१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७
पर्दा पछाडि

छोडौँ भन्दा पनि छोड्न सकिएन फिल्म [भिडियो]

'मैले थुप्रै वरिष्ठहरूसँग पैसा लिन बाँकी छ'
रीना मोक्तान

काठमाडौँ — 'अब तिमी कलाकार होइन, कला निर्देशक । तिमीले कला निर्देशन गर्नुपर्छ ।' फिल्म 'दुश्मन'को कला निर्देशनबाट मुकुन्द श्रेष्ठले हात उठाएपछि निर्देशक बद्री अधिकारीले पासाङ टी शेर्पालाई कला निर्देशक बन्न हौसाए । त्यसअघि पासाङ अभिनय मात्र गर्थे । त्यतिबेला कला निर्देशन कसरी गर्ने हेक्का नै थिएन । त्यसैले त्यतिबेला कला निर्देशन नगर्ने नै सोचेका थिए । फिल्मको छायांकन विराटनगरमा हुँदै थियो, बद्रीले एउटा रुख देखाउँदै पासाङलाई भनिहाले,'यो रुखमा चौतारो बनाउनु पर्‍यो ।'

छोडौँ भन्दा पनि छोड्न सकिएन फिल्म [भिडियो]

ठिंग उभिएको एउटा रुखमा चौतारो कसरी बनाउने? पासाङ घोत्लिए । कति खर्च लाग्छ ? निर्देशक बद्रीले सोध्न नपाउँदै पासाङको मुखबाट फुत्कियो, '३५ हजार' । बद्रीले त्यति नै रकम हातमा थमाइदिए । त्यतिखेरसम्म अझै पासाङलाई त्यहाँ चौतारो कसरी बनाउने कुनै आइडिया थिएन ।

एक जना श्रीलाल चौधरीलाई आफूले चौतारो बनाउने जिम्मा पाएको कुरा पासाङले सुनाइदिए । श्रीलालले चौतारो बनाउन आफ्ना कामदार पठाइदिए । बाँसको कप्टेरो बिच्छ्याएर एक रातमै चौतारो बन्यो । खर्च लाग्यो जम्मा ८ हजार । बाँकीको २७ हजार आफ्नो गोजीमा राखेपछि पासाङलाई लाग्यो,'ओहो कला निर्देशकले त भयंकर पैसा कमाउँदो रहेछ । ‍म त अब कला निर्देशक बन्छु।' त्यसपछि त्यही फिल्मको क्लाइमेक्स दृश्यका लागि मुलपानीमा प्रहरी बस्ने टहरो पासाङले नै बनाइदिए । यसरी 'दुश्मन'देखि लगातार फिल्महरूमा काम गर्दै आएका पासाङ बद्रीकै कारण आफू कला निर्देशक बनेको निर्धक्क स्वीकार्छन् ।

३६ वर्षदेखि कला निर्देशनमा सक्रिय पासाङको बाल्यकाल बौद्धमा बित्यो । महेन्द्र बौद्ध विद्यालयमा पढ्दा उनी निकै चञ्चले स्वभावका थिए । पढाइ भन्दा पनि विद्यालयका अतिरिक्त क्रियाकलापमा सँधै अगाडि । नाच्न, गाउनमा रुची । त्यसपछि टेलिभिजन हुँदै भिडियो फिल्मतिर अभिनय गर्न थाले । बद्री अधिकारी, नारायण पुरी, अशोक शर्माको भिडियो फिल्म बनाउने समूह एउटै थियो । त्यही समूहले बनाउने फिल्ममा अभिनय गर्थे, पासाङ । अहिलेको भृकुटिमण्डपको बजारमा त्यतिबेला सानो पर्दामा त्यही भिडियो फिल्महरू देखाइन्थ्यो । 'छितिज पारिको लास', 'सुनसान', 'चित्कार', 'अंगुठा छाप'लगायत थुप्रै भिडियो फिल्महरूमा पासाङले अभिनय गरे । केही भिडियो फिल्म निर्देशन पनि गरे । त्यसपछि प्रकाश सायमीको 'पृथ्वी'बाट ठूलो पर्दाको फिल्ममा डेब्यू गरे । अभिनेता राजेश हमालको साथी बन्नुपर्ने भूमिका थियो । पहिलो पटक ठूलो पर्दामा आफूलाई देख्दा 'म पनि ठूलै मान्छे भएछु' भन्ने पासाङलाई लागेको थियो । हुन त उनी राजेश हमालभन्दा अलि पूराना हुन् । तर, 'पृथ्वी'को छायांकनमा आफूभन्दा पूराना कलाकार टिका पहारीका अगाडि उनी डरले थुरथुर हुन्थे । 'पृथ्वी'पछि नै पासाङले कला निर्देशनमा आफ्नो करिअर सुरु गरेका हुन् ।

'धर्म संकट', 'मन मन्दिर', 'मुक्तिदाता', 'अग्निपथ', 'रक्षक', 'साथी'देखि पछिल्लो समय 'झिंगे दाउ', 'लाखे', 'काँडेतार', 'परदेशी २'सम्म आइपुग्दा पासाङले कला निर्देशक भएर गरेको फिल्मको संख्या पाँच सय पुगिसक्यो । युवराज लामाका अधिकांश फिल्ममा पासाङले नै कला निर्देशन गरेका हुन् । त्यस्तै छिरिङ रितार शेर्पाका 'उमा' होस् या 'सिंहदरबार' उनकै कला निर्देशन छ । गिहेन्द्र धिमालका अधिकांश फिल्ममा छुटेनन् पासाङ । फिल्मकर्मी ज्ञानेन्द्र देउजाका फिल्महरूमा पनि उनी छुट्दैनन् । पासाङ विदेशी प्रोजेक्टहरूमा नछुट्ने प्राविधिकमा पर्छन् । भूकम्प अगाडि मात्रै तामिल फिल्म 'दशका दम'मा काम गरे । त्यस्तै चाइनिज फिल्म 'अप इन्द दि विन्ड'मा पनि कामको अनुभव बटुले ।

सुरुआतमा पासाङले जानी नजानी कला निर्देशनमा पाइला चाले । त्यतिबेला निर्देशकले चाहे अनुसार सेट निर्माणको जिम्मा उनकै हुन्थ्यो । तर, अहिले त निर्देशकले खोजेभन्दा राम्रो सेट निर्माण गर्न सक्ने अनुभव छ, पासाङसँग । 'अहिले त कला निर्देशन सजिलै लाग्छ । पहिला त जानी नजानी गरियो । अहिले त निर्देशकको कन्सेप्ट मात्रै दिमागमा छिर्‍यो भने सजिलै काम गरिदिन्छु । गर्न सक्दिन भन्ने कुरा केही छैन । निर्देशकले भने भन्दा राम्रो कुरा बनाइदिन सक्छु,'पासाङ आफ्नो अनुभव सुनाउँछन्,'टेबल उचालेर फाल्नु पर्ने दृश्य चाहियो भने त्यसलाई कसरी देखाउने भन्ने कुरा दिमागमा आइसक्छ ।'

निर्देशकको कल्पनालाई कला निर्देशकले दृश्यमा उतार्ने मात्र होइन, फिल्मभित्रको संसार निर्माणमा उनीहरूको उतिकै भूमिका रहन्छ । 'फाइट निर्देशकले फाइटको दृश्य गरिदिने हो । तर, हामीले त्यो दृश्य टेबल भँचाउने, पेटमा घोचेको छुरी ढाँडमा पुगेको देखाउने तरबार बनाइदिने काम हाम्रो हो । नृत्य निर्देशकले नाच सिकाउँछ । तर, त्यो गीत छायांकन भइरहँदा पृष्ठभुमिमा फूल सजाउने सबै काम हाम्रो हो । बम पड्काउने, घरमा आगो लगाएको देखाउने सबै हामीले नै देखाउनुपर्छ,'पासाङले कला निर्देशनका कामहरूको बेलिविस्तार लगाए ।

श्रीकृष्ण श्रेष्ठ अभिनित फिल्म 'माइती'मा घरमा आगो लगाउने दृश्यका लागि नक्कली घर उनले नै बनाइदिएका थिए । 'इन्द्रेणी'मा पनि आगो लगाउने दृश्य थियो । उनले त्यसरी नै नक्कली घर बनाएर त्यसमा आगो लगाइदिए । 'मुक्तिदाता' र 'सो सिम्पल'मा गुफा बनाइदिए । 'अग्निपथ' फिल्मका लागि एनएफडीसीमा बनाएको जंगल सम्झँदा अहिले पनि पासाङलाई आफूले गरेको कामप्रति दंग लाग्छ । ज्ञानेन्द्र देउजा निर्देशित 'मुनामदन'मा मदनका लागि भारी बनाउनेदेखि सुन, त्यतिबेला थैली बनाउने काम पासाङकै जिम्मामा थियो । फिल्म 'बसाईं'मा 'बाछो' मरेको एउटा दृश्य थियो । त्यतिबेला भेटनरी अस्पतालबाट बेहोस हुने इन्जेक्सन ल्याएर बाछोलाई लगाइदिए । तीन घण्टासम्म बाछो होसमा नआउँदा झन्डैले बाछोको खर्च बेहोर्नु परेको । 'साथी'मा कुकुर मरेको दृश्य देखाउन त्यस्तै हम्मेहम्मे पर्‍यो । त्यतिबेला पनि अस्पताल पुगेर कुकुरलाई बेहोस बनाए । तर, निर्देशकले 'एक्सन'भन्दा कुकुर जुरुक्क उठ्यो । त्यसपछि फेरि बेहोस बनाउँदा ४/५ घण्टासम्म कुकुर नउठेर हैरान । अर्को एउटा फिल्ममा सर्पले दुधको भाँडो पोखाइदिने दृश्य आवश्यक थियो । उक्त दृश्य गर्दा-गर्दै सर्प मर्‍यो । रेखा थापा अभिनित 'खुसी' भन्ने फिल्ममा पासाङको अभिनय पनि थियो । सुटिङको क्रममा उनले बोक्ने कुखुरा उनको प्यारो भइसकेको थियो । तर, सुटिङ सक्ने बित्तिकै एक दिन प्राविधिको टोलीले त्यही कुखुरा मारेर तरकारी बनाइदिएछन् । त्यो तरकारी पासाङलाई खुवाएपछि उनलाई त्यसबारे जानकारी दिइयो । त्यतिबेला उनको चित्त दुख्यो ।

एउटा विज्ञापनका लागि थोरङ्ला पास(५४१६ मिटर) पुगेका थिए, पासाङ अनि उनका सायहक । रिमोटले खोल्नुपर्ने ढोकाको दृश्य त्यहाँ खिच्नुपर्ने थियो । ढोका उघारिने बित्तिकै हिउँ देखिने दृश्य विज्ञापनका लागि खिच्नु थियो । त्यसैका लागि हेलिकप्टरबाट पासाङ थोरङ्ला पुगे । त्यहाँ पुगिसकेपछि उनको कान बन्द भयो, बोलेको कुरा पनि कतै परबाट ठोक्किएर आए जस्तै भयो । हुरी बतास र असिनाले आँखा खोल्नै नमिल्ने भएपछि उनका साहयक र उनी सरासर मुक्तिनाथतिर झरे । 'मुक्तिनाथको फेदीमा आएर गार्लिक सुप पिएँ । सायद त्यहाँ बसेको भए हामी मर्ने थियौं । जिन्दगीमा हिमालमै पुगेर मरिने भयो भन्ने भएको थियो त्यतिबेला,'उक्त घट्ना सम्झँदै भने,'अब शेर्पा भन्ने बित्तिकै हिमाल चढ्छन् भन्ने सोच्छन् । म परें काठमाडौंमा हुर्केको शेर्पा । त्यसअघि थोरङ्ला पास देखेकै थिइनँ । त्यतिबेला मरिन्छ कि जस्तो लागेको थियो तर मरिएन ।' पहिलो पटक हाइ लागे पनि दोस्रो प्रयासमा उनीहरूले उक्त विज्ञापन छायांकन गरेर फर्किएका थिए ।

हालै पासाङले 'झिंगेदाउ'का लागि परम्परागत घरहरू निर्माण गरिदिए । एकान्त ठाउँ घर निर्माण गर्नु थियो । पुराना घरलाई भत्काएर नयाँ पनि बनाइदिएका छन् । 'परदेशी २'मा प्रशान्त तामाङको द्वन्द्ववाला दृश्यका लागि रेल बनाइदिए । प्रदर्शनको तयारीमा रहेको अर्को 'लाखे'मा गुन्डाहरूको अखडा निर्माणमा आफूहरूले निकै मिहेनत गरेको पासाङको भनाइ छ । आफूले कला निर्देशन गरेको कति फिल्ममा पासाङले आफ्नो अभिनय कला पनि देखाइरहेका हुन्छन् ।

'आमा बिरामी भन्दा पनि फिल्मकर्मीले पत्याइदिँदैन्'

कला निर्देशनमा राम्रो बजेट नछुट्याउँदा आफूहरूलाई काम गर्न गाह्रो हुने पासाङ सुनाउँछन् । 'कहिलेकाहीँ १० दिनमा सक्ने काम १५ दिन लाग्छ । प्रोडक्सन पक्षबाट फिल्मको लागि आवश्यक खर्च समयमै नआउँदा निर्देशकले पासाङ टि शेर्पाले ढिला गर्‍यो भनेर भनिदिन्छन् । पासाङले ढिला गरेर बजेट बढ्यो भन्ने आक्षेप हामीले सुन्नुपर्छ,'उनले भने,'भनेजस्तो बजेट नआउँदा ५० प्रतिशत काम राम्रो हुँदैन । निर्देशकको अगाडि त हामीले काम नगरिदिएकोजस्तो हुन्छ ।'

कला निर्देशनका लागि मात्रै होइन, कला निर्देशन गरेको कति फिल्मको पारिश्रमिक अझै पासाङको हात परेको छैन । निखिल उप्रेतिको फिल्म 'कमिटमेन्ट सिक्स्टी आवर'बाट अझै पारिश्रमिक नपाएको उनको गुनासो छ । 'हुन त उहाँलाई प्राविधिक संघमा ल्याएर माफी मगाउन पनि लगाएका हौं । तर फिल्मबाट पाउनु पर्ने १ लाख २५ हजार पाएनौं । सञ्चिता लुइँटेल मेरो धर्म बहिनी पनि हो । उहाँको लागि पनि मैले पैसा माया मारिदिएँ,'पासाङ सुनाउँछन्,'यहाँ त वरिष्ठ मानिसहरूले मलाई पारिश्रमिक नै दिएका छैनन् । दयाराम दाहाल निर्देशित 'पाले दाइ'बाट पनि अझै पैसा पाएको छैन । १०/१५ हजार खर्च चाहियो भन्दा दयाराम दाहालले मैले अभिनय गराएँ भन्दै २५ हजार त दिनुभयो । तर, निर्माता मदनमान बज्रचार्यले कला निर्देशनको पैसा दिनु भएन । पैसा थोरै, तर इज्जत र इमान्दार भएर पारिश्रमिक लिएको भनेको ज्ञानेन्द्र देउजा र छवि ओझाबाट मात्र हो । हिसाब किताब गर्‍यो भने सोभित बस्नेत र जयकिसन बस्नेतको ४/५ वटा फिल्मबाट पनि अलिअलि लिन बाँकी छ।'

उठाउन बाँकी फिल्महरूको पैसाले ३ वटा म्युजिक भिडियो बनाउने पुग्ने पासाङको अनुमान छ । 'हेर्दा मात्र किला ठोक्ने कला निर्देशक हुँ । तर मैले थुप्रै वरिष्ठहरूसँग पैसा लिन बाँकी छ । झन्डै उठाउन बाँकी त ४०/४५ लाख छ । तर, यो जुनीमा त्यो फिल्महरूको पैसा पाउँदिन,'पासाङले भने,'खाओस् उनीहरू नै भन्ने हुन्छ । उनीहरूको अगाडि शीर ठाडो पारेर हिँड्न पाउँछौं हामी । उनीहरू हाम्रो अगाडि निहुरिन्छन् । त्यतिबेला उनीहरूभन्दा म ठूलो छु है भन्ने लाग्छ ।'

रातदिन खटेर काम गरेको फिल्मले समयमै पारिश्रमिक नदिँदा नरमाइलो लाग्ने पासाङ सुनाउँछन् । 'घर परिवारलाई समय नदिइ-नदिइ काम गरेको फिल्मको पैसा नपाउँदा नरमाइलो लाग्छ । हामीले त आमा बिरामी छ भन्यो भने पनि फिल्मकर्मीले पत्याउँदैनन् । अब सबै प्राविधिकको पैसा माग्ने बहाना नै घरमा कोही बिरामी भयो भन्ने हुन्छ,'रसाएका आँखासहित ५४ वर्षिय शेर्पाले भने,'बुबा बिरामी हुँदा पनि नाटक गरेको भनिदिन्छन् । मरीमरि काम गरे पनि यस्तो काम छोडिदिन्छु भन्ने लाग्छ । तर, फिल्म क्षेत्र छोड्न सकिएन । फिल्म क्षेत्र छोडेर घरमा बस्दा छटपटी भयो । फिल्म पनि नशाजस्तै भयो ।'

प्रकाशित : श्रावण २८, २०७९ १९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?