वन्यजन्तु स्थानान्तरणका नाममा भएका बिनातयारीका अभ्यास कति घातक र प्रत्युत्पादक बन्छन् ? यसको ज्वलन्त उदाहरण हो– बबई उपत्यका । यहाँ सारिएका ८३ मध्ये ३६ गैंडा चोरीसिकारीको क्रूर निसानामा परे भने २४ को मृत्यु भयो ।
What you should know
चितवन/लुम्बिनी — दुर्लभ वन्यजन्तुको बासस्थल एकै क्षेत्रमा मात्रै सीमित हुनु संरक्षणका दृष्टिले जोखिमपूर्ण मानिन्छ । महामारी, प्राकृतिक प्रकोप वा मानवीय अतिक्रमणले सिंगो प्रजाति नै सखाप हुन सक्ने खतरा टार्न वन्यजन्तुलाई धेरै ठाउँमा फैलाउनु बुद्धिमानी हुन्छ । यही रणनीतिअनुरूप, कुनै एक बासस्थलमा संख्या धेरै भएका जीवजन्तुलाई उस्तै अनुकूल वातावरण भएको अर्को क्षेत्रमा लगेर राख्ने (स्थानान्तरण गर्ने) चलन नेपालमा चार दशकअघि नै सुरु भएको थियो ।
त्यही अभ्यासको पछिल्लो कडीस्वरूप बर्दियामा रैथाने रूपमा जोगिएका कृष्णसारलाई चितवन ल्याउने तयारी भइरहेको छ । यो तयारी भइरहँदा विगतका वन्यजन्तु स्थानान्तरणका प्रयास कति सफल वा असफल रहे ? संरक्षण वृत्तमा यो चासो र बहस फेरि सुरु भएको छ ।
सन् १९८६ देखि २०२३ सम्म चितवनबाट बर्दिया, शुक्लाफाँटा र कोशी टप्पु गरी कुल १०४ गैंडा स्थानान्तरण भइसकेको छ ।१० वर्षअघि (२०७२ फागुन) सरकारले चितवन राष्ट्रिय निकुञ्जका गैंडा स्थानान्तरण गरी बर्दिया राष्ट्रिय निकुञ्जमा लैजाने भएपछि चितवनका संरक्षणकर्मीले जिल्ला प्रशासन कार्यालयअघि प्लेकार्डसहित प्रदर्शन गरेका थिए– ‘८३ गैंडा पठाएका थियौं, अहिले जम्मा २९ छन्, फेरि लैजान्छौ केका लागि ?’ तर, सरकारले गैंडा स्थानान्तरण जारी राख्यो ।
चितवन निकुञ्ज कार्यालयका अनुसार, सन् १९८६ देखि २०२३ सम्म चितवनबाट बर्दिया, शुक्लाफाँटा र कोशी टप्पु गरी कुल १०४ गैंडा स्थानान्तरण भइसकेको छ । चितवन निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार, सबैभन्दा धेरै सन् १९८६ देखि २०१७ सम्म ९ पटक गरी कुल ९१ वटा गैंडा बर्दिया गएका थिए । सन् २००० देखि २०१८ सम्म तीन पटकमा ११ गैंडा शुक्लाफाँटा गए ।
कोशी टप्पुमा सन् २०२३ मा पहिलो पटक दुई पोथी गैंडा चितवनबाट लगिएको थियो । उद्धार गरी मान्छेको रेखदेखमा हुर्केका ती दुई गैंडा कोशीमा ठूलो खोरमा बस्छन् । स्थानान्तरण गरिएका ती दुवै गैंडाको हुर्काइ–बढाइ जसरी र जुन वातावरणमा हुनुपर्ने थियो, त्यो भएन । त्यस्तै बर्दिया र शुक्लाफाँटामा पनि भाले र पोथी मिलाएर स्थानान्तरण त गरियो, तर संख्या बढेन ।
चितवनले कोशीबाट ल्याएको अर्ना जोगाउनै सकेन । बाह्रसिंगाको हालत पनि लगभग उस्तै भयो ।पछिल्लो गैंडा गणनाको नतिजाले स्थानान्तरणको प्रतिफल सन्तोषजनक देखाएन । २०७७ चैत अन्तिममा सार्वजनिक भएको गैंडा गणनाको नतिजाअनुसार, देशैभर ७ सय ५२ गैंडा हुँदा चितवनमा ६ सय ९४ थिए । बर्दियामा ३८ र शुक्लामा १७ वटा भेटिए । यी निकुञ्जबाहेक चितवनसँग जोडिएको पर्सा राष्ट्रिय निकुञ्जमा तीनवटा गैंडा भेटिएका थिए । ९१ गैंडा चितवनबाट लगिएको बर्दियामा जम्मा ३८ पाइए । शुक्लामा सामान्य सुधार देखियो ।
चितवनबाट गैंडा बर्दिया, शुक्ला र कोशी पुगेजस्तै चितवनमा पनि बाहिरबाट वन्यजन्तु ल्याइएका छन् । कोशी टप्पुबाट ल्याइएको अर्ना र शुक्लाबाट ल्याइएको बाह्रसिंगाको अवस्था झनै दुःखद् छ । चितवनले कोशीबाट ल्याएको अर्ना जोगाउनै सकेन । बाह्रसिंगाको हालत पनि लगभग उस्तै भयो । अर्ना र बाह्रसिंगालाई निकुञ्जभित्र ठूलो क्षेत्रमा तारबार गरी राखिएको थियो ।
चितवन निकुञ्ज सिमानाभित्र परेका कारण पदमपुरको बस्ती नै बाहिर सारिएको छ । बस्ती सारेपछि खाली भएको जमिनमध्ये ३० हेक्टरमा तारबार गरी तयार पारिएको ‘इनक्लोजर’ मा २०७३ माघमा कोशीबाट अर्ना ल्याएर राख्न सुरु भएको थियो । कोशीबाट १२ र जावलाखेलमा रहेको सदर चिडियाखानाका तीन गरी कुल १५ अर्ना त्यहाँ राखिएको थियो । अर्नाले बच्चा जन्माउन थालिसकेको थियो ।
बच्चा जन्मिन सुरु भएकाले संरक्षणकर्मीमा उत्साह त छाएको थियो, तर त्यो लामो समय कायम रहन सकेन । ‘इनक्लोजर’ भित्र बाढी पस्यो, बाघ र अजिंगर पनि छिर्यो । २०७४ साउनमा आएको बाढीले डुबाएर दुई अर्ना मरे । चिडियाखानाबाट ल्याएका तीन अर्ना त्यसअघि नै मरिसकेका थिए । बाढीपछि अर्नाहरू बिरामी परे । बाढी, बाघ र अजिंगरले ‘इन्क्लोजर’ का अर्ना सखाप भए ।
अर्नाको बच्चा र माउलाई बाघले मार्यो । एउटा बच्चालाई अजिंगरले खायो । अन्तिममा बचेका तीनवटा अर्नालाई ‘इनक्लोजर’ मा छिरेको बाघले मारेपछि चितवन पुगेका सबै अर्ना २०७९ साउनमा सकिए ।‘स्थानान्तरणले अर्नालाई राम्रो भएको त त्यहाँ पुगेका अर्नाले सातवटा बच्चा जन्माएको कुराले नै पुष्टि गर्छ । तर, केही प्राकृतिक र अन्य व्यवस्थापकीय कारण अर्ना नबचेका हुन्,’ अर्ना ल्याउने समय चितवन राष्ट्रिय निकुञ्ज प्रमुख रहेका हाल वन मन्त्रालयका सहसचिव रामचन्द्र कँडेल भन्छन् ।
बाढी पसेर समस्या निम्तिनु प्राकृतिक कारण थियो । तर, अर्नाको संख्या तत्कालै २५ वटा पुर्याएर प्राकृतिक बासस्थलमै छाड्ने, सधैं ‘इनक्लोजर’मा मात्रै नराख्ने भन्ने योजना समयमै पूरा नहुँदा संकट थपिएको कँडेलको तर्क छ । ‘बाढी पसेपछि पनि निगरानी बढाइएको भए र आहारमा राम्रो ध्यान दिइएको भए अर्ना बिरामी र कमजोर हुने थिएन,’ उनी भन्छन्, ‘प्राकृतिक वातावरणमा छाड्न पाएको भए एउटा प्रयोग पनि हुन्थ्यो । १५ वटा लगियो । २५ पुगेनन्, २५ नपुगी नछाड्ने भन्दाभन्दै संकटमाथि संकट आएको हो ।’
अर्नाको बच्चा र माउलाई पनि बाघले मारेको थियो । एउटा बच्चालाई अजिंगरले खाएको थियो । अन्तिममा बचेका तीनवटा अर्नालाई ‘इनक्लोजर’ मा छिरेको बाघले मारेपछि चितवन पुगेका सबै अर्ना २०७९ साउनमा सकिएका थिए ।
अर्ना स्थानान्तरणको विषय महालेखा परीक्षकको प्रतिवेदनमा पनि उल्लेख छ । महालेखा परीक्षकको ५९औं वार्षिक प्रतिवेदनमा ‘अध्ययन अनुसन्धानका आधारमा मात्रै अर्ना स्थानान्तरणलाई व्यवस्थित र दिगो तुल्याउन सम्बन्धित क्षेत्रले ध्यान दिनुपर्ने’ भनी सचेत गराइएको थियो । दुर्लभ हुँदै गएको अर्ना स्थानान्तरण व्यवस्थित हुन नसकेको महालेखा परीक्षकको त्यो टिप्पणीले पनि देखाउँछ । अर्नासँगै बाह्रसिंगा पनि चितवन ल्याइएर पदमपुरको ‘इनक्लोजर’ मा राखिएको थियो ।
चितवनमा शुक्लाफाँटाबाट सातवटा बाह्रसिंगा ल्याइएको थियो । दुईवटा बाह्रसिंगा ल्याउनेबित्तिकै मरेका थिए । त्यसैगरी २०७४ साउनमा आएको बाढीले थप बाह्रसिंगा मरेका थिए । त्यो बाढीमा सबै बाह्रसिंगा मरेको ठानिए पनि एक वर्षअघि जेठमा एउटा बाह्रसिंगा कुमरोज वनमा देखापरेको थियो ।
कुनै जनावर ल्याएर स्थानान्तरण गर्ने हो भने प्राकृतिक बासस्थलमै छाड्नुपर्छ । - कमलजंग कुँवर, चितवन निकुञ्जका पूर्वप्रमुखस्थानान्तरणसँग जोडिएका यस्ता असरले कृष्णसार स्थानान्तरणमा संवेदनशील हुनुपर्ने आवाज उठेको छ । ‘म त कुनै जनावर ल्याएर इनक्लोजरमा लामो समय राख्ने र जु (चिडियाखाना) जस्तै गरी पर्यटकका लागि पनि देखाउने कुराको विरोधी हुँ । स्थानान्तरण गर्ने हो भने प्राकृतिक बासस्थलमा छाड्नुपर्छ । नयाँ वातावरणमा अभ्यस्त नहुने बेलासम्मका लागि मात्रै हो इनक्लोजरमा राख्ने,’ चितवन निकुञ्जका पूर्वप्रमुख कमलजंग कुँवर भन्छन् । उनी ‘गैंडालाई चार वर्ष’ पुस्तकका लेखक पनि हुन् ।
जंगली जनावरका लागि राम्रो बासस्थल र सुरक्षा नै प्रमुख विषय हुने कुँवर बताउँछन् । बर्दियामा सुरक्षा र बासस्थलका कारण नै चितवनबाट लगिएकाभन्दा कम गैंडा भएको उनले बताए । ‘बासस्थल राम्रो भयो भने गैंडा स्वस्थ हुन्छ । प्रजनन गर्छन् । अनि गैंडा बढेमा सुरक्षा प्रबन्ध राम्रो भए चोरी सिकार हुँदैन । विगतमा बर्दियामा सुरक्षाको अभाव रह्यो,’ कुँवरले भने । त्यहाँको बासस्थल पनि राम्रो नभएको उनले बताए ।
गैंडाका लागि घाँसे मैदान र आहाल खेल्न घोल प्रशस्तै हुनुपर्ने उनले बताए । चितवनमा यस्तो वातावरण छ । बर्दियामा ठूलो नदी कर्णाली र मध्यमस्तरको बबई भए पनि साना–ठूला घोलको अभाव रहेको कुँवरको भनाइ छ । त्यसैले बासस्थल सुधारमा ध्यान दिएर अनि सुरक्षा बढाएर गैंडा स्थानान्तरण गरे प्रभावकारी नतिजा आउने उनको बुझाइ छ । उनले शुक्लाफाँटा, बर्दिया वा बाँके निकुञ्जभित्र मात्रै नभएर निकुञ्ज–आडका साुमदायिक वनलाई पनि बासस्थलका रूपमा विकास गर्नुपर्ने सुझाव दिएका छन् ।
बर्दिया निकुञ्जमा स्थानान्तरण गरिएका गैंडाको खास चुनौती हो– बासस्थान । चार दशकअघि पहिलो पटक चितवन निकुञ्जबाट १३ वटा एकसिंगे गैंडा बर्दिया स्थानान्तरण गरिएको थियो । चितवन निकुञ्जबाट २०४३ सालयता पटकपटक गरी बर्दियामा ८८ वटा गैंडा स्थानान्तरण गरिएको छ । यसरी बर्दिया ल्याइएकामध्ये ४७ भाले र ४१ पोथी थिए । स्थानान्तरण गरिएपछि गैंडाको संख्या वृद्धि हुनुको साटो झन् घट्दै गएको छ ।
बर्दिया निकुञ्जका अनुसार, सुरुका १३ गैंडा कर्णाली नदी तटीय क्षेत्रमा छाडिएको थियो । त्यसपछि २०४४ माघदेखि २०७२ सम्म ल्याइएका ७५ गैंडा बबई उपत्यकामा छाडिएको थियो । पछिल्लो पटक २०७२ मा ५ गैंडा स्थानान्तरण गरिएको थियो । तर, यसरी स्थानान्तरण गरिएका धेरै गैंडा बाँच्न नसकेको बर्दिया निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत रमेश थापा बताउँछन् । ‘समस्याग्रस्त, अप्ठ्यारो खालका र टुहुरा गैंडा ल्याइएको थियो,’ उनी भन्छन्, ‘त्यसकारण सुरुका १५/१६ गैंडाको त ल्याउनासाथ प्राकृतिक मृत्यु नै भएको थियो ।’
गैंडालाई चाहिने प्राकृतिक बासस्थान नहुँदा समस्या उत्पन्न भएको हो । - अजित तुम्बाहाम्फे, राष्ट्रिय प्रकृति संरक्षण कोष कार्यक्रम बर्दियाका प्रमुखत्यसपछि स्थानान्तरण गरिएका अधिकांश गैंडा सशस्त्र द्वन्द्वका क्रममा संकटकालका बेला मारिएका थिए । निकुञ्ज सुरक्षार्थ तैनाथ सेना पोस्ट हट्दै गएपछि चोरी सिकार बढेको थापाले बताए । त्यसैले २०६५ सालतिर त्यहाँ गैंडा थिएन । त्यसपछि पछिल्लो पटक २०७२ मा तीन पोथी र दुईवटा भाले गैंडा ल्याएर त्यहाँ छाडिएको थियो । बबई उपत्यकामा अहिले पाँचवटा गैंडा मात्रै छन् ।
बबई उपत्यकामा २०७२ मा छाडिएका वयस्क एक जोडी भाले/पोथीको प्राकृतिक मृत्यु भए पनि बचेका गैंडाले प्रजनन गर्दा अहिले पाँचवटा पुगेका हुन् । अहिले बबईमा सुरक्षा पोस्ट थपिएका छन् । गैंडाका लागि आहारा, बासस्थान, घोल र पानीको कृत्रिम व्यवस्था गरिएकाले अब राम्रो ‘ह्याबिट्याट’ हुने बताइएको छ । एक अध्ययनले बबई उपत्यका क्षेत्रमा २५ देखि ५० वटा गैंडाले राम्रो आहारविहार गर्न सक्ने देखाएको छ ।
गैंडा स्थानान्तरण त गरियो, तर प्रजनन भएर संख्या वृद्धि हुन सकेन । स्थानान्तरण गरिएका गैंडा पनि सुरक्षित नभई झन् घटेपछि गैंडाका लागि बर्दिया निकुञ्ज उपयुक्त हो कि होइन ? यो बहस चलिरहेको छ ।
कर्णाली नदी तटीय क्षेत्रमा ढुंग्यान र बगर क्षेत्र बढी छ, त्यसैले गैंडालाई चाहिने प्राकृतिक बासस्थान नहुँदा समस्या उत्पन्न भएको राष्ट्रिय प्रकृति संरक्षण कोष कार्यक्रम बर्दिया प्रमुख अजित तुम्बाहाम्फेले बताए ।
२०४४ माघदेखि २०५९ चैतसम्म २५ भाले र ४५ पोथी गरी ७० गैंडा बबई उपत्यकामा मात्रै स्थानान्तरण गरिएयो । तर, २०६५ सालमा एउटा पनि गैंडा नरहेको पाइयो ।बबई उपत्यकामा पनि गैंडाको आहाल र धाप क्षेत्र नहुँदा समस्या भइरहेको छ । बबई उपत्यका क्षेत्र गैंडाका लागि उपयुक्त बासस्थान मानिए पनि त्यो चुरे तथा नदी तटीय क्षेत्र भएकाले साना–साना ढुंगा प्रशस्तै छन् । त्यसैले गैंडा हिँडडुलका लागि कठिनाइ छ ।
गैंडाले नेपालतिर उपयुक्त बासस्थान नपाउँदा निकुञ्जको सीमावर्ती भारतीय भूभागमा पनि नेपाली गैंडा जाने गरेका छन् । कतिपय फर्किन्छन् भने अधिकांश उतै बस्छन् । सन् २०२२ मा गणना हुँदा निकुञ्जमा ३८ गैंडा पाइएको बर्दिया निकुञ्जका सूचना अधिकारी सरोजमणि पौडेल बताउँछन् । अहिले यसैलाई आधिकारिक डेटा मानिएको छ । कर्णाली नदी तटीय क्षेत्रतिर ३३ र बबईतिर पाँच गैंडा छन् । सन् २००५ को गणनामा बर्दियामा गैंडाको संख्या ६७ थियो । २००८ मा आइपुग्दा संख्या २२ मा झर्यो । २०१५ को गणनामा २९ गैंडा पुग्यो । हरेक ४/४ वर्षमा गैंडा गणना हुने गरेकामा यस वर्ष नहुने भएको छ ।
गैंडाका लागि चाहिने घाँसे मैदानलगायत प्राकृतिक बासस्थान उपयुक्त नभएकै कारण बर्दियामा गैंडाको संख्या वृद्धि हुन नसकेको बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.अशोक रामले बताए । गैंडालाई नदी तटीय क्षेत्रमा आहालका लागि घोल तथा चरिचरनका लागि काँसलगायत उपयुक्त घाँस आवश्यक पर्छ । तर, बर्दियामा गैंडाको आहाललाई उपयुक्त घोल तथा घाँस कम हुँदा समस्या भइरहेको छ ।
२०४४ माघदेखि २०५९ चैतसम्म २५ भाले र ४५ पोथी गरी ७० गैंडा बबई उपत्यकामा मात्रै स्थानान्तरण गरिएको थियो । तर, २०६५ सालमा बबई उपत्यकामा एउटा पनि गैंडा नरहेको पाइयो । तत्कालीन वन तथा भूसंरक्षण मन्त्रालयले छानबिन गर्दा २०६५ चैत ५ मा दिएको प्रतिवेदनमा बबई क्षेत्रसहित बर्दियामा स्थानान्तरण गरिएका ८३ गैंडामध्ये चोरी सिकारीबाट ३६ वटा मारिएका र प्राकृतिक कारणले २४ गैंडाको मृत्यु भएको उल्लेख छ ।
