मितेरीकी महाप्रबन्धक ज्योति गुरुङबाट मिटरब्याजमा साढे ३ करोड सापटी लिएर भण्डारी सम्पर्कविहीन भएका थिए, ज्योति अझै फरार
काठमाडौँ — ललितपुरको मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनका आरोपित ज्योतिबहादुर भण्डारी कम्बोडियामा पक्राउ परेका छन् । इन्टरपोलको सहयोगमा उनलाई पक्राउ गरेर सिंगापुर एयरलाइन्समार्फत कम्बोडियाबाट सिंगापुर हुँदै बुधबार राति काठमाडौं ल्याइएको छ ।
मितेरी सहकारीको करिब १४ करोड रुपैयाँ अपचलनमा संलग्न रहेको आरोपमा भण्डारीमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ ।
सहकारीकी महाप्रबन्धक ज्योति गुरुङबाट सहकारीको रकम पटक–पटक मिटरब्याजमा सापटी लिएको र पछिल्लो पटक करिब साढे ३ करोड रुपैयाँ सापटी लिएपछि उनी सम्पर्कविहीन बनेको अनुसन्धानमा पाइएको थियो । महाप्रबन्धक गुरुङ कांग्रेस उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङकी पूर्वश्रीमती हुन् ।
सहकारीको रकम अपचलनका विषयमा अनुसन्धान अघि बढेपछि ज्योति गुरुङ र भण्डारी दुवै फरार भएका थिए । दुवैलाई खोजी गर्न प्रहरीले गत असोजमा ‘इन्टरपोल’ मार्फत ‘रेड नोटिस’ जारी गरेको थियो । भण्डारी थाइल्यान्डबाट कम्बोडिया हुँदै हाल श्रीलंकाको कोलम्बो पुगेको प्रहरीको सुरुवाती अनुमान थियो । तर उनलाई कम्बोडियाको प्रहरीले पक्राउ गरेर काठमाडौं फिर्ता पठाएको सीआईबीले जनाएको छ । महाप्रबन्धक गुरुङ भने फरार छिन् ।
मितेरी बेलायती र भारतीय सेनाबाट अवकाशप्राप्त व्यक्तिहरूको पहलमा खोलिएको सहकारी हो । यसमा ज्योति गुरुङ १२ जेठ २०५७ मा सहायकस्तरको कर्मचारीबाट प्रवेश गरेकी थिइन् । दुई महिनापछि २५ साउनमा लेखापाल, ४ वैशाख २०७० मा वरिष्ठ लेखापाल हुँदै ४ वैशाख २०७५ मा महाप्रबन्धक बनेकी थिइन् । उनले भण्डारीलाई सहकारीको रकम मिटरब्याजमा लगाउन थालेकी थिइन् ।
गुरुङले सुरुमा सहकारीबाट ३० लाख रुपैयाँ झिकेर भण्डारीलाई सापटी दिएकामा एक सातामा ५ लाख थपेर फिर्ता आएको थियो । दोस्रो चरणमा ४० लाख दिँदा अर्को साता १० लाख थपेर भण्डारीले रकम फिर्ता गरेको र एक पटक ५० लाख दिँदा ६० लाख फिर्ता भएको पनि अनुसन्धानमा खुलेको छ । सापटी रकम बढाउँदै गएर करिब साढे ३ करोड रुपैयाँ लिएपछि भने भण्डारी सम्पर्कविहीन भएका थिए । त्यसपछि सहकारी धराशायी भएको थियो ।
रकम अपचलनमा संलग्नमाथि अनुसन्धान र कारबाहीका लागि सहकारीका सञ्चालक बोधविक्रम थापाले सीआईबीमा जाहेरी दिएका थिए । सुरुमा सीआईबीले सम्बन्धित स्थानीय तह, प्रदेश सरकार वा संघ मातहतको सहकारी, सरकारी, संसदीय छानबिन अध्ययन प्रतिवेदनका आधारमा मात्रै अनुसन्धान गर्न सकिने जनाएको थियो ।
सर्वसाधारणको बचत अपचलनबारे अनुसन्धान नगरेकामा आलोचना बढेपछि सीआईबीले ललितपुर महानगरपालिका र बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयसँग समन्वय गरेर अनुसन्धान अघि बढाएको थियो । गत वर्ष गठित सूर्यबहादुर थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिले पनि मितेरी सहकारी रकम ठगीबारे खुलाएको थियो । मितेरीको रकम अपचलनका विषयमा सीआईबीले कांग्रेस उपसभापति गुरुङसँग समेत सोधपुछ गरेको थियो ।
तत्कालीन पत्नी ज्योतिले रकम अपचलन गरेको विषयमा पूर्वमन्त्री गुरुङलाई त्यति बेलै थाहा भएको र विवादबाट जोगिन सम्बन्धविच्छेद गरेको आरोप लाग्दै आएको छ । मन्त्री गुरुङले फागुन २०७६ मा सम्बन्धविच्छेद गरेका थिए भने त्यसपछि उनले सहकारीबाट ऋण लिँदा हकवालामा श्रीमतीका रूपमा ज्योति उल्लेख गरिएको थियो । सहकारीबाट लिएको ऋण भने पूर्वमन्त्री गुरुङले चुक्ता गरिसकेका छन् । उनले सहकारी ठगीमा आफ्नो संलग्नता इन्कार गर्दै आएका छन् ।
