युक्रेनसँगको युद्धमा ज्यान गुमाएका श्रीमान्‌को अन्तिम संस्कारका लागि रुस जाँदै सन्तु

श्रीमान् मानबहादुर बितेको खबर सुन्नासाथ सन्तु आफन्त र साथीहरूसित सहयोग मागिन् । तर कसैगरी पनि शव ल्याउन सक्ने नदेखेसी उनी आफैं रुस जान कस्सिएकी हुन् ।

वैशाख ९, २०८३

शिव पुरी

Santu is going to Russia for the funeral of her husband who lost his life in the war with Ukraine.

What you should know

रौतहट — गुजरा नगरपालिका–२ ब्रम्हटोलकी सन्तु तामाङ झन्डै साढे दुई महिनायता छटपटीमा छिन् । ५ वर्षीया छोरी हुर्काउँदै श्रीमानको प्रतिक्षा गरिरहेकी सन्तुका निम्ति यही प्रतीक्षा  कहिल्यै पूरा नहुने  सपना भइदियो । किनकि रुसी सेनामा भर्ती हुन गएका श्रीमान मानबहादुर तामाङ,४५ को उतै मृत्यु भएको खबर आइपुग्यो । 

यतिबेला उनी श्रीमानको मृत्युको खबरले जति विचलित छिन् त्यो भन्दा धेरै श्रीमानको शव ल्याउन नसकेकाले चिन्तित छिन् । 

केही महिनाअघिसम्म सन्तुको सपना अर्कै थियो । मानबहादुर रुसबाट फर्केलान र सुबिस्ताको जीवन बिताउन पाइएला भन्न कल्पना थियो । तर युक्रेनसँगको युद्धले उनको सबै सपना खोसिदियो ।  

रुसी सेनामा भर्ती भएका मानबहादुर रुस-युक्रेन युद्धको अग्रमोर्चामा मारिएपछि उनको परिवार यतिबेला गहिरो शोक र अन्योलमा छ । ‘श्रीमान्‌को शव आउँछ कि भनी बाटो हेरीँ बसेँ । रुसबाट चिनेजानेकाले शव पठाउँदैन बरु तिमी नै यतै आउने प्रक्रिया गर्नु भनेपछि म जान लागेको हुँ,’उनले भनिन्,‘रुस जाने सबै कागज तयार पारिसकेँ । अब दूतावासमा गएर निवेदन दिन्छु ।’ 

अहिले पनि घटना सत्य हो जस्तो लाग्दैन सन्तुलाई । कुरा गर्दागर्दै उनको गला अवरुद्ध हुन्छ । श्रीमान् बितेको खबर सुन्नासाथ उनले आफन्त र साथीहरूसित सहयोग मागिन् । तर कसैगरी पनि शव ल्याउन सक्ने नदेखेसी उनी आफैं रुस जान कस्सिएकी हुन् ।

परिवारको आर्थिक अवस्था उकास्ने र छोराछोरीको भविष्य उज्ज्वल बनाउने आशामा मानबहादुर रुसी सेनामा भर्ती भएका थिए ।  युद्धमा मानबहादुरले ज्यान गुमाएको खबरले ब्रह्मटोल गाउँ नै शोकमा डुबेको छ । घरको खम्बा नै पराई देशको माटोमा ढलेपछि तामाङ परिवारमाथि बज्रपात परेको छ । मानबहादुरको मृत्यु भएको तीन महिना बित्न लाग्दा पनि रुसी सरकारले शव नेपाल पठाउने प्रक्रियामा कुनै तत्परता नदेखाएको सन्तुले गुनासो गरिन् । 

श्रीमान्‌को अवस्था र शवको लागि एक साताअघि रुसी दूतावास जाँदा उताबाट केही खबर नआएको भनेर फर्कादिए । शव आउने सम्भावना कम छ भनेपछि उनी आफैं रुस जान लागेकी हुन् । 

कोभिड-१९ महामारी सुरू हुनुअघि मानबहादुर गाउँमै कुखुरा पालेर बसेका थिए । १५ लाख ऋण लिएर फार्म चलाए पनि सोचेजस्तो आम्दानी हुन सकेन । त्यसपछि उनी २०८० साल कात्तिकमा रुस हान्निए । रुसमा रहँदा जहिल्यै श्रीमतीसँग फोनमा पैसा कमाएर छिट्टै फर्किने बताउँथे । त्यसो त मानबहादुरले २५/२६ लाख ऋण रुसी सेनामा भर्ती भएको दुई वर्षमै चुक्ता गरिसकेका थिए । 

केही समयपछि त उनले आफ्नी श्रीमती सन्तु लाई पनि रुस नै बोलाउने तयारी थाले । उनले परिवारलाई विश्वास दिलाएका थिए, रुसकै नागरिकता बनाइसकेकोले उतै 'सेटल' हुनुपर्छ । तर रुसमा उनले सोचेजस्तो र सजिलो जागिर भने थिएन । रुसी सेनामा भर्ती भएका उनी युक्रेनसँगको युद्धमा अग्रमोर्चामै खटिए । युद्धकै क्रममा युक्रेनी ड्रोनबाट खसेको बमले उनको ज्यान लियो । घरमा फोन गर्ने मान्छेको आवाज सधैंका लागि बन्द भयो । 

सन्तुले बारम्बार फोनमा सोधिरहन्थिन्, लडाइँको अवस्था कस्तो छ ? मानबहादुर भने आश्वस्त पार्थे, कुनै खतरा छैन, पहिलेजस्तो लडाइँ पनि छैन । तर केही समयपछि मानबहादुरसँग सन्तुको सम्पर्क हुन छाड्यो । त्यसपछि पूर्वखोला, पाल्पाका विवश पंगेनीसँग सन्तुले टिकटकमै सम्पर्क गरिन् । विवशले नै सुनाएका थिए-मानबहादुर ड्रोन आक्रमणमा परेको दु:खद् खबर । विवशले भने सैनिकहरूकै समूहको च्याटबाट मानबहादुरको खबर थाहा पाइसकेका थिए । 

मानबहादुरको मृत्युको खबर पाउनासाथ विवशले शव लिन जाने साथीलाई  तस्बिर खिचेर पठाउन भनेका थिए । ‘सुरूमा पत्यार नै लागेन,’ विवशले कान्तिपुरसँग,‘मानबहादुरको तस्बिर प्राप्त भएपछि मात्र मृत्युको पुष्टि भयो ।’ मानबहादुर र विवश केही समय सँगै सैनिक क्याम्पमा पनि बसे । पछि मानबहादुर रुस-युक्रेन सीमाक्षेत्रको सोलेदार र सिभर्सकेको बीचमा पर्ने पेराइजनको युद्ध-मोर्चामा खटिए । उनीसँगै पोस्टमा खटिएका  पाल्पाका माधवप्रसाद न्यौपाने सकुशल रहेको विवशले जानकारी दिए । सन्तुले भने माघ २९ गतेमात्रै श्रीमान् आक्रमणमा परेको खबर सुनेकी थिइन् । 

मानबहादुर ‍रुस पुग्नासाथ मस्कोमै सेनामा भर्ती भएका थिए । तालिमका क्रममा विवशको उनीसँग भेट भएको थियो । भर्ती हुने २५ जना भए पनि तालिम लिएका १० जना भने युद्ध क्षेत्रबाटै भागेको विवश सुनाउँछन् । 

मानबहादुर रुस जाने बेलामा कलकींस्थित लुम्बिनी बैंकमा रहेको दिनेश भट्टराईको खातामा ०८० असोज ४ गते सन्तुले ३ लाख ४० हजार रुपैयाँ जम्मा गरिदिएकी थिइन् । त्यसको भर्पाई सन्तुले सुरक्षित राखेकी छन् । तिनै भट्टराईलाई सबैभन्दा पहिले सम्पर्क गर्न खोजे पनि उनले सकिनन् । 

मानबहादुर असोजको पहिलो साता भारत गएका थिए । उतैबाट रुस जाने तयारीमा थिए । दलालले प्रक्रिया पूरा गर्न सकिएन भनेपछि नेपाल फर्किएका थिए । त्यसको एक महिनापछि कात्तिकमा नेपालबाटै सन्तु रुस गए ।

उनका चार दाजुभाइ छन् । सबै अलग भइसकेका छन् । रुस जानुअघि आफ्नो भागमा परेको ९ कठ्ठा जग्गा समेत बिक्री गरेर मानबहादुरले व्यापार थालेका थिए । ‘जति सक्दो नेपाल सरकारले भाइको शव ल्याइदिए हुन्थ्यो तर अब ल्याउने छाँट देखिएन,’ भाइको शवको प्रतीक्षामा बसेको दाजु बाबु तामाङले बताए । 

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर  पौडेल क्षेत्री भने सरकारले सम्भव भएसम्म शव ल्याउन प्रयास गरिरहेको बताए । उनले भने, 'यही घटना त मेरो जानकारीमा भएन । कन्सुलरलाई थाहा होला । हामीले पहिलो त रुसी वा युक्रेनी सेनामा भर्ती नहुन नै भनेका छौँ । यसका बाबजुद पनि अप्ठेरोमा परेको अवस्थामा उद्धार र शव ल्याउन परिवारको चाहनाअनुरूप हरसम्भव प्रयास गरिरहेका छौँ ।' 

२४ फेब्रुअरी २०२२ देखि रुस–युक्रेन युद्ध जारी छ । युक्रेनसँगको युद्धमा अनपेक्षित क्षति भोगेपछि राष्ट्रपति भ्लादिमिर पुटिनले सैनिक संख्या बढाउन विदेशी नागरिक भर्ती भएमा करिब ३ लाख रुबेल तलब र एक वर्षपछि सिधै रुसी नागरिकता दिने नीति ल्याएका थिए ।

परराष्ट्र मन्त्रालय,  कन्सुलर विभागका अनुसार रुसी सेनामा भर्ती भएकामध्ये १ सय १८ जना नेपालीले ज्यान गुमाउनुपर्‍यो । १ सय ३२ अझै बेपत्ता छन् भने २ सय १९ जना घाइते भएका छन् । कन्सुलर विभागले मृत्यु प्रमाणित गर्न रुसको पत्रअनुसार डीएनए नमुनाको संकलन गरी पठाउँदै आइरहेको छ । 

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully