'विशेष सल्लाह सुझाव दिन र अपर्झट गुनासोको लागि जहिले जतिबेला आए पनि हुन्छ । नजिकिन मात्रैचैँ नआउनुस् भनेकै हो । भनिरहन्छु ।'
What you should know
काठमाडौँ — पर्यटनमन्त्री खडक राज पौडेल (गनेस)ले यसअघि जरुरी बाहेकको भेटघाटका लागि एक दिनअघि नै गुगल फर्म भरेर मात्रै आउनलाई मन्त्रालयको वेबसाइटमै उक्त प्रणालीको सुरुवात गरे । मन्त्री पौडेलले आफूलाई भेट्न सर्वसाधारणका लागि जारी गरिएको गुगल फर्मसम्बन्धी विषयमा विभिन्न किसिमका भ्रम फैलिएको भन्दै त्यसबारे शुक्रबार बिहान थप स्पष्ट पारेका छन् ।
कास्की क्षेत्र नम्बर १ बाट निर्वाचित संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पौडेलले सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको आफ्नो भनाइलाई व्याख्या गर्दै नागरिकसँगको भेटघाट, सुझाव तथा पहुँचका सन्दर्भमा तीन वटा मुख्य सन्देश प्रस्तुत गरेका छन् ।
‘बधाई र शुभकामना मात्रैका लागि भीड नगरौं’
पर्यटनमन्त्री पौडेलले सर्वसाधारणलाई लक्षित गर्दै बधाई, शुभकामना वा सामान्य भेटघाटका लागि मात्र सिंहदबारस्थित पर्यटन मन्त्रालय धाउन नआउन आग्रह गरेका छन् । उनले शुभेच्छा व्यक्त गर्ने भावना सकारात्मक भए पनि यस्ता भेटघाटले कार्यसम्पादनको प्राथमिकतामा असर पार्न सक्ने उल्लेख गरेका छन् । उनका अनुसार समय र स्रोतको प्रभावकारी उपयोग गर्दै वास्तविक काम, समस्या र समाधानमा केन्द्रित हुन आवश्यक छ । त्यसैले उनले ‘नजिकिन मात्रै नआउनुस्’ भन्ने सन्देश सामाजिक सञ्जालमार्फत दोहोर्याएका छन् ।
‘सल्लाह र गुनासोका लागि जहिले पनि ढोका खुला’ भएको बताउँदै उनले नीति निर्माण, सुधार तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन नागरिकका सुझाव अत्यन्त महत्त्वपूर्ण हुने बताएका छन् ।
यसै सन्दर्भमा, विशेष सल्लाह–सुझाव वा आकस्मिक गुनासोका लागि जुनसुकै समयमा आफूलाई सम्पर्क गर्न सकिने उनले बताएका छन् । उनले आफ्नो मोबाइल नम्बर ९८५६०३१६४७ समेत सार्वजनिक राख्दै नागरिकसँग प्रत्यक्ष संवादलाई प्राथमिकतामा राखेको स्पष्ट पारेका छन् । उनका भनाइमा, सरकार र नागरिकबीचको दूरी घटाउन यस्ता खुला र सहज सम्पर्क माध्यमहरू अपरिहार्य छन् ।
‘मन्त्रालय सधैं खुल्ला, गुगल फर्म विकल्प मात्र’
मन्त्री पौडेलले मन्त्रालयमा भेटघाटका लागि लागू गरिएको नयाँ व्यवस्थाबारे फैलिएको भ्रमप्रति पनि प्रतिक्रिया दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित पौडेलका अनुसार अघिल्लो मंगलबार जारी सूचनाले अनलाइनमार्फत भेटघाटको मिति र समय निर्धारण गर्न सकिने सुविधा मात्र प्रदान गरेको हो, अनिवार्य व्यवस्था भने होइन । उनले स्पष्ट पारेका छन् कि नागरिकले आवश्यकता अनुसार, त्यही दिन, केही दिनअघि वा केही घन्टा अघि सचिवालयमार्फत भेटघाटको समय मिलाउन सक्नेछन् । यस व्यवस्थाको उद्देश्य सेवाग्राहीलाई सहजता प्रदान गर्नु रहेको, तर पहुँच सीमित गर्नु नरहेको भनिएको छ ।
‘हल्ला र विवादप्रति सचेत’
मन्त्री पौडेलले बजारमा फैलिएको ‘पर्यटन मन्त्रीलाई भेट्न नपाइने’ जस्ता हल्लालाई निराधार बताउँदै यस्ता विषयलाई राजनीतिक रूपमा विवादमा तान्ने प्रयास पुरानो प्रवृत्ति भएको टिप्पणी गरेका छन् ।
उनले आफ्नो नेतृत्वमा रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय आम नागरिकका लागि सधैं खुला रहने र पारदर्शी ढंगले सेवा प्रवाह गर्ने प्रतिबद्धता पुनः दोहोर्याएका छन् । उनले औपचारिक बधाई भन्दा काम, समस्या र समाधानमा केन्द्रित संवाद आवश्यक रहेको उल्लेख गर्दै सुझाव र गुनासोका लागि मन्त्रालयको ढोका सधैं खुला रहने बताएका छन् ।
यसअघि चैत २० गते मन्त्री पौडेलले आफ्नो फेसबुकमार्फत मन्त्रालय वा अन्य स्थानमा भएका भेटघाटका क्रममा खिचिएका तस्बिरहरूको दुरुपयोग भएको विषय सार्वजनिक गरेका थिए । उनका अनुसार केही व्यक्तिहरूले मन्त्रीसँग विशेष सम्बन्ध रहेको दाबी गर्दै सर्वसाधारण तथा सरकारी निकायबाट अनधिकृत लाभ लिन प्रयास गरेको सूचना प्राप्त भएको थियो, जसले आफूलाई गम्भीर बनाएको उनले बताएका थिए । यस सन्दर्भमा उनले यस्ता गतिविधिमा संलग्न नहुन, नगराउन तथा त्यस्ता भ्रमबाट प्रभावित नहुन सबैमा अनुरोध गरेका थिए । साथै मन्त्रालयको कार्यसम्पादनलाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन भन्दै मन्त्रीको कार्यकक्षभित्र मोबाइल फोन तथा अन्य विद्युतीय उपकरण लैजान निषेध गरिएको जानकारीसमेत गराएका थिए । हाल मन्त्रालयले मन्त्री कक्षको बाहिर फोन राख्ने दराज राखेको छ ।
यसअघि २०७९ माघमा तत्कालीन पर्यटनमन्त्री सुदन किरातीले पनि आफूलाई शुभकामना दिन आउने सर्वसाधारण तथा शुभेच्छुकको भीड अत्याधिक भएको जनाउँदै खादा–माला नल्याउन आग्रह गरेका थिए । उनले कार्यकक्षअगाडि दानपेटी राखेर चन्दा संकलन गरेका थिए । जसबाट ६ लाख ४ हजार ४३४ रुपैयाँ संकलन भएको थियो । उक्त रकम उनले भोजपुरस्थित विद्यालयलाई हस्तान्तरण गरेका थिए ।
