जलजला जिप दुर्घटना : मृत्यु हुनेमा लमजुङका २ जना

वैशाख पूर्णिमाका अवसर लाग्ने मेलामा सहभागी हुन यात्रु लिएर जलजला जाँदै गरेको जिप बिहीबार दुर्घटना हुँदा २० जनाले ज्यान गुमाएका थिए ।

वैशाख १८, २०८३

आश गुरुङ

Jaljala jeep accident: 2 people from Lamjung among the dead

What you should know

लमजुङ — रोल्पाको थवाङ गाउँपालिका-१ जलजलामा बिहीबार भएको जिप दुर्घटनामा परेर मृत्यु भएकामध्ये २ जना लमजुङका रहेको खुलेको छ ।

लमजुङको मर्स्याङ्दी गाउँपालिका-९ पामचोक बस्नेत थोकका २४ वर्षीय एलिसा भनेर बोलाइने लोजिना जिसी थापा र उनका छोरा ४ वर्षीय संयोग थापाको उक्त दुर्घटनामा मृत्यु भएको हो ।

वैशाख पूर्णिमाका अवसर लाग्ने मेलामा सहभागी हुन यात्रु लिएर जलजला जाँदै गरेको लु १ ज ४१६७ नम्बरको जिप बिहीबार दुर्घटना हुँदा २० जनाले ज्यान गुमाएका छन् ।

दाङको घोराही माइत गएकी लोजिना र उनका छोरा माइती परिवारसँगै उक्त मेलामा सहभागी हुन जाने क्रममा दुर्घटनामा परेका हुन् । प्रहरीले भने उनीहरुलाई दाङको घोराही उपमहानगरपालिका–१५ रतनपुर भनी पहिचान गरेको छ ।

लोजिनाकी कान्छी सासु पार्वती थापाका अनुसार वैशाख १२ गते आमा छोरा माइत हिँडेका थिए । १३ गते घरमा पूजा सकेर उनीहरु रुकुम–रोल्पा घुम्न गएका हुन् । ‘परिवारका केही सदस्य बाहिर जाने र जानुअघि परिवार नै घुम्न जानुभएको रहेछ । त्यही बेला दुर्घटनमाा पर्‍यो,’ उनले भनिन् ।

लोजिनाका श्रीमान् इटली छन् । बेंसीसहरको मोडल सिटी हस्पिटलमा कार्यरत रहेकी लोजिना ५ वर्षअघि विवाह गरेर लमजुङ आएकी थिइन् । हस्पिटलका अध्यक्ष ईश्वर श्रेष्ठ जोशीले एक शोक विज्ञप्ति जारी गर्दै एक वर्षदेखि अनमी पदमा कार्यरत लोजिना जिसीको निधनको खबरले मर्माहत भएको बताएका छन् । 

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully