चार महिनादेखि म्याद गुज्रेका हजारौं पासले चलेको छ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रयोग हुने फोटोसहितको पासको म्याद २०२५ डिसेम्बरमै सकिएको थियो । तर, नयाँ कार्ड समयमै आउन सकेन । नतिजा- विमानस्थलभित्र काम गर्ने झण्डै १४ हजार मानिस चार महिनादेखि पुरानै, म्याद गुज्रेको कार्ड बोकेर काम गर्न बाध्य छन् ।

वैशाख ६, २०८३

सुरज कुँवर

Tribhuvan International Airport has been operating with thousands of expired passes for four months

What you should know

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वी एप्रोनमा त्यस दिन एउटा विशेष दृश्य थियो । बुद्ध एयरले १६ वर्षअघि किनेको आफ्नो पहिलो एटीआर–७२ विमानलाई अन्तिम बिदाइ गर्दै थियो । नेपालकै निजी हवाई इतिहासमा त्यो एउटा भावुक क्षण थियो ।

एउटा विमान, जसले आफ्नो पूरै जीवन उडेर बितायो । पहाड, तराई, मौसम, कुहिरो र हजारौं यात्रुको सम्झना बोकेको त्यो विमान सेवा मुक्त हुँदै थियो । अझ रोचक त के भने, नेपालबाट मात्र होइन, विश्वमै पहिलोपटक एउटा एटीआर–७२ विमान ७० हजार साइकल पूरा गरेर बिदाइ हुँदै थियो ।

त्यसैले समारोह सामान्य थिएन । बुद्ध एयरका कर्मचारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारी, विदेशी पाहुना, हवाई क्षेत्रका प्रतिनिधि सबै त्यहाँ थिए । एटीआर कम्पनीका वरिष्ठ उपाध्यक्ष स्टेफानो माराजानी स्वयं समारोहमा सहभागी थिए ।

Tribhuvan International Airport has been operating with thousands of expired passes for four months

तर, विमानको ऐतिहासिक बिदाइको त्यो दिन, विमानस्थलभित्र अर्को एउटा दृश्य पनि उत्तिकै प्रष्ट देखिन्थ्यो- कार्यक्रममा सहभागी अधिकांशको घाँटीमा झुण्डिएको पासको म्याद सकिएको थियो ।

तीन महिनाअघि नै म्याद गुज्रेको परिचयपत्र बोकेर मानिसहरू नेपालको सबैभन्दा संवेदनशील क्षेत्रभित्र सहजै ओहोरदोहोर गरिरहेका थिए ।

‘आईडी कार्ड ठूलो कुरा होइन । तर, विमानस्थल संवेदनशील स्थल हो । अनि त्यहाँभित्र पस्ने पास तीन महिनादेखि म्याद सकिएको सबैले भिरेका थिए,’ समारोहमा सहभागी एक व्यक्तिले भने, ‘हामी नेपाली त जसोतसो चलाउँछौं । तर, विदेशी अतिथिलाई कस्तो महसुस भयो होला  सबैले नक्कलीजस्तै देखिने, म्याद सकिएको कार्ड बोकेर कार्यक्रममा सहभागी थिए ।’

विडम्बना के भने, यो पास प्रणालीको मुख्य जिम्मेवारी सम्हाल्ने निकायका अधिकारी स्वयं पनि त्यही अवस्थामा थिए । नेपाल नागरिक उड्डयन प्राधिकरणका तर्फबाट विमानस्थल प्रमुख रहेका टेकनाथ सिटौलाले समेत म्याद गुज्रेको पास नै भिरेर सभामा सहभागी भएका देखिन्थे । उनको कार्डको म्याद (डिसेम्बर २०२५)सकिएको कुरा टाढैबाट स्पष्ट देखिन्थ्यो ।

१४ हजार मानिस, एउटै समस्या

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रयोग हुने फोटोसहितको पासको म्याद २०२५ डिसेम्बरमै सकिएको थियो । तर, नयाँ कार्ड समयमै आउन सकेन । नतिजा- विमानस्थलभित्र काम गर्ने झण्डै १४ हजार मानिस चार महिनादेखि पुरानै, म्याद गुज्रेको कार्ड बोकेर काम गर्न बाध्य छन् । 

यीमध्ये ३१ वटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका कर्मचारी छन् । २१ वटा स्वदेशी फिक्स्ड विङ र हेलिकोप्टर कम्पनीका कर्मचारी छन् । ग्राउन्ड ह्यान्डलिङ गर्ने नेपाल वायुसेवा निगम, नेपाल प्रहरी, भन्सार, अध्यागमन, विमानस्थलभित्रका टी–हाउस, कफी सप, सरसफाइ कर्मचारी, विदेशी दूतावासका तोकिएका कर्मचारीसम्म यही पुरानो कार्ड बोकेर विमानस्थलभित्र हरेक दिन ओहोरदोहोर गरिरहेका छन् ।

विमानस्थलभित्र काम गर्नेहरूको संख्या ठूलो छ । विमानस्थल कार्यालयका अनुसार यहाँ सरकारी, निजी, सुरक्षा निकाय, वायुसेवा, ट्याक्सी लगायत गरी १ सय ७० वटा निकाय सक्रिय छन् । २४ घण्टामा करिब ५ हजार कर्मचारी तीन सिफ्टमा काम गर्छन् ।

तर, यस्तो भीडभाड र उच्च संवेदनशीलताबीच पनि प्रवेश प्रणाली भने चार महिनादेखि म्याद गुज्रेको कागजमै अड्किएको छ ।

‘ककपिटमा जाँदा हरेक दिन किचकिच हुन्छ’

सबैभन्दा ठूलो समस्या विदेशी वायुसेवा कम्पनीका कर्मचारीलाई परेको छ । काठमाडौंस्थित एक विदेशी एयरलाइन्सका कर्मचारीले आइतबार दिउँसो बताए अनुसार उनीहरूले दैनिक जहाजको ककपिटसम्म पुग्नुपर्छ । लोडसिट, उडानसम्बन्धी कागजात, सुरक्षा कागजपत्र बुझाउनुपर्छ । तर, म्याद सकिएको कार्ड देखेपछि क्याबिन क्रूले ‘रोक्ने’ गरेका छन् ।

‘हामीले हरेक दिन जहाजमा ककपिटभित्र पस्नुपर्छ । कागजात बुझाउनुपर्छ । तर, कार्डको म्याद सकिएको देखेर क्याबिन क्रूले रोक्छन्,’ आइतबार बेलुकी एक अर्को वायुसेवाका कर्मचारीले भने, ‘त्यसपछि क्याबिन क्रूलाई बुझाउनै समय लाग्छ । नयाँ आएका विदेशी कर्मचारीलाई अझ बढी समस्या हुन्छ । उनीहरूलाई यो किन चलिरहेको हो भनेर सम्झाउनुपर्छ । यो त देशकै बेइज्जती हो ।’

विदेशी वायुसेवा कम्पनीका कर्मचारीहरू नियमित तालिम, सेमिनार र बैठकका लागि विदेश जान्छन् । त्यहाँ जाँदा नेपालको विमानस्थलले दिएको कार्ड पुरानो र म्याद गुज्रेको भएको देखाउनुपर्दा उनीहरूलाई अप्ठ्यारो महसुस हुने गरेको छ ।

काठमाडौंमा कार्यरत अन्तर्राष्ट्रिय एयरलाइन्सका स्टेसन म्यानेजरहरूको संगठन एयरलाइन्स अपरेटर्स कम्युनिटी नेपाल (एओसीएन) ले पनि यो विषय पटक–पटक विमानस्थल व्यवस्थापनसमक्ष उठाएको छ । एओसीएनका एक पदाधिकारीका अनुसार कार्डको वास्तविक म्याद सकिएपछि त्यसलाई ‘सिस्टममार्फत’ दुई पटक थपिएको छ ।

पहिलोपटक फेब्रुअरीसम्मका लागि समय थपियो । त्यसपछि फेरि मे ३१, अर्थात् जेठ १७ सम्मका लागि अर्को समयावधि विमानस्थल प्रशासनले माग्यो । तर, समस्या त्यत्तिमै समाधान भएन । किनकि कार्डमा छापिएको मिति पुरानै छ ।

त्यसैले काठमाडौं विमानस्थलले विदेशी वायुसेवा कम्पनीलाई छुट्टै पत्र लेखिदियो- पुरानो कार्डलाई अस्थायी रूपमा मान्यता दिनू भनेर । विदेशी एयरलाइन्सहरूले त्यो पत्र आफ्नो मुख्यालयमा पठाए । त्यही पत्र देखाएर उनीहरूका काठमाडौंस्थित कर्मचारीले जहाजको ककपिट, बोर्डिङ क्षेत्र र एप्रोनमा आवतजावत गर्दै आइरहेका छन् ।

जहाज सफाइ गर्ने नेपाली कामदारलाई विदेशी जहाजभित्र पस्न दिनुपर्दा पनि त्यही पत्र आधार बन्न थालेको छ । त्यसकारण ती जहाजका क्याबिन क्रूहरू सफाइ कर्मचारीलाई देखेर सशंकित समेत हुने गरेका छन् ।

पासको ठेक्का, ढिलाइ र आपसी झगडा

काठमाडौं विमानस्थलको फोटो पास छाप्ने जिम्मा बबरमहलस्थित मर्स्याङ्दी इन्टरप्राइजेज प्रालिको छ । कम्पनीका सञ्चालक सन्देश थापाका अनुसार विगत १० वर्षदेखि यही कम्पनीले एकलौटी रूपमा पास छाप्ने ठेक्का पाइरहेको छ ।

थापाका अनुसार नयाँ कार्ड जनवरी २०२६ भित्रै वितरण भइसक्नुपर्ने थियो । तर, विमानस्थलभित्रकै कर्मचारीबीचको विवादका कारण प्रक्रिया रोकियो ।

‘हाम्रो कारणले होइन,’ थापाले भने, ‘विमानस्थलका कर्मचारीबीचको झगडाले ढिलाइ भयो । हामीले काम रोकाएका होइनौं ।’ उनका अनुसार २०२५ डिसेम्बरसम्मका लागि म्याद राखेर कम्पनीले विमानस्थललाई १३ हजार पास छापेर दिइसकेको थियो । आश्चर्यजनक त के भने, त्यही म्याद राखेर अझै १ हजार ४ सय ७० वटा थप पासको अर्डर आएको छ । ‘२०२५ डिसेम्बरकै म्याद राखेर थप पास छाप्न भनिएको छ । हामी अहिले पनि त्यही छापिरहेका छौं,’ थापाले भने, ‘के गर्ने काम चलाउनै पर्‍यो ।’ 

यो पास साधारण कागजी कार्ड होइन । मर्स्याङ्दीले विमानस्थलभित्रै प्रिन्टिङ मेसिन राखेको छ । कार्डमा चिप प्रयोग हुन्छ । चिपमा कर्मचारीको नाम, संस्था, फोटो, कुन–कुन क्षेत्रमा जान पाउने भन्ने विवरण राखिएको हुन्छ । थापाका अनुसार कार्डका लागि आवश्यक चिप र खाली कार्ड अनामनगरस्थित बारकोड इंक नेपालबाट किनिन्छ ।

मर्स्याङ्दीले एउटा फोटो पास बनाएको ६ सय ४७ रुपैयाँ पाउँछ । तर, विमानस्थलमा काम गर्ने कर्मचारीले भने करसहित करिब १ हजार ५ सय रुपैयाँ शुल्क तिर्नुपर्छ ।

एउटै कार्डले खुल्छन् ४२ ढोका

त्रिभुवन विमानस्थलमा प्रयोग हुने यो कार्ड सामान्य प्रवेशपत्र होइन । हवाई सुरक्षा महाशाखाका निर्देशक किरण गौतमका अनुसार एउटै फोटो पासले विमानस्थलका झण्डै ४० देखि ४२ वटा ढोका खोल्न सक्छ । आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनलका विभिन्न ढोका, फ्ल्याप गेट, सेवा क्षेत्र, एप्रोन र प्रतिबन्धित भागमा यही कार्ड प्रयोग हुन्छ ।

यस अर्थमा एउटा म्याद गुज्रेको कार्ड भनेको केवल एउटा पुरानो प्लास्टिकको टुक्रा होइन । त्यो विमानस्थलको संवेदनशील क्षेत्रमा पुग्ने पहुँच हो । काठमाडौं विमानस्थलमा सबैभन्दा धेरै पास लिने संस्था नेपाल वायुसेवा निगम, बुद्ध एयर र नेपाल प्रहरी हुन् । यी निकायले मात्रै कम्तीमा १ हजार फोटोसहितका कार्ड बनाएका छन् ।

२६ वर्षअघिको पाठ, अहिलेको बेवास्ता

विमानस्थल सुरक्षाको विषय नेपालका लागि नयाँ होइन । २६ वर्षअघि इन्डियन एयरलाइन्सको जहाज अपहरण भएपछि सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो । अवकाशप्राप्त प्रहरी महानिरीक्षक हेमबहादुर सिंहको नेतृत्वमा बनेको समितिले त्रिभुवन विमानस्थलको सुरक्षा, संरचना र प्रवेश व्यवस्थाबारे विस्तृत सुझाव दिएको थियो ।

त्यतिबेला समितिले पासबारे पनि स्पष्ट भनेको थियो- चेकइन काउन्टरसम्म टिकट भएका र प्रवेश अनुमति पत्र भएका व्यक्तिलाई मात्रै जान दिनुपर्छ । विमानस्थलका सबै प्रवेशद्वारमा सुरक्षाकर्मी राखिनुपर्छ । उनीहरूसँग वाकीटाकी हुनुपर्छ । र, सबै प्रवेश प्रणाली कडाइका साथ नियमन हुनुपर्छ । 

त्यस समय विमानस्थलमा हस्तलिखित पास प्रयोग हुन्थ्यो । अहिले प्रविधि फेरिएको छ । फोटोसहितको रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन-आरएफआईडी-कार्ड प्रयोग हुन्छ । अहिले विमानस्थलमा सक्रिय ८ हजार ४ सय डिजिटल कार्ड छन् ।

तर, प्रविधि फेरिए पनि समस्या फेरिएको छैन । पहिले हस्तलिखित पासको कमजोरी थियो । अहिले डिजिटल कार्डको म्याद सकिएर पनि नयाँ प्रणाली नआउनु ठूलो समस्या बनेको छ ।

‘अब हामी आफैं पास छाप्छौं’

विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार नयाँ कार्ड छाप्ने प्रक्रिया अहिले तीव्र रूपमा अघि बढाइएको छ । ‘म विमानस्थलमा सरुवा भएर आउनुअघि नै ढिलाइ भइसकेको रहेछ,’ उनले भने, ‘मैले टेन्डर प्रक्रिया अघि बढाइसकेको छु ।’

विमानस्थलका एक उच्च अधिकारीका अनुसार हरेक वर्ष निजी कम्पनीमार्फत कार्ड छाप्दा ढिलाइ हुने, टेन्डरमा झमेला हुने र कमिसनका कारण प्रक्रिया अड्किने समस्या दोहोरिइरहेको छ । त्यसैले अब नेपाल नागरिक उड्डयन प्राधिकरणले आफैं पास छाप्ने योजना बनाएको छ ।

‘हरेक वर्ष ढिलाइ हुँदा देशकै बेइज्जती हुन्छ,’ ती अधिकारीले भने, ‘अब हामी आफैं कार्ड छाप्ने तयारीमा छौं । यसबारे पर्यटनमन्त्री खडक राज पौडेललाई पनि जानकारी गराउने तयारी भइरहेको छ ।’ यसबीच विमानस्थलमा रहेको प्रहरीले पनि हरेक सुरक्षा बैठकमा नयाँ पास जारी गर्न दबाब दिइरहेको छ । एक सुरक्षा अधिकारीका अनुसार हरेक बैठकमा विमानस्थल व्यवस्थापनलाई यही विषय सम्झाइन्छ । किनकि विमानस्थलमा जारी हुने पासको म्याद दुई वर्षको हुन्छ । कुनै कर्मचारी सरुवा भए, जागिर छाडे वा निकाय परिवर्तन गरे, उसको पहुँच तुरुन्तै प्रणालीबाट हटाइनुपर्छ ।

तर, जब म्याद सकिएको कार्ड महिनौंसम्म चलिरहन्छ, तब प्रणालीमा वास्तवमा कसको पहुँच अझै बाँकी छ र कसको हटिसक्नुपर्ने हो भन्ने प्रश्न पनि उठ्छ । ९ मार्चको दिन बुद्ध एयरको एटीआर–७२ ले आफ्नो अन्तिम उडानको सम्झना बोकेर बिदाइ लियो । ७० हजार साइकल पूरा गरेको त्यो विमान आफ्नो जीवनको अन्तिम बिन्दुमा पुगेको थियो । तर, त्यही दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अर्को एउटा प्रणाली पनि आफ्नो आयु सकिएर पनि कृत्रिम रूपमा चलिरहेको देखियो- विमानस्थलको परिचयपत्र प्रणाली । एउटा विमानले आफ्नो पूरा जीवन उपयोग गरेर सम्मानसाथ बिदाइ पायो । तर, नेपालको अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रणाली भने आफ्नो म्याद सकिएपछि पनि अझै पुरानै कार्डमा अडिएको छ ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully