५ फागुन २०७१ मा मारिएका छोराको न्यायका लागि सर्वोच्च अदालत धाउँदै आएकी ७६ वर्षीया विष्णुकुमारी पाण्डेको पक्षमा बुधबार फैसला भएको छ । जिल्ला र उच्च अदालतबाट सफाइ पाएका व्यक्ति पनि दोषी ठहर भएका छन् ।
What you should know
काठमाडौँ — ११ वर्षअघि मारिएका छोराको न्यायका लागि १५ औं पटकसम्म सर्वोच्च अदालत धाउँदासमेत सुनुवाइ नभएपछि ७६ वर्षीया विष्णुकुमारी पाण्डेले निराश भएर भनेकी थिइन्, ‘न्याय पाउँछु भने मसँग बचेको कानको सानो मुन्द्री पनि बेच्छु ।’
प्रत्येक महिना पोखरादेखि काठमाडौंसम्म धाउँदा खल्ती रित्तिइसकेको थियो । कान पनि राम्रोसँग नसुन्ने उनीसँग बोल्न जोकोही हिच्किचाउँथे । त्यसैले न्याय पाउने हो भने मुन्द्रीसमेत बेच्न तयार रहेको उनले एक महिनाअघि कान्तिपुरलाई बताएकी थिइन् । सर्वोच्च अदालतले बुधबार उनलाई न्याय दिएको छ । मुन्द्री पनि बेच्नुपरेन ।
न्यायाधीश टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको इजलासले कास्कीको तुलसीघाटमा ५ फागुन २०७१ मा भएको सूर्यबहादुर पाण्डेको हत्यामा संलग्न रामचन्द्र मानन्धरलाई १२ वर्ष कैद सजाय सदर र सफाइ पाएका दुई आरोपित २६ वर्षीय माइला भन्ने बुद्ध श्रेष्ठ र ४१ वर्षीय ध्रुव मानन्धरलाई दोषी ठहर गरेको छ ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार बुद्ध र ध्रुव मानन्धरको हकमा तत्कालीन मुलुकी ऐनको ज्यानसम्बन्धी महलको १७(३) बमोजिम ६ महिना कैद हुने आदेश भएको छ । मुलुकी ऐनको यो प्रावधानअनुसार, घटनास्थलमा उपस्थित भएर अरू केही नगरी रहनेलाई ६ महिनादेखि ३ वर्षसम्म कैद हुने व्यवस्था छ । त्यसअनुसार अदालतले दुई जनालाई न्यूनतम ६ महिना सजाय तोकेको हो । मानन्धरका हकमा भने उच्च अदालतले गरेको १२ वर्ष कैद सजाय गर्ने आदेश नै सदर भएको प्रवक्ता कोइरालाले बताए ।
११ वर्षअघि विष्णुकुमारीका छोरा २५ वर्षीय सूर्यबहादुर साथीहरूसँग शिवरात्रिको मेला हेर्न जाने भन्दै घरबाट निस्किएका थिए । अर्को दिन बिहान तुलसीघाटस्थित राम मन्दिरको भीरमा रगताम्मे अवस्थामा उनको शव भेटिएको थियो ।
पीडितको पक्षबाट बहस गरेकी अधिवक्ता मोहना अन्सारीले इजलाससमक्ष लास जाँच मुचुल्कामा उल्लिखित ‘कपालमा रगत लागेको, कन्चटमा थिल्चिएको घाउचोट रहेको लगायतको विवरण’ उल्लेख गरिन् । प्रारम्भिक बयानमा ‘बाहुनी आन्टी’ भनिने लक्ष्मीदेवी ढकालले समेत रामचन्द्र मानन्धर, सूर्यबहादुर पाण्डेसहितका व्यक्ति त्यो दिन सँगै रहेकामा राति ९ बजेतिर आफ्नो कोठामा गई मदिरा खाएर बसेको उल्लेख गरेकी थिइन् । ‘उनको बयानले नै घटनाबारे धेरै विषय बोल्छ,’ अन्सारीले इजलाससमक्ष भनिन्, ‘राति साढे १ बजेतिर पाण्डे मोबाइल फोनमा कुरा गर्दै बाहिर निस्किएकामा त्यसको ४/५ मिनेटपछि रामचन्द्र मानन्धर पनि केही नबोली निस्किएको उनको बयानमा उल्लेख छ ।’
निस्किएको करिब एक घण्टापछि मानन्धर आफ्नो कोठामा आत्तिएजस्तो गरी हस्याङफस्याङ गर्दै आएर कोठाको ढोका खोल्न लगाएको पनि उनले बताएकी थिइन् । ‘कोठाभित्र पस्नुभन्दा पहिले कोठाबाहिर रहेको पानीको धारामा हातखुट्टा धोई कोठाभित्र आएर केही नबोली सुतेको,’ उनको बयानमा उल्लेख छ ।
सरकारी पक्षबाट बहस गरेका महान्यायाधिवक्ता कार्यालयका सरकारी वकिलले रञ्जन कोइरालाको हकमा कम सजाय भएको फैसलालाई बदर गरिएको उदाहरण रहेको जनाउँदै मानन्धरलाई जन्मकैद हुनुपर्ने तर्क गरे । तर मानन्धरको हकमा उच्चकै आदेश सदर भयो ।
सूर्यबहादुरको हत्यापछि विष्णुकुमारीले उनका तीन साथी रामचन्द्र मानन्धर, बुद्ध श्रेष्ठ र ध्रुव मानन्धरविरुद्ध जाहेरी दिएकी थिइन् । तर लामो समयसम्म प्रहरीले मुद्दा नै दर्ता गरेन । ‘पाँच वर्षसम्म यो मुद्दा प्रहरीले दर्ता नगर्नु नै आफैंमा अनौठो छ,’ अधिवक्ता अन्सारीले भनिन्, ‘पछि भने पूरक प्रतिवेदनसमेत लगिएको देखिन्छ ।’
पहिले १५ पटकसम्म पेसी सरिसकेका कारण विष्णुकुमारी बुधबार पनि आदेश आउनेमा ढुक्क थिइनन् । इजलासमा यताउति गरिरहिन्, पहिले पेसी सूचीमा भएका न्यायाधीशहरूको नाम देखाउँदै भेट्न सहयोग मागिरहिन् । तर अपराह्न अदालतले तीनै जनालाई दोषी ठहर गरेपछि उनी हर्षले रोइन् । ‘आमा, तपाईंले मुद्दा जित्नुभयो भने, खुसी भएँ,’ उनले कान्तिपुरसँग भनिन्, ‘बाँकी रहेका दुई जनालाई पनि चाँडै पक्रेर जेलमा लगून् ।’
विष्णुकुमारी हरेक पटक अदालतमा पेसी चढ्ने दिन पोखराबाट बस चढेर काठमाडौं आउँथिन् । आफूलाई न्याय दिलाइदिन भन्दै अदालत प्रशासनदेखि सिंहदरबार र बालुवाटारसम्म पुग्थिन् ।
प्रहरीमा विष्णुकुमारीले दिएको जाहेरीमा उल्लेख भएअनुसार, मेला हेर्न गएका बेला अमृता लामाका विषयमा रामचन्द्र मानन्धर, बुद्ध श्रेष्ठ, ध्रुव मानन्धरसँग सूर्यबहादुरको विवाद भएको थियो । त्यही विषयलाई लिएर छोरा सूर्यबहादुरको हत्या गरिएको जाहेरीमा उल्लेख छ ।
प्रहरीसँगको बयानमा आरोपित श्रेष्ठले ५ फागुन २०७१ को साँझ ७ बजेतिर उखु खाँदै गरेको बेला फ्याँकेको झुसले अमृता लामालाई लागेको बताएका छन् । ‘उनले मलाई किन हानेको भनिन्, मैले झुक्किएर लागेको भन्दा गाली गरिन्,’ उनले भनेका छन्, ‘त्यही ठाउँमा कात्तिके भन्ने सूर्यबहादुर पाण्डेले एक्कासि म भएको ठाउँमा आएर हातपात गरे ।’ त्यसबेला ध्रुव मानन्धरले आएर छुट्याएको उनको दाबी छ ।
अर्का आरोपित रामचन्द्र मानन्धरले घटना भएको राति सूर्यबहादुरसहितका साथीहरू बसेर मदिरा र मासु खाएको उल्लेख गरेका छन् । ‘सँगै बसेका बेला मेरी केटी साथीलाई उसले अपशब्द बोलेको थियो, त्यसबेला रिस उठेर मैले महिला भएको कोठामा किन अपशब्द बोलेको भन्दा वादविवाद भएको थियो,’ उनले अनुसन्धान अधिकारीसमक्ष भनेका छन्, ‘राति साढे १ बजे फोन आएपछि सूर्यबहादुर कोठाबाट निस्किएको थियो ।’
आफूहरूलाई ‘डिस्टर्ब’ गरेपछि पछ्याउँदै तुलसीघाट पुल पारिसम्म पुगेको रामचन्द्रको भनाइ छ । ‘त्यहीबेला मलाई छातीमा हानेका थिए, त्यसपछि मैले पनि लात्ती र मुक्काले हानेर धकेलाधकेल हुँदा उसलाई बाटोको दाहिनेतर्फ डिलबाट सेती नदीको खोंचमा धकेलेको हुँ,’ उनले भनेका छन्, ‘केहीबेरसम्म कराएको नसुनेपछि म साथीको कोठामा गएर सुतेको थिएँ ।’ अदालतमा उपस्थित भएपछि उनले पनि बयान फेरेका थिए ।
प्रारम्भिक सुनुवाइपछि जिल्ला अदालत कास्कीले मानन्धरद्वय र श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तर, उनीहरूले जिल्लाको आदेशविरुद्ध उच्च अदालतमा निवेदन दिए । उच्च अदालतले जिल्लाको आदेश बदर गर्दै ५ असार २०७६ मा १ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दियो । पछि जिल्ला अदालतले रामचन्द्र मानन्धरलाई दोषी ठहर गर्यो । श्रेष्ठ र ध्रुव मानन्धरलाई अभियोग दाबी नपुग्ने भन्दै सफाइ दियो । त्यो आदेशविरुद्ध सरकारी पक्षले उच्च अदालत पोखरामा पुनरावेदन गर्यो । न्यायाधीश श्रीधराकुमारी पुडासैनी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले १३ चैत २०७८ मा जिल्ला अदालतकै फैसला सदर गर्ने आदेश दियो ।
जिल्ला र उच्च अदालतले दुई जनालाई दाबी नपुग्ने भन्दै सफाइ दिएपछि विष्णुकुमारी न्याय खोज्दै सर्वोच्च आइन् । ‘सुरुमा जाहेरी लिनै मानेका थिएनन्, प्रहरीले पनि राम्रो जाँच गरिदिएन,’ उनी भन्छिन्, ‘छोरा मार्नेलाई म कसरी त्यसै छाड्न सक्थें र ?’ छोराको हत्यामा संलग्नलाई उनी हरेक दिनजसो घर नजिकै देख्थिन् । त्यो देख्दा उनी मन थाम्नै सक्दिन थिइन् । बुधबार सर्वोच्च अदालतको आदेशपछि भने राहतको सास फेरेको उनले बताइन् ।
