इरानमा तेल लिन जाने क्रममा हर्मुज क्षेत्रको बन्दर अब्बास बन्दरगाहमा अमृत झालाई इरानी सेनाले नियन्त्रणमा लिएको हो
काठमाडौँ — इरानी सुरक्षा फौजले उदयपुर, गाईघाटका ३० वर्षीय अमृत झालाई हर्मुजको जलघाटी क्षेत्रबाट नियन्त्रणमा लिएको छ । इरानमा तेल लिन जाने क्रममा हर्मुज क्षेत्रको बन्दर अब्बास बन्दरगाहमा उनलाई इरानी सेनाले नियन्त्रणमा लिएको हो ।
अमृतकी दिदी पूजा झाका अनुसार अमृत इरानी सेनाको नियन्त्रणमा रहेको ‘भ्वाइस मेसेज’ केही दिनअघि ह्वाट्सएपमा आएको थियो । ‘आठ दिनअघि एउटा नचिनिएको नम्बरबाट ह्वाट्सएपमा भ्वाइस मेसेज आएको थियो, मेसेजमा भाइले हामीलाई इरानी सेनाले कस्टडीमा लिएको छ, अरू भारतीय पनि पक्राउ परेका छन् भनेको थियो,’ पूजाले शुक्रबार कान्तिपुरसँग भनिन्, ‘पछि हामीले त्यो नम्बरमा सम्पर्क गर्न खोज्दा हुन सकेन ।’
इरानी सेनाले हामीलाई कस्टडीमा लिएको छ भनेर भाइले अचानक आठ दिनअघि ह्वाट्सएपमा भ्वाइस मेसेज पठाएको थियो, पछि त्यो नम्बरमा फोन गर्दा सम्पर्क हुन सकेन : पूजा झा अमृतकी दिदी।पूजाका अनुसार, अमृत दुई वर्षअघि कामको सिलसिलामा दुबई गएका हुन् । उनी त्यहाँको ब्ल्याक सी मरिन एलएलसी कम्पनीको जहाजमा काम गर्थे । ‘पछिल्लो पटक १२ जनवरीमा भाइको फोन आएको थियो, त्यसबेला उसले म अहिले इरानमा छु, मेरो काम सकिन लाग्यो, त्यसपछि म सिधैं नेपाल आउँछु भनेको थियो,’ पूजाले थपिन्, ‘तर अचानक भाइ पक्राउ परेको भ्वाइस मेसेज पाएपछि हामीले उसको खोजी गरिदिन कन्सुलर विभागमा निवेदन दिएका छौं । मेरो भाइको यथाशीघ्र रिहाइका लागि पहल गरिदिन म नेपाल सरकारसँग अनुरोध गर्छु ।’
परराष्ट्र मन्त्रालयको पश्चिम एसिया महाशाखाका प्रमुख रामकाजी खड्काले एक नेपाली इरानी सेनाको नियन्त्रणमा रहेको जानकारी शुक्रबार पत्रकार सम्मेलनमा दिए । ‘पक्राउ पर्नेको व्यक्तिगत विवरण आधिकारिक रूपमा प्राप्त भएको छैन,’ उनले भने । पक्राउ परेका नेपालीको औपचारिक जानकारी इरानले नदिएको उल्लेख गर्दै कतारस्थित नेपाली दूतावासले यसबारेमा इरानसँग थप जानकारी लिने प्रयास भइरहेको जनाएको छ ।
खड्काका अनुसार, इरानमा ११ नेपाली कार्यरत छन् । इरानमै कार्यरत दुई जना नेपालीको भने यसअघि नै उद्धार भइसकेको छ । इरानमा रहेको यूएई दूतावासमा कार्यरत ती दुई नेपाली तुर्किए पुगेर दुबई हुँदै नेपाल आइपुगेका हुन् ।
विश्वको झन्डै २० प्रतिशत तेलको हिस्सा हर्मुजको जलघाटी हुँदै बाहिरिन्छ । गत २८ फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमाथि संयुक्त हमला गरेपछि इरानले पनि आफ्नो नियन्त्रणमा रहेको हर्मुज जलघाटी हुँदै पार हुने तेल बोकेका पानी जहाजलाई लक्षित गर्दै प्रत्याक्रमण गर्दै आएको छ ।
अन्तर्राष्ट्रिय समुद्री संगठन (आईएमओ) का अनुसार स्ट्रेट अफ हर्मुजमा अड्किएका ३२ सय जहाजमा कम्तीमा २० हजार समुद्री श्रमिक रहेका छन् । ती श्रमिक कुन कुन देशका हुन् भन्ने पहिचान भएको छैन । तर, त्यहाँ अधिकांश भारतीय रहेको बताइएको छ । इरान र अमेरिका–इजरायलबीच युद्ध सुरु भएयता ठूलो संख्यामा ट्यांकर र कार्गो जहाजहरूले हर्मुज जलघाटीबाट बाहिरिने अनुमति पाएका छैनन् । इरानको आक्रमणमा तीन जना भारतीय जहाज चालक दलका सदस्यको मृत्यु भइसकेको छ भने एक जना बेपत्ता छन् ।
वैदेशिक रोजगार विभागले भने हर्मुजमा रोकिएका ट्यांकर र कार्गो पानी जहाजमा नेपाली श्रमिक रहे/नरहेको कुनै पुष्टि हुन नसकेको जनाएको छ । ‘हामीले पानी जहाजमा काम गर्ने नेपालीलाई श्रम स्वीकृति दिइरहेका छौं । त्यसरी श्रम स्वीकृति पाएका नेपाली हर्मुजमा रोकिएको ट्यांकर र कार्गोमा छन् वा छैनन् भन्न सकिएको छैन,’ विभागकी महानिर्देशक मीरा आर्चायले कान्तिपुरसँग भनिन्, ‘हामीले जुन देशको पानी जहाज हो, त्यो देशको कम्पनीको जहाजमा काम गर्न श्रम स्वीकृति दिइरहेका छौं ।’ उनले ती पानी जहाज कहाँ–कहाँ पुग्छन् भनेर भन्न नसकिने बताइन् । ‘तर श्रम स्वीकृति दिइएको पानी जहाज कहाँ चलिरहेको छ भने पत्ता लगाउन सक्छौं । यसका लागि समय लाग्छ,’ उनले भनिन् । विभागबाट इरानमा काम गर्न श्रम स्वीकृति भने दिइएको छैन ।
यो क्षेत्रमा फसेका श्रमिकहरूको अवस्था भने निकै जटिल बनिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । इन्धन आपूर्ति गर्ने जहाजमा अड्किएका एक भारतीय युवाले आफूसँग भएको थोरै स्रोतसाधनमै गुजारा गरिरहेको बताएका छन् । ‘जहाजमा पर्याप्त पानी छैन । केही दिनदेखि खाना पाएका छैनौं,’ उनले एएफपीसँग शुक्रबार भने ।
भारतले इरानसहित विभिन्न देशका निकायसँग समन्वय गर्दै उनीहरूको सुरक्षाको व्यवस्था गरिरहेको जनाएको छ । श्रमिकहरूका अनुसार जलसेनाको एस्कर्टबिना वा अनुमतिबिना हर्मुज पार गर्नु निकै चुनौतीपूर्ण छ । आईआरजीसीले जहाजका क्याप्टेनलाई वायरलेसमार्फत बिनास्वीकृति हर्मुज पार गरे जुनसुकै परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ ।
