२०२६ फेब्रअरीसम्म युक्रेनका अधिकांश उर्जा उत्पादन केन्द्रमा रूसी आक्रमणबाट क्षति पुगेको रसिया म्याटर्समा उल्लेख छ । बिजुली अभावले किभका १२ हजार अपार्टमेन्टमध्ये झन्डै आधामा हिटिङ प्रणाली काम नलाग्ने भयो ।
What you should know
एजेन्सी — युरोपमा एक्काइसौं शताब्दीकै ठूलो युद्ध सुरु हुनअघि बेलायतस्थित थिंक–ट्यांक संस्था रोयल युनाइटेड सर्भिसेज इन्स्टिच्युटको अनुसन्धानले १० दिनभित्रै रुसले युक्रेन कब्जा गर्नसक्ने निष्कर्ष निकालेको थियो । २४ फेब्रुअरी २०२२ मा रुसले आक्रमण गर्यो । चार वर्ष भयो, तर यो युद्ध अन्त्य हुने कुनै छाँट देखिएको छैन ।
युक्रेनबाट टुक्रिएर रुसको नियन्त्रणमा पुगेका भूभाग डोनेट्स्क र लुहान्स्क तथा नाटो गठबन्धनमा युक्रेनको सम्भावित सदस्यता युद्धका मुख्य कारण थिए । यस विनाशकारी युद्धको चपेटामा अहिलेसम्म (फेब्रुअरी २०२२ देखि डिसेम्बर २०२५ सम्म) दुबै तर्फबाट मृत्यु वा घाइते हुनेको संख्या कम्तिमा १८ लाख रहेको अमेरिकास्थित सेन्टर फर स्ट्रयाटिजिक एन्ड इन्टरनेशनल स्टडिज (सीएसआईएस) ले अनुमान गरेकोे छ ।
राष्ट्रसंघको मानवअधिकार कार्यालयले १५ हजारभन्दा धेरै मानिसको मृत्यु पुष्टि गरेको छ । तर, वास्तविक संख्या यसभन्दा धेरै हुनसक्ने अनुमान लगाइएको छ । मृत्यु हुनेमा ठूलो संख्यामा बालबालिका, महिला र सर्वसाधारण छन् । रुसी पक्षमा झन्डै ३ लाख २५ हजारको मृत्यु तथा युक्रेनतर्फ १ लाख ४० हजारको मृत्यु भएको सीएसआईएसको प्रतिवेदनले अनुमान गरेको छ । तर, यसको स्वतन्त्र पुष्टि भएको छैन ।
युद्ध अन्त्य गर्ने विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा वार्ता भइरहेको छ । उनले राष्ट्रपतिको चुनावी अभियानका दौरान आफु विजयी भए २४ घण्टाभित्रै युद्ध अन्त्य गर्नसक्ने दाबी गरेका थिए । तर विगत एक वर्षदेखिका प्रयासहरु सफल नभएपछि वार्ता प्रयासमा सुधार देखिएपनि युद्ध अन्त्य आफैंमा जटिल रहेको प्रतिक्रिया दिन थालेका छन् ।
गत शुक्रबार पनि जेनोभामा अमेरिकाको मध्यस्थतामा त्रिपक्षीय वार्ता भएको थियो । दुबै पक्षले वार्ता सकारात्मक भएको बताएपनि युद्धविराम सम्झौतामा पुग्न सकेका छैनन् ।
रुसले डोन्बस क्षेत्रको ८० देखि ९० प्रतिशत भूभाग कब्जा गरेको छ । डोन्बसका दुई प्रान्तमध्ये लुहान्स पूर्ण रुपमा रुसको कब्जामा छ । डोनट्स्कमा झन्डै २० प्रतिशत युक्रेनको उपस्थिती छ । रुसले युद्ध अन्त्यका लागि यस क्षेत्रबाट युक्रेनी सेना फर्कनुपर्ने माग गरेको छ ।
त्यस्तै, डोन्बस क्षेत्र रुसलाई सुम्पनुपर्ने माग पनि गरेको छ । यस प्रस्ताव युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अस्विकार गर्दै आएका छन् । किनकी, युक्रेको संविधानअनुसार भूमि टुक्र्याउने काम कुनै पनि सरकारले गर्न सक्दैन ।
यसका लागि जनमतसंग्रह विकल्प हुनसक्ने विकल्प अमेरिकाले अघि सारेको छ । तर, जेलेन्स्कीले युक्रेनी जनताले आफ्नो भूभाग रुसलाई सुम्पने फैसला गर्नै नसक्ने बताएका छन् ।
आर्थिक मुद्दाहरूले पनि अहिलेसम्म शान्ति वार्तालाई प्रभावित गरिरहेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई देशको अर्थतन्त्रले लामो समयसम्म युद्ध धकेल्नसक्छ भन्ने विश्वास छ ।
उता, अमेरिकाले हतियार पठाउन छाडेसँगै युक्रेन दबाबमा छ । युरोपेली साझेदारहरुले युक्रेनलाई अझै पनि सहयोग जारी राखेका छन् । तर, यसले उनीहरुकै आन्तरिक राजनीतिलाई प्रभावित गरेको छ ।
युरोपेली युनियनको सदस्य हंगेरीले विगतमा युक्रेनलाई दिने भनिएको ९० अर्ब आपतकालीन ऋण रोक्ने धम्की दिइसकेको छ । युद्ध बढ्दै जाँदा युरोपका अन्य क्षेत्रमा युक्रेनी शरणार्थीको भीड बढ्दो छ । यसले ती देशको आन्तरिक राजनीति र रोजगारीमा असर गरेको छ ।
रुसले पछिल्लो समय हवाई आक्रमणहरु बढाएको छ । उसले युक्रेनका उर्जा केन्द्र तथा महत्वपूर्ण पूर्वाधारलाई क्षति पुर्याउने काम गरिहेको छ । जसकारण, युक्रेनले विदेशबाट बिजुली आयात उत्पादन गर्नुपर्ने बाध्यता छ । यस्ता रणनीतिमार्फत युक्रेनलाई आर्थिक रुपमा कमजोर बनाएर दबाबमा राख्ने रणनीति रुसको छ ।
२०२६ फेब्रअरीसम्म युक्रेनका अधिकांश उर्जा उत्पादन केन्द्रमा रूसी आक्रमणबाट क्षति पुगेको रसिया म्याटर्समा उल्लेख छ । बिजुली अभावले किभका १२ हजार अपार्टमेन्टमध्ये झन्डै आधामा हिटिङ प्रणाली काम नलाग्ने भयो ।
यसका बाबजुद युक्रेनले आफ्नो प्रत्याक्रमण र प्रतिरोधलाई जारी राखेको छ । युक्रेनले आफ्ना युरोपेली सहयोगी र अमेरिकासँग सहयोग लिएर चार वर्षसम्म लडाँइ लड्यो । यस महिना अहिलेसम्म लगभग ३०० वर्ग किलोमिटर मुक्त गरेको छ ।
सन् २०२३ पछि युक्रेनी सेनाले फिर्ता ल्याएको यो सबैभन्दा धेरै भूमि हो । स्टारलिंकले रुसी सेनालाई इन्टरनेट सुविधा दिन बन्द गर्दाको फाइदा युक्रेनले उठायो ।
युद्ध लम्बिदैं जादाँ रुसले ईरानबाट हतियार र उत्तर कोरियाबाट सैन्य सहयोग लिएको छ । विश्वभरबाट अवैध रुपमा ठूलो संख्यामा युवाहरु रुसी सेनामा भर्ति हुन पुगेका छन् । युक्रेनले यो युद्ध आफ्नो लागि मात्रै नभएर समग्र युरोपका लागि महत्वपूर्ण हुने विषयमा युरोपेली साझेदारहरुलाई सहमत गराएको छ ।
बीबीसीसँगको पछिल्लो कुराकानीमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पुटिनले तेस्रो विश्वयुद्ध सुरु गरिसकेको दाबी गरेका छन् । पुटिनको हस्तक्षेप रोक्न कठिन सैन्य प्रत्याक्रमण र आर्थिक दबाब जरुरी रहेको उनले बताएका छन् ।
‘प्रश्न उनले कति भूभाग कब्जा गर्छन् र कसरी उनलाई रोकिनेछ भन्ने मात्रै होइन । उनले अहिले हाम्रा केही भूभाग (डेनेटस्क, खेर्सन र जापोरिझझिया) चाहिरहेका छन् । तर यसलाई भूमीसँगमात्रै हेर्दिंन । यो त हामीलाई कमजोर बनाउने , त्यहाँबाट मानिसहरुलाई बिस्थापित गराउने रणनीति हो,’ जेलेन्स्कीले भने, ‘सायद यति पाए भने उनी केही समय सन्तुष्ट हुनेछन् । उनी चुप रहनेछन् । तर फेरि त्यसपछि अगाडि बढ्न खोज्नेछन् । हाम्रा युरोपेली साझेदारहरु तीनदेखि पाँच वर्ष उनी रोकिनेछन् भन्ने ठान्छन् । तर, मलाई लाग्छ उनी निकै चाडोँ फेरि अघि बढ्नेछन् । किन उनी यस्तो छन्, त्यो थाहा भएन ? तर, उनी युद्ध निरन्तर जारी राख्न चाहन्छन् ।’
यस युद्धको सुरुवातमा रुसले आफ्ना पुराना हतियार प्रयोग ग¥यो । पछिल्ला महिना दुबै पक्षले अत्याधुनिक ड्रोनको व्यापक प्रयोग गरेका छन् ।
यस युद्धले अन्तर्राष्ट्रिय विश्वास, सार्वभौमसत्ताको नियम र अहस्तक्षेप नीतिलाई नजरअन्दाज गरेको अमेरिकी अर्थशास्त्री केनिथ रोगोफ बताउँछन् । वैश्विक इन्धन, खाद्यान्न चक्र र मुद्रास्फितिमा यसको असर देखिएको उनको बुझाई छ । यसको असर युरोदेखि इन्डो–प्यासेफिक क्षेत्रसम्म रहेको उनले बताए ।
युक्रेनविरुद्धको युद्धले रुसलाई भविष्यमा थप असुरक्षित बनाउने लेखक जोन टेफ्टको विश्लेषण छ । रुसमा अपराध दर, घट्दो जनसंख्या, आर्थिक कठिनाइ, दमन र भ्रष्टाचार बढेको आँकलन उनको छ । ‘युक्रेनमा रूसको युद्धको परिणाम जे भए पनि, यसले रूस भित्र उत्पन्न गरेको परिवर्तनहरू गहिरो र हानिकारक हुने जोखिम छ । रुसी अर्थतन्त्रको लागि दीर्घकालीन मूल्य चर्को पर्नेछ,’ रान्ड स्कुल अफ पब्लिक पोलिसीको वेवसाइट रान्ड डटकममा उनले लेखेका छन् ।
