मतदाता नामावलीमा विवाद उत्पन्न भएपछि निर्वाचन स्थगित गरिएको हो । २४ घण्टाभित्र अर्को सूचना जारी गरिने निर्वाचन समिति संयोजक सुमित्रा पण्डितले जानकारी दिइन् ।
हेटौँडा — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश अधिवेशनका प्रतिनिधिहरूको विवादका कारण निर्वाचन प्रक्रिया स्थगित भएको छ ।
निर्वाचन समिति संयोजक सुमित्रा पण्डितले हाललाई निर्वाचन कार्यक्रम स्थगित गरिएको जानकारी दिइन् ।निर्वाचन कार्यक्रम स्थगित भएपछि अधिवेशनस्थल सुनसान भएको छ । मतदाता नामावलीमा विवाद उत्पन्न भएपछि निर्वाचन स्थगित गरिएको हो । २४ घण्टाभित्र अर्को सूचना जारी गरिने संयोजक पण्डितले जानकारी दिइन् ।
निर्वाचन समितिले मंगलबार अव्यवस्थित रुपमा हस्तलिखित मतदाता नामावली प्रकाशन गरेको थियो । मंगलबार नै मतदाता नामावली प्रकाशनमा प्रश्न उठे पनि निर्वाचन समितिले उम्मेदवारी दर्ता प्रक्रिया अगाडि बढाएको थियो ।
प्रहरीले अधिवेशनमा आएका प्रतिनिधिहरूलाई 'तपाईंहरूको नेताहरू नै यहाँ हुनुहुन्न, जानुस्' भनेर अधिवेशनस्थल खाली गराएका थिए । रास्वपाको बागमतीको अधिवेशनमा सहभागी प्रतिनिधिमध्ये ४०० जनाविरुद्ध उजुरी परेको छ । मंगलबारदेखि सुरु भएको अधिवेशनमा सहभागी प्रतिनिधिविरुद्ध परेको उजुरी र विवादमा समाधानका लागि निर्वाचन प्रक्रिया रोकिएको छ ।
बुधबार बिहान ८ बजेदेखि मतदान प्रक्रिया सुरु गर्ने कार्यतालिका बनाइए पनि समयमा मतदान हुन नसकेपछि प्रतिनिधिहरू घर फर्कन लागेका थिए ।
निर्वाचन आयोगले मतपत्रमा देखिएको त्रुटि सच्याउन, समायोजनको सूचिमा रहेका प्रतिनिधिको विवाद समाधान गर्न र समिति व्यवस्थापनका लागि निर्वाचन प्रक्रिया स्थगित गर्नुपरेको निर्वाचन समितिले जानकारी गराएको छ ।
निर्वाचन समितिका अनुसार अधिवेशनका लागि १३ सयभन्दा बढी प्रतिनिधि छनोट भएका थिए । प्राविधिक र व्यवस्थापकीय कार्य सकिएपछि मतदानका लागि २४ घण्टा अघि जानकारी गराउने निर्वाचन समितिले जनाएको छ ।
