मंगलबार हेटाैंडामा सुरु भएको रास्वपा बागमती प्रदेश अधिवेशन प्रतिनिधि विवादका कारण स्थगित भएको थियो । केन्द्रीय निर्वाचन आयोगले शनिवारका लागि निर्वाचनको नयाँ कार्यतालिका र मतदान सम्बन्धी विवरण सार्वजनिक गरेको हो ।
What you should know
हेटौंडा — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको अधिवेशनको निर्वाचन शनिबार काठमाडौंमा हुने भएको छ । बुधबार हेटौंडामा उद्घाटन गरिएको अधिवेशन प्रतिनिधिको विवादका कारणले निर्वाचन स्थगित गरिएको थियो ।
रास्वपाको केन्द्रीय निर्वाचन आयोगले सूचना जारी गर्दै निर्वाचनको नयाँ कार्यतालिका र मतदान सम्बन्धी विवरण सार्वजनिक गरेको हो ।
यसअघि जेठ २७ गते प्राविधिक तथा व्यवस्थापकीय कारणले स्थगित गरिएको निर्वाचन प्रक्रियाअन्तर्गतका सम्पूर्ण प्राविधिक कार्य (मतदाता नामावली प्रमाणीकरण, समायोजन सूची व्यवस्थापन र प्राविधिक परीक्षण) सम्पन्न गरेर आयोगले मतदानको मिति तय गरेको जनाएको छ ।
आयोगका अनुसार मतदान शनिबार बिहान ११ देखि बेलुका ५ बजेसम्म काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट दरबार (शंख पार्क) मा हुने छ ।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले निर्वाचन प्रक्रिया पूर्ण रुपमा विद्युतीय मतदान मेसिन मार्फत सञ्चालन गरिने जानकारी दिएका छन् । निर्वाचन आयोगले मतदानमा सहभागी हुने प्रतिनिधिका लागि मतदान स्थल प्रवेश र मतदानका लागि पार्टीले उपलब्ध गराएको परिचयपत्र र लेवी बुझाएको प्रमाण अनिवार्य गरेको छ । विद्युतीय मतदान मेसिन प्रयोग गर्ने तरिकाबारे मतदान स्थलमा स्वयंसेवक र निर्वाचन अधिकृतले जानकारी गराउने व्यवस्था गरिएको उनले उल्लेख गरेका छन् ।
रास्वपा बागमती प्रदेश समितिको नयाँ नेतृत्व चयनका लागि गत सोमबार हेटौंडामा अधिवेशन आयोजना गरिएको थियो । सोमबारबाट सुरु भएको अधिवेशन अन्तर्गत निर्वाचन प्रक्रिया प्रारम्भ भएर ५ जनाले मतदान गरेसँगै निर्वाचनको कार्यक्रम रोकिएको थियो । प्रतिनिधि तथा मतदाता नामावली र उम्मेदवारका विषयमा विवाद हुँदा निर्वाचन कार्यक्रम स्थगित भएको थियो ।
रास्वपा बागमती प्रदेश समितिको नेतृत्वको लागि ४ जनाको उम्मेदवारी कायम भएको छ । ५ जनाको उम्मेदवारी परे पनि एकले उम्मेदवारी फिर्ता गरेका थिए । प्रदेश सभापतिका लागि सांसद एवम् निवर्तमान सभापति डा. अच्युतम लामिछाने (नुवाकोट), निवर्तमान प्रवक्ता उत्सव अर्याल (मकवानपुर), कृष्णमान श्रेष्ठ (धादिङ) र हरिबहादुर खत्री (रामेछाप)ले उम्मेदवारी दिएका छन् । सांसद बदन भण्डारीले भने उम्मेदवारी दिएर फिर्ता गरेका थिए ।
रास्वपा बागमती प्रदेशको सदस्य पदका लागि भने ८८ जनाको उम्मेदवारी परेको छ । प्रदेशको उपसभापति, महामन्त्री तथा सहमहामन्त्री पदका लागि भने दोस्रो चरणमा निर्वाचन हुनेछ । यी पदाधिकारीमा उम्मेदवार बन्न सदस्य निर्वाचित हुनुपर्ने व्यवस्था रहेकाले दोस्रो चरणमा पुन निर्वाचन हुने छ । केन्द्रीय निर्वाचन आयोग प्रमुख केसीका अनुसार प्रदेशका निर्वाचनमा १ हजार १ सय मतदाता रहेका छन् ।
