नौ दशक लामो इतिहास बोकेको शंकर समूह भट्टसँगको साझेदारीपछि सम्पत्ति शुद्धीकरण अनुसन्धानमा तानिँदा दर्जनौं उद्योग, हजारौं रोजगारी र ठूलो ऋण जोखिममा परेका छन्।
What you should know
काठमाडौँ — विवादित व्यवसायी दीपक भट्टको संगतमा पर्दा नौ दशक पुरानो व्यावसायिक घराना शंकर समूह संकटमा परेको छ । भट्ट सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेसँगै पछिल्लो समय उनीसँग साँठगाँठ रहेको शंकर समूहसमेत छानबिनको दायरामा तानिएको छ । यो समूहका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ परिसकेका छन् भने प्रहरीले उनका छोराहरूलाई समेत खोजी गरिरहेको छ ।
अनुसन्धानले तीव्रता पाएसँगै शंकर ग्रुपले मुलुकभर सञ्चालन गरेका ४० भन्दा बढी उद्योग तथा व्यवसाय प्रत्यक्ष प्रभावित हुने भएका छन् । शंकर ग्रुपको वार्षिक कारोबार सवा खर्बको छ । समूहअन्तर्गतका उद्योग तथा व्यवसायले १५ हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ । शंकर समूहका विभिन्न उद्योग तथा कम्पनीमा बैंक तथा वित्तीय संस्थाको करिब २ खर्ब रुपैयाँ ऋण प्रवाह भएको अनुमान छ ।
शंकरले नै सन् १९७९ मा जगदम्बा समूह स्थापना गरे । पछि उनका दुई छोरा सुलभ अग्रवाल र साहिल अग्रवाल पनि व्यवसायमा जोडिए । जगदम्बा ग्रुपका अध्यक्ष साहिल अग्रवाल हुन् भने जगदम्बा समूहअन्तर्गतको ‘जगदम्बा होल्डिङ्स’ का अध्यक्ष सुलभ छन् ।शंकर समूहले ९१ वर्षदेखि निरन्तर व्यवसाय गरिरहेको छ । सन् १९३५ मा रावतलाल अग्रवालले काठमाडौं न्युरोडमा विदेशबाट कपडा ल्याएर बिक्री गर्ने सिलसिलामा यो ग्रुपको जन्म भएको हो । त्यो व्यवसायलाई उनका छोरा शंकरलाल अग्रवालले व्यावसायिक घरानाका रूपमा विस्तार गर्दै नयाँ उचाइमा पुर्याएका थिए ।
शंकर समूहअन्तर्गतका जगदम्बा स्टिल्स, जगदम्बा मोटर्स, सौर्य सिमेन्ट, रिद्धिसिद्धि सिमेन्ट, युनियन लाइफ इन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स, जगदम्बा इन्टरप्राइजेज, जगदम्बा फ्लोर एन्ड एग्रो, जगदम्बा मोबाइल्स, जगदम्बा अल्कोबेभ, जगदम्बा ओभरसिज, मोदीखोला हाइड्रोपावर, बलेफी हाइड्रोपावर र जगदम्बा हायरपर्चेज मुख्य कम्पनी हुन् । यी उद्योग–व्यवसाय काठमाडौं उपत्यकादेखि जितपुर, सिमरा, भैरहवा, लुम्बिनी, परवानीपुरसम्म छन् । शंकर समूहअन्तर्गतका कम्पनीहरूले सन् २०२०/२१ मा १ अर्ब अमेरिकी डलर (करिब ११ हजार करोड रुपैयाँ) भन्दा बढी कुल कारोबार गरेको कम्पनीको वेबसाइटमा उल्लेख छ ।
शंकरले नै सन् १९७९ मा जगदम्बा समूह स्थापना गरे । पछि उनका दुई छोरा सुलभ अग्रवाल र साहिल अग्रवाल पनि व्यवसायमा जोडिए । जगदम्बा ग्रुपका अध्यक्ष साहिल अग्रवाल हुन् भने जगदम्बा समूहअन्तर्गतको ‘जगदम्बा होल्डिङ्स’ का अध्यक्ष सुलभ छन् ।
शंकर समूहअन्तर्गत नै सन् १९९४ मा बाराको सिमरामा जगदम्बा स्टिल उद्योग खुल्यो । हाल बजारमा दुई दर्जनभन्दा बढी फलाम (स्टिल) उद्योग छन् । फलाम छडको कुल कारोबारमा जगदम्बाको हिस्सा २० प्रतिशतभन्दा बढी रहेको उद्योगी बताउँछन् ।
विवादास्पद भट्टको शरण पर्दा...
सुलभ सम्पत्ति शुद्धीकरणको अनुसन्धानको दायरामा तानिइसकेका छन् भने साहिलको विषयमा कुनै औपचारिक विवरण सार्वजनिक भएको छैन ।
गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जालमा हालसम्म पक्राउ परेकाहरू भन्दै १० जनाको सूची नै सार्वजनिक गरेका छन् । जसमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नाम पहिलो नम्बरमा छ भने १० औं नम्बरमा सुलभको नामसमेत छ । तर, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र नेपाल प्रहरीले पक्राउबारे पुष्टि गरेका छैनन् । ‘अग्रवाल भारतमा पक्राउ परेको र स्थलमार्ग हुँदै नेपाल ल्याइँदै छ भन्ने सूचना छ,’ विभागका एक अधिकारीले भने, ‘नेपाल ल्याइसकेपछि अग्रवालको पक्राउबारे प्रहरीले आधिकारिक जानकारी दिनेछ ।’
जगदम्बा समूहले मात्र बैंक तथा वित्तीय संस्थाबाट ३० अर्बभन्दा बढी ऋण लिएको छ । दीपक भट्ट र शंकर ग्रुपको साझेदारीमा सञ्चालन भएको व्यवसायहरूले लिएको ऋण पनि जोड्दा कुल कर्जा १ खर्ब हाराहारीमा रहेको बैंकिङ स्रोतले जानकारी दिएको छ ।
मुख्यगरी विवादित व्यवसायी भट्टसँग दोस्ती हुनुअघि यो समूहले आफ्नै ढंगले व्यवसाय गरिरहेको थियो । व्यापार–व्यवसायबाट राम्रो पैसा कमाइरहेको थियो, तर राजनीतिक पहुँच भने थिएन । त्यो अभाव भट्टले पूरा गरिदिए । यसरी सुरु भएको भट्ट र शंकर समूहको दोस्ती एकअर्काका परिपूरक बने । यो दोस्तीले भट्टको ‘नगद प्रवाह’ सहज भयो भने शंकर समूहले राजनीतिक सम्पर्क बढाउन पायो ।
०००
जगदम्बा समूहले मात्र बैंक तथा वित्तीय संस्थाबाट ३० अर्बभन्दा बढी ऋण लिएको छ । दीपक भट्ट र शंकर ग्रुपको साझेदारीमा सञ्चालन भएको व्यवसायहरूले लिएको ऋण पनि जोड्दा कुल कर्जा १ खर्ब हाराहारीमा रहेको बैंकिङ स्रोतले जानकारी दिएको छ । भट्ट र यो समूहबीचको भेटको कथा निकै रोचक छ । कोरोना महामारीको समय थियो । ज्वरो नाप्ने ‘थर्मल गन’ को चरम अभाव थियो । २५ चैत २०७६ मा शंकरका छोरा सुलभ त्यही ‘थर्मल गन’ कालोबजारीको आरोपमा पक्राउ परे । पाँच हजार रुपैयाँ पर्ने ‘थर्मल गन’ १५ हजार रुपैयाँमा बिक्री गरेको प्रहरीको आरोप थियो । त्यतिबेला उनको साथबाट ६७ थान ‘थर्मल गन’ प्रहरीले बरामद गरेको थियो । अग्रवाल कीर्गिस्तानका अवैतानिक महावाणिज्य दूतसमेत थिए ।
त्यतिबेला कोरोनाको संक्रमण फैलन नदिन भन्दै सरकारले ‘लकडाउन’ गरेको थियो । सार्वजनिक र निजी सवारी चलाउन रोक थियो । अग्रवालले भने आफ्नो पद तथा सुविधाको दुरुपयोग गर्दै कूटनीतिक नियोगकै नीलो नम्बर प्लेटको गाडी प्रयोग गरेका थिए । आवतजावतमा रोकतोक र जाँच नहुने भएकाले उनले कूटनीतिक नियोगको गाडी प्रयोग गरेको हुन सक्ने प्रहरीको निष्कर्ष थियो । तर, सामान दिन नपाई अग्रवाल समातिए ।
सुलभ पक्राउ परेपछि बल्ल यो समूहले राजनीतिक पहुँचको महत्त्व र अभाव महसुस गर्यो । किनकि त्यो आरोपमा सुलभ पक्राउ पर्दा व्यवसायमा ठूलो असर गरेको थिएन । तर, दशकौंदेखिको मिहिनेतले आर्जित व्यावसायिक प्रतिष्ठामा भने ठूलो झड्का लागेको थियो । भट्टले राजनीतिक पहुँच प्रयोग गरेर सुलभलाई छुटाए । शंकर समूहका लागि यो निकै ठूलो गुन थियो । त्यसपछि सुरु भयो भट्ट र शंकर समूहबीच साझेदारी व्यवसाय । तर यो साझेदारी कुनै औपचारिक वा लिखित थिएन । भट्टले राजनीतिक पहुँच र सेटिङ मिलाउँथे, यो समूहले पैसा हाल्थ्यो ।
उनीहरूबीच विशेषगरी बिमा क्षेत्रमा वर्चस्व कायम गर्न भएको सहकार्य निकै ‘सफल’ देखिन्छ । २०७१ अघि नेपालमा पुनर्बिमा कम्पनी थिएन । पुनर्बिमाबापत धेरै पैसा बाहिरिने गरेको थियो । २१ कात्तिक २०७१ मा सरकार र बिमा कम्पनीहरूको संयुक्त लगानीमा नेपाल पुनर्बिमा कम्पनी स्थापना भयो । २०६० मा स्थापना भएको आकस्मिक बिमा कोषलाई पुनर्बिमा कम्पनीमा परिणत गरिएको थियो । सुरुमा सरकारको ४३ प्रतिशत र बिमा कम्पनीहरूको ५७ प्रतिशत सेयर लगानीमा यो कम्पनी स्थापना गरिएको थियो ।
यो कम्पनीको व्यवसायमा शंकर समूहको पहिलेदेखि नै नजर थियो । भट्टकै पहलमा साविकको बिमा समिति अध्यक्षमा पूर्वसचिव सूर्यप्रसाद सिलवाललाई ल्याइयो । उनलाई ल्याउनुको मुख्य उद्देश्य पुनर्बिमा र बिमा कम्पनीको लाइसेन्स यो समूहलाई दिलाउनु रहेको स्रोतको दाबी छ । ‘आफ्नो कार्यकालमा सिलवालले दुवै सर्त पूरा गरिदिए,’ स्रोतले भन्यो, ‘परिणाम यो समूहले पुनर्बिमा कम्पनी र आधा दर्जन बढी लघुबिमा कम्पनीको लाइसेन्स हात पार्यो ।’ यसरी जेठ २०७८ मा १० अर्ब पुँजीसहित हिमालयन रिइन्स्योरेन्स कम्पनी स्थापना भयो, जसमा सबैभन्दा बढी सेयर लगानी शंकर समूह र भट्टको छ ।
शंकर समूह र भट्टको सहकार्य यतिमै रोकिएन । सरकारको बजेटमै हस्तक्षेप गरेर शंकर समूहका लागि अनुकूल हुने गरी नीति बनाउन थालियो । आर्थिक वर्ष २०७८/७९ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाका पालामा अर्थमन्त्री जनार्दन शर्माले पूरक बजेट ल्याएका थिए, जसमा अन्य उद्योगलाई पन्छाएर जगदम्बा स्टिल्सलाई लाभ हुने गरी कच्चापदार्थ (स्पन्ज आइरन–फलामको धूलो) कर छुट दिइएको थियो । त्यतिबेला कुनै एउटा व्यापारिक घरानालाई लाभ हुने गरी नीतिगत व्यवस्था गरिएको भन्दै केही उद्योगी–व्यवसायीले विरोधसमेत गरेका थिए ।
त्यस्तै २०७९/८० को वार्षिक बजेट घोषणाको अघिल्लो रात १४ जेठ २०७९ मा सिंहदरबारमा बिचौलिया छिराएर स्वार्थ समूहलाई लाभ हुने गरी करका दर हेरफेर गरिएको घटना बाहिरियो । यो हेरफेरमा पनि भट्ट र शंकर समूह नै जोडिएको थियो । यी घटनाले भट्टको साथ पाएर शंकर समूहअन्तर्गत उद्योग–व्यवसायले ‘नाजायज लाभ’ लिएको आरोप पनि लागेको थियो । यो आरोपलाई पुष्टि गर्ने गरी त्यही बेला भट्ट र शंकर समूहका सञ्चालकका नाममा रहेका बैंक खाताबाट शंकास्पद कारोबार भएका थिए ।
हिमालयन रिइन्स्योरेन्समा यिनीहरूले गरेको लगानीलाई लिएर पनि प्रश्न उठेको थियो । अहिले त्यही लगानीको स्रोत र अन्तिम लाभग्राही पहिचान हुन नसकेपछि राष्ट्र बैंकले दुवै समूहका व्यापारिक कारोबारमाथि अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई २०७८ मै पत्र पठाएको थियो ।त्यसअघि रिइन्स्योरेन्सको लाइसेन्स हत्याउन पनि यी दुवै समूहले ‘सत्ता–शक्ति’लाई प्रभावमा पारेर निर्णय गराएको आरोप पनि लागेको थियो । हिमालयन रिइन्स्योरेन्समा यिनीहरूले गरेको लगानीलाई लिएर पनि प्रश्न उठेको थियो । अहिले त्यही लगानीको स्रोत र अन्तिम लाभग्राही पहिचान हुन नसकेपछि राष्ट्र बैंकले दुवै समूहका व्यापारिक कारोबारमाथि अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई २०७८ मै पत्र पठाएको थियो । त्यही पत्रका आधारमा अघि बढेको अनुसन्धान अहिले रफ्तारमा बढेको हो । २०७७ देखि २०७९ को अवधिमा इन्फिनिटी होल्डिङ्स र शंकर समूहबीचको शंकास्पद कारोबारमाथि प्रारम्भिक छानबिन गर्दा नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाई (एफआईयू) ले कैफियत भेटेपछि अनुसन्धान गर्न विभागलाई पत्र पठाएको थियो । पत्रमा भट्टको सिद्धार्थ बैंकमा रहेको खातामा जुन २०२१ मा जगदम्बा स्टिल प्रालिका नाममा नेपाल इन्भेस्टमेन्ट बैंकको आफ्नो खाताबाट ४५ करोड ‘ट्रान्सफर’ गराएको भेटिएको थियो ।
यता, जगदम्बा स्टिलको २०७७/७८ को लेखापरीक्षण प्रतिवेदनमा भट्ट र उनको कम्पनीसँग ४५ करोडको कारोबार भएको पनि फेला परेको थियो । त्यस्तै भट्टका नाममा ओभरड्राफ्ट (ओडी) खातामा जुन र जुलाई २०२१ मा ३० करोड १५ लाख ८७ हजार ‘ट्रान्सफर’ गरिएको र यही खाताबाट नै ४५ करोड ४ लाख ४५ हजार निकालिएको भेटिएको थियो । भट्टले यही ४५ करोड हिमालयन रिइन्स्योरेन्समा लगानी गरेको राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पठाएको पत्रमा उल्लेख छ ।
तर, जगदम्बा स्टिलको २०७७/७८ को वित्तीय प्रतिवेदनमा भने उक्त ४५ करोडको कारोबारका बारेमा केही उल्लेख छैन । यही आधारमा राष्ट्र बैंकले भट्टको हिमालयन रिइन्स्योरेन्समा भएको लगानी ‘शंकास्पद’ मानेको छ । ‘जगदम्बा स्टिल्सबाट दीपक भट्टको खातामा जम्मा भएको रकम निज एकल सेयर धनी रहेको इन्फिनिटी होल्डिङ्स प्रालिको खातामा ४५ करोड जम्मा भएको र सो रकम इन्फिनिटी होल्डिङ्सको खाताबाट सन् २०२१ जुलाई १ मा तीनवटा चेकमार्फत हिमालय रिइन्स्योरेन्सको खातामा जम्मा भएको देखिन्छ,’ एफआईयूले विभागमा पठाएको पत्रमा भनिएको छ ।
उक्त पत्रपछि विभागले छानबिन सुरु गरेर भट्टसँग बयान पनि लिएको थियो । तर, शक्तिकेन्द्रकै दबाब/प्रभावमा विभागले अनुसन्धानमा टुंगोमा नपुर्याई रोकेर राखेको थियो । वैशाख २०८२ मा विभागले नै अनुसन्धान फाइल विस्तृत अनुसन्धानमा नलगी मुद्दा नचल्ने निर्णय गरेर राष्ट्र बैंकलाई नै फिर्ता पठाएको थियो । तर, वालेन्द्र शाहको नेतृत्वमा १३ चैतमा सरकार गठन भएपछि विभागले पहिले बन्द गराएको फाइल खुलाएपछि दुई ठूला व्यापारिक समूहका सञ्चालक सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा परेका हुन् । विभाग स्रोतका अनुसार शंकर समूह र इन्फिनिटी होल्डिङ्सबाट भएका शंकास्पद सबै आर्थिक कारोबारलाई अनुसन्धान दायरामा ल्याइएको हो । यो अनुसन्धान भट्ट र शंकर समूहको साझेदारीमा मात्र सीमित रहन्छ कि शंकर समूहको अन्य उद्योग–व्यवसायसम्म फैलिन्छ, त्यो भने अहिल्यै यकिन भइसकेको छैन ।
