'धर्म संकट', 'मन मन्दिर', 'मुक्तिदाता', 'अग्निपथ', 'रक्षक', 'साथी'देखि पछिल्लो समय 'झिंगे दाउ', 'लाखे', 'काँडेतार', 'परदेशी २'सम्म आइपुग्दा पासाङले ५ सय बढी फिल्ममा काम गरेका छन् ।
What you should know
काठमाडौँ — कला निर्देशक एवं हास्य कलाकार पासाङ टी शेर्पाको निधन भएको छ । लामो समयदेखि कलेजोमा समस्याले थलिएका शेर्पाको मंगलबार काठमाडौंस्थित हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पतालमा उपचारकै क्रममा निधन भएको नेपाल फिल्म प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले जनाए ।
स्वास्थ्यमा समस्या देखिएपछि शेर्पालाई सोमबार अस्पतालमा लगिएको थियो । उपचारकै क्रममा मंगलबार मध्याह्न १२ बजेतिर उनको निधन भएको हो । उनको पार्थिव शरीरलाई बौद्धको शेर्पा गुम्बामा राखिएको छ । शेर्पाको अन्त्येष्टि बिहीबार बिहान ११ बजे टेकुघाटमा गरिने लामाले जनाए । 'अहिले उहाँलाई श्रद्धाञ्जली दिन चाहनेहरू गुम्बामा पनि जान सक्नुहुन्छ । तर उहाँको अन्त्येष्टि भोलि ११ बजे गर्ने तय भएको छ,'लामाले जनाए ।
शेर्पाको २ छोरी ४ छोरा थिए । शेर्पाले हास्य कलाकार हुँदै बद्री अधिकारीको फिल्म 'दुस्मन'बाट कला निर्देशकका यात्रा थालेका हुन् । बद्रीकै कारण आफू कला निर्देशक भएको उनी निर्धक्क स्वीकार्थे । 'केकी अधिकारीको बुवा बद्री अधिकारीले गर्दा म कला निर्देशक भएको हो,'शेर्पाले कान्तिपुरसँगको अन्तर्वातामा भनेका थिए ।
५९ वर्षे शेर्पाले अहिलेसम्म ३ सयभन्दा बढी फिल्म गरिसकेका छन् । उनले कला निर्देशकका रूपमा काम गरेको अन्तिम फिल्म 'झिंगेदाउ २' हो ।
४० वर्षदेखि कला निर्देशनमा सक्रिय पासाङको बाल्यकाल बौद्धमा बितेको थियो । महेन्द्र बौद्ध विद्यालयमा पढ्दा उनी निकै चञ्चले स्वभावका थिए । पढाइभन्दा पनि विद्यालयका अतिरिक्त क्रियाकलापमा सँधै अगाडि । नाच्न, गाउनमा रुचि । उनले टेलिभिजन हुँदै भिडियो फिल्मतिर अभिनय थाले ।
बद्री अधिकारी, नारायण पुरी, अशोक शर्माको भिडियो फिल्म बनाउने समूह एउटै थियो । त्यही समूहले बनाउने फिल्ममा अभिनय गर्थे, पासाङ । अहिलेको भृकुटीमण्डपको बजारमा त्यतिबेला सानो पर्दामा त्यही भिडियो फिल्महरू देखाइन्थ्यो । 'क्षितिजपारिको लास', 'सुनसान', 'चित्कार', 'अंगुठा छाप'लगायत थुप्रै भिडियो फिल्महरूमा पासाङले अभिनय गरे । केही भिडियो फिल्म निर्देशन पनि गरे । त्यसपछि प्रकाश सायमिको 'पृथ्वी'बाट ठूलो पर्दाको फिल्ममा डेब्यू गरे । फिल्ममा अभिनेता राजेश हमालको साथी बन्नुपर्ने भूमिका थियो ।
पहिलो पटक ठूलो पर्दामा आफूलाई देख्दा 'म पनि ठूलै मान्छे भएछु' भन्ने पासाङलाई लागेको थियो । हुन त उनी राजेश हमालभन्दा अलि पूराना हुन् । तर, 'पृथ्वी'को छायांकनमा आफूभन्दा पूराना कलाकार टिका पहारीका अगाडि उनी डरले थुरथुर हुन्थे ।
'धर्म संकट', 'मन मन्दिर', 'मुक्तिदाता', 'अग्निपथ', 'रक्षक', 'साथी'देखि पछिल्लो समय 'झिंगे दाउ', 'लाखे', 'काँडेतार', 'परदेशी २'सम्म आइपुग्दा पासाङले ५ सय बढी फिल्ममा काम गरेका छन् ।
सम्बन्धित समाचार
