युक्रेनसँगको युद्धमा अनपेक्षित क्षति भोगेपछि राष्ट्रपति भ्लादिमिर पुटिनले सैनिक संख्या बढाउन विदेशी नागरिक भर्ती भएमा करिब ३ लाख रुबेल तलब र एक वर्षपछि सिधै रुसी नागरिकता दिने नीति ल्याएका थिए ।
What you should know
काठमाडौँ — रुस–युक्रेनबीच युद्ध सुरु भएको २४ फेब्रुअरी २०२२ को दिनलाई गोरखाका सञ्जित भट्ट सम्झिरहन्छन् । एक महिनाअघि मात्रै युक्रेनको राजधानी किभ पुगेका उनी युद्धमा ज्यान जोगाउन नजिकको पोल्यान्डस्थित लभिभ जाने सोचे ।
सार्वजनिक बस चलेको थिएन । सीमासम्म पैदल हिँड्नुको विकल्प थिएन । ‘जंगलको बाटो हुँदै लगातार पाँच दिन हिँडेर बोर्डर पुगेका थियौं,’ उनले भने, ‘त्यतिखेर कसैले कसैलाई सहयोग गर्ने परिस्थिति थिएन । बाटोमा हामी मात्रै थिएनौं । भारतीय, पाकिस्तानी र युक्रेनी पनि थिए ।’
एकातिर युक्रेनबाट झन्डै दुई हजार नेपाली सुरक्षित निस्कन सफल भएका थिए भने अर्कोतिर त्यहीबेला रुसी सेनामा भर्ना हुने नेपालीको लस्कर पनि त्यति नै थियो । नेपाल, कतार, संयुक्त अरब इमिरेट्सदेखि मलेसियासम्म काम गरिरहेका नेपालीहरू रुसी सेनामा भर्ना हुन थाले ।
‘आर्मी हुने पुरानो इच्छा जाग्यो, घरमा थाहै नदिई म ‘स्टुडेन्ट भिसा’ मा १० लाख बुझाएर रुस पुगें । जबकि यो कुरा कन्सल्टेन्सीलाई पनि थाहा थिएन, म रसियामा आर्मी हुन जाँदैछु भनेर,’ दैलेखका प्रकाश बोहराले भने, ‘रुस पुगेको पाँच दिनभित्रै भर्ती भएँ । सात दिनको तालिमपछि रुस–युक्रेन बोर्डरमा पठाइयो । त्यहाँ गोली चलाउन, बंकर अट्याक गर्न र ग्रेनेडबाट बच्न सिकें । हामी तीन सय जनाको टोली १८ घण्टा लामो यात्रा तय गरेर युक्रेनको धेरै भित्रसम्म पुग्यौं ।’
प्रकाशको त्यसपछिका १८ महिना जीवनकै सबैभन्दा भयानक बन्यो । ‘आँखै अगाडि साथीहरू मरेको देखें, टाउको माथिबाट मिसाइलहरू सुइँ–सुइँ उडेको देखिन्थ्यो । फ्रन्टलाइनमा जाने साथीहरू फर्किएर नआए घरमा खबर गरिदिनू भनेर जान्थे । ३० जनाको टोली १०–१५ दिनपछि फर्किंदा ५–१० जना मात्रै हुन्थे,’ उनले भने, ‘प्रत्येक दिनरात मैले मृत्युलाई नजिकबाट नियालें । तर १८ महिना युद्धमा रहँदा मलाई एउटा सानो चोट पनि लागेन ।’ तर सबै प्रकाश जस्तो भाग्यमानी हुन पाएनन् ।
परराष्ट्र मन्त्रालय, कन्सुलर विभागका अनुसार रुसी सेनामा भर्ती भएकामध्ये १ सय १८ जना नेपालीले ज्यान गुमाउनुपर्यो । १ सय ३२ अझै बेपत्ता छन् भने २ सय १९ जना घाइते भएका छन् । कन्सुलर विभागले मृत्यु प्रमाणित गर्न रुसको पत्रअनुसार डीएनए नमुनाको संकलन गरी पठाउँदै आइरहेको छ ।
गत २७ माघमा ड्रोन हमलामा परी मृत्यु भएका गुजरा नगरपालिका–२, रौतहटका ४५ वर्षीय मानबहादुर तामाङको आधिकारिक सूचना सरकारले दिएको छैन । ‘युद्धका बारेमा श्रीमान्सँग कुरा भइरहन्थ्यो । पहिलाको जस्तो लडाइँ छैन भनेर आश्वस्त पारिरहनुहुन्थ्यो । केही दिन सम्पर्क नभएपछि मनमा चिसो पस्यो । न फोन, न म्यासेजको रिप्लाइले आत्तिसकेकी थिएँ,’ उनले भनिन्, ‘मैले पहिले उनीसँगै बसेका पाल्पाका विवशसँग टिकटकमा सम्पर्क गरें । उनले ड्रोन आक्रमणमा मृत्यु भएको खबर सुनाए ।’
पछिल्लो समय रुसी नागरिकता लिइसकेका नेपाली युद्धमा सहभागी भइरहेका छन् । तीन वर्षदेखि रुसी सेनामा कार्यरत जनम राईले पछिल्लो समय नेपाल फर्किन नपाएको बताए । ‘नेपाल आउन खोजिरहेका छौं तर फर्कन दिइएको छैन,’ उनले भने, ‘न त रुसी सेनामा भर्ती हुन आउने नेपालीको लर्को नै रोकिएको छ ।’ रुस र युक्रेनबीचको युद्ध चलिरहँदा विश्वभरबाटै अवैध रूपमा ठूलो संख्यामा युवा रुसी सेनामा भर्ती भइरहेका छन् ।
रुस-युक्रेन युद्ध चार वर्ष पुग्दा दुवै पक्षले ठूलो जनधन र भूभाग गुमाएका छन्। २४ फेब्रुअरी २०२२ देखि रुस–युक्रेन युद्ध जारी छ । युक्रेनसँगको युद्धमा अनपेक्षित क्षति भोगेपछि राष्ट्रपति भ्लादिमिर पुटिनले सैनिक संख्या बढाउन विदेशी नागरिक भर्ती भएमा करिब ३ लाख रुबेल तलब र एक वर्षपछि सिधै रुसी नागरिकता दिने नीति ल्याएका थिए ।
त्यही कारण कतिपय नेपाली युवा मानव तस्करमार्फत भारत, खाडी र मलेसिया हुँदै मस्को पुगेर सेनामा भर्ती भएका थिए । रुसमै अध्ययनरत कतिपय नेपाली विद्यार्थी पनि सेनामा भर्ती भएर युद्धमैदानमा खटिएका थिए । रुसले आधिकारिक संख्या उपलब्ध नगराए पनि कम्तीमा १५ सय हाराहारी नेपाली त्यहाँको सेनामा भर्ना भएको अनुमान छ ।
