दाङ र धरानमा रहेका सुकुमवासीले पनि शनिबार सरकारविरुद्ध प्रदर्शन गरेका थिए ।
What you should know
बुटवल — बुटवलको मोतिपुर क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीन तथा अव्यवस्थित बसोबासीले सरकारी निर्णयको विरोध गर्दै प्रदर्शन गरेका छन् । उनीहरूले बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयलाई ज्ञापनपत्रसमेत बुझाएका छन् । मोतिपुर क्षेत्र खाली गराउन मोतिपुर औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले पत्राचार र विभिन्न स्थानमा डोजर परिचालसमेत गरेपछि स्थानीय बासिन्दा आन्दोलित बनेका हुन् ।
रानीगन्जस्थित हाटबजार स्थलमा भेला भएका उनीहरूले विभिन्न प्लेकार्डसहित प्रदर्शन गरेका थिए । त्यसक्रममा ‘जबरजस्ती हटाउने अभियान बन्द गर’, ‘सुकुमवासी हुनु रहर होइन बाध्यता हो’ र ‘डोजर आतंक बन्द गर’जस्ता नारा लगाएका थिए । यसअघि शनिबार दाङ र पोखराका सुकुमवासीले पनि सरकारले चालेको कदमविरुद्ध प्रदर्शन गरेका थिए । उनीहरूले विकल्पबिना सुकुमवासीलाई हटाउन नहुने माग गरेका छन् ।
रानीगन्ज बस्ती संरक्षण समितिका संयोजक छविलाल रास्कोटीले वर्षौंदेखि बसोबास गर्दै आएका नागरिक, विद्यालय, खेलमैदान र हाटबजार जस्ता संरचना रहेको उल्लेख गरे ।
मोतिपुर औद्योगिक क्षेत्र घोषणा गरिएपछि ३ हजारभन्दा बढी घरधुरी विस्थापित हुने अवस्थामा छन् । ज्ञापनपत्र बुझ्दै मेयर पाण्डेयले मोतिपुर औद्योगिक क्षेत्रका विषयमा पहिले नै स्थानीयसँग केही सहमति भएको उल्लेख गर्दै त्यसैका आधारमा स्थानीयलाई अप्ठ्यारो नपर्ने गरी समाधान खोज्ने प्रतिबद्धता जनाए ।
यसैबीच पोखराका सुकुमवासीले पनि सरकारको कदमको विरोध गर्दै आन्दोलन घोषणा गरेका छन् । पोखरा महानगरपालिकाले सार्वजनिक जग्गामा अनधिकृत रूपमा बनाइएका संरचना ३५ दिनभित्र हटाउन अल्टिमेटम दिएपछि उनीहरूले आन्दोलनको घोषणा गरेका हुन् । भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार संघर्ष समिति कास्कीले आइतबार पोखरामा पत्रकार सम्मेलन गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको हो ।
समितिका सहसंयोजक रमेश बलकोटीले महानगरले विकास र सुशासनको नाममा सुकुमवासी बस्तीमा डोजर चलाउने प्रयास गरे सशक्त प्रतिकार गर्ने चेतावनी दिए । उनका अनुसार हजारौं भूमिहीनको उचित व्यवस्थापन नगरी चालिएको यस कदमले पोखरामा सामाजिक र राजनीतिक मुठभेड निम्त्याउन सक्छ ।
