न्यायको पर्खाइमा आमा : १५औं पटक पेसी सर्‍यो, खर्च जुटाउन कानको मुन्द्री बेच्दै

विभिन्न चरणमा जिल्ला र उच्च अदालतले दुई जनालाई दाबी नपुग्ने भन्दै सफाइ दियो, ती फैसलाविरुद्ध विष्णकुमारी न्याय खोज्दै सर्वोच्च धाइरहेकी छन्।

जेष्ठ १, २०८३

गौरव पोखरेल

Mother waiting for justice: Court postponed for 15th time, selling earrings to raise funds

What you should know

काठमाडौँ — उमेरले ७६ टेकिसकिन्, लेखपढ गर्न जान्दिनन् । कान राम्रोसँग नसुनेपछि जोकोही उनीसँग बोल्न पनि झर्को मान्छन् । तर पनि उनी भेट हुनेजतिलाई आफ्नो दुःख बिसाउन छाड्दिनन् । एकै सासमा ‘देशको न्याय प्रणालीले दिएको हैरानी’ पोखिहाल्छिन् । ‘मेरो छोरालाई कुटीकुटी मारे, अदालतले पनि न्याय दिएन,’ यति भनिसक्दा उनी भक्कानिन्छिन् । 

नयाँ प्रधानन्यायाधीश सिफारिसको ‘रन्को’ले तातिएको सर्वोच्च अदालतले तोकेको पेसी भ्याउन विष्णुकुमारी पाण्डे गत सोमबार पोखरादेखि काठमाडौं आएकी थिइन् । अदालतले त्यो दिन पनि पुरानै जवाफ दियो, ‘तपाईंको पेसी सर्‍यो, अर्को २० जेठमा आउनू ।’

२०७१ मा शिवरात्रि मेला हिँडेका सूर्यबहादुरको हत्या भएपछि आमा विष्णुकुमारीले छोराकै तीन साथी रामचन्द्र मानन्धर, बुद्ध श्रेष्ठ र ध्रुव मानन्धरविरुद्ध उजुरी दिएपछि कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको थियो।उनीसँग पोखरादेखि काठमाडौं आउजाउ गर्न अनि होटलमा बस्न पैसा छैन । ‘सरसापट लिएको पैसा अदालत धाउँदाधाउँदै सक्किसक्यो, अब त कानमा लगाएको सानो मुन्द्री मात्र बाँकी छ,’ उनले सुनाइन्, ‘न्याय पाउँछु भने त्यो पनि बेच्छु ।’ छोराको हत्यामा संलग्नलाई कारबाही माग गर्दै हरेक महिना उनी अदालत धाइरहन्छिन् । तर १५ पटकसम्म यसैगरी पेसी सरिरहँदा उनी थकित छिन् । बेलाबेला साथमा भएको सानो फोनमा रिङ बज्छ, उठाउँदा उनी आवाज सुन्दिनन् । नजिकै देखिने कसैलाई बोलाउँछिन् अनि कुरा गरिदिन अनुरोध गर्छिन् । गुहार मागिरहन्छिन् ।

अर्को महिनालाई १६ औं पटकको पेसी तोकिँदा उनी यसअघि ‘हेर्न नभ्याउने सूची’मा राख्ने न्यायाधीशहरूको विवरणसहितको चिकर्टो बोकेर हिँडिरहेकी छन् । त्यसमा छन्, कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लदेखि संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेका डा. मनोजकुमार शर्मासम्मका नाम । अनि, विष्णुकुमारी सोध्छिन्, ‘श्रीमान्हरूलाई कहाँ गएर भेट्न सकिएला ? मेरो छोरालाई न्याय दिन्थे कि !’ 

पहिले जस्तै रित्तै घर फर्किनुपर्ला कि भनेर उनी प्रधानमन्त्री वालेन्द्र शाहलाई भेट्न भन्दै सिंहदरबारसमेत पुगेकी थिइन् । तर, कर्मचारीले शाह बालुवाटारमा छन् भन्दै फर्काइदिए । उनी बालुवाटार पुगिन्, त्यहाँबाट फेरि उनलाई सिंहदरबार देखाइदिए । ‘बालेन साँच्चै कहाँ बस्छन् ?,’ उनी सोध्छिन् । 

५ फागुन २०७१ मा उनका छोरा २५ वर्षीय सूर्यबहादुर पाण्डे साथीहरूसँग शिवरात्रिको मेला हेर्न जाने भन्दै घरबाट निस्किएका थिए । अर्को दिन बिहान तुलसीघाटस्थित राम मन्दिरको भीरमा रगताम्मे अवस्थामा शव भेटियो । प्रहरीकहाँ दिएको जाहेरीमा उल्लेख भएअनुसार, मेला हेर्न गएका बेला अमृता लामाको विषयमा रामचन्द्र मानन्धर, बुद्ध श्रेष्ठ, ध्रुव मानन्धरसँग सूर्यबहादुरको विवाद भएको थियो । त्यही विषयलाई लिएर छोरालाई हत्या गरेर फ्याँकेको भन्दै विष्णुकुमारीले जाहेरी दिएकी छिन् । प्रहरीसँगको बयानमा आरोपित श्रेष्ठले त्यस दिन साँझ ७ बजेतिर उखु खाँदै गरेका बेला फ्याँकेको झुसले अमृता लामालाई लागेको बताएका छन् । ‘उनले मलाई किन हानेको भनिन्, मैले झुक्किएर लागेको भन्दा गाली गरेकी थिई,’ उनले भनेका छन्, ‘त्यतिबेला सोही ठाउँमा कात्तिके भन्ने सूर्यबहादुर पाण्डे एक्कासि म भएको ठाउँमा आएर हातपात गरेका थिए ।’ त्यसबेला ध्रुव मानन्धरले आएर छुट्याएको उनको दाबी छ । मानन्धरले श्रेष्ठको जस्तै जिकिर गर्दै इन्कारी बयान दिएका छन् । 

अर्का आरोपित रामचन्द्र मानन्धरले घटना भएको दिन राति सूर्यबहादुरसहितका साथीहरू बसेर मदिरा र मासु खाएको उल्लेख गरेका छन् । ‘त्यो दिन सँगै बसेका बेला मेरो केटी साथीलाई उसले अपशब्द बोलेको थियो, त्यसबेला रिस उठेर मैले महिला भएको कोठामा किन अपशब्द बोलेको भन्दा वादविवाद भएको थियो,’ उनले अनुसन्धान अधिकारीसमक्ष भनेका छन्, ‘त्यहीबेला राति साढे एक बजे फोन आएपछि सूर्यबहादुर कोठाबाट निस्किएका थिए ।’

विभिन्न चरणमा जिल्ला र उच्च अदालतले दुई जनालाई दाबी नपुग्ने भन्दै सफाइ दियो, ती फैसलाविरुद्ध विष्णकुमारी न्याय खोज्दै सर्वोच्च धाइरहेकी छन्।आफूहरूलाई डिस्टर्ब गरेपछि पछ्याउँदै तुलसीघाट पुल पारिसम्म पुगेको आरोपित रामचन्द्रले उल्लेख गरेका छन् । ‘त्यहीबेला मलाई छातीमा हानेका थिए, त्यसपछि मैले पनि लात्ती र मुक्काले हानेर धकेलाधकेल हुँदा उसलाई बाटोको दाहिनेतर्फ डिलबाट सेती नदीको खोंचमा धकेलेको हुँ,’ उनले भनेका छन्, ‘केहीबेरसम्म कराएको नसुनेपछि म साथीको कोठामा गएर सुतेको थिएँ ।’ अदालतमा उपस्थित भएपछि उनले पनि बयान फेरेका थिए । 

प्रारम्भिक सुनुवाइपछि जिल्ला अदालत कास्कीले मानन्धरद्वय र श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तर, उनीहरूले जिल्लाको आदेशविरुद्ध उच्च अदालतमा निवेदन दिए । उच्च अदालतले जिल्लाको आदेश बदर गर्दै ५ असार २०७६ मा १ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दियो । पछि जिल्ला अदालतले रामचन्द्र मानन्धरलाई दोषी ठहर गर्‍यो । श्रेष्ठ र ध्रुव मानन्धरलाई अभियोग दाबी नपुग्ने भन्दै सफाइ दियो । 

त्यो आदेशविरुद्ध सरकारी पक्ष फेरि उच्च अदालत, पोखरामा निवेदन लिएर गयो । न्यायाधीश श्रीधराकुमारी पुडासैनी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले जिल्ला अदालतकै फैसलालाई सदर गर्ने आदेश दियो, १३ चैत २०७८ मा । त्यो फैसलाविरुद्ध सर्वोच्च अदालतमा दिएको निवेदनमा अहिले पटक–पटक पेसी सरिरहेको हो । ‘एक वर्षपहिले पनि उहाँ यसैगरी काठमाडौं आउनुभएको थियो, पेसीमा चढ्दै नचढेपछि अदालतमै बस्छु भन्दै रुनु भएको थियो,’ राष्ट्रिय मानवअधिकार आयोगकी पूर्वसदस्य समेत रहेकी अधिवक्ता मोहना अन्सारी भन्छिन्, ‘त्यसबेला कर्मचारीले सम्झाएर पठाएका थिए, अदालतमा वर्षौंदेखिका मुद्दाहरू थुप्रिँदा नागरिकले कति दुःख पाइरहनुपरेको छ भन्ने उदाहरण हो यो ।’ 

१५औं पटकसमेत पेसी सरेपछि विष्णुकुमारी निराश भएर जिल्ला फर्किएकी छन् । तर, न्याय नपाएसम्म आवाज उठाउन नछाड्ने बताउँछिन् । ‘सुरुमा जाहेरी लिनै मानेका थिएनन्, प्रहरीले पनि राम्रो जाँच गरिदिएन,’ उनी भन्छिन्, ‘जसले जे भने पनि म बोल्न छाड्दिनँ ।’ छोराको न्यायका लागि आवाज उठाउँदै हिँड्दा एक पटक उनको साथबाट कागजपत्रसहित नगद र अरू सामान हरायो । ‘सबै कुरा चोरी भयो, मलाई अदालत, पुलिसतिर नहिँड् भन्छन्,’ उनी प्रश्न गर्छिन्, ‘तर, छोरालाई कुटीकुटी मार्नेविरुद्ध नबोली म कसरी सकुँला ?’ 

सर्वोच्च अदालत प्रशासनका अनुसार, जेन–जी आन्दोलनका बेला २४ भदौमा उनको छोराको मुद्दाको मिसिलसमेत जलेको थियो । अहिले पुनर्प्राप्ति भएपछि प्रक्रिया अघि बढेको छ । तर, मुद्दाको चापका कारण समयमा पेसी चढ्न समस्या हुने गरेको अदालतका कर्मचारी बताउँछन् । सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइराला भन्छन्, ‘सबै मुद्दा सुनुवाइ गर्न भ्याइँदैन, न्यायाधीशहरूको संख्या कम छ, मुद्दा धेरै छन् । त्यसैले केही मुद्दा स्थगित गराउनुपर्ने बाध्यता छ ।’ कतिपय मुद्दा पेसीमा परेर आफैं स्थगित हुने गरेको उल्लेख गर्दै उनले भने, ‘केहीमा प्राविधिक कारणले अदालत प्रशासनले पनि स्थगित गराउनुपर्छ ।’

गौरव पोखरेल राष्ट्रिय सुरक्षा मामिला, सुशासन र समसामयिक विषयमा कान्तिपुरका लागि रिपोर्टिङ गर्छन् ।

Link copied successfully