कर्णालीका हुम्ला, डोल्पा, मुगु र जुम्लामा सडक जीर्ण र जोखिमपूर्ण भएकाले सर्वसाधारण सुरक्षित यात्राका लागि जहाज कुर्छन् । तर, तालिकाअनुसार उडान नहुँदा एकातिर सास्ती त छँदै छ, अर्कोतिर बिरामीहरू समयमै अस्पताल पुग्न पाइरहेका छैनन् ।
सुर्खेत, जुम्ला र डोल्पा — गत २५ चैतमा कडा मधुमेहका कारण स्वास्थ्य समस्या बल्झिएपछि जुम्लाको हिमा–६ का ७१ वर्षीय कलबहादुर अधिकारीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत शिक्षण अस्पतालमा भर्ना गरियो । त्यहाँ मधुमेह नियन्त्रण भएन । त्यसमाथि ‘प्रोस्टेट’ को समस्या बढेपछि शिक्षण अस्पतालले ‘युरो सर्जरी’ का लागि बाँकेको नेपालगन्ज रिफर गर्यो ।
जुम्लाबाट छिट्टै अस्पताल पुर्याउन बिरामीका आफन्तले दिनभर जहाज कुरे पनि उडान भएन । बिरामीको अवस्था जटिल बनेपछि हिमा गाउँपालिकाको एम्बुलेन्समार्फत नेपालगन्ज लैजाने निधो भयो । तर, उनीहरू नेपालगन्ज पुग्न पाएनन् । ०१००१ झ ००२४ नम्बरको उक्त एम्बुलेन्स कालीकोटको खाडाचक्र–२ मेयरखोलानजिक दुर्घटना हुँदा कुलबहादुरका छोरा ३२ वर्षीय भीमबहादुर र हिमा–७ मचीगाउँका एम्बुलेन्स चालक २६ वर्षीय शक्तिबहादुर शाहीको मृत्यु भयो । बिरामी अधिकारी घाइते भए । ‘त्यस दिन प्लेन आएको भए मेरो उपचार सहज हुन्थ्यो,’ अधिकारीले भने, ‘अकालमै छोरा गुमाउनुपर्यो ।’
कर्णालीका हुम्ला, डोल्पा, मुगु र जुम्लामा सडक जीर्ण र जोखिमपूर्ण भएकाले सर्वसाधारण सुरक्षित यात्राका लागि जहाज कुर्छन् । तर, तालिकाअनुसार उडान नहुँदा एकातिर सास्ती त छँदै छ, अर्कोतिर बिरामीहरू समयमै अस्पताल पुग्न पाइरहेका छैनन् ।कर्णालीका हुम्ला, डोल्पा, मुगु र जुम्लामा सडक जीर्ण र जोखिमपूर्ण भएकाले सर्वसाधारण सुरक्षित यात्राका लागि जहाज कुर्छन् । तालिकाअनुसार उडान नहुँदा एकातिर सास्ती त छँदै छ, अर्कोतिर बिरामीहरू समयमै अस्पताल पुग्न पाइरहेका छैनन् । यस्तैमध्येकी एक हुन्, जुम्लाको चन्दननाथ–८ की २१ वर्षीया सवि कामी । मुटु, छाती र फोक्सोमा समस्या देखिएपछि उनी सोमबार प्रतिष्ठानको शिक्षण अस्पतालमा भर्ना भइन् । उनलाई अस्पतालले नेपालगन्ज रिफर गरेको छ । जहाजमै अक्सिजन लगाएर लैजान चिकित्सकले सल्लाह दिएका छन् । ‘बुधबार सेड्युल भए पनि जहाज आएन,’ उनका भाइ विनोदले भने, ‘मौसमको कारण भन्दै उडान नभएपछि शिक्षण अस्पतालमै फर्किनुपर्यो ।’
तिला–८ की दुर्गा रावतलाई लामो समयदेखि ‘ग्यास्ट्रिक’ को समस्या छ । मंगलबार समस्या बढेपछि उपचारका लागि नेपालगन्ज जाने योजना बनाइन् । ‘गाडीबाट कष्टकर यात्रा गर्न सकिन्न,’ उनले भनिन्, ‘बुधबार नेपाल एयरलाइन्सको फ्लाइट थियो, त्यसैले विमानस्थल पुगे, दुई दिनसम्म मौसमको समस्या देखाउँदै उडान भएन, अन्तिममा टिकट रद्द गर्नुको विकल्प भएन ।’
पर्यटकीय मौसम सुरु भएको भन्दै यतिबेला निजी विमान कम्पनीका जहाजहरू मुलुकका पूर्वी जिल्लातर्फ केन्द्रित भएपछि कर्णाली उडानविहीन जस्तै छ । नेपाल वायुसेवा निगमको जहाजको उडान पनि मौसम तथा प्राविधिक कारण देखाउँदै पटकपटक रद्द हुने गरेको छ । यसबाट कर्णालीका स्थानीय आजित छन् ।
गत साता नेपाल एयरलाइन्सले जुम्लामा नेपालगन्जबाट आइतबार, मंगलबार र बुधबार तथा सुर्खेतबाट मंगलबार उडान गर्ने तालिका सार्वजनिक गरेको थियो । ‘तर मंगलबार मात्र उडान भयो, अरू सबै उडान रद्द भए,’ स्थानीय चन्द्रलाल न्यौपानेले भने, ‘उडान अवरुद्ध हुँदा बिरामीको ज्यान जोखिममा परिरहेको छ ।’
२ सय ३२ किलोमिटरको कर्णाली राजमार्ग ‘सिंगल लेन’ को छ । सोही कारण स्थानीयलाई महँगो भए पनि जहाजकै भर पर्नुपर्ने बाध्यता रहेको न्यौपाने बताउँछन् । ‘सामान्य पानी परे पनि गाडी नरोकिएको र हिलोमा नफसेको दिनै हुँदैन । एउटा गाडी रोकिए घण्टौं जाम हुने समस्या छ,’ उनले भने, ‘त्यसमा पनि ५ वर्षअघि गरिएको राजमार्गको कालोपत्र पूरै उप्किएपछि हिउँदको समयमा सडक धुलाम्मे हुने गरेको छ ।’
मुगुको गमगढीका रत्नबहादुर शाहीले सडक र जहाज दुवैका कारण यात्रुले सास्ती भोग्नुपरिरहेको गुनासो गरे । ‘न सडक गतिलो छ, न त प्लेन नै आउँछ,’ उनले भने, ‘कोही जटिल बिरामी परिहाले ज्यान गुमाउनुको विकल्पै छैन ।’ नेपाल एयरलाइन्स जुम्ला स्टेसन इन्चार्ज उमाकान्त अधिकारीले मौसम खराबीले उडानमा समस्या भइरहेको दाबी गरे । ‘सेड्युल भएपछि यात्रुलाई विमानस्थलमा बोलाउँछौं,’ उनले भने, ‘तर जहाज नै नआएपछि फर्काउनुपर्ने बाध्यता छ ।’ उनका अनुसार हरेक उडानमा २/२ सिट बिरामी र सरकारी कर्मचारीका लागि छुट्याइएको छ ।
जुम्लामा सीता, तारा, समिट र नेपाल एयरलाइन्सले उडान गर्दै आएका छन् । यात्रु अभाव देखाउँदै निजी एयरलाइन्सले दैनिकजसो उडान रद्द गर्ने गरेको स्थानीय रमानन्द आचार्यले बताए ।जुम्लामा सीता, तारा, समिट र नेपाल एयरलाइन्सले उडान गर्दै आएका छन् । यात्रु अभाव देखाउँदै निजी एयरलाइन्सले दैनिकजसो उडान रद्द गर्ने गरेको स्थानीय रमानन्द आचार्यले बताए । जहाज नियमित नहुँदा रिफर गरिसकेका बिरामीलाई समेत फर्काएर फेरि अस्पतालमै भर्ना गर्नुपर्ने बाध्यता रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका निर्देशक डा. कमल थानीले बताए ।
सडक मार्ग भरपर्दो नहुँदा मुगु र हुम्लाका अधिकांश यात्रुले हवाई यात्रा रोज्ने गरेका छन् । तर, ३/४ दिनसम्म एयरलाइन्सका कार्यालय धाउँदासमेत टिकट नपाइने मुगुमकार्मारोङ गाउँपालिकाका गुरु तामाङले बताए । ‘कि त एयरलाइन्सका कर्मचारी चिन्नुपर्यो कि नेताको मान्छे हुनुपर्यो,’ उनले भने, ‘एक त जहाजै आउँदैन, आए पनि टिकट पाइँदैन ।’ रारा घुम्न आउने पर्यटकले दोहोरो टिकट बोकेर आउँदा स्थानीय जहाज चढ्नबाट वञ्चित भइरहेको उनले गुनासो गरे ।
कर्णालीमा उडान गरिरहेका निजी कम्पनीले पर्यटक ओसार्न भन्दै जहाज पूर्वतिर पठाएपछि नेपाल एयरलाइन्सकै भर पर्नु परिरहेको हुम्लाको सिमकोटका राजबहादुर रोकायाले बताए । ‘इन्धनले २/३ जनाको ठाउँ ओगट्छ, दुई/दुई सरकारी र बिरामी कोटा भएकाले टिकट पाउन मुस्किल छ,’ उनले भने, ‘एउटा टिकटका लागि कम्तीमा एक साता धाउनुपर्छ ।’
गत असारमा मात्र हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको हो । सदरमुकाम सिमकोटबाट सुर्खेतसम्मको दूरी ३ सय ३४ किलोमिटर छ । जसको भाडा ५ हजार ८ सय रुपैयाँ छ भने गाडीलाई उक्त दूरी पार गर्न झन्डै २ दिन लाग्छ । भर्खरै खनिएको कच्ची सडकमा कष्टकर यात्रा गर्नुपर्ने बाध्यताले अझै पनि हवाई यातायातको विकल्प नभएको उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारीले बताए ।
नेपाल एयरलाइन्सले नेपालगन्जबाट सिमकोटसम्म ११ हजार ८ सय १४, मुगुसम्म ९ हजार ३ सय र जुम्लाका लागि ८ हजार ९ सय ३३ रुपैयाँ भाडा लिने गरेको छ । निजी एयरलाइन्सले ५ सय, हजारदेखि २ हजार रुपैयाँसम्म बढी भाडा लिने गरेका छन् । त्यस्तै सुर्खेतबाट हुम्लाका लागि ६ हजार ७८, जुम्लाको ६ हजार ५ सय ९२ र मुगुको रारा विमानस्थलको ७ हजार २ सय ६५ रुपैयाँ भाडा तोकिएको नेपाल एयरलाइन्सका सुर्खेतस्थित स्टेसन इन्चार्ज गोविन्द गिरीले बताए । उनका अनुसार निजी एयरलाइन्सले भने सुर्खेतबाट उडान गर्ने गरेका छैनन् ।
जहाज एउटा, गन्तव्य धेरै
नेपालगन्ज ‘बेस’ भएको जहाजलाई उडान तालिका पूरा गर्न भ्याइनभ्याइ छ । ६ दिनमा झन्डै ४० पटक उडान गर्नुपर्छ । तर पुरानो जहाजमा आइरहने प्राविधिक समस्या र मौसम खराबीका कारण उडान रद्द हुने गरेका छन् ।नेपाल एयरलाइन्ससँग दुईवटा ट्वीनअटर जहाज छन् । एउटा जहाजले काठमाडौंबाट पूर्वतिरका जिल्लामा उडान गर्छ । अर्को जहाज नेपालगन्ज ‘बेस’ बनाएर राख्ने गरिएको छ । उक्त जहाजलाई आइतबार बिहान काठमाडौंबाट नेपालगन्ज ल्याउने र शुक्रबार साँझ काठमाडौं लैजाने गरिएको एयरलाइन्सका कर्मचारी बताउँछन् । उक्त जहाज लामो समय ‘ग्राउन्डेड’ भएर मर्मतपछि सञ्चालनमा ल्याइएको हो । जसका कारण जहाजमा बेलाबेला प्राविधिक समस्या देखिइरहने नेपाल एयरलाइन्स नेपालगन्जका प्रमुख यमराज सिंहले बताए ।
नेपालगन्ज ‘बेस’ भएको जहाजलाई उडान तालिका पूरा गर्न भ्याइनभ्याइ छ । ६ दिनमा झन्डै ४० पटक उडान गर्नुपर्छ । तर पुरानो जहाजमा आइरहने प्राविधिक समस्या र मौसम खराबीका कारण उडान रद्द हुने गरेका छन् । नेपाल एयरलाइन्सले भर्खरै रुकुम पश्चिमको चौरजहारी विमानस्थलमा उडान थप गरेको छ । २०७० सालदेखि बन्द भएको विमानस्थलमा नेपाल एयरलाइन्सले अब प्रत्येक शुक्रबार उडान गर्नेछ ।
एउटै जहाजको जताततै तालिका हुँदा उडान रद्द हुने जोखिम बढेको ट्राभल एजेन्ट अमरराज पुनले बताए । ‘नेपाल एयरलाइन्सले जताततै फ्लाइटको तालिका बनाएको छ, तर पाइलटको उडान अवधि, मौसम र जहाजको प्राविधिक पक्षका कारण दिनहुँजसो ३/४ फ्लाइट रद्द हुने गरेको छ,’ उनले भने, ‘नेपाल एयरलाइन्सको उडान तालिका जथाभाबी हुँदा यात्रुलाई झन् सास्ती थपिएको छ ।’ अर्का व्यवसायी विमल केसीले नेपाल एयरलाइन्सले नेपालगन्जमै ‘बेस’ बनाएर उडान थाले पनि तालिका अव्यावहारिक भएको बताए ।
नेपाल एयरलाइन्सले रुकुम–नेपालगन्जका लागि आइतबार र बुधबार, जुम्लाका लागि आइतबार, मंगलबार र बुधबार, सिमकोटका लागि सोमबार र बुधबार, ताल्चाका लागि आइतबार, मंगलबार, बिहीबार र शुक्रबार तथा डोल्पाका लागि मंगलबार, बिहीबार र शुक्रबार उडान तालिका सार्वजनिक गरेको छ । त्यस्तै जुम्लादेखि नेपालगन्ज आइतबार, मंगलबार र बुधबार, सिमकोट–नेपालगन्ज सोमबार र बुधबार, ताल्चा–नेपालगन्जका लागि आइतबार, मंगलबार, बिहीबार र शुक्रबार तथा डोल्पा–नेपालगन्ज उडानमा मंगलबार, बिहीबार र शुक्रबारको उडान तालिका बनाएको छ । जहाजले नेपालगन्ज–बाजुरामा पनि ३ दिनको ‘सेड्युल’ बनाएको छ । सुर्खेतबाट सोमबार हुम्ला, मंगलबार जुम्ला र बिहीबार रारा विमानस्थलमा उडान गर्ने गरेको सुर्खेतका स्टेसन इन्चार्ज गोविन्द गिरीले जानकारी दिए ।
यात्रु सिटमा कर्मचारी
कर्णालीमा उडान गर्ने साना जहाजमा चालक दलका सदस्यबाहेक यात्रुका लागि १९ सिट राखिएको हुन्छ । तर, नेपालगन्ज ‘बेस’ बनाएर उडान गर्ने नेपाल एयरलाइन्सका जहाजमा एक इन्जिनियर र एक प्राविधिक कर्मचारीलाई पनि राख्ने गरिएको छ । ती, दुई कर्मचारी एक जना नेपालगन्ज र एक जना सुर्खेतमा कार्यरत छन् । त्यसमा थप इन्धनको लोडका कारण १५ जनाभन्दा बढी यात्रु राखिँदैन । उनीहरूको कामै जहाजमा घुमिरहने रहेको नेपाल नागरिक उड्डयन कार्यालय जुम्लाका प्रमुख प्रदीप अर्यालले बताए ।
कर्णालीमा उडान गर्ने साना जहाजमा चालक दलका सदस्यबाहेक यात्रुका लागि १९ सिट राखिएको हुन्छ । तर, नेपालगन्ज ‘बेस’ बनाएर उडान गर्ने नेपाल एयरलाइन्सका जहाजमा एक इन्जिनियर र एक प्राविधिक कर्मचारीलाई पनि राख्ने गरिएको छ ।‘कार्यालयमा ती कर्मचारीको दरबन्दी छैन,’ उनले भने, ‘एक जनाले जहाजमा इन्धन भर्ने काम गर्छन्, इन्जिनियरलाई केही प्राविधिक समस्या नआओस् भनी जहाजमा ल्याइने गरिएको हो ।’ जहाजमै घुमिरहने कर्मचारीको व्यवस्थापन नहुँदा यात्रुको सिट घटेको उनको भनाइ छ । त्यसले एकातिर भाडाको रकम नोक्सानी भएको र अर्कोतिर कर्मचारीमाथि अनावश्यक खर्च भइरहेको उनले सुनाए ।
सम्बन्धित विमानस्थलमा ती कर्मचारीकै दरबन्दी भए समस्या नहुने नेपाल एयरलाइन्स नेपालगन्ज प्रमुख यमराज सिंह बताउँछन् । ‘जहिले पनि उडान गर्नुपूर्व प्राविधिक परीक्षण अनिवार्य हुन्छ,’ उनले भने, ‘जहाजमा तेल हाल्न पनि अर्को कर्मचारी हुनैपर्यो ।’ पटकपटक कर्मचारी व्यवस्थापनका लागि केन्द्रीय कार्यालयमा गुनासो गर्दा पनि माग सम्बोधन नभएको उनको भनाइ छ । उनका अनुसार कर्मचारी घुमिरहकै कारण मासिक १ लाख ३० हजार रुपैयाँसम्मको घाटा व्यहोर्नुपरेको छ ।
नेपाल एयरलाइन्सको जहाजमा ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, विद्यार्थी र बालबालिकालाई ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको छ । जसका कारण पनि स्थानीय पालो कुरेरै भए पनि निगमको जहाजमा यात्रा गर्न बाध्य छन् ।
मौसमलाई दोष
हुम्ला, डोल्पा, मुगु र जुम्लामा अधिकांश समय हावा चल्छ । मध्याह्न १२ बजेपछि कडा हावा चल्दा सधैं उडान रोकिने गरेको छ । त्यस्तै नेपालगन्ज र सुर्खेतमा तुँवालो र हुस्सु लाग्ने समस्या छ । जसका कारण उडानमा समस्या हुने गरेको हो । ‘यता मौसम खुले उता प्रतिकूल हुन्छ,’ नेपाल एयरलाइन्स नेपालगन्ज स्टेसन प्रमुख सिंहले भने, ‘त्यसैमा पुरानो जहाज भएकाले बेलाबेलामा देखिने प्राविधिक समस्या, तर गालीजति हामीलाई आउँछ ।’
नागरिक अगुवा पुरिचन्द्र देवकोटाका अनुसार निजी जहाजले उडान बन्द भए तत्काल तालिका परिवर्तन गर्छन् । नेपाल एयरलाइन्सले वार्षिक, अर्धवार्षिक वा त्रैमासिक रूपमा मात्र तालिका परिवर्तन गर्दा यात्रु र एयरलाइन्स दुवैलाई घाटा भएको छ । ‘निजीमा आजको उडान रद्द भए त्यसको सट्टा भोलिपल्टै अर्को उडान हुन्छ, तर आरएमा एउटा सेड्युल रद्द भए अर्को तालिका कुर्नुको विकल्पै छैन,’ उनले भने, ‘त्यसले जहाजको आम्दानीलाई पनि असर परेको छ, यात्रुले महँगोमा निजी जहाज चढ्नुपर्ने बाध्यता भयो ।’
उनका अनुसार नेपालगन्जबाट जुम्लाको भाडा नेपाल एयरलाइन्समा ६ हजार ४ सय ९३ रुपैयाँ छ भने निजी जहाजमा ८ हजार ८ सय ८१ रुपैयाँ तिर्नुपर्ने बाध्यता छ । त्यसमा पनि निजी जहाजले चार्टर उडानको नाममा थप भाडा असुल्ने गरेका छन् । हुम्लाका नागरिक अगुवा विजय लामाले नेपाल एयरलाइन्सले सामान्य तुँवालो लाग्दा र सामान्य हावा चल्दा पनि उडाउन नमान्ने गरेको बताए । ‘त्यही अवस्थाको मौसममा अरू जहाज आइहाल्छन्,’ उनले भने, ‘तर एनएको जहाजमा आउन नमान्दा त्यसको मार यात्रुले भोग्नुपरिरहेको छ ।’
टिकट पाउनै मुस्किल
डोल्पास्थित जुफाल विमानस्थलमा नेपाल एयरलाइन्सले उडान थप गरेको छ । तर टिकटका लागि एयरलाइन्सका कार्यालयमा दैनिकजसो धाउनुपर्ने समस्या हल नभएको त्रिपुरासुन्दरी–१ का दुर्गाप्रसाद देवकोटाले बताए । ‘दुई वर्षअघिसम्म एनएको जहाज चढ्न एक महिनासम्म कुर्नुपर्ने बाध्यता थियो,’ उनले भने, ‘अहिले सातामा ३ दिन नियमित फ्लाइट हुन्छ, तर टिकटको सिन्डिकेट अझै तोडिएन ।’
टिकटका लागि केही यात्रुले अनलाइन बुकिङ गर्छन् भने केहीले फोनबाटै नाम टिपाउने गरेका छन् ।
कतिपय यात्रुलाई भने एयरलाइन्सको कार्यालयमा पटकपटक जानुपर्ने बाध्यता भएको स्थानीय अगुवा विष्णुलाल बुढाले बताए । ‘एयरलाइन्सका कर्मचारीको प्राथमिकतामा चिनेका मान्छे र पहुँचवाला व्यक्तिहरू हुन्छन्,’ उनले भने, ‘सर्वसाधारणलाई त जहिले पनि टिकट पाउन मुस्किल हुन्छ ।’ जुफाल विमानस्थलमा नेपाल एयरलाइन्सले नेपालगन्जबाट मंगलबार, बिहीबार र शुक्रबार उडान गर्ने गरेको छ । नेपाल एयरलाइन्स जुफाल कार्यालयका कर्मचारी कालीबहादुर केसीले अहिले तालिकाअनुसार नै नियमित उडान भइरहेको बताए । डोल्पामा निजी एयरलाइन्सको तुलनामा नेपाल एयरलाइन्सले बढी उडान गरिरहेको उनको दाबी छ ।
डोल्पामा नेपाल एयरलाइन्सबाहेक समिट र तारा एयरले पनि सातामा एक दिन उडान गर्दै आएका छन् । सडक यातायातको पहुँच पुगेसँगै उडान संख्या पनि घट्दै गएको समिट एयरलाइन्सको जुफाल स्टेसन प्रमुख पूर्णजंग शाहीले बताए । ‘धेरै यात्रु सडकबाटै सुर्खेत र नेपालगन्ज आउजाउ गर्छन्,’ उनले भने, ‘जहाजमा जाने त बिरामी र जरुरी काम हुनेहरू मात्र हुन्, त्यसैले फ्लाइट कम हुँदै गएको छ ।’
तर वर्षायामको समयमा र भदौदेखि फोक्सुन्डो ताल घुम्न जाने पर्यटक भित्रिन थालेपछि भने जहाजको उडान बढ्ने उनको भनाइ छ । अहिले जिल्ला अस्पतालबाट रिफर हुने बिरामीको संख्या पनि घटिरहेको जिल्ला अस्पतालले जनाएको छ । डोल्पामै सुत्केरी र गर्भवतीका लागि शल्यक्रिया सेवा भएपछि आईसीयूमा राख्नुपर्ने अवस्थाका, अर्थोपेडिक्स र न्युरोका बिरामीलाई मात्र रिफर गर्ने गरिएको जिल्ला अस्पतालका एमडीजीपी डा. विदुर तिवारीले बताए । उनका अनुसार अहिले महिनामा २/३ जना मात्र रिफर गर्ने अवस्थाका बिरामी हुन्छन् ।
