(ख) अनुसार कारागारबाट भागेको कसूर गरेको तथा समिर र मिनकुमारले दफा ४९(२) अनुसार कैदी भगाउन सहयोग गरेको उल्लेख छ । उक्त व्यवस्थाअनुसार कारागारबाट भाग्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ ।

कैदी भगाउने वा भगाउन सहयोग गर्नेलाई ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजायको व्यवस्था छ ।

गौरव पोखरेल राष्ट्रिय सुरक्षा मामिला, सुशासन र समसामयिक विषयमा कान्तिपुरका लागि रिपोर्टिङ गर्छन् ।

Link copied successfully