सरकारले दिएको घरमा बस्ने भेषराजको रहर रह्यो अधुरै

श्रीमान्‌ भेषराजको मृत्युपछि विमलाको एउटै मात्र चिन्ता छ, 'सानो बाबुलाई कसरी खुवाउनु, हुर्काउनु ? कहिले पाइएला राम्रो बास ?'

जेष्ठ २२, २०८३

आरती पौडेल

Bheshraj's wish to live in the house provided by the government remained unfulfilled.

What you should know

काठमाडौँ — ‘अब कोठा खोजेर अर्को ठाउँमा बस्नका लागि पनि पैसा छैन । अब मात्र सरकारको भरोसा- जता लान्छ, त्यतै आयौं । अब सरकारले हामीजस्तो केही नहुनेको बन्दोबस्ती गर्नुपर्छ,’ केही समय अगाडि भेषराज दर्जीले कान्तिपुरसँग कुराकानी गर्दै भनेका थिए । सरकारले दिएको ठाउँमा बस्ने उनको ठूलो रहर थियो, तर त्यो रहर पूरा नहुँदै आफैं अस्ताए भेषराज । 

सरकारले थापाथलीस्थित सुकुमवासी बस्तीमा डोजर चलाएपछि कीर्तिपुरको राधास्वामी सत्संग केन्द्रस्थित ‘होल्डिङ सेन्टर’ मा बस्दै आएका भेषराज दर्जीको मृत्यु भएको छ । वीर अस्पतालमा ३६ वर्षीय भेषराजको बिहीबार उपचारका क्रममा मृत्यु छ । श्रीमती विमला सुनुवारका अनुसार भेषराजको फोक्सो र प्यान्क्रियाजमा समस्या थियो । ८ वर्ष अघिदेखि नै बिरामी भए पनि उनले राम्रो अस्पतालमा उपचार गराउन सकेनन् ।

वैशाख दोस्रो हप्ता कान्तिपुरसँगको कुराकानीमा उनले आर्थिक अभावले नै उपचार गराउन नसकेको बताएका थिए । 'पहिल्यैदेखि फोक्सोमा पनि पानी जमेको छ भनेर डाक्टरले भन्नुभएको थियो । तीन वर्षअगाडि अस्पताल गएको थिएँ,' उनले भनेका थिए, 'अहिले पैसा नभएर गएको छैन । जे काम गर्दा पनि पैसा नै चाहिन्छ । पैसाबिना अस्पताल कसरी जाने ? बरु जे सुकै होस् भनि पीडा सहेर कोठामै बसेको थिएँ । त्यही कोठामा पनि डोजर चल्यो ।'

बिस्तारै उनी हिँडडुल गर्न नसक्ने भए । ह्विलचेयरको साहारामा होल्डिङ सेन्टरको चौरमा बिहान र साँझ बसिरहेका हुन्थे भेषराज । भेषराजले अभाव र दु:ख मात्र भोगेनन्, शारीरिक पीडा पनि भोगे । 

भेषराज श्रीमती र दुई वर्षका  छोरासहित थापाथलीस्थित सुकुमवासी बस्तीमा ५ हजार कोठाभाडा तिरेर बस्थे  । विमलाले दुई ठाउामा घरको काम गरेर महिनाको ८ हजार कमाउँथिन् । ५ हजार कोठा भाडा तिर्दा बाँकी रहन्थ्यो– ३ हजार । रासन, तरकारी ल्याएको पसलको बाँकी तिर्न पनि नपुग्ने गरेको भेषराजले सुनाएका थिए ।

सापटी मागेर, ऋण काढेर गुजारा चलाउँदै आएका थिए उनीहरू । यस्तो बिरामी हुँदा नि अस्पताल किन नजानु भएको त भनेर सोध्दा उनले भनेका थिए, 'सबैले अस्पताल किन नगएको भन्छन् । अवस्था यस्तो छ । कसरी जानु ? तीन वर्षदेखि डाक्टरलाई देखाएको छैन ।'

जन्मेको झापामा भए पनि दुई तीन पुस्तादेखि नै परिवारको नाममा एकटुक्रा जमिन नभएको उनले बताएका थिए ।  झापामा पनि उनी सुकुमवासी बस्तीमै भाडामा बस्थे । बिरामी भएपछि भने उनी काठमाडौं आएका थिए । 

सुकुमवासी बस्तीमा डोजर चलेपछि भने विमलाको पनि काम गुमेको थियो ।  डोजर चल्नुअगाडि एक संस्थाले आफ्नो स्वास्थ्य अवस्था देखेर ह्विलचेयर दिएको थियो । भेषराजले सरकारले आफ्नो स्वास्थ्योपचारमा ख्याल गर्देला भन्ने आशा राखेका थिए ।

स्वास्थ्य अवस्था नाजुक भएपछि मात्र गत जेठ १८ गते काठमाडौं महानगरको सहयोगमा भेषराजलाई वीर अस्पताल पुर्‍याइएको थियो । महानगरले  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(वीर अस्पताल) लाई पत्र लेखेरै नि:शुल्क उपचार मिलाइदिन अनुरोध गरेको थियो । विमलाले भनिन्, 'डाक्टरहरूले बचाउन निकै प्रयास गरे पनि सकिएन भन्नुभयो ।' 

श्रीमान्‌ भेषराजको मृत्युपछि विमलाको एउटै मात्र चिन्ता छ, 'सानो बाबुलाई कसरी खुवाउनु, हुर्काउनु ? कहिले पाइएला राम्रो बास ?'

आरती पौडेल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सामाजिक तथा समसामयिक विषयमा कलम चलाउँछिन् ।

Link copied successfully