आफ्नै रेकर्ड तोड्दै ल्हाक्पा ११औं पटक सर्वोच्च शिखरमा 

ल्हाक्पा शेर्पाले विश्वमै सबैभन्दा धेरै पटक सगरमाथा चढ्ने महिला आरोहीको ऐतिहासिक कीर्तिमान कायम गरेकी छन्।

जेष्ठ ३, २०८३

सुरज कुँवर

Lhakpa reaches the highest peak for the 11th time, breaking his own record

काठमाडौँ — नेपाली पर्वतारोही ल्हाक्पा शेर्पाले ११औं पटक सफलतापूर्वक सगरमाथा आरोहण गर्दै विश्वमै सबैभन्दा धेरै पटक सगरमाथा चढ्ने महिला आरोहीको ऐतिहासिक कीर्तिमान कायम गरेकी छन्।

सगरमाथा आधार शिविरमा रहेका छाङदावा शेर्पाका अनुसार, ल्हाक्पा आज बिहान करिब ९:३० बजे विश्वको सर्वोच्च शिखरमा पुगेकी हुन्। यस सफलतासँगै उनले आफ्नै विश्व कीर्तिमानलाई अझ उचाइमा पुर्‍याएकी छन्।

‘पर्वतकी रानी’ उपनामले चिनिने ल्हाक्पा हाल अमेरिकामा बसोबास गर्दै आएकी छन्। गत वर्ष पनि उनी सगरमाथा आरोहणका लागि नेपाल आएकी थिइन्, तर अभियान पूरा गर्न नसकी अमेरिका फर्किएकी थिइन्। त्यसबेला उनले ११औं पटकको कीर्तिमान बनाउने लक्ष्य रहेको बताएकी थिइन्।

यसअघि ल्हाक्पाले ८ पटक उत्तरी मोहडा (तिब्बततर्फ) र २ पटक दक्षिणी मोहडा (नेपालतर्फ) बाट सगरमाथा आरोहण गरिसकेकी थिइन्।

ल्हाक्पा शेर्पा सगरमाथा आरोहणपछि सुरक्षित रूपमा फर्किने पहिलो नेपाली महिला आरोहीका रूपमा पनि परिचित छिन्। उनी नेपालकी पहिलो महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पासँग ऐतिहासिक रूपमा जोडिन्छिन्, जसले शिखर चुमे पनि फर्किने क्रममा ज्यान गुमाएकी थिइन्। हाल ल्हाक्पा सुरक्षित रूपमा आधार शिविरतर्फ फर्कने क्रममा रहेको जनाइएको छ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully