विस्थापितलाई सरकारले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा लगेर राखेको छ । कोही आफैं डेरा खोजेर गएका छन् । हालसम्म थापाथलीका ६८ परिवार सम्पर्कमा आएका छन् भने अन्य क्षेत्रका बासिन्दासमेत सम्पर्कमा आउने क्रम जारी छ ।
What you should know
काठमाडौँ — ‘तपाईंहरू को–को जाने हो कीर्तिपुर ? ओढ्ने ओछ्याउनेबाहेक अरू नबोक्नु होला । जहाँ छ त्यहीं छाड्नू,’ दशरथ रंगशालाभित्र शनिबार एक नगरप्रहरी भनिरहेका थिए ।
भित्तामा अडेस लागेर झोक्राइरहेका ५८ वर्षीय हिरा हरि दुसाधले प्रहरीलाई सोध्न थाले, ‘घरबाट निकालेर राखेको सामानको के हुन्छ ?’
‘तपाईं पनि कीर्तिपुर जाने हो ? सामान त्यतैबाट पछि कवाडीमा दिनू,’ नगरप्रहरीले जवाफ दिए ।
हिरा निःशब्द भए । अस्थायी आवासका लागि कीर्तिपुर जाने गाडी गेटबाहिर पर्खिरहेको थियो । ‘सामान छाडेर कसरी जाने ?’ उनले मलिन स्वरमा आफ्नो दुविधा सुनाए ।
थापाथलीस्थित खोला किनारमा वर्षौं पसिना बगाएर बनाएको घर शनिबार माटैमा मिलेपछि हिरा लगायतका विस्थापितहरू रंगशाला पुगेका थिए ।
हिरा ९ जनाको परिवारसहित थापाथलीस्थित सुकुमवासी बस्तीमा २०६१ सालदेखि बस्दै आएका थिए । ज्यामी कामबाट थोपा–थोपा गरेर जोडेको टहरालाई उनले बस्नलायक बनाएका थिए । तर शनिबार आँखअघि डोजरले टहरा भत्काइदियो । ‘मनमा धेरै दुःख लागेको छ,’ रुँलाझैं गरी उनले भने ।
बारामा घर जमिन थिएन । संघर्ष गर्दै काठमाडौं आएका उनी त्यतिबेला पनि बासकै समस्यामा रुमल्लिएका थिए । त्यही क्रममा सुकुमवासी बस्तीमा बाँसको टहरो गाडेका थिए उनले । ‘अब त सबै उखेलियो । फेरि घरबारविहीन भइयो,’ उनी थप मलिन सुनिए, ‘अब सरकारकै शरण भो । हामीलाई बास मिलाइदिए हुन्थ्यो ।’
हिराको जस्तै खण्डहर भएको घरको कथा शनिबार सखारै सुरु भएको थियो । बिहान ६ नबज्दै थापाथलीस्थित सुकुमवासी बस्तीमा जस्ताको उदेकलाग्दो आवाजमा स्थानीयको याचना मिसिएको थियो । बस्ती बाहिर नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र महानगर प्रहरी बलको दस्ता तैनाथ थियो ।
खोला किनारका मानिस पातलिँदै थिए, सुरक्षाकर्मीको संख्या बाक्लिँदै थियो ।
६ः१९ बजेसम्ममा सुरक्षाकर्मी मात्र होइन, सञ्चारकर्मीको संख्या पनि बाक्लियो । तर बस्तीभित्र छिर्ने छुट कसैलाई थिएन । बस्तीबाहिरको पर्खालमा टाँसिएको थियो– ‘मिडिया जोन’ । त्यही जोननिर बसेर सञ्चारकर्मी दृश्य कैद गर्दै थिए ।
बस्तीभित्रको पीडामिश्रित स्वर सुनिसकेपछि सुरक्षाकर्मीलाई छलेर कान्तिपुरको टिम भित्र पस्यो । भित्र सन्नाटा चलिरहेको थियो । सरकारले दिएको उर्दीअनुसार कतिपयले शुक्रबार बस्ती छाडिसकेका थिए । जो रहे, तिनीहरूको जाने ठाउँ थिएन । बिहानैदेखि कोही छतको जस्ता निकाल्दै थिए, कोही ओढ्ने ओछ्याउने बोक्दै थिए । कोही सामान निकाल्दै थिए त कोही निकाल्नै नसकेर थुचुक्क बसिरहेका थिए । उनीहरूको एउटै प्रश्न थियो, ‘अब कहाँ जाने ?’
बिहानको उज्यालो किरणमा पनि उनीहरूको अनुहार अँध्यारै थियो । त्यही अँध्यारो अनुभूत गर्नेहरूको बीचमा थिइन् ४३ वर्षीया कुमारी तामाङ । उनले यस बस्तीमा पाइला राखेको २४ वर्ष भयो । उनका वरपर खिइनै लागेका जस्ताका पाता र असरल्ल सामान थिए । ती सामान कता लैजाने, टुंगो थिएन । ‘भएको यही पनि मासिए के गर्ने,’ कुमारीले भयजडित भावमा भनिन् ।
६ दिनअघि मात्रै उनका बा बितेका रहेछन् । त्यसमाथि सानिमाको ढाड भाँच्चिएको छ । उनलाई रेखदेखको जरुरत छ । तर सरकारको कठोर कदमले उनीहरू निरीह बनेका छन् । ‘साना छोराछोरी छन्, बोकेर कता जानु !’ उनी बिलौना गर्दै थिइन् ।
कुमारी बोल्दाबोल्दै नेपाल प्रहरीको टोली आइपुग्यो । उनीहरूले सोधे, ‘सामान सार्नुभयो ? डोजर आउनै लाग्यो ।’
कुमारीले रिसाउँदै प्रतिप्रश्न गरिन्, ‘निकाल्यौं, अब अरू के गरम् भन्नुस् ?’
राज्यले उचित व्यवस्थापन नगरी घरबार उजाडिदिएको गुनासो उनका आँखाभरि थिए । ‘यहीं बसेर, दुःख गरेर बालबच्चा हुर्काइयो । अब अचानक जा भन्दा के गर्ने,’ उनी भक्कानिइन् ।
कुमारीको छेवैमा थिए ५२ वर्षे पाकचा तरिम कसाई । उनी अशक्त छन् । ८ बजिसक्दा पनि उनले आफ्नो सामान बाहिर निकाल्न सकेका थिएनन् । ‘म यहाँ बस्दै आएको २० वर्ष भयो । अहिले आएर जा भन्छन् । मेरो खुट्टाले काम गर्दैन । यस्तो अवस्थामा कहाँ जाने ?’ उनले गुनासो पोखे ।
कसाईको सामान निकाल्न केही प्रहरी आइपुगे । सामान निकाल्न सहज त भयो तर कहाँ राख्ने भन्ने समस्या भयो । महानगर प्रहरीको टोली माइकिङ गर्दै आयो । ‘छिटो है छिटो, अब डोजर आइसक्यो,’ माइकिङले बच्चादेखि वृद्धवृद्धामा डर फैलाउँदै लग्यो । माइकिङ गर्दै आएका नगरप्रहरी र नेपाल प्रहरीको टोलीले भित्र रिपोर्टिङ गरिरहेका पत्रकारलाई जबर्जस्ती बाहिर निकाले ।
बिहान ८ः१५ बजे रातो रङका दुई ठूला डोजर बस्ती अगाडिको सडकमा देखा परे । तिनै डोजर वरपर झुम्मिएका थिए सुरक्षाकर्मी । केहीबेरमै डोजर टहरा भत्काउन थाल्यो । सडकबाटै भेटिने बस्तीमा डोजरको बकेटले हान्दा कुमारीले आँसु थाम्न सकिनन् ।
सपना, आशा र आकांक्षाले भरिएको बस्तीमा डोजर छिर्यो र हेर्दाहेर्दै खण्डहर भयो । उजाडिएको बस्ती भित्रबाट लगातार सुनियो मानिसको आर्तनाद ।
बस्ती उजाडिएपछि प्रहरीले आफ्नो आधिकारिक फेसबुक पेजमा स्थानीयलाई सहयोग गरेको तस्बिर राख्यो । तर स्थानीयको आर्तनाद न आफूले खिच्यो, न सञ्चारकर्मीलाई नै खिच्न दियो ।
थापाथलीका सुकुमवासी बस्ती भत्काएर काठमाडौं महानगरपालिकाका डोजर शान्तिनगरस्थित गैरीगाउँ पुगे । डोजरले आफ्नै घर भत्काइरहेको हेरिरहेकी ७० वर्षीया विष्णुमाया गुरुङको आँखा रसाइरहेका थिए । बाहिर आफ्नै छरपस्ट सामानमाथि बसेकी विष्णुमायालाई कान्तिपुरले सोध्यो, ‘अब कहाँ जानुहुन्छ ?’ ‘खै अब भत्काउनेहरूले कहाँ लाने हुन् ?’ उनको जवाफ थियो ।
विष्णुमायाको परिवारले सबै सामान निकाल्न भ्याइसकेको थिएन । बाँकी सामान निकाल्न नेपाल प्रहरीले सहयोग गरे । सामान त निकालिदिए, तर कहाँ राख्ने ? उनीहरू बिलखबन्दमा थिए । ‘राजा मरेको साल (०५८) मा हामी सामाखुसीबाट यहाँ आएका थियौं । हामीसँग केही थिएन,’ विष्णुमायाले पहिलो पटक बस्ती छिर्दाको समय सम्झिइन्, ‘म, बूढा र छोरा तीनै जना अपांगता भएका हौं । काम गर्न र भाडा तिर्न नसक्ने भएर यहाँ बसेका थियौं ।’
डोजरले घर भत्काएको आवाजले जमिन थर्किरहेको थियो । त्यही आवाजमा मिसिएका थिए केही याचनाहरू । ‘नानी, घर भत्काए । कोठा खोजिरहेका छौं । कतै त राख्ला कि !’ एक जना फोनमा छोरीलाई वेदना सुनाइरहेका थिए । सँगै भएकी उनकी श्रीमती हिक्का छाडेर रोइरहेकी थिइन् । सानी छोरी पनि सामान पोको पार्दै आँसु झारिरहेकी थिइन् । बस्ती भित्र पस्दै जाँदा सबैका आँखामा त्रास, हतारो र आँसु पोखिएका थिए ।
१० वर्षीया बालिका रित्तिँदै गरेको घरको कोठाभित्र बालाई प्रश्न गरिरहेकी थिइन्, ‘बाबा, अब हामी कहाँ जाने ?’ उनी र उनकी १३ वर्षीया दिदी भित्रबाट सामान सार्न बालाई सहयोग गरिरहेका थिए । छोरीको प्रश्नको जवाफ बासँग थिएन । ‘यी सामान लैजाऊँ, बाटो खाली छैन । राखूँ, कहाँ राखूँ,’ वरिपरि हेर्दै उनी एकोहोरो भनिरहेका थिए ।
बालिका छिमेकीलाई औंलाले खाली ठाउँ देखाउँदै सोधिरहेकी थिइन्, ‘आन्टी सामान ह्याँ राख्ने हो ?’ उताबाट ‘हामी पनि त्यहीं राख्दै छौं’ भन्ने जवाफ पाएपछि उनी खुरुर्र कुदिन् । ‘बाबा ऊ त्यहाँ राख्न मिल्छ रे !’ उपायविहीन भएर बसिरहेका बालाई उनले केहीबेरमै सुझाइन्, ‘बाबा फुपू दिदीलाई कल गर्नू न । यो सामान केही दिन त्यहीं लगेर राखौं, हुन्न ?’ उनी आफैंले बाको खल्तीबाट मोबाइल झिकिन् र आफन्तलाई कल लगाइन् । घरभित्र कुनामा गएर कुरा गरिन् अनि बालाई दिइन्, ‘फुपू दिदी बोल्ने रे ।’
बालिकाका बा आफ्नी दिदीलाई समस्या सुनाइरहेका थिए । बालिकाले बाटामा गाडीभित्र सामान प्याक गरेर हिँड्न ठिक्क परेका छिमेकीलाई हात हल्लाइन् अनि फिस्स हाँस्दै भनिन्, ‘दिदी कहाँ जाने ? राम्रोसँग जानु ल ।’ उनीहरू कतै कोठा तय भएपछि सामान लोड गरेर हिँडेका थिए ।
कतिपय बालबालिका भने आफ्नै दुनियाँमा थिए । कोही झोला र किताबहरू निकालिरहेका थिए । कोही खेलिरहेका थिए ।
बिहान गैरीगाउँ पुग्दा ७० वर्षीया कृष्णमाया तामाङका घरबाहिर १० वटाभन्दा बढी बाख्रा थिए । कृष्णमाया ती बाख्रा हेर्दै बर्बराइरहेकी थिइन्, ‘यिनीहरूले गरेर हामी पालियौं । अब यिनीहरूको नि बिचल्ली हुने भयो । र, हाम्रो पनि ।’
कृष्णमायाको परिवार काभ्रेको होक्सेबाट ०४६ सालमा यो बस्तीमा आइपुगेको थियो । उनीहरूले सानो टहरामा एउटाबाट बाख्रापालन थालेका थिए । थपिँदै गएका बाख्रा र तिनको मल बेचेर कृष्णमायाको परिवार धानिएको थियो । टहराभित्र कुकुर पनि थियो । ‘पहिले यहाँ ग्यास सिलिन्डर र पकाउने भाँडाहरू चोरी हुने डर हुन्थ्यो । त्यही भएर कुकुर ल्याएको । अब यसलाई पनि कहाँ लाने हो !’ कृष्णमाया चिन्तित देखिन्थिन् । डोजर चल्ने खबर सुनेको दिनदेखि उनलाई खाना पनि रुच्न छाडेको थियो ।
दिउँसो डोजर आइसकेपछि बस्तीमा पुग्दा कृष्णमाया देखिइनन् । बाख्राहरू पनि थिएनन् । कुकुर भने आँगनमा बसिरहेको थियो ।
बिहान वरिपरिका महिला घरको आमनेसामनेबाट कुरा गरिरहेका थिए । भन्दै थिए, ‘यतिका वर्ष सँगै बस्यौं । अब तपाईंहरू कहाँ ? हामी कहाँ ? कुरा त गर्दै गर्नुपर्छ है ।’ अरू टहरामा पनि कुकुर पालिएका थिए । खाली घरभित्र सुतिरहेको कुकुरलाई छिमेकीले माया गर्दै भनिरहेका थिए, ‘अब हाम्रै जाने ठाउँ थाहा छैन, तँलाई कहाँ लाने हुन् ?’
बिहान कृष्णमाया दमाईले कान्तिपुरसित पीडा पोखेकी थिइन्, ‘श्रीमान् बिरामी हुनुहुन्छ । अहिलेसम्म कोठा भेटेका छैनौं । साह्रै पीर परेको छ ।’ डोजर आयो कि भनेर घरीघरी अतालिइरहेको उनको मन डोजरै आइसकेपछि त भक्कानियो । ‘अब त सबै सकियो । हामी घरविहीन भयौं,’ उनले रुँदै भनिन् ।
२२ वर्षदेखि यही ठाउँमा बसेका धड्कन यादवलाई एउटा मात्र चिन्ता थिएन । ‘अब हामी कहाँ जाने ? छोराछोरीलाई कहाँ पढाउने ? सरकारले हामीलाई दुःख दियो । खुसी दिन सक्छ होला त ?’ अनेक प्रश्न लिएर उनी उभिएका थिए ।
५० वर्षीया सुकुमाया परियारले आफ्नो दुःख सरकारलाई सुनाइदिन कान्तिपुरसमक्ष आग्रह गरिन् । ‘हाम्रो आवाज त सुन्दैन । तपाईंहरूको सुन्छ कि ?’ सुकुमायाले भनिन्, ‘म मुटुकी बिरामी छु । झन् बिरामी हुने भएँ ।’ उनी ज्वाइँलाई फोन लगाएर कोठाको विषयमा कुरा गर्दै थिइन् । ‘आफैंले पनि कोठा खोजें, छोरी–ज्वाइँहरूले एउटा कोठा त खाली छ भन्नुभएको छ । भाडा १४–१५ हजार रुपैयाँ रे । त्यति धेरै पैसा कसरी तिर्न सकिएला र ?’ सुकुमायाले भनिन्, ‘तैपनि बस्नैपर्यो, पछि केही सहारा पाइएला कि !’
सिन्धुली घर भएकी सुकुमायाले लामो समयसम्म अर्काको जग्गा अधियाँ कमाएर जीविकोपार्जन गरेकी थिइन् । भूकम्पले घर भत्काइदियो । अभावमाथि अभाव थपिए । त्यसपछि थातथलो छाडेर उनी पलायन भइन् । ‘जिन्दगीमा पलायन मात्र हुन लेखेको रहेछ सर,’ उनले भावुक हुँदै भनिन् ।
बिहान किनारैकिनार हिँडाएर कान्तिपुरलाई तीर्थ श्रेष्ठले आफ्नो घरतर्फ लगे । उनले किराना पसल राखेका रहेछन् । ‘कसैको केही नबिगारी आफ्नो कर्म गरेका थियौं । सरकारले सबै खोसिदिने भयो,’ उनले गुनासो पोखे, ‘हामीसँग जग्गाजमिन छैन, न समाउने हाँगो । रहरले त को सुकुमवासी बन्थ्यो होला र !’
रामेछापमा खान–बस्न नपुगेर उनी ०४२ सालमा काठमाडौं आएका थिए । ‘हाम्रो गाउँमा ५ रोपनी पाखाबारी थियो तर ९ जनाको परिवारलाई त्यो पाखाबारीले केही हुँदैनथ्यो । त्यहाँ बाटो र बिजुलीको सुविधा अहिले पनि छैन,’ तीर्थले यहीं रहनुको कारण सुनाए ।
श्रेष्ठको परिवार ०५६ सालदेखि गैरीगाउँमा बस्दै आएको थियो । ‘यो ठाउँ पहिला यस्तो राम्रो थिएन, पानी जम्थ्यो । मरेको मान्छे बगाएर ल्याउने ठाउँ थियो । यसलाई हामीले दुःख गरेर बस्नयोग्य बनायौं । अहिलेसम्म मैले जति कमाएको र जोगाएको थिएँ, त्यो सबै यही घर बनाउनमै खर्च भयो,’ तीर्थले भने ।
यसअघि पनि सरकारले तीन–चार पटक घर भत्काएको थियो । तर टालेर बसेका थिए । कोठा भाडा तिर्नु नपरेपछि र छोराछोरी सरकारी विद्यालयमा पढेपछि खानलाई जसोतसो पुगिरहेको थियो । ‘हामी साधारण जनता सरकारसँग लड्न सक्दैनौं, तर हाम्रो पसिना र मिहिनेत लागेको यो बास छोडेर हामीलाई कहाँ लाने हो ?’ उनी अनिश्चित भविष्यबारे सोच्दै खिन्न मान्छन् ।
थापाथली र गैरीगाउँका दृश्य मनोहरामा पनि दोहोरिएको थियो । सरकारले गोठाटार बुद्धचोक र मनोहरा टोलका बस्ती पनि खाली गर्ने तयारी गरेको छ । शान्तिनगरमा ४ सय ७६, गैरीगाउँमा १ सय ६२, थापाथलीमा १ सय ४३, गोठाटारमा ७७ र मनोहरा टोलमा १३ परिवारको बसोबास रहेको काठमाडौं उपत्यका विकास प्राधिकरणको तथ्यांक थियो । यी सबै क्षेत्र मिलाएर कुल ८ सय ७१ परिवार प्रभावित हुँदै छन् ।
विस्थापितलाई सरकारले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा लगेर राखेको छ । कोही आफैं डेरा खोजेर गएका छन् । हालसम्म थापाथलीका ६८ परिवार सम्पर्कमा आएका छन् भने अन्य क्षेत्रका बासिन्दासमेत सम्पर्कमा आउने क्रम जारी छ । सम्पर्कमा आएका परिवारलाई दशरथ रंगशालामा ल्याई विवरण संकलन गरिने र त्यसपछि काठमाडौंका विभिन्न होटलमा अस्थायी रूपमा राख्ने तयारी गरिएको छ । उनीहरूको घरायसी सामग्री भने कीर्तिपुरस्थित सुन्दरीघाटमा रहेको राधास्वामी सत्संग व्यास नेपाल परिसरमा सुरक्षित रूपमा राखिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
सरकारले होटलमा राखिने परिवार वास्तविक सुकुमवासी हुन् वा होइनन् भन्ने पहिचान प्रक्रिया आइतबार सुरु गर्ने जनाएको छ । वास्तविक सुकुमवासी ठहरिएका परिवारलाई दुई साताभित्र नागार्जुन नगरपालिका–१ स्थित सरकारी अपार्टमेन्ट तथा अन्य सुरक्षित स्थानमा सार्ने तयारी छ । त्यसपछि उनीहरूको दीर्घकालीन पुनर्वास तथा व्यवस्थापन अघि बढाइने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
