आम्दानीको मुख्य स्रोत नै यार्चा भएकाले यो सिजनमा ७/८ वर्षका बालबालिकादेखि हिाड्न सक्नेसम्मका वृद्धवृद्धासमेत पाटनतर्फ लागेका छन्
What you should know
(सुर्खेत) र (लमजुङ) — गत वर्ष जेठ १५ मा डोल्पाको काइकेस्थित नावरपानी पाटनमा यार्चा टिप्न पुगेका जाजरकोटको नलगाड नगरपालिका–८ का १९ वर्षीय धनलाल विकको लेक लागेर मृत्यु भयो । उनी चार दिन हिँडेर बुबा हरिबहादुरसँगै यार्चा टिप्न पाटन पुगेका थिए । २०८० को भूकम्पमा घर भत्किएपछि जीविकोपार्जनमा समस्या हुँदा बाबुछोरा यार्चा टिप्न पाटन पुगेका थिए । घर खर्च जुटाउन गएका हरिबहादुरले छोराको शव बोकेर फर्किनुपर्यो । अहिले पनि उनको परिवार अस्थायी टहरामा बसिरहेको छ ।
त्यसको एक साताअघि जेठ ८ मा जुम्लाको तातोपानी गाउँपालिका—८ टोप्लागाउँकी २७ वर्षीया कल्पना शाहीले यार्चा पाटनमै ज्यान गुमाइन् । यार्चा टिप्न स्थानीय सुब्बाकुना पाटनमा गएका बेला चट्याङ लागेर उनको मृत्यु भएको थियो । त्यसको एक दिनअघि जेठ ७ मा जुम्लाको गुठीचौर गाउँपालिका–१ मनिसाँघुका भीमबहादुर बोहोराले डोल्पाको जगदुल्ला पाटनमा लेक लागेर ज्यान गुमाएका थिए । कर्णालीका बासिन्दा यार्चा टिप्न पाटन जाने क्रममा बर्सेनि ज्यान गुमाउन बाध्य छन् । जीविकोपार्जनका लागि विकल्प नहुँदा उनीहरू ज्यान जोखिममा राखेरै यार्चा टिप्न पाटनतिर उक्लिन्छन् ।
बहुमूल्य जडीबुटी यार्चागुम्बु संकलनका लागि हिमाली पाटन जाने क्रममा ज्यान जुमाउनेको संख्या यत्तिकै सीमित छैन । पछिल्लो तीन वर्षमा यार्चा संकलनका लागि कर्णाली प्रदेशका विभिन्न पाटन पुगेका २६ जनाको ज्यान गएको प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ । कर्णालीका बासिन्दाको मुख्य आम्दानीको स्रोत जडीबुटी संकलन हो । अन्तर्राष्ट्रिय बजारमा माग र मूल्य दुवै उच्च भएको यार्चा संकलन स्थानीयको हरेक वर्षको नियमित कामजस्तै हो ।
यार्चा टिप्न कर्णालीका विभिन्न पाटन पुग्नेहरू कष्टकर भीरको बाटोमा हिउँ छिचोल्दै जानुपर्ने बाध्यता रहेको डोल्पाको काइके गाउँपालिका–१ का दरिभान बुढाले बताए । ‘कम्तीमा चार दिन अनकन्टार भीरपहरा छिचोल्नुपर्छ,’ उनले भने, ‘कम उचाइबाट एक्कासि हिमाल पुग्दा लेक लागेर ज्यानै जाने डर उस्तै हुन्छ ।’ ४०/५० किलोको बन्दोबस्तीको सामान बोकेर लगातार ३/४ दिन हिँड्दा विभिन्न स्वास्थ्य समस्या देखिने गरेको पनि उनले बताए ।
दुई दशकदेखि यार्चा टिप्न डोल्पाको पाटन जाने गरेका आठबीसकोट नगरपालिका–१ का करण परियारले पाटन जाँदा गह्रौं भारी बोकेर लट्ठीको भरमा बाटो पहिल्याउँदै कष्टकर यात्रा गर्नुपर्ने बताए । ‘तलतिर भेरी नदी, माथि छाँगो भीर, सामान्य गोरेटो पनि हुँदैन, केही गरी चिप्लिए ज्यान गुमाउनुको विकल्पै छैन,’ उनले भने, ‘पाटनमा पनि लेक लाग्ने र हिउँमा चिप्लिने जोखिम हुन्छ ।’
कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार गत वर्ष पाटनमा यार्चा टिप्न गएका ५ जनाको ज्यान गएको थियो । डोल्पामा ३, मुगुमा १ र जुम्लामा १ जनाको पाटनमा ज्यान गएको थियो । गत वर्ष १० महिला र १९ पुरुष गरी २९ जना घाइते भए भने बिरामी अवस्थाका ३३ जनालाई प्रहरीले उद्धार गरेको थियो । तीन वर्षको अवधिमा यार्चा संकलनका लागि विभिन्न पाटन पुगेका २६ जनाको ज्यान गएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । २०७९/८० मा ८ जना र २०८०/८१ मा १३ जनाले ज्यान गुमाएका थिए ।
तीन वर्ष अवधिमा ८२ जनाको उद्धार गरिएको कार्यालयको तथ्यांक छ । कठिन भूगोल, अत्यधिक हिमपात, असावधानी, मौसम अनुकूल नहुनुलगायत कारण यार्चा संकलकको ज्यान जोखिममा पर्ने गरेको प्रदेश प्रहरी प्रमुख डीआईजी जयराज सापकोटाले बताए । यो वर्ष यार्चा संकलनका लागि कर्णालीका पाटन जेठ दोस्रो सातादेखि खोल्ने तयारी छ । कर्णालीमा मुगु, डोल्पा, जुम्ला तथा छिमेकी जिल्ला रुकुम पूर्वमा यार्चा पाइन्छ । ती जिल्ला र आसपासका बासिन्दाको आयआर्जनको मुख्य स्रोत यार्चागुम्बु संकलनका लागि जाँदादेखि फर्कंदासम्मको जोखिम र बर्सेनि घटिरहेको उत्पादनले संकलक समस्यामा परिरहेका छन् ।
कोरोना महामारीअघिसम्म वैशाखमै खुल्ने कर्णालीका पाटनहरू केही वर्षयता ढिलो गरी खुल्न थालेका हुन् । यार्चा संकलनको सिजन नजिकिएसँगै संकलकले सातुसामल व्यवस्थापनसँगै आवश्यक तयारी थालेका छन् । गत वर्ष पनि डोल्पामा जेठ ५ देखि यार्चा संकलन सुरु भएको थियो । ‘वैशाखमै पाटन खुलाउँदा हिउँ नबिलाउने र यार्चा परिपक्व नहुने समस्या देखियो,’ डिभिजन वन कार्यालय डोल्पाका प्रमुख जितेन्द्र महतले भने, ‘यार्चाको प्रजनन प्रक्रिया बढाउन पनि ढिलो गरी पाटन खुलाउन थालेका हौं ।’
डिभिजन वन कार्यालयले यार्चा संकलनको पूर्वतयारीका लागि मंगलबार सर्वपक्षीय बैठक डाकेको छ । गत वर्ष डोल्पाका राष्ट्रिय वन र शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जका पाटनमा झन्डै १० हजार जनाले यार्चा संकलन गरेका थिए । निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार गत वर्ष संकलकबाट १ करोड ९३ लाख राजस्व संकलन भएको थियो । संकलकका लागि ९ वटा पोस्टमार्फत प्रवेश दिने गरिएको उनले जानकारी दिए । डोल्पामा रूपपाटन, चिनाराङ्सी, माझडाँडा, तुरी, बगर, माझधारी, बाटुलीले, काँडा, फुर्के, ज्ञाने, जैरी, साइकुमारीलगायत पाटनमा यार्चा पाइन्छ ।
मुगुमा मुगमकार्मारोङ गाउँपालिकाले बर्सेनि यार्चा संकलनका लागि प्रवेश शुल्क तोक्ने र पाटन खुलाउने गरेको छ । गत वर्ष यार्चा संकलकबाट पालिकाले झन्डै ६४ लाख राजस्व संकलन गरेको थियो । ‘पाटन प्रवेश गर्न जिल्लाभित्र र बाहिरका संकलकका लागि छुट्टाछुट्टै शुल्क तोक्ने गरेका छौं,’ गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामाले भने, ‘पाटन क्षेत्रमा यार्चाको चोरीनिकासी हुन नदिन स्थानीय युवाले चैत अन्तिम सातादेखि नै गस्ती थालेका छन्, जेठ दोस्रो साताबाट पाटन खुलाउने तयारी छ ।’ उनका अनुसार गत वर्ष जिल्लाभित्रबाट १५ सय र बाहिरका संकलकबाट २ हजार रुपैयाँ प्रतिव्यक्ति प्रवेश शुल्क संकलन भएको थियो । उनका अनुसार पालिकाको सानो कोइकी, ठूलो कोइकी, रिमार, टाँकेलगायत क्षेत्रमा यार्चा पाइन्छ । डिभिजन वन कार्यालयले गत वर्ष मुगुबाट झन्डै ४० किलो यार्चागुम्बुको छोडपुर्जी जारी गरेको डिभिजन वन अधिकृत दिनेशजंग खत्रीले बताए । छोडपुर्जीका लागि प्रतिकिलो ३१ हजार रुपैयाँ राजस्व तोकिएको उनले जानकारी दिए ।
सिजन नजिकिएसँगै संकलक आवश्यक बन्दोबस्तीको तयारीमा जुटेका छन् । डोल्पाको त्रिपुरासुन्दरी–४ का कमान बुढाले ५ जनाको परिवारसहित पाटन जाने तयारी थालेको बताए । ‘हामी डेढ महिनादेखि नै तयारीमा जुट्छौं, पाटन जाँदा लाग्ने खर्चको जोहो गर्ने, आवश्यक खाद्यान्न र लत्ताकपडाको व्यवस्था गर्ने चटारो छ,’ उनले भने, ‘यार्चा संकलन नै जीविकोपार्जनको मुख्य आधार हो, पाटन नगए त वर्षभरिलाई खर्च नै पुग्दैन ।’ गत वर्ष पत्नी र ३ छोरासहित रूपपाटन पुगेका उनले २ लाख रुपैयाँ आम्दानी गरेको बताए ।
मुगुको खत्याड गाउँपालिका–२ का परमल शाही पनि पत्नी, दुई छोरा र दुई बुहारीसहित पाटन जाँदै छन् । गत वर्ष उनको परिवारका ६ जनाले २ लाख ५० हजार रुपैयाँ आम्दानी गरेका थिए । ‘पाटनमा प्रतिगोटा हजार रुपैयाँमा यार्चा बिक्री हुन्छ,’ उनले भने, ‘आफ्नो उत्पादनले ३ महिना खान पुग्दैन, खर्च कटाएर पनि वर्षभरिको खाद्यान्न र लत्ताकपडाको जोहो यार्चा संकलनकै कमाइबाट गर्छौं ।’ उनले पाटन आउजाउ गर्दा र एक महिना बस्दा झन्डै ४० हजार रुपैयाँजति खर्च हुने जानकारी दिए ।
अन्तर्राष्ट्रिय बजारमा यार्चागुम्बुको भाउ बर्सेनि बढ्दै गए पनि उत्पादन घट्दै गएकाले संकलक चिन्तित छन् । झन्डै १५ वर्षदेखि यार्चा टिपेर वर्षभरिको परिवार खर्चको जोहो गर्दै आएका रुकुम पश्चिमको आठबीसकोट नगरपालिका-१ का पूर्णबहादुर देवकोटाले गत वर्ष करिब ५० हजार खर्च गरेर पत्नी जानकीसहित पाटन पुगे पनि मुस्किलले १ लाख २० हजार रुपैयाँ मात्र आम्दानी गर्न सकेको बताए । ‘२३ दिन बस्दा पनि डेढ सय गोटाभन्दा बढी यार्चा बनाउन सकिएन,’ उनले भने, ‘अनकन्टार ठाउँमा ठूलाठूला भीरपहरा छिचोलेर जानुपर्छ, लेक लागेर र कडा चट्टानयुक्तभीरबाट खसेर ज्यानै जोखिममा पर्छ, तर दुःख उठे पनि नउठे पनि अरू व्यवसाय नहुँदा पाटन जानुको विकल्प छैन ।’
२०५२ देखि यार्चा टिप्न पाटन जान थालेका डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ का ओमबहादुर बुढाले यार्चाको उत्पादन घट्दा आफूहरूलाई जीविकोपार्जनको सास्ती भएको बताए । ‘त्यहाँ जाँदा आउँदाको दुःखको कुरै नगरौं,’ उनले भने, ‘पाटन पुग्दा लेक लाग्ने, भीरबाट खस्ने र बिरामी हुनेलगायत जोखिम मोलेर ज्यानकै बाजी थापेर भीरपहारामा रातारात हिँड्नुपर्छ ।’ बर्सेनि यार्चाको उत्पादन घट्दै जाँदा स्थानीयले सोचेजस्तो आम्दानी गर्न नसकेको डोल्पाको जगदुल्ला गाउँपालिका अध्यक्ष नारसिंह रोकायले बताए ।
उत्पादन घट्दै गए पनि विश्व बजारमा यार्चाको मूल्य बढ्दै गएको जडीबुटी व्यवसायी यज्ञबहादुर बुढथापाले बताए । उनका अनुसार कर्णालीको ९० प्रतिशत यार्चाको मुख्य बजार चीन हो । यार्चा संकलनको सिजन सकिएपछि चीनबाट व्यापारी काठमाडौं आउने र उनीहरूले निर्धारण गरेको मूल्यमा यार्चा बिक्री गर्ने गरिएको उनले जानकारी दिए । उनका अनुसार कोरोना महामारीअघिसम्म किलोको २८ लाख रुपैयाँमा बिक्री भएको यार्चा गत वर्ष ३२ लाख रुपैयाँमा बिक्री भएको थियो । कोरोना महामारीअघि मूल्य घटबढ भइरहने भए पनि केही वर्षयता यसको मूल्य स्थिर रहेको व्यवसायीको भनाइ छ ।
केही स्थानीय व्यापारीले चीन–नेपालका सीमामा लाग्ने १५ दिने अस्थायी हाटबजारमा आफूले संकलन गरेको यार्चा बिक्री गर्छन् । डोल्पाको छार्काताङसोङका व्यापारी परबल लामाले कोरोना महामारीयता आफूले किलोको ३२ लाख रुपैयाँमै यार्चा बिक्री गरिरहेको बताए । ‘विश्व बजारमा रेट बढिरहे पनि चिनियाँ व्यापारीले ३२ लाख रुपैयाँभन्दा बढी दिने गरेका छैनन्,’ उनले भने, ‘४/५ वर्षयता भाउ स्थिर छ, माग धेरै भएकाले यो वर्ष भाउ बढ्छ कि भन्ने आशा छ ।’ उनले एक किलो यार्चामा ३ हजारदेखि ३५ सय गोटा हुने जानकारी दिए ।
कोरोना महामारीका कारण लगातार ३ वर्ष यार्चा नटिप्दा त्यसको असर प्रजनन प्रक्रियामा परेकाले यार्चा उत्पादन घट्दै गएको वनस्पतिविद् कमल शर्माले बताए । ‘उत्पादन त हरेक वर्ष घट्दै गएकै छ, त्यसमा पनि संकलक र व्यापारीले बजारको समस्या पनि भोगिरहेका छन्,’ उनले भने, ‘अनुकूल वर्षा नहुनु, मानवीय गतिविधि बढ्नु, वन विनाश, जलवायु परिवर्तनको प्रभाव, आगलागीलगायत कारण जडीबुटीको उत्पादन घट्दै गएको छ ।’
कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार २०८९/८० मा कर्णालीमा ४ सय ९ किलो यार्चा संकलन भएको थियो । २०८०/८१ मा ३ सय ५४ किलो यार्चा संकलन भयो भने गत वर्ष ३ सय १० किलो यार्चा उत्पादन भएको प्रदेश वन निर्देशनालयका सूचना अधिकारी सूर्य शर्माले बताए ।
मुगुको मुगमकार्मारोड गाउँपालिकाले विभिन्न संघसंस्थाको सहयोगमा दुई वर्षअघि गरेको अध्ययनका क्रममा हिउँका कारण यार्चाको प्रजनन दर घट्दै गएको निष्कर्ष निकालेको थियो । अध्ययनका क्रममा हिउँ कम पर्नु, पाटनमा प्रदूषण बढ्नु, विभिन्न मानवीय गतिविधिले पर्यावरणमा असर पर्नुलगायत कारण यार्चाको जीवनचक्रमा प्रभाव परी उत्पादनमा कमी आएको भेटिएको थियो ।
अध्ययनमा सहभागी पूर्ववन अधिकृत मीनबहादुर केसीले अघिल्लो वर्ष यार्चा भेटेको ठाउँमा अर्को वर्ष उत्पादन नै नभएको देखिएको बताए । ‘यार्चाको जीवनचक्रलाई मुख्य रूपमा हिउँले नै प्रभाव पार्छ, प्राकृतिक अवस्थामा थिटारोड्सको लार्भा जमिनमुनि र ढुसी जमिन माथि निस्केको हुन्छ,’ उनले भने, ‘चैत महिनाको अन्त्यसम्म यो हिउँमा रहन्छ, वैशाखमा हिउँ बिलाएपछि थिटारोड्सको लार्भाको शरीरबाट ओफियोकोर्डिसेप्सको स्ट्रोमाप जमिनबाहिर निस्कन्छ ।’
जथाभावी पशुचौपाया चरनका कारण पनि यार्चाको उत्पादन पाटनको तल्लो भागमा कम हुन थालेको उनले बताए । समुद्र सतहदेखि ३ हजारदेखि ५५ सय मिटर उचाइमा पाइने यार्चा पछिल्लो समय चार हजारभन्दा कम उचाइमा न्यून मात्रामा भेटिन थालेको यार्चा संरक्षणमा काम गरिरहेका अनुसन्धानकर्ता डा. लक्ष्मण शर्माले बताए ।
कर्णाली प्रदेश सरकारले यार्चा संकलनलाई व्यवस्थित बनाइरहेको जनाएको छ । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले कर्णालीको यार्चा संरक्षणका लागि गुरुयोजना निर्माण गरिएको बताए । ‘प्रादेशिक अर्थतन्त्रलाई सबल बनाउन र कर्णालीको समृद्धिका लागि पनि यहाँको जडीबुटीको संरक्षण र बजारीकरण आवश्यक छ,’ उनले भने, ‘जडीबुटी र पर्यटनको माध्यमबाट रोजगारीको सिर्जना, आर्थिक क्रियाकलापमा वृद्धि र समग्र प्रादेशिक आर्थिक विकास र समुन्नतिका लागि आवश्यक पहल भइरहेका छन् ।’
गण्डकी प्रदेशको मनाङमा नासों गाउँपालिका र नार्पाभूमि गाउँपालिकाको सीमा क्षेत्र न्हाम्ग्या खर्क (नाम्ग्या लेक) बाट यार्चा संकलन थालिएको छ । नाम्ग्या खर्क नासों र नार्पाभूमिको सीमा क्षेत्र भएकाले छुट्टै व्यवस्थापन उपसमिति गठन गरेर यार्चा संकलनका लागि व्यवस्थापन गरिँदै आएको छ । नासों गाउँपालिका–८ का वडाध्यक्षसमेत रहेका याद घलेको संयोजकत्वमा उपसमिति गठन गरिएको छ । उनका अनुसार गत बुधबारदेखि पुर्जी वितरण सुरु गरिएको थियो । बुधबार र बिहीबार गरी झन्डै एक सय संकलक लेकमा पुगिसकेको उनले जानकारी दिए ।
उनका अनुसार जिल्लाभित्रकालाई प्रतिव्यक्ति १२ हजार र बाहिरी जिल्लाका व्यक्तिलाई १७ हजार रुपैयाँ शुल्क लिएर पुर्जी दिइएको उनले बताए । चामे गाउँपालिका–३ कोतोमा बसेर समितिले पुर्जी काट्ने र संकलकलाई परिचयपत्र प्रदान गर्ने व्यवस्था मिलाइएको छ । संकलन क्षेत्रमा जाँडरक्सी सेवन, जुवातास खेल्न प्रतिबन्ध लगाइएको छ । धुपीलगायतका बोटबिरुवा काट्नसमेत रोक लगाइएको घलेले बताए । कोतोबाट यार्चा पाइने खर्कसम्म पुग्न कम्तीमा एक दिन लाग्छ ।
संरक्षण क्षेत्र व्यवस्थापन नियमावली २०५३, संरक्षण व्यवस्थापन निर्देशिका २०५६ तथा यार्चागुम्बु संकलन तथा ओसारपसार निर्देशिका २०८० अनुसार मनाङको हकमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालयबाट अनुमति लिएपछि मात्र जडीबुटी संकलन गर्न पाइने व्यवस्था छ ।
सोहीअनुसार संरक्षण व्यवस्थापन समितिले आफ्नो कार्यक्षेत्रभित्र संकलकलाई पुर्जी दिन पाउँछन् । एक्याप मनाङका प्रमुख ढकबहादुर भुजेलका अनुसार समितिले आफ्नो कार्यक्षेत्रमा जडीबुटी संकलनका लागि अनुमति लिने गर्छन् । संकलनको जिम्मा कसलाई दिने वा नदिने भन्ने निर्णय सम्बन्धित संरक्षण क्षेत्र व्यवस्थापन समितिले गर्ने उनले बताए । उनका अनुसार कार्यालयबाट अनुमति लिएपछि मात्र जडीबुटी संकलनको बाटो खुल्छ । उनका अनुसार मनाङभर १३ वटा संरक्षण क्षेत्र व्यवस्थापन समिति सक्रिय रहेको र यिनैले संरक्षण तथा संकलनको जिम्मेवारी सम्हाल्दै आएका छन् । मनाङसँगै लमजुङ, गोरखा, तनहुँ, धादिङ साथै रुकुम–रोल्पाका मानिससमेत यार्चा संकलनका लागि मनाङ पुग्ने गर्छन् । तर, नार्पाभूमि गाउँपालिकाका खर्कमा भने बाहिरी व्यक्तिलाई प्रतिबन्ध लगाइएको छ ।
गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले नार र फु क्षेत्रमा जेठ तेस्रो सातादेखि यार्चा संकलन सुरु हुने बताए । ‘म काठमाडौं थिएँ । फु गाउँको लेकमा फु गाउँकाले मात्रै टिप्ने र नार गाउँको लेकमा नार गाउँलेले मात्रै टिप्ने भनिएको छ,’ उनले भने, ‘गाउँलेले निर्णय गरेको भन्ने सुनिएको छ, म जाँदै छु, यथार्थ बुझ्नेछु । यो निर्णय संरक्षण क्षेत्र व्यवस्थापन उपसमितिले गर्ने भएकाले बुझ्न बाँकी छ ।’ उनका अनुसार नार र फु क्षेत्रमा यार्चाको उत्पादन पनि कम छ । बाहिरी संकलक आउँदा सुरक्षा चुनौती र विकृति–विसंगति बढ्ने भएकाले यस्तो निर्णय गरिएको हुन सक्ने उनले बताए ।
२०६६ मा नार क्षेत्रमा ७ जना गोरखाका बासिन्दाको हत्या भएपछि बाहिरी जिल्ला संकलकलाई स्थानीयले रोक लगाउँदै आएका छन । २०७९ देखि मनाङमा बसोबास गर्ने बाहिरी जिल्लाका बासिन्दालाई अनुमति दिँदै आएको थियो । यस पटक कडाइका साथ पालिकाभित्रकै बासिन्दालाई पनि आफ्नो क्षेत्रभन्दा बाहेकका लेकमा जान प्रतिबन्ध लगाइएको छ । नार र फु क्षेत्र संरक्षित तथा निषेधित क्षेत्र भएकाले विगतजस्तो अप्रिय घटना दोहोरिन नदिन कडाइ गरिएको स्थानीयवासीको भनाइ छ ।
प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले यार्चा संकलनलाई व्यवस्थित बनाउन जोखिम न्यूनीकरणका उपाय अपनाउने निर्णय भएको बताए । एक्यापका अनुसार संकलकबाट अधिकतम ३५ हजार रुपैयाँसम्म पुर्जी शुल्क लिन पाइने व्यवस्था गरिएको छ । खरिदकर्ताका लागि प्रतिव्यक्ति २० हजार रुपैयाँसम्म शुल्क तोकिएको छ । मनाङका ४ स्थानीय तहमध्ये नासों गाउँपालिका–३ धारापानी र वडा ५ थोंचेबाहेक अधिकांश लेक क्षेत्रमा यार्चा पाइन्छ । जिल्लाभर २५ भन्दा बढी लेकमा यार्चा पाइने एक्यापले जनाएको छ ।
मनाङमा २०८१/८२ मा मनाङबाट १ सय १२ किलो यार्चा संकलन भएको थियो । यसबाट संघीय सरकारको खातामा ३४ लाख ८५ हजार ९० रुपैयाँ, स्थानीय तहमा ११ लाख २८ हजार २ सय रुपैयाँ र संरक्षण क्षेत्र व्यवस्थापन समितिमा ११ लाख ३३ हजार २ सय रुपैयाँ राजस्व जम्मा भएको थियो । गत वर्ष १ हजार ५ सय २४ जनाले यार्चा संकलनका लागि पुर्जी लिएका थिए ।
