रोप फिक्सिङ टोली सगरमाथाको शिखरमा, यस सिजनको पहिलो आरोहण

रोप फिक्सिङ (डोरीको सहायताले बाटो बनाउने) टोलीले सगरमाथाको शिखरमा सफलतापूर्वक डोरी फिक्सिङ मिसन पूरा गरेको छ ।

वैशाख ३०, २०८३

सुरज कुँवर

Rope-fixing team reaches the summit of Everest, first ascent of the season

काठमाडौँ — यस वर्षको वसन्तकालीन सगरमाथा आरोहण सिजनमा रोप फिक्सिङ (डोरीको सहायताले बाटो बनाउने) टोलीले सगरमाथाको शिखरमा सफलतापूर्वक डोरी फिक्सिङ मिसन पूरा गरेको छ । योसँगै सिजनको पहिलो सफल सगरमाथा शिखर आरोहण भएको छ ।

पर्वतारोहण सञ्चालक संघ नेपालका महासचिव ऋषिराम भण्डारीका अनुसार डोरी टाँग्दै अघि बढेको टोली सगरमाथाको चुचुरोमा पुगेर मार्ग पूर्ण रूपमा खोल्न सफल भएको हो।

सेभेन समिट ट्रेक्सको जानकारी अनुसार आज बिहान १०:२५ बजे रोप फिक्सिङ टोली, जसमा सेभेन समिट ट्रेक्सका तीन शेर्पा मिङ्तेम्बा शेर्पा, पासाङ नुर्बु शेर्पा र डेन्डी शेर्पासहित अन्य सदस्यहरू थिए, सगरमाथा (दक्षिण मार्ग) को शिखरमा पुगेका हुन्।

हिजो रातिदेखि बाल्कोनी (८,४०० मिटर) सम्म डोरी फिक्सिङ सफल भएपछि पहिलो र दोस्रो फिक्सिङ टोली मिलेर साउथ समिट हुँदै अन्तिम चरण पूरा गरी शिखरमा पुगेको संघले जनाएको छ।

सगरमाथाको शिखर सफलतापूर्वक प्राप्त गर्नेमा मिंग्मा दोर्ची शेर्पा (संखुवासभा), मिंग्मा तेन्जे शेर्पा (संखुवासभा), पेम दोर्जे शेर्पा (सोलुखुम्बु), पासाङ तेन्जिङ शेर्पा (संखुवासभा), लोप्साङ भोटे (ताप्लेजुङ), छोम्बा तेन्जी शेर्पा (संखुवासभा), मिंग्मा नुर्बु शेर्पा (संखुवासभा), पासाङ ताशी शेर्पा (संखुवासभा), फुर्तेन्जी शेर्पा (संखुवासभा), गुरु भोटे (संखुवासभा), मिंग्तेम्बा शेर्पा (सेभेन समिट ट्रेक्स – १४ पीक्स क्लाइम्बर), पासाङ नुर्बु शेर्पा (सेभेन समिट ट्रेक्स), डेन्डी शेर्पा (दोलखा) र पासाङ ङिमा शेर्पा (इम्याजिन नेपाल) छन् ।

सेभेन समिट ट्रेक्सका अनुसार यस सिजनको सुरुवातदेखि नै खुम्बु आइसफलमा आएको समस्या र ढिलाइका कारण सम्पूर्ण टोलीलाई ठूलो दबाब परेको थियो। तर सबै अपरेटरहरूको समन्वय र सहकार्यमा सबै कठिनाइ पार गर्दै मिसन सफल भएको हो।

यस वर्ष बेस क्याम्प स्थापना ६ अप्रिलमा भएको थियो । टोली शिखरमा ३७औँ दिनमा पुगेको हो । अब सयौं आरोहीहरूलाई शिखर प्रयासको बाटो सहज भएको छ ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully