बागमती सिँचाइ नहरको अतिक्रमण हटाउन नापजाँच सकियो

तीन दशकदेखि नहरको दुवै किनार कब्जा गरी ४ सय घरटहरा बनाइएका छन् ।

वैशाख १९, २०८३

शिव पुरी

Survey to remove encroachment on Bagmati Irrigation Canal completed

What you should know

रौतहट — बागमती सिँचाइ आयोजना अन्तरगत चन्द्रपुर नगरपालिका–५ स्थित पूर्वपश्चिम नहर किनारमा अतिक्रमण गरी ४ सय घरटहरा निर्माण भएका गरेको पाइएको छ । तीन दशकदेखि नहरको दुवै किनार कब्जा गरी घरटहरा बनाइएका छन् । 

अतिक्रमित क्षेत्र खाली गर्न सिँचाइ आयोजना कार्यालय र स्थानीय प्रशासनसहितको टोलीले बिहीबार र शुक्रबार उक्त क्षेत्रमा नापजाँच गरेको हो । नहरको जग्गा अतिक्रमणले सिँचाइ, नहरको मर्मत र सरसफाइमा समस्या उत्पन्न भएको भन्दै आयोजनाले सूचना निकालेर हटाउने तयारी थालेको हो ।

स्थलगत अध्ययनमा पुगेको टोलीलाई स्थानीयले समान सार्नका लागि एक साताको समय दिन माग गरेका छन् । स्थानीय सुरज पटेलले आयोजनाले घरटहरा खाली गर्न केही समय दिनु पर्ने बताए । ‘हामी हट्न तयार छौं । तर समान सार्न केही समय पाए हुन्थ्यो,’ उनले भने,‘बर्खाको समय छ । यतिकै लथालिङ परियो भने बस्न समस्या हुन्छ । त्यसैले दुई/चार दिन समय पाए हुन्थ्यो ।’ यस क्षेत्रमा नेपाली सेनाको ब्यारेकदेखि रिसोर्ट, क्लब घरहरु समेत नहरको जग्गामा परेको छ । नहरको क्षेत्रमा ५० भन्दा बढी पक्की घर बनेको पाइएको आयोजना कार्यालयले जनाएको छ । 

नहरको दुवैतर्फ सुकुमवासीका नाममा २०५४ सालदेखि नै कब्जा गरेर घर बनाउन सुरु गरेका थिए । बागमती सिँचाइ आयोजना प्रमुख सन्तोक्ष चाैधरी, मधेश प्रदेशका समाजिक विकास मन्त्री फकिरा महतो, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, सशस्त्र प्रहरीका गणपति, राष्ट्रिय अनुसन्धान, डिभिजन वन प्रमुख, चन्द्रपुरका नगरप्रमुखलगायतको टोली नहर क्षेत्रमा पुगेका थिए।

आयोजना प्रमुख चौधरीले अतिक्रमणले नहरको नियमित मर्मतसम्भार, सरसफाइ र पानीको आपूर्ति प्रणालीमा गम्भीर अवरोध पुर्‍याउँदै आएको बताए । ‘सिँचाइको मुख्य लाइफलाइन मानिने यो क्षेत्रमा भएको अतिक्रमणले भविष्यमा वातावरणीय र संरचनात्मक दुर्घटना निम्त्याउन सक्ने खतरा छ,’ उनले भने,‘हामीले पटक/पटक खाली गर्नुस्, यहाँबाट हट्नुस् भन्दै आएका हौं । अब चाँडै अतिक्रमण खाली गराउँछौ ।’

आयोजनाले ३० वर्षदेखि सूचना निकाल्दै आएको दाबी गरेको छ । सामान्य झुपडी बनाउँदै अतिक्रमण सुरु भएको नहर किनारमा स्थायी बसोबासको जस्तै संरचना निर्माण गरिएका छन् । आयोजनाले भने पटक/पटक सूचना जारी गर्दा पनि अटेर गरेको भन्दै अब कानुन बमोजिम अगाडि बढ्ने जनाएको छ । 

आयोजना अन्तरतको पूर्वी तथा पश्चिमी मूलनहर, शाखा, प्रशाखा, र टसैरी नहरको रेखाकंन, जग्गाभित्र बनाइएका स्थायी, अस्थायी घरटहरा तथा अन्य संरचना हटाउन सिँचाइ आयोजनाले सूचना जारी गरेको हो । सुनकोशी मरिन डाईभर्सनको पानी यही नहरबाट संचालन हुने भएकाले यसलाई ब्यवस्थित गर्न जरुरी रहेको आयोजनाको भनाई छ ।

आयोजनाले गत चैत २६ मा सूचना प्रकाशित गरी ७ दिनभित्र घरटहरा हटाउन भनेको थियो । आयोजना कार्यालयका अनुसार पूर्वतर्फ ६५ र पश्चिमतर्फ ६० मिटर जमिन नहर क्षेत्रमा पर्छ । त्यो सबै क्षेत्र अतिक्रमणमा परेको छ । अतिक्रमित क्षेत्रको नापजाँच सकिएको र चाँडै सूचना गरेर हटाइने आयोजना प्रमुख चौधरीले बताए।  

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully