जन्मकैद सजाय काटिरहेकी सपना तामाङ प्रहरीको २४सै घण्टा सुरक्षा रहने केन्द्रीय कारागारबाट भाग्न सफल भएको घटनाले त्यहाँ सुरक्षा व्यवस्थापनमाथि समेत प्रश्न उठाएको छ, त्यसबारे छानबिन गर्न उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले समिति बनाउने तयारी गरेको छ ।
What you should know
काठमाडौं — सोमबार अपराह्न साढे २ बजे, उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको मुद्दा शाखामा एक युवती टोलाइरहेकी थिइन् । कालो–सेतो रङको फूलबुट्टे कुर्तामाथि प्रहरीले उनलाई थुनुवा लेखिएको ज्याकेट लगाइदिएको थियो । प्रहरीको रेकर्डअनुसार सपना तामाङको हातमा हत्कडी लागेको यो पहिलो पटक भने होइन । ‘झट्ट हेर्दा कसले पो कुनै खुंखार अपराधमा समातिएको ठान्ला ?’ कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्का स्वयं प्रश्न गर्छन् ।
उमेर २५ वर्ष, जेल सजाय पनि २५ वर्षकै । कसुरचाहिँ हत्या, अपहरण, डाँका/चोरी । जेन–जी आन्दोलनमा कार्यालयको भवन जलेको हुन्थेन भने उनी नजिकै रहेको थुनुवा कक्षमा हुन्थिन् । कार्यालय ध्वस्त बनेपछि नजिकै रहेको निर्माणाधीन भवनमा सरेको कार्यालयमा उनलाई राखिएको छ । ७२ घण्टाअघिसम्म उनी केन्द्रीय कारागार सुन्धारामा जन्मकैद सजाय कटाइरहेकी थिइन् । यो बीचमा कारागारमा एउटा त्यस्तो घटना भयो, जसले उनको अपराध अभिलेख प्रणालीमा फेरि अर्को मुद्दा थप्दै छ ।
०००
२० मंसिर २०७७, रसुवाको कालिका गाउँपालिका–१, फैलिगाङकी ६ वर्षीया सुमिना तामाङ स्थानीय ग्राङ प्राथमिक विद्यालयबाट घर फर्किंदै थिइन् । सुनको मुन्द्रा लगाएकी थिइन्, पटकपटक चोरीमा संलग्न सपनाको नजर उनको कानमा परिहाल्यो । त्यसबेला अनुसन्धानमा संलग्न अधिकृतका अनुसार, उनी मुन्द्रा तानेर भाग्न खोजिन्, केहीबेर अलमल भयो । सुमिनाले उनलाई स्पष्ट चिनिन् । ‘बच्चीले चिनिन् र पक्राउ पर्छु भन्ने लागेपछि उनले अपहरण गरिन्,’ ती अधिकृतले भने, ‘पछि हत्या गरी कालिका गाउँपालिका–१, पलेपस्थित नागुर्दुङ भीरको ओढारमा लगेर सेउलाले छोपिदिइन् ।’
त्यसअघि नै तीन पटक उनी चोरीमा पक्राउ परिसकेकी थिइन् । चोरीका घटनामा सुरुमा सामान फिर्ता गरेपछि नाबालिग भनेर मिलापत्र गराएरसमेत छाडिएको थियो ।
पटकपटक उस्तै अभियोगमा समातिन थालेपछि एक वर्ष भक्तपुरस्थित बाल सुधार गृहमा पनि बसिन् । त्यहाँबाट निस्किँदा १८ वर्षकी थिइन् । १९ वर्षको हुँदा नहुँदै ६ वर्षीया बालिकाको हत्या अभियोगमा पक्राउ परिन् । पुर्पक्षका लागि रसुवा कारागारको थुनामा रहेकी उनी ६ वैशाख २०७७ मा सरुवा भएर केन्द्रीय कारागारको महिला ब्लकमा आएकी थिइन् । जेन–जी आन्दोलनपछि उत्पन्न परिस्थितिमा २४ भदौमा अरू कैदीबन्दीसँगै भागिन् । करिब २ महिनापछि रसुवाको धुन्चेबाट प्रहरीले उनलाई पक्राउ गरेको थियो । उनी गाउँको एउटा घरको ढोका फोडेर लुकेर बसिरहेको सूचना पाएपछि पुगेको जिल्ला प्रहरी कार्यालय, रसुवाको टोलीले पक्राउ गरेर काठमाडौं पठाएको थियो । जेन–जी आन्दोलनमा सबै कैदी भागेकाले प्रहरीले सामान्य नै ठान्यो । तर, उनले दोस्रो पटक कारागार चलान भएबाटै ‘जेल–ब्रेक’ को योजना बनाउन थालिसकेकी थिइन् ।
कारागारभित्रै झांगिएको प्रेम
कानुनको नजरमा सपना गम्भीर अपराधकी दोषी थिइन् । प्रेमको मामिलामा भने उनी कैदी रहिरहन सकिनन् । भाग्ने सोचेकी थिइनन् । कारागारभित्रै उद्योगमा काम गर्थिन्, अलिअलि पैसा कमाउँथिन् । तर, जब त्यही उद्योगमा काम गर्ने बम विस्फोटको घटनाकी योजनाकार सीता थापा श्रेष्ठलाई भेट्न आउने उनका छोरा समिर श्रेष्ठको प्रेममा परिन्, त्यसपछि उनको लक्ष्य फेरियो । समिरकी आमा ९ जेठ २०६६ मा काठमाडौंको धोबीघाटमा तीन भारतीय नागरिकको मृत्यु र अरू १३ जना घाइते हुने गरी चर्चमा भएको प्रेसरकुकर बम विस्फोटकी नाइके थिइन् ।
पहिले समिर उनका आमालाई खाना पुर्याउन कारागार जान्थे । पछि कारागारभित्रै माटोको भाँडा बनाउने उद्योगमा कच्चा पदार्थ पुर्याइदिन थाले । त्यहीं काम गर्ने सपनाको समिरसँग भेटघाट बाक्लिन थाल्यो । ‘जेलमा नियमित कुरा हुन्थ्यो, रमाइलै लाग्थ्यो,’ उनले अनुसन्धान अधिकृतलाई भनेकी छन्, ‘तर, जेन–जी आन्दोलनमा निस्किएपछि माया बढ्यो ।’
३ जेठ बिहानै करिब १ बजे तरकारीको ६ वटा क्रेटको भर्याङ बनाएर भागेको समेत उनले सुनाइन् । त्यसपछि काँडेतार नाघेर ९ फिटको पर्खालबाट उनी फाल हानेकी थिइन् । गम्भीर कुराचाहिँ उनी मध्यराति नै भागिन्, तर, कारागार प्रशासनले भोलिपल्टको नियमित गणनामा मात्र घटनाबारे थाहा पायो । ‘साढे ३ सय महिला बन्दी छन्, बिहान पत्ता नै लागेन,’ कारागारका जेलर कृष्ण चापागाईं भन्छन्, ‘बेलुका थाहा हुनेबित्तिकै प्रहरीले खोजी थालेको थियो ।’
प्रहरीका अनुसार, कारागारबाट एक जना युवती फरार भएको सूचना पाउनेबित्तिकै उनी जान सक्ने सम्भावित ठाउँको सूची बनाएर खोजी हुन थालेको थियो । प्रहरीले कारागारभित्र उनलाई भेट्न समिर आइरहने गरेको थाहा पाएको थियो । कार्यालयमा जघन्य अपराध अनुसन्धान गर्ने पिलर–४ का डीएसपी अनिल घिमिरेका अनुसार, उनी घरमा नभेटिएपछि प्रहरीको शंका थप बलियो भयो । अन्ततः ४ जेठको बिहान असनमा समिरकै कोठाबाट उनी पक्राउ परिन् । प्रहरी पुगेपछि उनले सुनाइन्, ‘अर्को एक जना विदेशी साथीसहित जेलबाट भाग्ने योजना थियो । तर, उसले धोका दिएपछि एक्लै भागेकी थिएँ ।’ ती विदेशीले चाहिँ भाग्ने योजना रहेको स्विकारेकी छैनन् । ‘जेलमा बसिरहेको भए म निस्किने बेला ५० वर्ष पुग्थें,’ उनले प्रहरीलाई भनेकी छन्, ‘धेरै सजाय थियो, त्यसैले जसरी पनि भाग्नुपर्छ भन्ने सोच्थें ।’
प्रहरीले उनलाई भगाउन सहयोग गरेको आरोपमा श्रेष्ठलाई समेत पक्राउ गरेको छ । उनले चाहिँ जेन–जी आन्दोलनपछि आफूहरू नजिकिएको बताएका छन् । सपनाको सम्बन्ध अनि जेल–ब्रेकबारे अनुसन्धान गरिरहेका अधिकृतहरू समिरलाई मूर्ख भन्छन् । ‘जेलबाट भागेकी युवतीलाई लिएर उनी काम खोज्दै हिँडेका थिए, त्यस्तोलाई मूर्ख नभनेर के भन्ने ?’ ती अनुसन्धान अधिकृतले टिप्पणी गरे, ‘ललितपुरको सातदोबाटो र खुमलटार क्षेत्रमा काम खोजिदिने अफिसमा पुगेको अनुसन्धानबाट खुलेको छ ।’
प्रहरीको २४सै घण्टा सुरक्षामा रहने कारागारबाट राति सपना भाग्न सफल भएको विषयले प्रहरीको सुरक्षा व्यवस्थापनमाथि समेत प्रश्न उठाएको छ । त्यसबारे छानबिन गर्न उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले समिति बनाउने तयारी गरेको छ ।
