यसअघि परराष्ट्र मन्त्री शिशिर खनाल आफैंले सामाजिक सञ्जालमा अमृत झा रिहा भएको भन्दै पोस्ट गरेका थिए ।
काठमाडौँ — नेपाली नागरिक अमृत झा इरानी थुनामै रहेको भन्दै परराष्ट्र मन्त्रालयले माफी मागेको छ । यसअघि परराष्ट्र मन्त्री शिशिर खनाल आफैंले सामाजिक सञ्जालमा अमृत झा रिहा भएको भन्दै पोस्ट गरेका थिए ।
सोमबार मन्त्रालयले इरानका लागि नेपाली अनररी कन्सलले कतारस्थित कार्यवाहक राजदूत कुमार राईलाई गराएको जानकारीअनुसार झा रिहा भएको भनेर मन्त्री खनालले लेखेको जनाएको छ । परराष्ट्रले अमृत झा रिहा भइनसकेको र निज सम्बद्ध मुद्दामा अदालतले 'एक्सपर्ट रिपोर्ट' तयार गर्न भनेको समेत जानकारी गराएको छ ।
परराष्ट्रले झाका परिवारलाई यी सबै तथ्यहरू जानकारी गराइसकिएको समेत बताएको छ । 'इरानको स्थानीय अदालतमा मुद्दा विचाराधीन रहेको र श्री झा थुनामै रहेको अवस्थामा निज रिहा भएको भन्ने अनौपचारिक जानकारी सार्वजनिक हुन गएबाट सिर्जना भएको अन्योल र असुविधाप्रति मन्त्रालय क्षमा प्रार्थी छ,' मन्त्रालयले विज्ञप्तिमा जनाएको छ ।
तेल लिन जाने क्रममा उदयपुर, गाईघाटका ३० वर्षीय अमृत झासहित ७ जनालाई इरानी सुरक्षाकर्मीले हर्मुजभन्दा माथि रहेको केशन टापुबाट पक्राउ गरेको थियो । इरानी सेनाले उनीहरूलाई चैत पहिलो साता नियन्त्रणमा लिएको थियो ।
