जलजला जिप दुर्घटना : ज्यान गुमाउने २० मध्ये १४ जना एकै परिवारका

जिपमा चालकसहित २१ जना सवार रहेकोमा २० जनाको घटनास्थालमै ज्यान गएको थियो भने एक जना छतबाट हाम फालेर ज्यान जोगाउन सफल भएका थिए ।

वैशाख १८, २०८३

महेश केसी

Jaljala jeep accident: 14 of the 20 fatalities are from the same family

What you should know

रुकुम पूर्व — रुकुम पूर्वबाट रोल्पाको जलजलातर्फ जाँदै गर्दा बिहीबार अपराह्नतिर भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा एकै परिवारका १४ जना रहेको खुलेको छ । यसकारण जिल्ला सदरमुकाम रुकुमकोटका मानिस शोकमा छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक गोपाल न्यौपानेका अनुसार दुर्घटनामा परी सिस्ने–५ टाकुरा निवासी वर्ष ३२ का गोर्ख बिसी र उनकी आमा ५२ वर्षीया तिलकुमारी बुढाथोकी, १० वर्षीय छोरा दिव्यन बिसी र २८ वर्षीया भाउजु युभा बिसीको ज्यान गएको हो । 

त्यस्तै, गोर्खकी कान्छी आमा (अन्टी) ४० वर्षीया ओमकुमारी बुढाथोकी र ओमकुमारीका २४ वर्षीया छोरी सृजना बुढाथोकी र १३ वर्षीय छोरा सुदीप बुढाथोकीको ज्यान गएको छ । 

साथै युभाकी आमा घोराही–१५ रतनपुर बस्ने ५४ वर्षीया द्रोपदा जिसी, बुबा यमबहादुर जिसी, २५ वर्षीया बहिनी एलिसा जिसी र ३२ वर्षीया भाउजु तिला विष्ट जिसीले पनि यही घटनामा परेर ज्यान गुमाएका छन् ।

Jaljala jeep accident: 14 of the 20 fatalities are from the same family 

यस्तै, एलिसाका छोरा ४ वर्षीय* संयोग जिसी, तिलाकी छोरी १२ वर्षीया जेनिसा जिसी र ७ वर्षीय छोरा जेनिस जिसी सहित १४ जनाको ज्यान गएको हो । यस्तै, उनीहरुकै आफन्त पर्ने घोराही–१३ की धनमाया विष्टको पनि उक्त दुर्घटनामा मृत्यु भएको हो ।

युभाका एक आफन्तका अनुसार उनका श्रीमान् दीपक केही वर्षदेखि अमेरिकामा थिए । युभा आफ्ना छोरासहित श्रीमान्‌लाई भेट्न अमेरिका जाने तयारीमा थिइन् । यही वैशाख २८ गते युभा नेपालबाट अमेरिका जाने टिकटसमेत पक्का भइसकेको थियो । 

अमेरिका जानुभन्दा अघि घर र माइती तिरकासमेत सँगै भएर जलजलामा शुक्रबार पूर्णिमाको अवसरमा हुने पूजाआजामा सहभागी हुन गाडी रिजर्भ गरेर बिहीबार त्यसतर्फ गएको बताइएको छ ।

यस दुर्घटनामा परी ज्यान गुमाउने अन्य ५ जनामध्ये दाङ शान्तिनगर घर भइ हाल सिस्ने–५ मा बस्ने सवारी चालकः ४२ वर्षीय बेदु कामी र उनकी सासुआमा सिस्ने–५ की ६० वर्षीया मिना विक रहेका छन् ।  

त्यसैगरी, सिस्ने –५ की ६० वर्षीया लक्ष्मी शाह र २७ वर्षीया रुक्मिना बस्नेत र भूमे गाउँपालिका–५ का टेकप्रसाद बुढा रहेका छन् । 

घटनास्थालबाट सबै शवहरु निकालेर थबाङ गाउँपालिका अस्पतालमा ल्याएर सनाखत गर्ने कार्य सकिएको छ । अब ११ वटा शवलाई रुकुम पूर्व जिल्ला अस्पतालमा ल्याई पोस्टमार्टम गरिनेछ भने बाँकी ९ वटा शवको पोस्टमार्टम जिल्ला अस्पताल रोल्पामा गरेर आफन्तको जिम्मा लगाइने प्रहरी निरीक्षक न्यौपानेले बताएका छन् ।

बिहीबार रुकुमकोटबाट रोल्पाको जलजलातर्फ जाँदै गर्दा थबाङ गाउँपालिका–१ र ४ नम्बरको सिमानामा पर्ने डाँडामा जिप दुर्घटना भएको थियो । जिपमा चालकसहित २१ जना सवार रहेकोमा २० जनाको घटनास्थालमै ज्यान गएको थियो भने एक जना छतबाट हाम फालेर ज्यान जोगाउन सफल भएका थिए । उनको अवस्था सामान्य भएकाले उपचारपछि घर फर्किसकेका छन् ।

गृह मन्त्रालयले यो दुर्घटनाको छानबिन गर्न बिहीबार सचिवस्तरको निर्णयबाट लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी उपरीक्षक यादव ढकालको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको छ । समितिमा जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक, सशस्त्र प्रहरी बल रोल्पाका सशस्त्र प्रहरी नायब उपरीक्षक र जिल्ला प्रशासन कार्यालय रोल्पाका प्रशासकीय अधिकृत सदस्य रहेका छन् । 

यो समितिलाई घटनाको सत्यतथ्य अध्ययन गरी ३ दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ । घटनाबारे विस्तृतः तथ्य कारण छानबिनपछि आउने बताउँदै रुकुम पूर्वका प्रहरी प्रमुख डीएसपी खुमानन्द पाण्डेले जिल्ला प्रहरी कार्यालयदेखि विभिन्न चेक पोस्टहरुमा गाडी इन्ट्री गरेको र त्यसबखत उसले १ जना चालक, ७ जना महिला र ४ जना पुरुष रहेको भनेर भनिएको बताए । 

‘यात्रुवाहक उक्त जिपको वैधानिक क्षमता १२ जनाको हो । हाम्रो चेक पोस्टहरुमा गाडीवालाले हरेक ठाउँमा जम्मा १२ जना नै यात्रु रहेको भनेर जानकारी गराएको छ, ’ उनले भने, ‘बीचमा मान्छे मनमौजी चढेको देखियो । जुन कुरा प्रहरीलाई छलेर गरिएको छ ।’ 

सच्याइएको

  • परिवारका अनुसार मृतक थापाको उमेर अद्यावधिक गरिएको ।

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully