नेता गुरुङकी पूर्वपत्नी ज्योति गुरुङसहित ८ जनामाथि सहकारी ठगीमा संलग्नताको आरोपमा मुद्दा दायर।
What you should know
काठमाडौँ — ललितपुरको मितेरी सहकारी ठगी प्रकरणमा मुछिएका सत्तारुढ कांग्रेसका उपसभापति तथा पूर्वमन्त्री धनराज गुरुङलाई उन्मुक्ति दिएर बाँकी आठ जनाविरुद्ध मुद्दा दायर गरिएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले नेता गुरुङलाई उन्मुक्ति दिएर गुरुङकी ‘पूर्वपत्नी’ ज्योति गुरुङ र सहकारीका सञ्चालक कुम्भराज गुरुङसहित सात जनाविरुद्ध ठगी, किर्ते, संगठित अपराध, अभौतिक मुद्राको अवैध कारोबार र राष्ट्र बैंक ऐनविपरीत कसुर गरेकोमा प्रतिवादी बनाएर आइतबार जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
ठगी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट भएको अनुसन्धानका आधारमा मुद्दा दायर गरिएको हो । ब्युरोले गुरुङलाई मुद्दा चलाउन नपर्ने रायसहित प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरेको थियो । त्यसकै आधारमा उनलाई उन्मुक्ति दिलाएर अभियोगपत्र अदालत पुगेको हो ।
अभियोगपत्रअनुसार नेता गुरुङकी पूर्वपत्नी ज्योति गुरुङसहित ज्योतिबहादुर भण्डारी, सुभाष खत्री, कुम्भराज गुरुङ, सुरेश अधिकारी, अर्जुन आरम (प्रदीप भन्ने प्रितम अधिकारी), विजयकुमार राई र अर्जुन आरमविरुद्ध १४ करोड २९ लाख २४ हजार ७ सय ७४ रुपैयाँ बिगो कायम गरिएको छ। ठगी भएको सहकारीको रकम फिर्ता गरिदिने प्रलोभन देखाएर ‘स्क्याम’ गरेको अभियोगमा सुरेश अधिकारीविरुद्ध थप ३ करोड ४२ लाख ८२ हजार ४ सय २० रुपैयाँ बिगो कायम गरी मुद्दा चलाइएको हो ।
सहकारी ठगी प्रकरणमै मुछिएका अरु दुई जना सुवास खत्री र अर्जुन आरमले ६ अर्ब ७४ करोड ३२ लाख ६९ हजार ८९ रुपैयाँ बराबरको गैरकानुनी अभौतिक मुद्राको कारोबार गरेको देखिएकोले सोही बमोजिम बिगो कायम गरी सजाय माग गरिएको छ। यस्तै ज्योती गुरुङ, ज्योतिबहादुर भण्डारीलाई किर्तेमा पनि सजाय मागदाबी गरिएको छ ।
प्रतिवादीमध्ये ज्योति भण्डारी, सुभाष खत्री र सुरेश अधिकारीबाहेक सबै फरार छन् । सहकारीको रकम ठगेर फरार रहेका भण्डारीलाई प्रहरीले इन्टरपोलको सहयोगमा कम्बोडियाको राजधानी न्होम्पेनबाट पक्राउ गरी नेपाल ल्याएको थियो । ज्योति गुरुङ भागेर अमेरिका पुगेको आशंका गरि एपनि यसबारे थप उल्लेख नगरी फरार सूचीमा राखिएको छ।
‘प्रतिवादीहरू ज्योति गुरुङ, ज्योतिबहादुर भण्डारी, सुवास खत्री, अर्जुन आरम, प्रदीप भन्ने प्रितम अधिकारी, विजयकुमार राई र कुम्भराज गुरुङले सहकारीको १४ करोड २९ लाख २४ हजार ७ सय ५४ रुपैयाँ ९२ पैसा ठगी गरेकोमा सजाय मागदाबी गरिएको छ । अर्का प्रतिवादी सुरेश अधिकारीले मतियारको भूमिका निर्वाह गरेकोमा कसुरदार देखाइएको छ ।
अपचलन भएको रकम फिर्ता गरिदिन्छु भनी ‘स्क्याम’ गरी थप ३ करोड ४२ लाख ८२ हजार ४ सय २० रुपैयाँ ठगी गरेकामा सुरेश अधिकारीलाई प्रतिवादी बनाइएको छ । यस्तै बैंकिङ प्रणालीभन्दा बाहिर गएर सहकारीको रकम ठगी गरेको र ठगिएको रकम फिर्ता गर्ने आवरणमा थप साढे ३ करोड रुपैयाँ स्क्यामबाट हिनामिना गरेकोमा राष्ट्र बैंक ऐनअन्तर्गत १७ करोड ७२ लाख ७ हजार १ सय ७४ रुपैयाँ बिगो कायम गरिएको छ । ज्योति गुरुङ र ज्योति भण्डारी, सुवास खत्री, अर्जुन आरम र प्रितम अधिकारीलाई संगठित अपराधको अभियोगमा पनि प्रतिवादी बनाइएको छ । यस्तै ठगी भएको रकम अभियुक्तबाट पीडितलाई क्षतिपूर्ति भराउन पनि मागदाबी गरिएको छ ।
मितेरी सहकारी ब्रिटिस र भारतीय सेनाबाट अवकाश पाएका लाहुरेहरूको पहलमा खोलिएको संस्था हो । उक्त सहकारीमा कांग्रेस नेता गुरुङकी पत्नी ज्योती २०५७ जेठ १२ मा सहायक स्तरको कर्मचारीबाट प्रवेश गरेकी थिइन् । त्यसको २ महिनापछि साउन २५ मा ज्योति सहकारीको लेखापाल, २०७० वैशाख ४ मा वरिष्ठ लेखापाल र २०७५ वैशाख ४ मा महाप्रबन्धक बनेकी थिइन् । महाप्रबन्धक बनेपछि उनले ज्योतीबहादुर भण्डारीलाई सहकारीको रकम मिटरब्याजमा लगाएको पनि अनुसन्धानबाट खुलेको थियो।
आफू महाप्रबन्धक भएपछि भण्डारीलाई ज्योतिले पटक–पटक सहकारीको रकम मिटरब्याजमा लगाएको पनि भेटिएको छ । सुरुमा मिटरब्याजको रकम तिर्दै गएका भण्डारीले पछि ठूलो रकम हात पारेपछि सम्पर्कविहीन बनेका थिए । पछि दुवैजनाको मिलेमतोमा रकम हिनामिना भएको खुलेको थियो । स्रोतका अनुसार ठगी धन्दाबारे कांग्रेस नेता गुरुङ पहिल्यैदेखि जानकार थिए । कतिसम्म भने सहकारीबाट रकम अपचलनको क्रम २०७९ सम्म कायम रहेको तथ्य पनि भेटिएको छ ।
सहकारी प्रकरणको विषय सञ्चालक समिति र सेयरधनीसम्म पुगेपछि २०७६ मा धनराजले पत्नीसँग आफ्ना सम्बन्ध विच्छेद गरेको देखिन्छ । सम्बन्ध विच्छेदलाई लिएर पनि जनस्तरबाटै ‘प्रश्न उब्जिएको’ छ । रकम अपचलनको भागिदार बन्नबाट सम्बन्ध विच्छेद गराएको हुनसक्ने भनेर पनि गुरुङमाथि आक्षेप लागेको छ । रकम हिनामिना भएको विषयमा धनराज र ज्योति गुरुङसहितलाई उपस्थित गराएर सहकारी सञ्चालकहरूले २०७६ पुस १६ मा छलफल गराएका थिए। तर, त्यसको दुई महिनापछि फागुनमा ज्योति र धनराजबीच सम्बन्धविच्छेद भएको थियो ।
त्यसपछि पनि सहकारीमा ज्योतिले गरेको अपचलनको रकम धनराज गुरुङमार्फतै तिरिएको तथ्य पनि भेटिएको छ । यसका लागि भन्दै गुरुङले व्यापारी मिनबहादुर गुरुङबाट पनि ‘सापटी’को नाममा लिएको करिब १ करोड रुपैयाँको स्रोत र हरहिसाबमा प्रहरीले अनुसन्धान नगरेको हो । ब्युरोले नेता गुरुङ यस प्रकरणमा मुछिएपछि २०८१ पुस दोस्रो साता सीआईबीमै बोलाएर सोधपुछ गरेको थियो ।
तर, गुरुङले सहकारीमा श्रीमतीकै कारण झगडा बिग्रेको र सम्बन्धविच्छेद पनि गर्नु परेको भन्दै आफू यसमा उल्टै पीडित बनेको जिकिर गरेका थिए । ‘ज्योति गुरुङ महाप्रबन्धक भएपछि संस्थाको व्यवस्थापन तथा आर्थिक जिम्मेवारी उहाँलाई नै दिइएको थियो । गुरुङले पद र कुर्सीको दुरुपयोग गरी सहकारी संस्थामा जम्मा गर्नु पर्ने बचतकर्ताहरूको मुद्धती बचत रकम संस्थाको खातामा जम्मा नगरी निजी फाइदाको लागि हिनामिना गर्न थालेको कुरा सतहमा आउन थाल्यो,’ बोधविक्रम थापाको जाहेरीमै भनिएको छ।
‘सो विषयमा तुरुन्त सत्य तथ्य पत्ता लगाउन २०७६ पौष १६ बिहान ९ बजे संस्थाका पदाधिकारी र प्रतिवादी ज्योती गुरुङलाई उहाँको श्रीमान धनराज गुरुङसहित नेपाल मगर समाज सेवा केन्द्रको भवन, रानीबुमा आकस्मिक बैठक राख्यौं। सो समयमा ज्योति गुरुङले आफुले गरेको कसुर मौखिक रूपमा स्वीकार गरेपछि धनराज गुरुङले अस्ट्रेलियामा इन्जिनियर अध्ययनरत छोराको कमाइ सुरु भएपछि यथासिघ्र भुक्तानी दिने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो।’
मितेरी सहकारीका सेयर सदस्य मोतीप्रसाद आलेले ज्योति गुरुङ संलग्न ठगीमा नेता गुरुङको पनि संलग्नता रहेको बयान प्रहरीमा दिएका थिए । ‘सेयर सदस्य धनराज गुरुङ सहकारीको रकम अपचलन गर्ने मुख्य नायक हुनुपर्छ, साथै धनराज गुरुङ आफ्नो राजनीतिक जीवन/पेसा जोगाउन, श्रीमतीको पदको दुरुपयोग गरी सहकारीको रकम चलाएर रकम तिर्नबाट पन्छिन, सहकारीमा नमुछिनलाई ज्योति गुरुङसँग सम्बन्धविच्छेद गरेको हुनुपर्छ,’ प्रहरी बयानमा आलेले भनेका छन्।
