रुस-युक्रेन युद्धका बारेमा शन्तुले श्रीमान् मानबहादुरसित जानकारी लिइरहन्थिन् । मानबहादुरले सान्त्वना दिन पहिलाको जस्तो लडाइँ छैन भनेर आश्वस्त पार्थे । युक्रेनले प्रहार गरेको ड्रोन आक्रमणमा परी मानबहादुरको गएको माघ २७ गते साँझ मृत्यु भएको हो ।
What you should know
रौतहट — गुजरा नगरपालिका–२ ब्रम्हटोलका ४५ वर्षीय मानबहादुर तामाङ कोभिडअघि गाउँमै कुखुरा फार्म संचालन गर्थे । फारम सुरु गर्न गाउँमा झण्डै १५ लाख ऋण गरेका थिए । यसबाट घाटा हुन थालेपछि एक्कासी वैदेशिक रोजगारीका लागि रुस जाने सोच बनाए ।
त्यही क्रममा २०८० कात्तिकमा रुस उडे । त्यहाँ कमाएर परिवारलाई खुसीसाथ लालनपालन गर्ने योजना बनाएका मानबहादुरले श्रीमती शन्तु तामाङलाई रुसमै बोलाउने तयारी गरेका थिए । त्यसका लागि उनले परिवारलाई रुसकै नागरिकता बनाइसकेकोले यतै आउनु पर्छ भनेका थिए । उनी रुसी सेनामा भर्ना भएर युक्रेन युद्धको अंग्रपंक्तिमा थिए ।
सबै ठिकठाक थियो । कुखुरा फार्म चलाउँदा र रुस जाँदा झण्डै २५/२६ लाख ऋण बोकेका मानबहादुरले रुसी सेनामा भर्ना भएपछि दुई वर्षको अवधिमा चुक्ता गरिसकेका थिए । उनले तीन महिना अघिसम्म घरमा पैसा पठाइरहेका थिए । पछिल्लो समय उतै पैसाको काम पर्ने भनेर श्रीमतीलाई पठाएनन् । शन्तुलाई रुस नै आउनु पर्छ, प्रक्रिया मिलाउँदै छु भनेका थिए । त्यसका लागि रकम खर्च हुने भनेर घरमा पैसा पठाएनन् । श्रीमानले बोलाएपछि शन्तुले पनि उतै जाने मनस्थिति बनाएकी थिइन् ।
रुस-युक्रेन युद्धका बारेमा शन्तुले श्रीमान् मानबहादुरसित जानकारी लिइरहन्थिन् । मानबहादुरले शन्तुलाई सान्त्वना दिन पहिलाको जस्तो लडाइँ छैन भनेर आश्वस्त पार्थे । पछिल्लो एक सातादेखि श्रीमानसित सम्पर्क नभएपछि मनमा चिसो पसेको शन्तुले बताइन् । ‘न फोन आउँछ, न म्यासेज नै रिप्लाई हुन्छ । म आत्तिसकेकी थिए,’ उनले भनिन्,‘मैले उनीसँगै पहिला बसेका पाल्पाका भाई विवशसित टिकटकमा सम्पर्क गरे । उनले मानबहादुर ड्रोन आक्रमणमा परे भने । त्यसपछि आफुलाई सम्हाल्न सकिन । मलाई सपना जस्तै लागेको छ । मेरो जीवनमा ठूलो बज्रपात पर्यो ।’
यसअघि पनि मानबहादुरसित सम्पर्क टुट्नासाथ शन्तुले पाल्पाको पूर्वखोला गाउँपालिका–३ घरभएका विवश पंगेनीसित टिकटकमा खबर सोध्ने गर्थिन् । युक्रेनले प्रहार गरेको ड्रोन आक्रमणमा परी मानबहादुरको गएको माघ २७ गते साझ मृत्यु भएको थियो । यो खबर विवशले आफ्नो सैनिकहरुको ग्रुपको च्याटबाट थाहा पाइसकेका थिए । उनी संलग्न ८८ औं बटालियनको ग्रुप च्याटमा ड्रोन आक्रमणमा परेर मानबहादुर घाइते भएको र उपचारका लागि लिन आउनु भनेर सेनाको बेशमा खबर आए पछि उनले चासो लिएका थिए । ‘सुरुमा मलाई पनि विश्वास नै लागेन । पछि घाइते हैन मृत्यु नै भइसकेको छ, भन्ने खबर आयो,’ विवशले कान्तिपुरसित भने,‘मैले शव लिन जाने टोलीलाई फोटो खिचेर पठाउन भने । उताबाट फोटो प्राप्त भए पछि मात्र मृत्युको पुष्टि भयो ।’
मानबहादुर र विवश केही समयसँगै सैनिक क्याम्पमा बस्थे । पछि उनी रुस–युक्रेन सिमाक्षेत्रको सोलेडर र सिभर्सकेको बीचमा पर्ने पेराईजन भन्ने युद्ध क्षेत्रको पोष्टको फ्रन्टलाइनमा खटिएको विवशले सुनाए । उनीसँगै पोष्टमा खटेका पाल्पाका माधवप्रसाद न्यौपाने सकुशल रहेको विवशले जानकारी दिए ।
मानबहादुर आक्रमणमा परी मृत्यु भएको शन्तुले माघ २९ गते बिहीबार मात्र थाहा पाएकी थिइन् । ‘एकैचोटी यस्तो भयो भनेर सुनाउँदा परिवारमा के बित्ला भनेर आफुहरुले पहिला कन्फर्म गरेर मात्र भनौं भन्ने लागेर दुई दिन ढिला खबर गरे,’ विवशले भने । अहिले पनि रुसी सेनामा नेपालीको संख्या धेरै भएको उनी सुनाउँछन् । मनबहादर र विवश कार्यरत रहेको क्षेत्रको दुरी २५ किलोमिटर छ ।
मानबहादुर घरबाट रुस पुग्नासाथ कात्तिकमै मस्कोस्थित सेनामा भर्ना भएका रहेछन् । भर्ना पछि तालिममा मानबहादुर र विवशको भेट भएको थियो । उनीहरु २५ जनाको समूह रहेको र तालिम लिएर युद्धग्रस्त क्षेत्रमा खटिएकामध्ये १० जना बढी नेपाली भागेको विवशले सुनाए । मानबहादुरको मृत्युपछि अझै ५ जना नेपाली त्यही क्षेत्रमा खटिएको विवशले जानकारी दिए । ‘यहाँ बिजुली, पानी केही छैन् । जेनेटरको भरमा रात, दिन बिताउनु पर्छ,’ विवशले भने ।
शन्तुका ५ वर्षीय छोरी छिन् । घटना थाहा पाउनासाथ शन्तु बिहीबार नै काठमाडौं गएकी छन् । अब कोसित सम्पर्क गर्ने भन्ने अन्यौलमा परेको उनले सुनाइन् । श्रीमान्् जाने बेला दिनेश भट्टराई भन्ने व्यक्तिलाई उनले ०८० असोज ४ गते ३ लाख ४० हजार रकम लुम्बिनी बैंकको कलंकी शाखामा जम्मा गरेकी थिइन् । त्यसको भौचर शन्तुले सुरक्षित राखेकी छन् । तिनै भट्टराईलाई सम्पर्क गर्न भन्दै उनी काठमाडौं गएकी हुन् । भट्टराईसित सम्पर्क गर्ने प्रयास गरे पनि उनको नम्बर र ठेगाना थाहा हुन सकेको छैन् ।
मानबहादुर असोज पहिलो साता भारत गएका थिए । उतैबाट रुस जाने तयारीमा थिए । दलालले प्रक्रिया पूरा गर्न सकिएन भने पछि उनी नेपाल फर्किएका थिए । त्यसको एक महिनापछि कात्तिकमा नेपालबाटै रुस गएको शन्तुले बताइन् । उनका चार दाजुभाई सबै अलग भइसकेका छन् ।
आफ्नो भागमा परेको ९ कठ्ठा जग्गा समेत बिक्रि गरेर मानबहादुरले व्यापार थालेका थिए । त्यसबाट प्रतिफल नआए पछि उनी वैदेशिक रोजगारीमा जाने निधोमा पुगेका हुन् । भाईको शव नआएसम्म काजकिरियाको प्रक्रिया नगर्ने दाजु बाबु तामाङले बताए । ‘जति सक्दो सरकारले भाईको शव ल्याउन पहल गरोस्,’ उनले भने,‘हामी भाईको शव आएपछि मात्र अन्तिम सस्कार गर्छौं ।’ मानबहादुर सरल स्वभावका थिए । उनी आफ्नो कामप्रति लगनशील थिए । उनको मृत्युपछि गाउँ शोकमग्न छ ।
मानबहादुरको शव त्यहाँको बटालियनले प्रक्रिया पुर्याएपछि मात्र रुसी सेनामा भर्ती हुनेलाई तालिम दिइने स्थान रुस्तममा लगिने विवशले जानकारी दिए । विवश पनि भिजिट भिसामा दुबई हुँदै ०८० सालमै रुस गएका थिए । अब रुस युक्रेन युद्ध समाप्त नभएसम्म जान नदिने भनेर त्यहाँका सैनिक अधिकारीहरुले भनेपछि उनी पनि अलमलमा परेका छन् । आफुहरुसित भएको सम्झौता सकिएपछि नेपाल फर्कन पाउनु पर्नेसम्मको वातावरण बनाउन सरकारले पहल थाल्नुपर्ने उनले सुनाए ।
