उनी ८ वर्षदेखि बिरामी भएपछि श्रीमतीको कमाइले परिवार पालिएको थियो । अहिले उनीहरूको आम्दानीको बाटो बन्द भएको छ ।
What you should know
काठमाडौँ — कीर्तिपुरको राधास्वामी सत्सङ्ग केन्द्रस्थित ‘होल्डिङ सेन्टर’ ।
मलिन अनुहार लिएर ह्वीलचेयरमा आफू बसेको टेन्टअगाडि बसिरहेका थिए एक व्यक्ति । त्यत्तिकैमा ‘होल्डिङ सेन्टर’ भित्र आवश्यक रहेका केही सामान लिएर एउटा गाडी उनी भएकै स्थानतर्फ आउँछ । उनी त्यहाँबाट आफै सर्न सक्दैनन् न त ह्वीलचेयर धकेल्न नै । त्यहीँ आइपुगेका एकजनाले उनलाई थोरै पर सारिदिन्छन् ।
उनी हुन् ३८ वर्षका भेषराज दर्जी । ८ वर्षदेखि उनी बिरामी छन् ।
भेषराज फोक्सोसम्बन्धी समस्याले गुज्रिएकी सुनाए । भन्छन्, ‘धेरै वर्ष भयो मलाई पेटका अनेक रोग लागेको । पेट दुख्ने, ढाड दुख्ने हुन्छ । पहिल्यैदेखि फोक्सोमा पनि पानी जमेको छ भनेर डाक्टरले भन्नुभएको थियो । तीन वर्षअगाडि अस्पताल गएको थिएँ,’ उनले भने, ‘अहिले पैसा नभएर गएको छैन । जे काम गर्दा पनि पैसा नै चाहिन्छ । पैसाबिना अस्पताल कसरी जाने ? बरु जे सुकै होस् भनि पीडा सहेर कोठामै बसेको थिएँ । त्यही कोठामा पनि डोजर चल्यो ।'
भेषराज श्रीमती र दुई वर्षका एक छोरासहित सुकुमवासी क्षेत्रमा ५ हजार कोठा भाडा तिरेर बस्ने गर्थे । उनकी श्रीमतीले दुई ठाउँमा घरको काम गरेर महिनाको ८ हजार कमाउँथिन् । ५ हजार कोठा भाडा तिर्दा बाँकी रहन्थ्यो- ३ हजार । रासन, तरकारी ल्याएको पसलको बाँकी तिर्न पनि नपुग्ने भेषराज सुनाउँछन् । 'त्यही ८ हजार आउन फेरि एक महिना कुर्न पर्थ्यो । आवश्यक परेको खण्डमा सापटी मागेर, ऋण काढेर गुजारा चलाउँदै आएका थियौं,' उनले भने, 'सबैले अस्पताल किन नगएको भन्छन् । अवस्था यस्तो छ । कसरी जानु ? तीन वर्षदेखि डाक्टरलाई देखाएको छैन ।’
आफ्नो जन्मस्थान झापा भए पनि बाउबाजेदेखि नै केही नभएको उनको भनाइ छ । ‘हामीसँग केही थिएन । त्यसैले बादेखि नै सुकुमवासी बस्तीको साहरा लिएका थियौं । झापामा पनि सुकुमवासी बस्तीमै भाडामा बस्थ्यौं,’ उनले भने, ‘पछि म बिरामी भएपछि काठमाडौं आएको हुँ ।’
सुरुमा जँचाए पनि तर विस्तारै केही गर्न नसक्ने अशक्त बन्दै गए । सुकुमवासी बस्तीमा डोजर चलेपछि थोरै आम्दानी पनि गुमेको उनले गुनासो गरे । ‘सबै कुराको तनाव हुँदो रहेछ । आफूसँग न पैसा छ, न जग्गाजमिन,' उनी भन्छन्, 'जसको केही छैन, त्यहीमाथि बिरामी परेर थला परेको छु ।'
धन्न एक संस्थाले उनको अवस्था देखेर बस्तीमा डोजर चल्नु एक दिन अगाडि मात्रै ह्वीलचेयर दिएको थियो । 'अब कोठा खोजेर अर्को ठाउँमा बस्नका लागि पनि पनि पैसा छैन । त्यसैले सरकारको भरोसा- जता लान्छ, त्यतै आयौं । अब सरकारले हामीजस्तो केही नहुनेको बन्दोबस्ती गर्नुपर्छ ।'
