उनीमाथि मितेरी सहकारीको साढे १२ करोड रुपैयाँ हिनामिना गरेको आरोप छ ।
काठमाडौँ — जिल्ला अदालत ललितपुरले मितेरी सहकारीको रकम हिनामिना प्रकरणमा संलग्न कांग्रेस नेता धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङका नाममा २१ दिने सूचना जारी गरेको छ ।
अदालतले सोबार सूचना जारी गर्दै गुरुङलाई अदालतमा उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको हो । गुरुङमाथि ललितपुरको मितेरी सहकारीको साढे १२ करोड रुपैयाँ हिनामिना गरेको आरोप छ । धनराजविरुद्ध भने मुद्दा नचल्ने निर्णय भएको थियो ।
अदालतले जारी गरेको सूचनामा गुरुङको तीनपुस्ते विवरण उल्लेख छ । जसमा उनका पति धनराज गुरुङ नै लेखिएको छ ।
‘उप्रान्त बोधविक्रम थापाले तपाईँका नाउँमा लेनदेन मुद्दा दायर गरेकामा यस अदालतबाट तपाईँको नाउँमा जारी भएको म्याद बदर भई यही जेठ ५ मा भएको आदेशानुसार मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १०५ को उपदाफा (२२) बमोजिम तपाईँका नाउँमा यो म्याद सूचना प्रकाशित गरिएको छ,’ सूचनामा भनिएको छ, ‘यो म्याद सूचना पत्रिकामा प्रकाशित भएका मितिले बाटोको म्यादबाहेक २१ दिनभित्र आफै वा कानुन बमोजिमको प्रतिनिधिमार्फत आफ्नो भएको सबुत प्रमाणसहित प्रतिउत्तर पत्र लिई यस अदालतमा उपस्थित हुनुहोला । म्यादभित्र उपस्थित नभई म्याद गुजारी बसे मुद्दा कानुन बमोजिम हुनेछ । पछि तपाईँको कुनै उजुर लाग्ने छैन।’
