सम्पत्ति जाँचबुझ आयोगको प्रवक्ताको जिम्मेवारी गणेश केसीलाई

प्रवक्ता केसीका अनुसार छिट्टै आयोगले कार्यविधि बनाएर कामको टीओआर तय गर्ने जानकारी दिए ।

वैशाख ११, २०८३

मातृका दाहाल

Ganesh KC appointed as spokesperson of Assets Inquiry Commission

काठमाडौँ — २०६२/६३ देखि २०८२/८३ को अवधिमा रहेका उच्चपदस्थ पदाधिकारी तथा कर्मचारीहरुको सम्पत्ति जाँचबुझ गर्न गठित आयोगको प्रवक्तामा आयोगका सदस्य गणेश केसीलाई तोकिएको छ । आयोगको शुक्रबार बसेको बैठकले केसीलाई सदस्य तोकेको हो । केसीले आयोगको बैठकले आफूलाई प्रवक्ता तोकेको जानकारी दिए । उनी नेपाल प्रहरीका अवकाशप्राप्त डीआईजी पनि हुन् ।

सरकारले पछिल्लो २० वर्षको अवधि (२०६२/६३ देखि २०८२/८३) मा शासन/प्रशासन र सार्वजनिक ओहोदामा रहेका उच्च पदस्थ पदाधिकारी एवं कर्मचारीको सम्पत्ति छानबिन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको अध्यक्षतामा पूर्वन्यायाधीशद्वय पुरुषोत्तम पराजुली र चण्डीराज ढकाल, नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) केसी र चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल सम्मिलित पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो ।

सरकारले आयोगको कार्यालय केशर महलको पुरानो शिक्षा मन्त्रालयमा स्थापना गरेको छ । आयोगलाई १ वर्षको कार्यावधि तोकिएको छ ।

प्रवक्ता केसीका अनुसार छिट्टै आयोगले कार्यविधि बनाएर कामको टीओआर तय गर्ने जानकारी दिए ।

मातृका दाहाल विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका छन् । उनी राष्ट्रिय सुरक्षा, सुशासन तथा सामाजिक जनचासाेका विषयमा समाचार लेख्छन् ।

Link copied successfully