बागमती सिँचाइको नहरमा ४ सय घरटहरा, अतिक्रमण हटाउने आयोजनाको तयारी

दुई दशकअघि सामान्य झुपडी बनाउँदै अतिक्रमण सुरु भएको नहर किनारमा स्थायी बसोबासको जस्तै संरचना निर्माण गरिएका छन् ।

वैशाख १२, २०८३

शिव पुरी

Preparations for project to remove 400 encroachments on Bagmati irrigation canal

What you should know

रौतहट — बागमती सिँचाइ आयोजनाले रौतहटको चन्द्रपुर नगरपालिका–५ पूर्वपश्चिम नहरको दायाँबायाँ किनारमा अतिक्रमित घरटहरा भत्काउने तयारी गरेको छ । नहरको दुवै तर्फ 'सुकुमवासी'का नाममा २०५४ सालदेखि नै कब्जा गरेर घर बनाउन सुरु गरेका थिए ।

चन्द्रपुर नगरपालिका–५ पूर्वपश्चिम नहरको डिलस्थित वरपिपलको रुखमूनि ४१ वर्षीय ईन्दु पटेल शुक्रबार छिमेकीहरुसित दोधारमा परेकाे सुनाइरहेकी थिइन् । ईन्दुले २०७८ सालमा नहरको पश्चिम तर्फ दुईतले पक्की घर बनाएकी छिन् । उनले १३ लाख खर्चेर पक्की घर बनाएकी हुन् । ‘मेरो घर नहरमा पर्छ भन्ने त्यति हेक्का नै भएन्, अब के गर्ने भन्ने अन्यौलमा छु,’ उनले भनिन् । 

पूर्व–पश्चिम नहरको जग्गामा निर्मित घरटहरा हटाउने बागमती सिँचाइ आयोजनाको निर्णयले बस्तीका सयौं परिवार अन्योलमा छन् । अन्यन्त्र जग्गा हुनेहरु त्यति बेखुसी नदेखिए पनि कतै जग्गा नभएकाहरु भने अलपत्र पर्ने चिन्तामा छन् । अन्यत्र घरजग्गा भएकाहरु आयोजनाले केही समय दिए आफै सर्ने बताइरहेका छन् ।

बृन्दाबन नगरपालिकाकाे हरैयापल्टुवा गाउँका रामदरेश यादवले पनि नहर छेउमा घर बनाएका छन् । उनको बृन्दाबनस्थित गाउँमा आफ्नै जग्गा छ । कमाईको आशले चन्द्रनिगाहपुर आएको उनी बताउँछन् । उनको पिकअप गाडी पनि छ । त्यसैको कमाई हुने आशले यहाँ आएका हुन् । ‘अब यहाँ घर भत्कायो भने उतै गएर बस्छु,’ उनले भने,‘सरकारी जग्गामा जबरजस्ती बस्छु भन्न पनि सकिँदैन् ।’

Preparations for project to remove 400 encroachments on Bagmati irrigation canal

स्थानीयले नहरको डिलैमा पक्की घर र पसल बनाएका छन् । बाटोमा पराल राख्ने, चौपाया बाँध्ने र धारा समेत गाडेका छन् । आयोजनाका अनुसार अतिक्रमणले नहरको नियमित मर्मतसम्भार, सरसफाइ र पानीको आपूर्ति प्रणालीमा गम्भीर अवरोध पुर्‍याउँदै आएको छ । सिँचाइको मुख्य लाइफलाइन मानिने यो क्षेत्रमा भएको अतिक्रमणले भविष्यमा वातावरणीय र संरचनात्मक दुर्घटना निम्त्याउन सक्ने खतरा औंल्याइएको सिँचाइ आयोजनाका अधिकारीहरु बताउँछन् । नहर सफा गर्न निकै समस्या हुन थाले पछि बागमती सिँचाइ आयोजनाले वर्षमा एक पटक नहरको जग्गा कब्जा गरी बसेकाहरुलाई हट्न सूचना निकाल्दै आएको छ । तर उनीहरु अटेर गर्दै आएका छन् ।

दुई दशकअघि सामान्य झुपडी बनाउँदै अतिक्रमण सुरु भएको नहर किनारमा स्थायी बसोबासको जस्तै संरचना निर्माण गरिएका छन् । आयोजनाले छोटो म्याद दिएर घर हटाउन निर्देशन दिएपछि स्थानीयले केही समयको माग गरेका छन् । उनीहरु आफ्नो जायजेथा र बालबच्चाको व्यवस्थापनबारे चिन्ता भएको बताइरहेका छन् ।

आयोजनाले भने पटक/पटक सूचना जारी गर्दा पनि अटेर गरेको भन्दै अब कानुन बमोजिम अगाडि बढ्ने जनाएको छ । आयोजना प्रमुख सन्तोष चौधरीले नहर कब्जा गरेर बसेका सबैलाई हट्न भनिसकेको बताए । ‘जिल्ला प्रशासनमा छलफल गरेर अघि बढ्छौं । अब यसलाई निन्तर दिन्छौं,’ उनले भने,‘नहर मासेर बनेका बस्तीले पानी संचालनदेखि सरसफाईमा समस्या हुँदै आएको छ ।’

चन्द्रपुर नगरपालिकाले यो विषयमा समन्वयकारी भूमिका खेल्न नसक्दा समस्या थप जटिल बनेको बस्तीबासीको आरोप छ । नहरको जग्गा अतिक्रमण मुक्त गराउन अपरिहार्य भए पनि यसलाई मानवीय दृष्टिकोणले हेर्नुपर्ने आवश्यकता रहेको वडाअध्यक्ष निलहरी कोइराला बताउँछन् । ‘वास्तविक अर्थमा सुकुमवासी र पहुँचवाला छुट्याउन आवश्यक छ,’ उनले भने,‘सुकुमवासीलाई अन्यत्र बसोबासको ब्यवस्था गरेर मात्र बस्ती हटाउँदा राम्रो हुन्छ । वास्तविक भूमिहीनका लागि सरकारले सुरक्षित बासस्थानको दीर्घकालीन योजना ल्याउनुपर्छ ।’

आयोजना अन्तरतको पूर्वी तथा पश्चिमी मूलनहर, शाखा, प्रशाखा, र टसैरी नहरको रेखाकंन, जग्गाभित्र बनाइएका स्थायी, अस्थायी घरटहरा तथा अन्य संरचना हटाउन सिँचाइ आयोजनाले सूचना जारी गरेको हो । सुनकोशी मरिन डाईभर्सनको पानी यहीँ नहरबाट संचालन हुने भएकाले यसलाई ब्यवस्थित गर्न जरुरी रहेको आयोजनाको भनाई छ । आयोजनाले गत चैत २६ मा सूचना प्रकाशित गरी ७ दिनभित्र घरटहरा हटाउन भनेको थियो । आयोजनाले चन्द्रपुर नगरपालिका र जिल्ला प्रशासनलाई समन्वय गरिदिन अनुरोधसहितको पत्र पठाएको छ ।

Preparations for project to remove 400 encroachments on Bagmati irrigation canal

प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले नहरको बस्ती हटाउने विषयमा छलफल गर्ने बताए । ‘अब कसरी जाने भन्नेमा हामी छलफलमै छौं,’ उनले भने,‘आगामी सोमबार यस विषयमा निर्णय लिन्छौं ।’ अब्यवस्थित बसोबासले नहर जीर्ण बन्दै गएको छ । स्थानीयले जथाभावी कब्जा गरी घर बनाएपछि मर्मत समेत गर्न सकेको छैन् । पूर्व क्षेत्रको चाँदी पुलदेखि पश्चिमको झण्डै २ किलोमिटर नहर क्षेत्रमा स्थानीयले कब्जा गरी लामो समयदेखि घरटहरा बनाएका छन् । यो क्षेत्रमा झण्डै ४ सय घरटहरा निर्माण गरिएको छ ।आयोजनाले अतिक्रमित क्षेत्रको तथ्यांक संकलन भइरहेको जनाएको छ । सुरुमा सुकुमवासीका नाममा झुपडी बनाएर बसेकाहरुले अहिले काठ र सिमेन्टका ठूला घर बनाएर नहरको तल्लो भागमा खेती समेत गरेका छन् ।

रौतहटको दक्षिणी भेगमा सिँचाइ सुविधा पुर्‍याउन निर्माण भएको यो नहर निरीक्षणका लागि बनाएको सडक समेत अतिक्रमणमा परेको छ । अतिक्रमणका कारण ठाउँ/ठाउँमा नहर समेत भत्किएको छ । नहर सफा गर्दा भित्रबाट निस्कने माटो डिलमा थुपार्नु पर्छ । तर डिलमै घर बनाइएकाले मर्मतमा समस्या हुने गरेको आयोजनाले जनाएको छ । दशकयता नहरमा घर बनाउने क्रम तीब्र भएको हो । यसलाई रोक्ने कसैले प्रयास गरेन् । ब्यवस्थित सिँचाइ सुविधा उपलब्ध गराई कृषि उत्पादनमा बृद्धि ल्याउने उद्देश्यले राष्ट्रिय प्राथमिकता प्राप्त बृहत बागमती सिँचाइ आयोजना हो । अतिक्रमण र बाढीले नहरको कैयौं भागमा क्षति पुगेको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार पूर्व तर्फ ६५ र पश्चिम तर्फ ६० मिटर जमिन नहर क्षेत्रमा पर्छ । त्यो सबै क्षेत्र अतिक्रमणमा परेको छ ।

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully