वीर अस्पताल : बेथितिको चाङ, सकसमा बिरामी

दुईदिने बिदा र अन्य अस्पतालमा स्वास्थ्य बिमा बन्द हुँदा बढ्यो बिरामीको चाप, पदाधिकारी नहुँदा औषधिलगायत आवश्यक सामग्री खरिदका लागि टेन्डर प्रक्रियामा ढिलाइ, बिग्रिएका उपकरण मर्मत नहुँदा र बेलाबेलामा स्वास्थ्यकर्मी नै आन्दोलित हुँदा मारमा बिरामी।

जेष्ठ २६, २०८३

अर्जुन पौडेल, विशाल कार्की

Bir Hospital: Amidst the chaos, patients in distress

What you should know

काठमाडौँ — जेठ दोस्रो साता अन्त्यतिरको कुरा हो । ४० वर्ष आसपासका एक पुरुष छातीमा असह्य दुखाइ भएपछि वीर अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि पुगेका थिए । चिकित्सकले बिरामीलाई हृदयाघात भएको आशंका गरे र प्रोथ्रोम्बिन टाइम/इन्टरनेसनल नर्मलाइज रेसियो (पीटीआईएनआर) परीक्षण गर्नुपर्ने निष्कर्ष निकाले । 

पीटीआईएनआर परीक्षण रगत जम्ने क्षमता जाँच गर्न प्रयोग गरिने परीक्षण हो । रक्तचापको औषधि प्रयोग गरिरहेका बिरामीमा अक्सर यस्तो परीक्षण आवश्यक हुन्छ । तर परीक्षणका लागि आवश्यक रिएजेन्टको अभावमा पछिल्लो पाँच महिनायता वीरमा यस्तो सेवा ठप्प छ । समयमै टेन्डर प्रक्रिया सुरु नगरिँदा अस्पतालमा यस्तो अवस्था आइपरेको हो ।

हृदयाघातको दुखाइका कारण छटपटिएका बिरामीलाई पहिल्यै अरू दुई जना बिरामी सुतिरहेको बेडमा बस्न भनियो । किनकि इमर्जेन्सीमा बेड संख्याभन्दा तीन–चार गुणा धेरै बिरामी आउनु र तिनलाई यसैगरी कोचाकोच गरेर राख्नु वीर अस्पतालमा सामान्य भइसकेको छ । रिएजेन्टको अभावमा परीक्षण रोकिएपछि थप उपचार प्रक्रिया प्रभावित भयो र त्यही बेला बिरामीको मृत्यु भयो ।

Bir Hospital: Amidst the chaos, patients in distress

अस्पतालमा कार्यरत दुई स्वास्थ्यकर्मीले यो घटनाबारे पुष्टि गर्दै भने, ‘त्यतिबेला न सिनियर डाक्टर थिए न परीक्षण नै हुन सक्यो । बचाउन सकिने बिरामीलाई पनि बचाउन सकिएन ।’ इमर्जेन्सीमा बिरामीको मृत्युको घटनापछि मृतकका परिवारहरूले शव बुझ्न अस्वीकार गर्दै लापरबाहीले बिरामीको मृत्यु भएको बताए । अस्पतालको आकस्मिक विभागमा कार्यरत एक चिकित्सकले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘बिरामीको मृत्युपछि अस्पतालमा निकै ठूलो हंगामा भयो । शव बुझ्न परिवारका सदस्यलाई सहमत गराउन दुई दिन लाग्यो ।’ यो घटनाबारे जानकार इमर्जेन्सी विभागमा कार्यरत अर्का स्वास्थ्यकर्मीले भने, ‘उनीहरू अस्पतालसँग परिवारका एक सदस्यलाई जागिर र क्षतिपूर्तिको माग गरिरहेका थिए, पछि कसरी कुरा मिल्यो, थाहा भएन ।’ 

मृतकको परिवारको सम्पर्क र परिचय खुल्ने अन्य जानकारी अस्पताल प्रशासनले उपलब्ध गराउन इन्कार गर्‍यो । तर यो घटनाबारे हामीले अस्पतालकी कार्यवाहक निर्देशक सहप्राध्यापक डा. प्रभा चापागाईं र प्रवक्ता डा. प्रकाश बुढाथोकीलाई पनि सोध्यौं । उनीहरूले रिएजेन्टको अभावमा समयमै परीक्षण हुन नसकेको र बिरामीको मृत्यु भएको स्विकारे तर चिकित्सकीय लापरबाही नभएको बताए । उनीहरूले अरू बेला यस्तै अवस्थामा यस्तो परीक्षण अन्य अस्पतालमा गर्न पठाउने गरेको पनि बताए । अस्पतालकी कार्यवाहक निर्देशक चापागाईंले भनिन्, ‘पीटीआईएनआर परीक्षणका लागि आवश्यक रिएजेन्टको अभाव छ किनकि अघिल्लो टेन्डरमा खरिद छुटेको थियो । प्रक्रिया सुरु गरिएको छ र सम्भवतः अर्को सातासम्म आपूर्ति हुनेछ ।’

Bir Hospital: Amidst the chaos, patients in distress

वीर अस्पतालभित्र बेथितिको सूची लामै छ । जुन पछिल्ला महिनाहरूमा झन् पेचिलो बन्दै छ । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर, बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रलगायतका मुख्य सरकारी अस्पतालले माघ पहिलो सातादेखि स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत दिइँदै आएको उपचार केहीले पूर्ण त केहीले आंशिक बन्द गरेपछि यसको चाप वीर अस्पतालमा परेको छ । 

अस्पताल प्रशासनका अनुसार माघअघि दैनिक २ हजारदेखि २ हजार ५ सय बिरामी उपचारका लागि पुग्ने यस अस्पतालमा वैशाखयता दैनिक ४ देखि ५ हजार बिरामी पुग्ने गरेका छन् ।

Bir Hospital: Amidst the chaos, patients in distress

अस्पतालमा बिरामीको चाप बढ्नुको अर्को कारण चैतको अन्तिम सातादेखि सरकारले लिएको सातामा दुई दिन बिदाको नीति पनि हो । दुईदिने बिदाका कारण शुक्रबारदेखि बिरामी थुप्रिने र एकैचोटि सोमबार चाप पर्ने गरेको देखिन्छ । गोरखाबाट ९० वर्षीया आमालाई लिएर अम्मरसिंह बानियाँ गत शनिबार काठमाडौं आइपुगेका थिए । स्वास्थ्य बिमाबाट आमाको उपचार गर्ने आसले काठमाडौं आएका उनी सुरुमा त महाराजगन्जस्थित शिक्षण अस्पताल पुगेका थिए । तर त्यहाँ बिमामार्फत उपचार नहुने थाहा पाएपछि उनी आइतबार वीरमा पुगे । 

आइतबार वीरमा सेवा नमिल्ने थाहा पाएपछि उनी होटलमा बस्न बाध्य भए । सोमबार वीर अस्पताल प्रांगणमा भेटिएका उनले भने, ‘महाराजगन्जबाट वीर त आइयो । तीन महिनाका लागि पाउने औषधि पनि कटौती भएको रैछ ।’ सरकारले बिमा सेवा कटौती गरेपछि अम्मरसिंहले भनेजस्तै दीर्घरोगीले यसअघि तीन महिनासम्मका लागि पाउँदै आएको औषधि पनि अस्पतालले कटौती गरेर एक महिनाका लागि मात्रै दिने गरेको छ । यसले गर्दा दीर्घरोगीहरू हरेक महिना अस्पताल धाउन बाध्य छन् ।

Bir Hospital: Amidst the chaos, patients in distress

यस्तो समस्या भोग्ने अम्मरसिंह एक्ला पात्र होइनन् । जोरपाटीको नारायणटार निवासी ३३ वर्षीया अस्मिता न्यौपाने लामो समयदेखि अत्यधिक टाउको दुखाइबाट पीडित थिइन् । उनले यसलाई माइग्रेनको समस्या ठानेर उपचार गराएकी थिइनन् । तर दृष्टि धमिलो हुन थालेपछि उनी उपचारका लागि गौशालास्थित तिलगंगा आँखा अस्पताल पुगिन् ।

त्यहाँका नेत्ररोग विशेषज्ञले उनलाई यथाशीघ्र एमआरआई रिपोर्ट ल्याउन सुझाव दिए किनकि उनको मस्तिष्कको शिरा सुन्निएको (ब्रेन भेन स्वेलिङ) हुन सक्ने आशंका गरिएको थियो । चिकित्सकका अनुसार उक्त शिरा फुट्न पनि सक्ने र त्यसले ज्यानसमेत जोखिममा पार्न सक्थ्यो । तिलगंगा अस्पतालमा एमआरआई सेवा उपलब्ध नभएकाले न्यौपानेले पहिले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र त्यसपछि वीर अस्पतालमा एमआरआई गराउने प्रयास गरिन् । ‘दुवै सरकारी अस्पतालमा महिनौं लामो पालो रहेकाले मैले सेवा पाउन सकिनँ र अन्ततः निजी अस्पताल जान बाध्य भएँ,’ उनले भनिन्, ‘सेवा लिन निजी अस्पतालमा अत्यधिक शुल्क तिर्न बाध्य भएँ ।’

Bir Hospital: Amidst the chaos, patients in distress

अस्पतालमा एकातिर बिरामीको चाप बढ्दो छ भने अर्कोतिर औषधिलगायतका अस्पताल सञ्चालनमा आवश्यक सामग्रीहरू खरिदका लागि टेन्डर प्रक्रिया सुरु नहुँदा त्यसको मार बिरामीले चुकाइरहेका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको शिक्षण अस्पतालका रूपमा सञ्चालित वीर अस्पतालको समस्या नयाँ सरकारले वैशाख तेस्रो साता ल्याएको अध्यादेशपछि प्रतिष्ठानका पदाधिकारीहरू पदमुक्त भएसँगै झनै चर्कियो । किनकि नयाँ आएका कार्यवाहक निर्देशकले टेन्डर प्रक्रिया अघि बढाउन सकेका छैनन् ।

यतिबेला अस्पतालमा बिरामीका आफन्तहरू हातमै एक्सरेको फिल्म बोकेर हिँडिरहेका देखिन्छन् । जबकि दुई महिना अघिसम्म यस्ता फिल्म कागजको खाममा राखेर दिने गरिन्थ्यो । अस्पतालभित्रको बदलिँदो यो दृश्यका पछाडि कुनै नयाँ नियमले काम गरेको नभई समयमै टेन्डर प्रक्रिया सुरु नहुँदाका प्रभावहरू हुन् । कतिसम्म भने अस्पतालमा कार्यरत नर्स र स्वास्थ्यकर्मीहरूले प्रशासनले मास्क र पञ्जा उपलब्ध नगराएकै कारण यसका लागि बिरामीका आफन्तलाई किन्न बाध्य पार्छन् । 

Bir Hospital: Amidst the chaos, patients in distress

अस्पतालमा अशक्त बिरामीले प्रयोग गर्न बनाइएको दुई वटै लिफ्ट सञ्चालनमा छैनन् । एउटा तीन महिनादेखि र अर्को दुई महिनादेखि सञ्चालनमा नआएको अस्पताल प्रशासनका एक कर्मचारीले बताए । लिफ्ट नचलेपछि बिरामीहरू सकी नसकी वा आफन्तको पिठ्यूँमा बोकाइएर चार/पाँच तलासम्म पुर्‍याइरहेको देखिन्छ ।

सघन उपचार कक्षभित्र पनि उस्तै भद्रगोल अवस्था छ । ‘आईसीयू ए’ भनिने कक्षमा १८ वटा बेड छन् । तीमध्ये कर्मचारी तथा उपकरणको अभावमा ११ वटा मात्रै सञ्चालनमा छन् । वीर अस्पतालमा समस्या यति मात्रै छैन । वीरमा ३/४ हजारमा पाइने यस्तो सुविधा निजी अस्पतालमा लिनुपरे कम्तीमा पनि प्रतिदिन १२ हजारमाथि चुकाउनुपर्छ । दन्त उपचारको सेवा पनि लामो समयदेखि अवरुद्ध नै छ । दाँत बनाउने सेवा एक वर्षदेखि र दाँत बाँध्ने सेवा लिन ६ महिना पालो पर्खिनुपर्छ ।

Bir Hospital: Amidst the chaos, patients in distress

वीर अस्पतालमा एकातिर बिरामीको थेगिनसक्नुको भीड छ भने अर्कोतिर यहाँ बेलाबखत करारका कर्मचारीहरू आन्दोलित पनि भइरहेका छन् । जस्तो कि, करारमा कार्यरत करिब २ सय स्वास्थ्यकर्मी र चिकित्सा शिक्षा आयोगबाट अध्ययनका लागि आएका ४ सय ५० प्रशिक्षार्थी चिकित्सकहरू पछिल्लो सातायता दुई महिनाको तलबभत्ता नपाएको आन्दोलनमा छन् । यसको प्रभाव पनि बिरामीहरूले भोगिरहेकै छन् ।

अस्पतालमा बिग्रिएका उपकरणको समयमै मर्मतसम्भार नभएका कैयन् उदाहरण छन् । जसको मार पनि सर्वसाधरणले चुकाइरहेकै छन् । जस्तो कि, अस्पतालमा रहेका दुई सीटी स्क्यान मेसिनमध्ये एउटा सात महिनादेखि र अर्को एक महिनायता बिग्रेर थन्केका छन् । बन्द हुनुअघि अस्पतालले दैनिक ९० जनालाई यस्तो सेवा दिने गर्थ्यो । २ हजार ५ सयदेखि ४ हजारमा वीरमा पाइने यस्तो सेवा बिरामीहरूले निजी अस्पतालमा ९ देखि १० हजार रुपैयाँसम्म तिरेर लिन बाध्य छन् ।

Bir Hospital: Amidst the chaos, patients in distress

सीटी स्क्यान सेवा नहुँदा बिरामीका आफन्त गम्भीर खालका बिरामीलाई पनि अस्पतालबाहिर लान बाध्य छन् । अस्पतालकी कार्यवाहक निर्देशक सहप्राध्यापक डा. प्रभा चापागाईंले सीटी स्क्यान मेसिनको मर्मतसम्भारको सम्झौता सोमबारसम्म गरिसकिने बताइन् । भनिन्, ‘हामीले कम्पनीका प्रतिनिधिलाई बोलाएका छौं । सोमबार मर्मतसम्बन्धी सम्झौता हुँदै छ ।’

आफू एक्लैलाई निर्णयको अधिकार नभएको कार्यवाहक निर्देशक चापागाईंले बताइन् । ‘स्वास्थ्य बिमाको औषधिका सम्बन्धमा पहिले भीसी, रजिस्टार, डाइरेक्टर, रेक्टर हुनुहुन्थ्यो । समूहमा जुनसुकै निर्णय लिँदा सजिलो हुन्थ्यो । अहिले म एक्लैले निर्णय गर्ने अधिकार छैन । मैले दैनन्दिनका सेवा नरोकिने गरी काम गर्ने हो,’ उनले भनिन् ।

अर्जुन अर्जुन पौडेल काठमाडौं पोस्टका संवाददाता हुन् । उनी स्वास्थ्यका बिषयमा समाचार लेख्छन् ।

विशाल

Link copied successfully