सुन्धारा कारागारबाट फरार सपना मध्यराति पक्राउ 

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गएराति असनबाट पक्राउ गरेको हो ।

जेष्ठ ४, २०८३

गौरव पोखरेल

Sapana, who escaped from Sundhara Prison, arrested at midnight

काठमाडौँ — काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारबाट भागेकी अपहरण, हत्या र डाका चोरी मुद्दाकी अभियुक्त सपना तामाङ पक्राउ परेकी छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गएराति असनबाट पक्राउ गरेको हो । 

कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काका अनुसार, जन्मकैद सजाय भएकी उनी फरार भएपछि खोजीका लागि सहयोग गरिदिन कारागार प्रशासनले समन्वय गरेको थियो । ‘त्यसपछि निरन्तर खोजी गरिरहेका थियौं, गएराति फेला पारेका छौं,’ उनले कान्तिपुरसँग भने । 

प्रहरीका अनुसार, उनलाई भाग्न सहयोग गरेको आरोपमा भोजपुर घर भएका २६ वर्षीय समिर श्रेष्ठसमेत पक्राउ परेका छन् । कारागार प्रशासनका अनुसार, उनी शनिबार राति साढे १ बजे कारागारको पर्खाल नाघेर भागेको पाइएको छ । 

तर, २४ सै घन्टा सुरक्षा निगरानीमा रहने कारागारबाट कसरी उनी भाग्न सफल भइन् भन्ने विषयमा विस्तृत जाँच सुरु भएको छ । जिल्ला अदालत, रसुवाले उनलाई जन्मकैद सजाय भएको थियो, त्यसपछि केन्द्रीय कारागार ल्याइएको थियो ।

गौरव पोखरेल राष्ट्रिय सुरक्षा मामिला, सुशासन र समसामयिक विषयमा कान्तिपुरका लागि रिपोर्टिङ गर्छन् ।

Link copied successfully