यसपालि तापक्रम वृद्धि, आकस्मिक बाढी, पहिरो र हिमताल विस्फोटको जोखिम बढ्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चेतावनी दिएको छ ।
What you should know
काठमाडौँ — एक दशक अवधिमा मनसुनजन्य विपद्बाट नेपालमा ३ हजारभन्दा बढीको ज्यान गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८३’ अनुसार २०७३ देखि २०८२ सम्म बाढी, पहिरो, भारी वर्षा र चट्याङका घटनामा परी ३ हजार ७४ जनाको मृत्यु भएको हो ।
उक्त अवधिमा ५०२ जना बेपत्ता, ४ हजार ७६९ जना घाइते तथा ३३ हजार १९८ परिवार प्रभावित भएका छन् ।
प्राधिकरणका अनुसार एक दशकमा सबैभन्दा बढी क्षति पहिरोले पुर्याएको छ । १० वर्षमा मात्रै ५ हजार ३२ वटा पहिरोका घटना भएका छन् । ती घटनामा १ हजार ४८३ जनाको मृत्यु, २३२ जना बेपत्ता र १ हजार ३४७ जना घाइते भएका छन् । पहिरोबाट ८ हजार १८३ परिवार प्रभावित भएका छन् भने ५ हजार ९७३ घरमा क्षति पुगेको छ ।
त्यसैगरी, बाढीका २ हजार ३५८ घटना हुँदा ६७८ जनाको मृत्यु भएको छ । २६९ जना बेपत्ता भएका छन् भने २३ हजार ८०५ परिवार प्रभावित बनेका छन् । बाढीबाट २ हजार २४८ घर तथा २ हजार ३७८ चौपायामा क्षति पुगेको तथ्यांक छ ।
चट्याङका घटनाले पनि ठूलो मानवीय क्षति पुर्याएको देखिन्छ । १० वर्षमा ३ हजार १२४ चट्याङका घटनामा ८०५ जनाको मृत्यु र २ हजार ८८३ जना घाइते भएका छन् । यस्तै भारी वर्षाका २ हजार ६५३ घटनामा १०८ जनाको मृत्यु भएको विवरण प्राधिकरणले दिएको छ ।
पछिल्ला वर्ष मनसुनजन्य विपद्को स्वरूप झन् जटिल बन्दै गएको प्राधिकरणको निष्कर्ष छ । विशेषगरी असोज १७ देखि २० गतेसम्म परेको अविरल वर्षाले २०८२ सालमा ठूलो क्षति पुर्याएको उल्लेख छ । त्यस क्रममा मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका २६ जिल्लामा ‘रेड अलर्ट’ जारी गरिएको थियो । इलाममा ठूलो क्षति भएपछि सरकारले जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो ।
२०८२ सालको मनसुनमा मधेश प्रदेशमा वर्षा कम हुँदा खडेरीको अवस्था सिर्जना भएको थियो । पानीका स्रोत सुक्दै गएपछि खानेपानी संकट गहिरिएर सरकारले मधेश प्रदेशलाई नै विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्नुपरेको थियो ।
मनसुन अवधिमा बाढी, पहिरो र डुबानबाट विस्थापित भएका परिवारलाई अस्थायी आश्रय, खाद्य तथा गैरखाद्य सामग्री, स्वास्थ्य सेवा र आपत्कालीन शिक्षा उपलब्ध गराइएको प्राधिकरणले जनाएको छ । घाइतेलाई हेलिकोप्टर र स्थलगत माध्यमबाट उद्धार गरी निःशुल्क उपचार गरिएको उल्लेख छ । अवरुद्ध सडक, विद्युत्, खानेपानी र सञ्चार सेवा पुनः सञ्चालनमा ल्याउन तत्काल मर्मत गरिएको पनि प्रतिवेदनमा छ ।
यस वर्षको मनसुनमा पनि जोखिम उच्च रहने प्रक्षेपण गरिएको छ । प्राधिकरणका अनुसार २०८३ सालको मनसुनमा देशभर करिब ५१ हजार ८६८ घरधुरीका २ लाख २६ हजार ६६१ जना प्रभावित हुन सक्ने अनुमान छ । तापक्रम वृद्धि, आकस्मिक बाढी, पहिरो र हिमताल विस्फोटको जोखिम बढ्ने चेतावनी दिइएको छ ।
दैनिक तापक्रममा वृद्धि हुने सम्भावना अधिक रहने आकलनले देशको दक्षिणी तराई भू-भागमा सर्वसाधारण अत्यधिक गर्मी वा तातो हावाको लहर (लु) बाट समेत प्रभावित बन्ने सम्भावना छ । यस वर्षको मनसुनको पूर्वानुमान सन् २०१४, २०१६ र २०२२ का मनसुन मौसमसँग मिल्दोजुल्दो देखिने प्राधिकरणले जनाएको छ ।
